समाज


नारायण डुमका परिवारलाई मिल्यो पानी, तर ५ सय मिटर परबाट ल्याउनुपर्ने

नारायण डुमका परिवारलाई मिल्यो पानी, तर ५ सय मिटर परबाट ल्याउनुपर्ने

शैलेन्द्र महतो
भदौ १२, २०७८ शनिबार १३:३५, काठमाडौँ

महोत्तरीको सम्सी गाउँपालिका-५ संग्रामपुर पोखरभिण्डाका नारायण मल्लिक डुमले अब सफा पानी पिउन पाउने भएका छन्। 

डुम भएकै कारण छिमेकले चापा कलमा पानी भर्न नदिँदा नारायणका परिवार चार महिनादेखि डुबानमा परेको आफ्नै कलको दूषित पानी खान बाध्य छन्। 

नेपाल खबरमा ‘डोम परिवारको पीडा : वर्षातले झुपडी डुब्यो, छिमेकीले पानी खान दिएनन्’ शीर्षकको समाचार छापिएपछि नारायणका परिवारलाई कलमा पानी भर्न दिने व्यवस्था प्रहरीले मिलाएको छ।

तर, उनका परिवारले सफा पानी पाँच सय मिटर परको कलबाट ल्याउनु पर्ने छ।

समाचार आएपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विपन्न दलित परिवार बस्तीको यो चरम अमानवीय अवस्थाको न्यायपूर्ण सम्बोधनका लागि ध्यान पुर्‍याउन मुख्यमन्त्री लालबाबु राउत र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई ध्यानाकर्षण गराएका थिए। 

लगत्तै मुख्य न्यायाधिवक्ता झाले शुक्रबार दिउँसो स्थानीय पोखरभिण्डा प्रहरी चौकी इन्चार्ज सई रामबाबु यादवलाई फोन गरी नारायण मल्लिकको परिवारलाई खानेपानी भर्न कुनै अवरोध नहुने व्यवस्था मिलाउन भनेका थिए। 

सई यादव शुक्रबार दिउँसै पुगेर मल्लिक परिवारलाई पानी भर्न दिने व्यवस्था मिलाएको बताए। घरदेखि करिब ४/५ सय मिटर उत्तरको एउटा बोर्डिङ्ग स्कुल र एकजना स्थानीयको घरमा नारायणका परिवारलाई पानी भर्न दिने व्यवस्था मिलाएको  सई यादवले बताए।  

तर नारायणकै घरकै सय मिटर छेउछाउ थुप्रै छिमेकी छन्। ती छिमेक अझै मल्लिक परिवारलाई आफ्नो कलबाट पानी भर्न दिन अस्वीकार गरेका छन्।

घर छेउछाउमै थुप्रै छिमेकहरू छन्। सबैको घरमा कल छ। त्यहाँबाट मल्लिक परिवारलाई खानेपानी व्यवस्था भएन। त्यति टाढाबाट पानी ल्याउनु पर्ने किन? भन्ने प्रश्नमा सई यादवले नेपालखबरसँग भने  ‘नजिकका सबै छिमेकीलाई पानी दिन आग्रह गर्दा उनीहरुले आँगनमा कल छ। छोरीबुहारी हुन्छन्। बाहिरको मानिसलाई कसरी पानी भर्न दिनु भनेर जवाफ दिन्छन्। त्यसैले अलि ४/५ सय मिटर परको स्कुल र एक छिमेकबाट पानी भर्न दिन व्यवस्था मिलायौँ।’

घर डुबानबारे अहिले केही गर्न नसक्ने सई यादवले बताए। अगाडिबाट अग्लो नाला हालिएको छ। केही पर दक्षिणमा सडक छ मल्लिकको घर गहिरोमा भएकाले कतै पानीको निकास नभएको उनको भनाइ छ।  

गरिबीको चपेटामा रहेका दलित नारायण डुमको घर वर्षात् सुरु भएसँगै घर डुबानमा परेको छ। उनी सुकुम्बासी हुन्। यद्यपि रामजानकी कुट्टीको जग्गामा नारायणले बाँस र खरले घर बनाएका छन्। 

घर डुबानमा परेपछि अहिले वर्षाको बेला उनको परिवार सडकपेटीमा त्रिपाल टाँगेर कष्टकर जीवन व्यथित गरिरहेका छन्। 

उनको परिवारमा श्रीमती, तीन छोरा, दुई बुहारी र एक दुई हप्ताका नाति बस्छन्। कल डुबानमै परेको छ भने छिमेकीहरू त्यहि सडकछेउमा भैँसीको गोठ राखेका छन्। 

डुबानमा परेको कलको पानी फोहोर आउने गरेको छ। तल्लो जात भन्दै छोइन्छ भनेर छिमेकहरूले कलमा पानी भर्न नदिँदा आफ्नै कलको फोहोर पानी खान बाध्य छन्। 

तराई-मधेसको अत्यन्त पिछडिएका दलित समुदाय मध्येमा पर्ने डुम बाँसको बैना, डगरी, टाट बिनेर जीवन यापन गर्ने गर्दछन्। 

त्यहाँ नारायण मल्लिक डुमको एकलो परिवार रहेको छ। दलितमध्येमा पनि सबैभन्दा तल्लो जात रहेको भन्दै डुम समाजमा अहिले पनि अपहेलित छन्। उनीहरुलाई घृणाको दृष्टिले हेर्ने गरिन्छ। त्यसैले उनीहरुको जीवनस्तर उठ्न सकिरहेको छैन। 

खाद्यान्न  सहयोग 

डुमको कष्टकर जीवन बिताइरहेको समाचार बाहिरिएपछि एक गैर सरकारी संस्थाले खाद्यान्न तथा बन्दोबस्तीका सामान सहयोग गरेको छ। वर्ल्ड भिजन इन्टरनेशनल बर्दिबासले उनको परिवारलाई खान पुग्ने एक महिनाको चामल, दाल नुन, तेल लगायत खाद्यान्न सहयोग गरेको हो।

त्यस्तै दुईवटा भान्छामा पुग्ने भाँडाकुँडा (किचेन सेट), चारवटा त्रिपाल, दुईवटा सोलार बत्ति सेट, ओछयान लगायत समान सहयोग गरेको हो। समाचार पढेपछि शुक्रबार घरमै पुगेर नारायण मल्लिक डुम परिवारलाई सहयोग गरेको संस्थाका कर्मचारी प्रमिल अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .