ad ad

समाज


महेशराज पन्त : पल्टाउँदैछन् बुवाकै डायरी, उधिन्दै छन् इतिहास

महेशराज पन्त : पल्टाउँदैछन् बुवाकै डायरी, उधिन्दै छन् इतिहास

यज्ञराज जोशी
भदौ २२, २०७८ मंगलबार ८:४४, काठमाडौँ

मुस्लो झैँ दन्किरहेको शतक लामो राणा विरोधी आन्दोलनलाई भित्र भित्र सघाएको सुइँको पाएपछि राणाहरुले तत्कालीन राजा श्री ५ त्रिभुवन बीर विक्रम शाहलाई दरबारमै अघोषित नजरबन्दमा राखे।

तर राजा त्रिभुवन भने दरबारबाट निस्किएर भारतीय दूतावासको शरणमा पुगे। त्यतिखेर दूतावास अहिले राष्ट्रपति निवास रहेको भवनमा थियो।

२००७ साल कात्तिक २१ गतेको यो घटना नेपाली राजनीतिक इतिहासका लागि विशिष्ट र दुर्लभ थियो।

त्यसबेला नेपाल संस्कृत विद्यालयमा अध्यापक रहेका प्राज्ञ इतिहासविद् नयराज पन्तले उक्त घटनालाई डायरीमा उतार्न थाले। डायरीमा लेखिए अनुसार राजा त्रिभुवन पाँच दिन दूतावासको शरणमा रहे, कात्तिक २६ गते दिल्लीबाटै आएको जहाजमा चढेर उनी भारततर्फ उडे।

काठमाडौं दूतावास हुँदै भारत पुगेका त्रिभुवन राणा सरकार, कांग्रेस र राजाबीच त्रिपक्षीय सहमति भएपछि फागुन ४ गते स्वदेश फर्किए। फागुन ७ गते मुलुकमा प्रजातन्त्र आयो।

त्यसबेलाका महत्वपूर्ण घटनाक्रमलाई डायरीमा उतारेका नयराजले जतन साथ राखेका थिए, त्यही डायरीलाई अहिले उनका छोरा महेशराज पन्तले किताबको आकार दिन लागेका छन्।

संस्कृतमा लेखिएको उक्त डायरीलाई नेपालीमा अनुवाद, सम्पादन र केही घटनाको सन्दर्भ ब्याख्या सहित यतिबेला बुबा बितेको १९ वर्षपछि किताब प्रकाशन गर्न लागेका उनी उत्साहित देखिन्छन्।

महेशराजले साउन २६ गते बुवा नयराजको जन्मदिन पारे पुस्तक प्रकाशन गर्ने भनेका थिए,तर भ्याएनन्।

​काम नसकिएपछि आगामी लक्ष्मीपूजाका दिन पुस्तक प्रकाशनको लक्ष्य लिएका छन। ०५९ को लक्ष्मीपूजका दिन नयराजको निधन भएको थियो।

यसअघि नै 'को हुन नयराज' भन्ने किताब मार्फत् पाठकहरूलाई आफ्ना बुवाबारे यथेष्ट साक्षात्कार गराइसकेका पन्तले यसपाली बुवाको उक्त डायरीलाई सार्वजनिक गरेर थप परिचय सँगाल्न लागेका हुन्।

हामीले पनि ७८ बर्षका यी जोशिला महेशराजलाई बारम्बार बुवाको स्मृतिमा धकेल्यौ।

घरी संसोधन मण्डलका कुरा सोध्यौ, घरी पूर्णिमा मासिकका कुरा गर्यौ, कतिबेला नयराजले सुधारेका इतिहासका त्रुटि बारे खोतल्यौँ। सबैभन्दा धेरै कुरा चाँहि ००७ सालमा नयराजले लेखेर आजसम्म प्रकाशित नभएको डायरीकै बारेमा गर्यौँ।

त्यतिखेर नयराजले त्रिभुवनको दरबारबाट बर्हिगमन र दरबार आगमनबारे किताब लेख्दा महेशराज भर्खरै ७ बर्षका थिए।त्यसैले उनी त्यो घटना मधुरो मधुरो मात्रै सम्झिन्छन्।

‘व्यक्तिगत कुरा छैनन। त्यसबेला दिनानुदिनका घटनाक्रम र बुबाको भावना डायरीमा समेटिएको छ,’ महेशराजले आइतबार साँझ डल्लुस्थित निवासमा नेपालखबरकर्मीसँग भने, ‘बुबाले संस्कृतमा लेखेको डायरीलाई जस्ताको तस्तै नेपालीकरण गरेको छु। केही आवश्यक सन्दर्भ, व्याख्यासहित भूमिका मैले थप्दै छु।’

१३ वटा इतिहासका अनुसन्धानात्मक गहन पुस्तक प्रकाशन गरिसकेका महेशराज सानैदेखि बुबाको सानिध्यमा हुर्किए।

बुबाको पाठशालामा उनले इतिहास सम्बन्धि ज्ञान लिएका हुन। बुबाले उनलाई थुप्रै इतिहासका घटनाहरु बताएको स्मरण छ।

१४ वर्षकाे उमेरमा मात्रै अंग्रेजीको एबीसीडी पढेका महेशराज संस्कृति र इतिहासमा भने त्यो बेलासम्म प्रखर भइसकेका थिए।

बुवाले लेखेका र अहिलेसम्म प्रकाशित नभएका सबै कृति अब प्रकाशन गर्ने सोचमा महेशराज छन्।

त्यसैले पनि उनले यो किताबमा प्राथमिकताका साथ काम गरिरहेका छन्। डायरीका केही अंश बुबाकै पालामा तत्कालिन ‘पूर्णिमा’ पत्रिकामा छापिएको थियो।

तर यसपटक डायरीलाई फाइन प्रिन्टले बजारमा ल्याउने तयारी गरेको छ। करिब २ सय पृष्ठको  किताबमा ००७ साल कात्तिकदेखि ००८ साल चैतसम्मका घटनाक्रमहरू समेटिने छन्।

‘कसरी राणा शासन ढल्यो। कांग्रेसीहरु कसरी सत्तामा आए र २००७ सालको वरपरको नेपाली राजनीतिको चित्र डायरीमा पढ्न पाइन्छ,’ महेशराज भन्छन्।

त्रिभुवन निर्वासनमा जाँदा रानीहरु र जेठो नाति वीरेन्द्रलाई संगै लिएर गए, मामा घरमा रहेका ज्ञानेन्द्रलाई राणाहरुले केही समय राजा बनाए।

तर कान्छा नाति धिरेन्द्र र दुई नातिनीहरू कहाँ थिए भनेर कतै पनि नलेखिएको महेशराज बताउँछन्।

‘बुवाको डायरीमा पनि त्यो कुरा छैन, अहिले काम गर्दै जाँदा त्यतिखेर उनीहरु कहाँ थिए होला भन्ने प्रश्न मनमा आइरहेको छ, खोज्नपर्ला,’ उनले भने।

उनका अनुसार डायरीमा नयराजले कांग्रेसले किन शासन गर्न सक्दैनन भनेर पनि लेखेका छन्।

राजादेखि रैतीसम्मका कुरा लेखेका नयराजले घटनाक्रम मात्रै हैन आफ्नो अनुभूति पनि डायरीमा उतारेका छन्।

उनले राणा, राजा र तत्कालीन कांग्रेसले जनताका लागि किन शासन गर्न सक्दैनन् भनेर कारण समेत लेखेका छन्।

डायरीमा नयनराजले विपी कोइराला, तत्कालीन प्रधानमन्त्री मोहन शमशेर र राजा त्रिभुवनमाथि तिखो टिप्पणी गरेका छन।

राणा काल, प्रजातन्त्र। पञ्चायत र बहुदल भोगेका नयराजले कुनै पनि बेलाका शासकले जनतालाई केन्द्रमा राखेर काम गरेको देखेनन्। त्यसैले उनी बारम्बार यी सत्ताधारीले गरि खाँदैनन भनिरहन्थे।

बुबाको इच्छा के हो? कस्तो शासन हुनुपथ्र्यो? भन्ने प्रश्नको उत्तर पहिल्याउन खोजिरहेका छन् उनले।

७७ बर्षको उमेरमा बुवाले लेखेको इतिहास उधिन्दै गरेका महेशराज बुवाप्रति नतमस्तक छन्। बिगारिएको इतिहास सच्याउन २००९ सालमा संसोधन मण्डल बनाएर लगातार गरेका काम र प्रकाशन हुन नसकेका बुवाका भावनालाई उनि अब दुनियाँसामु देखाउन चाहन्छन्।

अहिलेसम्म लुकेर रहेका कुरा सार्वजनिक गर्ने क्रमकाे सुरुवात उनले बुवाकै डायरीबाट गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .