समाज


सेन्ट जेभियर्सले नपत्याएका आशिक झा सरकारीबाटै सर्वोत्कृष्ट

सेन्ट जेभियर्सले नपत्याएका आशिक झा सरकारीबाटै सर्वोत्कृष्ट

यज्ञराज जोशी
साउन २२, २०७८ शुक्रबार १८:५, काठमाडौँ

जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसइईमा ३.७ जिपिए ल्याएपछि आशिक झा पढ्न काठमाडौं छिरे। उनले नाम चलेको सेन्ट जेभियर्स स्कुलमा छात्रवृत्तिमा नाम निकाल्ने अठोटसहित विज्ञान र ए लेभलको प्रवेश परीक्षा दिए। 

सेन्ट जेभियर्समा अध्ययनका लागि प्रवेश परीक्षा दिनेको लाइन हरेक वर्ष एक किलोमिटरभन्दा लामो हुने गर्छ। जहाँ एक से एक स्कुल पढेका विद्यार्थीबीच प्रवेश परीक्षामै कडा प्रतिस्पर्धा हुन्छ। 

जनकपुरको सामान्य सरकारी स्कुलमा पढेका आशिकले त्यही चुनौतीबीच सेन्ट जेभियर्समा नाम निकाले। तर नाम निकालेको खुशी लामो समय टिक्न सकेन। कलेजले १ लाख ८० हजार रुपैयाँ मागेपछि उनी निराश भए। 

‘म सामान्य परिवारको मान्छे हुँ। बुबाआमा खेती किसानी गर्नुहुन्छ’ आशिकले भने, ‘त्यति धेरै खर्च गरेर पढाउने मेरो परिवारको क्षमता थिएन। त्यसैले नाम निकाले पनि सेन्ट जेभियर्समा पढ्ने सपना छाडेँ।’

सेन्ट जेभियर्सले पैसाका कारण नपत्याएका आशिक बिहीबार राति आएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा उत्कृष्ट सावित भएका छन्। 

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका सार्वजनिक गरेको प्रवेश परीक्षाको नतिजा अनुसार हजारौं विद्यार्थीमा ४ हजार ३ सय ९१ जना उत्तीर्ण भएका छन। तीमध्ये एक नम्बरमा जेन्ट जेभियर्सले नपत्याएर सरकारी स्कुलमै पढेका आशिकको नाम छ। 

No description available.

सेन्ट जेभियर्सले नपढाउने भएपछि नजिकै रहेको त्रिपुरेश्वरमा रहेको सामुदायिक स्कुल विश्व निकेतनमा भर्ना भएका थिए। प्लस टु सामुदायिक स्कुलबाटै पढेर एमबीबीएस उत्कृष्ट सावित भएपछि आशिकको खुशीको सीमा छैन। 

‘आफ्नो कलेज, आफ्नो ठाउँ, परिवारका लागि केही गर्न सके भन्ने भएको छ,’ उनी भन्छन्, ‘यसपछि पनि यसमा केही राम्रो गर्ने र आफ्ना जुनियरहरूलाई पनि केही सिकाउने इच्छा छ।’ 
‘२०० नम्बर ल्याउने गरी तयारी गरेको थिएँ’

२०० नम्बरको प्रवेश परीक्षामा उनले १८६ नम्बर ल्याएका छन्। दोस्रो नम्बरका अमृत ज्ञवालीको उनीभन्दा ३ अंक कम छ। आशिकले पहिलो प्रयासमै एमबीबीएस प्रवेश परीक्षा टप गरेका हुन्। 

‘एक नम्बरमा नाम निकाल्छु, निकाल्दिनँ, त्यो चाहिँ मेरो दिमागमा चलेन,’ तयारीबारे उनले भने, ‘सकेसम्म राम्रो गर्छु, दुई सयमा दुई सय ल्याउँछु भनेर तयारी गरेको थिएँ। मेरै केही कमजोरीका कारण दुई सयबाट १४ अंकले पछि परेँ।’

एमबीबीएस प्रवेश परीक्षाका लागि उनको तयारी गत वर्ष भएको पहिलो लकडाउनबाट सुरु भएको हो। 

उनले कहिल्यै रुटिन बनाएनन्। ९–१० कक्षामा हुँदा बनाउँथे। तर कहिल्यै फलो भएन। उनी दिनको यति नै घण्टा पढ्छु भनेर टुंगो नभएको बताउँछन्। कहिले एक त कहिले घण्टौँ किताबमा घोत्लिएर बस्ने गरेको अनुभव उनीसँग छ। 

‘म के गर्दैछु भन्ने कुरा आफूलाई सुरुमा महसुस हुनुपर्छ। मैले गर्नुपर्छ भन्ने फिल नभएसम्म केही कुरा पनि हासिल गर्न सकिँदैन,’ उनी भन्छन्, ‘आफ्नो पाठ्यपुस्तक पढ्नै पर्छ, जान्नै पर्छ। प्रश्न त्यहीबाट आउने हो। त्यो पढियो भने राम्रो पक्कै आउँछ।’

उनले दैनिक दोहोर्‍याएर पढ्नुपर्ने सुझाए। ‘दैनिक दोहोर्याएर पढ्नुपर्छ। सकेसम्म सरले पढाउनुभन्दा अगाडि नै पढेर गयो भने अझै बुझिन्छ,’ उनले तयारीबारे थपे, ‘‘सबै प्वाइन्ट्सलाई हाइलाइट्स गर्दै त्यसलाई आफूले बुझ्ने गरी नोट बनाएर पढ्थेँ। दोहोर्याउनु एकदमै महत्वपूर्ण छ।’

प्रवेश परीक्षामा एक नम्बरमा नाम निकालेपछि अब आशिकले आफैँ कलेज छान्न पाउँछन। आशिकले महाराजगञ्जस्थित शिक्षण अस्पताल रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा पढ्ने सोच बनाइसकेका छन्। 

देशको स्वास्थ्यको स्थिति हेरेर आफूलाई मेडिकल क्षेत्रमै जाने इच्छा लागेको उनी बताउँछन्।  अहिले कोरोनाका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएकाले धेरै क्षति पुगेको उनको अनुभव छ। दक्ष जनशक्ति, पर्याप्त चिकित्सक भएको भए कोरोनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा उनी विश्वस्त छन्। 

‘पर्याप्त र दक्ष स्वास्थ्य जनशक्ति भएको भए कोरोनाको रोकथाम र उपचार अझै व्यवस्थित गर्न सकिन्थ्यो’, उनी आफू डाक्टर बन्न चाहनुको कारण भन्छन्, ‘थुप्रै मान्छेको ज्यान जोगाउन सकिन्थ्यो।’ 

एमबीबीएसपछि कुन विशेषज्ञता हासिल गर्ने सोचेका छैनन्। तर कम्तीमा दुई तीन विषयमा एमडी गर्ने उनको लक्ष्य छ। 

सामुदायिक स्कुल पनि कम छैनन् : प्रअ कँडेल

No description available.

विश्व निकेतनका प्राचार्य हेरम्बराज कँडेल पहिलो प्रयासमै आफ्नो विद्यार्थीले ३५ हजार बढी विद्यार्थीबाट सर्वोत्कृष्ट हुनु सामुदायिक विद्यालयमा कमजोर नरहेको पुष्टि गरेको बताउँछन्। 

उनले विद्यार्थीहरुले राम्रो गरुन् भन्न नै १२ कक्षाको मध्यतिर एक्सपर्टहरु, भिजिटिङ प्रोफेसर ल्याएर करिअर काउन्सिलिङ गर्ने गरेको बताए। 

‘आशिक एकदमै मिहिनेती भएर पढ्ने लगनशील स्वभावको विधार्थी हो। पढाइसँगै अतिरिक्त क्रियाकलाप र प्रोजेक्ट वर्कमा पनि अब्बल रहन्थ्यो,’ कँडेल भन्छन्, ‘उनको नतिजाले सामुदायिक विद्यालयले पनि राम्रो गरिरहेको पुनः एकपटक प्रमाणित भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .