ad ad

समाज


काठमाडौँ उपत्यकामा कोरोनासँगै दुर्गन्धको महामारी

काठमाडौँ उपत्यकामा कोरोनासँगै दुर्गन्धको महामारी

यज्ञराज जोशी
भदौ ९, २०७८ बुधबार १९:२८, काठमाडौँ

कालोपुलसँगै जोडिएको घरमा बस्ने अशोक महर्जनको परिवारलाई सहिनसक्नु भएको छ। घरछेऊमै थुपारिएको फोहोर दुई हप्तादेखि उठेको छैन। 

पुलछेउमै फोहोरको विशाल थुप्रो छ। अलिअलि हावा चल्दा पनि दुर्गन्ध उनको घरसम्मै आइपुग्छ। 

‘दुर्गन्धले बसिनसक्नु भएको छ। खाना समेत राम्रोसँग खान नपाइएको धेरै दिन भयो,’ महर्जनले नेपालखबरसँग भने, ‘कोरोना महामारीले पीडित त थियौँ नै, दुर्गन्धको महामारीले झन् पीडा थपेको छ।’

अहिले उपत्यकाका अधिकांश चोक, गल्ली, पुल, नदी किनारमा फोहारका पहाड थुप्रिएका छन्। दैनिक दुई सय गाडी फोहोर उठ्ने काठमाडौंबाट अहिले जम्मा ५० गाडीले मात्रै फोहोर उठाइरहेका छन्। पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ। 

उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको सिसडोल भरिएको र दीर्घकालीन व्यवस्थापनस्थल निर्माण सम्पन्न नहुँदा समस्या थप चुलिएको हो। वर्षासँगै सिसडोल जाने सडकमा पनि समस्या आएपछि दुई हप्तादेखि उपत्यकाको फोहर नियमित रुपमा उठ्न सकेको छैन। 

साउन ३२ गते नै कामपाले सार्वजनिक रुपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। तर एकहप्ता नाघिसक्दा पनि अझै फोहोर नउठेपछि उपत्यकाबासी दुर्गन्धको महामारीमा परेका हुन्। 

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए। 

‘वर्षाले सिसडोल जाने सडक बिग्रिनुका साथै सिसडोल पनि फोहोरले भरिएपछि समस्या देखिएको हो। साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘अहिले नदी किनार र सडक छेउछाउमा फोहोर थुप्रिरहेको छ। यसले दुर्गन्ध पनि फैलिएको छ।’

सिसडोलमा विसं २०६२ मा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएकामा पटकपटक विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ। हरेक दिन उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। 

गत असारदेखि नै सिसडोल पुग्ने बाटो वर्षाका कारण बिग्रिएको हो। कोल्पु खोलादेखि फोहोर बिर्सजनस्थलसम्म झन्डै २ सय मिटर बाटो नराम्ररी बिग्रिएका कारण निकै समस्या भएको र डोजरले गाडी तान्ने र धकेल्ने काम गरिरहेको श्रेष्ठले बताए। हिलोमा गाडीहरु फसेर अगाडि बढ्न निकै समस्या हुने गरेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म काठमाडौँ उपत्यकामा वर्षा हुने अनुमान गरिएको छ। वर्षा रोकिए पनि नियमित फोहर उठ्ने महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठ बताउँछन्।

‘अझै केही दिन फोहोरको समस्या रहिरहने अनुमान गरेका छौँ। पानी पर्न रोकिएपछि बाटो मर्मत गरेर फोहोर संकलन गर्न सकिन्छ,’ उनले भने। 

बन्चरेडाँडा अनिश्चित
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडालाई उपत्यकाको दीर्घकालिन फोहोर व्यवस्थापनका लागि निर्माण कार्य अघि बढाइएको थियो। तर, १८ वर्ष बित्दा पनि कहिले निर्माण सम्पन्न हुन्छ, थाहा छैन।

२०६२÷६३ सालमै उक्त योजना अघि बढाए पनि हालसम्म सम्पन्न नभएपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै चाँडै गति दिने वातावरण निर्माण गरिदिन अनुरोध गरेका छन्। 

शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पत्र पठाएका हुन। निर्माणको जिम्मा लिएको शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुराकानी गर्दा समेत समस्या समाधान नभएपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराइएको मेयर शाक्यले बताए। 

‘बञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाकको फोहोरमैला व्यवस्थापन सहजताकासाथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु,’ शाक्यले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ।

बञ्चरेडाँडामा हाल सहरी विकास मन्त्रालयले पूर्वाधार निर्माणको काम गरिरहेको छ। सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले पूर्वाधार निर्माणकै चरणमा रहेको जानकारी दिए। 

‘कोरोना महामारी र विभिन्न प्राविधिक कारणले काम सम्पन्न हुन समय लागेको छ,’ उनले भने, ‘छिटो काम सक्न ठेकेदारलाई ताकेता गरिरहेका छौँ। कम्तीमा अझै ५÷७ महिनामा लाग्ने देखिएको छ।’

उनका अनुसार ३१ हजार वर्गमिटर क्षमतामा फैलिएको साइटमा फोहोरबाट झोल संकलन गर्न २० हजार घनमिटर क्षमताको २ वटा पोखरी निर्माणको काम भइरहेको छ। पहिलो प्याकेजका पूर्वाधारका काम ७० प्रतिशत सकिएको छ। जसमा फोहोर र झोल जम्मा गर्ने दुई पोखरीसहितको काम रहेको उनले बताए। यस्तै दोस्रो प्याकेजमा फोहोर संकलनस्थलमा ड्याम निर्माणको काम भइरहेको उनले बताए। 

सरुवा रोगको जोखिम
काठमाडौँमा फोहोर थुप्रिन थालेपछि सरुवारोगको जोखिम बढेको चिकित्सकहरुले बताएका छन्। फोहोर र दुर्गन्धले झाडापखाला, आउँ, ज्वरोका बिरामीहरु बढ्ने डा. शेरबहादुर पुनले बताए। 

‘नियमित पानी परिरहेको छ। यस्तोमा फोहोर थुप्रिदा सबै खाले सरुवा रोगहरु जस्तै झाडापखला, आउँको जोखिम एकदमै बढी हुन्छ,’ डा. पुनले भने, ‘फोहोरबाट उत्पन्न हुने किटाणुहरु हावामा फैलिने र त्यहाँबाट हाम्रो खानेकुरा, श्वासप्रश्वासबाट पनि हामीमा संक्रमण हुने हुँदा सरसफाइमा ध्यान दिनु आवश्यक छ।’

डा. पुनले कोरोना महामारीमा जस्तै फोहोर बिसर्जन नहुँदासम्म मास्कको पनि नियमित प्रयोग गरिरहन सुझाव दिए। उनले बाहिरको फोहोर नउठुञ्जेल सकेसम्म घरभित्रको फोहोर भित्रै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .