समाज


कांग्रेसकै तीन गुटले च्यापिएका एक डाक्टर, जो २४ घण्टा पनि टिक्न पाएनन्

कांग्रेसकै तीन गुटले च्यापिएका एक डाक्टर, जो २४ घण्टा पनि टिक्न पाएनन्

यज्ञराज जोशी
साउन २२, २०७८ शुक्रबार ७:३७, काठमाडौँ

गत सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पताल वीरको प्रशासकीय अधिकृतमा ट्रमा सेन्टरका चिकित्सक डा.रुद्र मरासिनीलाई नियुक्त गरे। प्राडा जागेश्वर गौतमलाई सरुवा गरेर उनको स्थानमा मरासिनीलाई नियुक्त गर्ने कदमविरुद्ध वीरकै केही चिकित्सक सक्रिय भए। 

मरासिनीलाई वीरमा नियुक्त गर्दै राज्यमन्त्री श्रेष्ठले त्यहाँ कांग्रेसकै तेस्रो धार बसाल्न खोजेका थिए। त्यसअघि वीरमा डा.लोचन कार्की, डा. भुपेन्द्र बस्नेतको एक र डा. अशेष ढुंगानाहरुको अर्को कांग्रेसी गुट थियो। कार्की र बस्नेत पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन भने ढुंगाना कांग्रेस महासमिति सदस्य तथा चिकित्सक डा.केदारनरसिंह केसी निकट हुन। 

केदारनरसिंह अर्का कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ समेत हुन। ढुंगाना कांग्रेसका पुराना नेता आनन्द ढुंगानाका छोरासमेत हुन। राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री पत्नी आरजु देउवाको ग्रिन सिंग्नल पाएपछि मरासिनीलाई कोभिड युनिफाइड अस्पतालको शक्तिशाली पदमा नियुक्त गर्ने निर्णय गराएका थिए। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जेठ पहिलो साता कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेको थियो। जुन अध्यादेशले वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको हो। 

सोही अस्पताल सञ्चालनका लागि कार्यकारी अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत पद खडा गरिएको हो। 

अध्यादेशमा प्रमुख प्रशासकीय अधिकृतलाई दिएको अधिकार र कार्यक्षेत्रबाट उक्त पद कति आकर्षक हो भन्ने स्पष्ट हुन्छ।

आवश्यक जनशक्ति नियुक्ति, स्वास्थ्य सामग्री, उपकरण, शय्यालगायत पूर्वाधारको आकलन गरी खरिद गर्नसक्ने, देशभरका कोभिड–१९ अस्पताललाई निर्देशन दिनसक्ने अधिकार उक्त पदलाई दिइएको थियो। पहिलो प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएका डा. गौतमले ८ सय जनालाई वीरमा नियुक्त गराएका थिए।​

करोडौंको स्वास्थ्य सामाग्री खरिदको ठेक्का आफू निकटका मान्छेलाई दिएको भन्दै उनको आलोचना भइरहेको छ। वीरबाट उनको बहिर्गमनको एउटा कारण त्यो समेत बन्यो। 

स्रोतका अनुसार यही आकर्षक पदमा राज्यमन्त्री श्रेष्ठले डा.मरासिनीलाई नियुक्त गरेपछि चिढिएका कांग्रेसकै अरु दुई समूहले प्रधानमन्त्री देउवासामु लविङ बढाए। कार्की, बस्नेतको समूहले बालुवाटारमै गएर देउवालाई भेटि मरासिनीको नियुक्ति रोक्न लविङ गरेको स्रोत बताउँछ।

यद्यपी नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका कार्कीले आफूहरुसँग सरसल्लाह नै प्रमुख प्रशासकीय अधिकृत नियुक्ति गरिएकोमा गुनासो रहे पनि मरासिनीलाई हटाएर भुपेन्द्र बस्नेतलाई नियुक्ति गर्ने कुरामा आफूले लविङ गरेको कुरा झुटो भएको दाबी गरेका छन्।

‘यो सरासर गलत हो। म बालुवाटार गएकै छैन। म सधैँ पाँच बजेपछि आफ्नो क्लिनिकमा बिरामी हेर्ने गर्छु। बालुवाटार र अस्पतालमा त्यो रेकर्ड हेर्न सकिन्छ,’ कार्कीले भने, ‘हाम्रो गुनासो के छ भने यसो बरु हामीलाई सोधेको भए हुन्थ्यो। नसोधेरै नियुक्ति गरियो। सरसल्लाहै नगरेर गरियो।’

आफू चिकित्सक संघको अध्यक्ष भएकाले सबैको साझा अध्यक्ष भएको र कसैको पक्ष वा विपक्षमा नलागेको उनी बताउँछन्। कार्कीले २४ घण्टा नबित्दै एउटालाई नियुक्ति गर्नु, फेरि हटाएर अर्कालाई नियुक्ति गर्नु गलत भएको टिप्पणी गरे। 

‘एकदमै राम्रो भएन। यसले राम्रो सन्देश गएको छैन। यो गलत चिज हो। परिपक्वता देखिएन,’ उनले भने, ‘यस मामलामा म कसैको गुटमा पनि लागेको छैन। म चिकित्सक संघको अध्यक्ष हो। सबैको साझा अध्यक्ष हो। कसैको पक्ष वा कसैको विपक्षमा लाग्दै हिड्न मलाई नैतिकताले पनि दिँदैन।’

सोमबार बिहान नियुक्त भएका मरासिनीको कांग्रेसकै अन्य दुवै गुटले डा.भुपेन्द्र बस्नेत र डा. अशेष ढुंगानाको नाम सिफारिस गरेको स्रोतले बताएको छ। मरासिनीलाई नियुक्त गरिएको बारे त्यसअघि चासो नदेखाएका देउवाले बस्नेत र ढुंगानाको सिफारिस आएपछि भने प्रशासकीय अधिकृत नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य राज्यमन्त्रीलाई निर्देशन दिएका थिए।

मन्त्रीपरिषद् विस्तार ढिलाई भएका कारण प्रधानमन्त्रीको देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका थिए। प्रधानमन्त्री देउवाले डा.जागेश्वरलाई हटाउने सहमति भएपनि कसलाई ल्याउने विषयमा सहमति नभएको र ११ औं तहका कार्मचारीलाई सरुवा गर्न राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने तर्क गर्दै मरासिनीलाई नियुक्तिको निर्णय कार्यान्वन नगर्न निर्देशन दिएका थिए। 

प्रधानमन्त्रीको निर्देशनपछि मंगलबार बिहान राज्यमन्त्री श्रेष्ठले डा. मरासिनीलाई मन्त्रालयमा बोलाएर माथिको दबाब खेप्न नसकेको भन्दै ‘यसपल्ट सकिएन’ भनेका थिए। लगत्तै देउवाले आफ्नो गुटका बस्नेतलाई मरासिनीको स्थानमा युनिफाइड केन्द्रीय अस्पतालका कार्यकारी अधिकृतमा नियुक्ति गरे। 

डा. मरासिनी स्वयम् आफू गुटगत राजनीतिको सिकार भएको स्वीकार्छन्। ११ वर्ष भरतपुर अस्पतालमा राम्रो काम गरेकै कारण आफ्नो नाम सिफारिस भएको बताउँदै उनले चिकित्सक संघकै केही व्यक्ति आफुविरुद्ध लागेको बताए।

‘गुटगत रुपमा पनि मलाई अन्याय परेको हो। चिकित्सक संघ पनि बायस भइदिएको हो,’ डा.मरासिनीले नेपालखबरसँग भने, ‘यथार्थ रुपमा भन्दा चिकित्सक संघका दुई चार जना हामी कांग्रेसी हौं अरु होइनन भन्ने छ। केही व्यक्तिले यसलाई बनाउनै हुन्न भनेर लागेका पनि हुन।’

मरासिनी आफ्नो नियुक्ति २४ घण्टामै फिर्ता हुनुको कारण स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच कम्युनिकेशन ग्याप देख्छन्। सुरुमा मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच भएको छलफलमा डा. जागेश्वरलाई हटाएर अर्को मान्छे ल्याउने सहमति भएको थियो। 

तर बालुवाटारले नाममा भने सहमति जनाएको थिएन। यहीबीच मन्त्रालयले मरासिनीको नाम सिफारिस गरेपछि त्यसको कार्यान्वयन नभएको हो। मरासिनीको स्थानमा नियुक्त भएका डा.बस्नेत १० औं तहका कर्मचारी हुन। 

तर अध्यादेशमा प्रमुख प्रशासकीय अधिकृतका लागि ११ औं तहको कर्मचारी हुनुपर्ने स्पष्ट व्यवस्था छ। सोहीकारण बस्नेतलाई अहिले निमित्तको जिम्मेवारी दिएर मिलाइएको छ। 

दुई महिनामै प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएका डा. जागेश्वर गौतम कांग्रेस समर्थित मान्छेहरुले नै अस्पतालमा काम गर्न नदिएको आरोप लगाउँछन्। 

‘मुख्य समस्या कर्मचारी काम गर्दैनन् त्यहाँ। सबै कर्मचारी भनेको होइन। नर्सहरु, परामेडिसियन, डाक्टरहरु काम गर्छन। बाँकी राजनीति गर्छन धैरै,’ डा. गौतम भन्छन ‘कामै नहोस भनेर मान्छे लागेका छन्। त्यस्ता मान्छेको एकदमै बोलवाला छ। त्यस्ता मान्छे कर्मचारी युनियनमा छन्। तिनलाई कांग्रेसले समर्थन गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .