ad ad

समाज


दुई जना मारेर जेल परे, जेलमै तेस्रो हत्या गरेलगत्तै माफी पाएर छुटे

दुई जना मारेर जेल परे, जेलमै तेस्रो हत्या गरेलगत्तै माफी पाएर छुटे

उजिर कार्की
असोज १, २०७८ शुक्रबार ७:१६, काठमाडौँ

पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारी २०७४ सालको दसैँको अवसरमा कैद सजाय माफी पाएर जेलबाट छुटेका थिए। 

विवेक सिंह भनेर चिनिने अन्सारीलाई वीरगञ्जका व्यवसायी राजेश क्याल र जटाशंकर साहको हत्या अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पर्साले जन्मकैदको सजाय दिएको थियो।

राष्ट्रपतिबाट माफी पाएर छुट्नुअघि उनले जेलभित्रै तेस्रो हत्या पनि गरेको खुलासा भएको छ। यद्यपि, जेलभित्रै एक जनाको ज्यान लिएको एक वर्ष नबित्दै असल चालचलनको आधारमा बाँकी कैद मिनाहा गरी उनलाई छाडिएको थियो। 

२०७३ पुस १० गते दिउँसो ४ः४५ मा अन्सारीसहितका ६ जना कैदीले वीरगञ्ज कारागारभित्र अपहरण मुद्दाका कैदी राजन बानियाँको हत्या गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका बानियाँको माघ १७ गते मृत्यु भएको थियो। उनीहरुको आक्रमणबाट अरु ८ जना घाइते भएका थिए।

सर्वश्वसहित जन्म कैद तोकिएका र जेलभित्र अर्को हत्याकाण्ड मच्चाएका अन्सारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज १३ गते माफी दिएकी थिइन्। असल चालचलन भएको र आधा कैद भुक्तान गरिसकेका जघन्य अपराधबाहेकका कैदीलाई कारागार प्रशासनको सिफारिसमा माफी दिने गरिएको छ। 

चोरीदेखि हत्यासम्म
२०६३ फागुन २६ गते वीरगन्ज महानगरपालिका १४ का राजेश्वर साह कानूको घरमा चोरी भएको थियो। अन्सारीले घरभित्र प्रवेश गरी टीभी, सुनका गहना, कपडालगायत १ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा उनी फरार सूचीमा थिए।

२०६५ कात्तिक १२ गते साँझ ७ः५० बजे वीरगन्ज महानगरपालिका १३ का ५६ वर्षीय जटाशंकर साहको हत्या भएको थियो। उनीसँग अन्सारीले २० लाख रुपैयाँ फिरौती मागेको र नदिएपछि गोली प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

त्यसको दुई महिनापछि २०६५ पुस ७ गते वीरगन्ज १३ का राजेश क्यालको हत्या भएको थियो। उनीसँग पनि अन्सारीले २० लाख रुपैयाँ फिरौती मागेका र नदिएपछि गोली हानी हत्या गरेका थिए। 

त्यसको १५ दिन नबित्दै पुस १९ गते बाराको कन्या प्राविकी प्रधानाध्यापक उर्मिला थसिनेमाथि पनि अन्सारीले गोली प्रहार गरेका थिए। स्कुलको झ्याल बाहिरबाट प्रहार गरेको गोली थसिनेको पाखुरामा लागेको थियो।

दुई जनाको हत्या र एक जनाको हत्या प्रयास गरेर जन्मकैदको सजाय पाएका अन्सारी जेलभित्रै अर्को हत्याकाण्ड गरेर मुक्त भएका थिए। बाहिर आएपछि पनि उनले आपराधिक गतिविधि छाडेका थिएनन्। भारतमा बसेर नेपालमा बम विस्फोट, फिरौतीलगायतका अपराधमा उनी संलग्न थिए। 

जेल जानुपहिले नै उनले दुई जनाको हत्या र एक जनामाथि गोली प्रहार गरी घाइते बनाएका थिए। यस्तै चोरीका घटनामा समेत उनको संलग्नता देखिएको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।

भारतबाट घर आउने क्रममा गत सामेबार बिहान अन्सारी पक्राउ परेका छन्। नेपालमा विवेक र फुलहसन नामबाट चिनिँदै आएका उनले भारतमा भने अंकित पटेलको नाममा आधारकार्ड बनाएका थिए। यसबीचमा उनी धेरै पटक नेपाल आउजाउ गरे पनि प्रहरीले समात्न सकेको थिएन।

उनले २०७६ साउन २४ गते साँझ ७ बजे वीरगन्ज ४ बिर्ता बजारमा र २८ गते साँझ सवा ८ बजे वीरगन्ज ८ घण्टाघरनजिक तरकारी बजारमा सुतली बम विष्फोट गराएका थिए। विस्फोटमा परी ५ जना घाइते भएका थिए।

घण्टाघरनजिक रहेको राजकुमार अग्रवालको घरमा सोही समयमा र बाराको प्रसौनीमा २०७६ साउन १ गते बम विस्फोट भएको थियो। उक्त बिस्फोटमा पनि अन्सारीको संलग्नता खुलेको छ। बम बिस्फोटमा संलग्न उनका आफ्नै दुई भाइ अझै जेलमै छन्। 

अन्सारी जेलभित्रको चक्कु प्रहार गरी एक जनाको हत्या र ५ जना घाइते भएको मुद्दामा १ लाख पचास हजार रुपैयाँ धरौटीमा छुटेको पाइएको छ। यो मुद्दाको फैसला भने हुन बाँकी रहेको प्रहरीले श्रोतले जानकारी दिएको छ। बम विष्फोटको घटनाको मुद्दा भने मुल्तबीमा राखिएको थियो। 

वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३२ वर्षीय इनुस अन्सारी, २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भनिने जौवाद अन्सारीलाई त्यहीबेला पक्राउ गरेको थियो। २०७५ भदौ ४ गते वीरगञ्जको चण्डाल चोकबाट पक्राउ परेका उनीहरुको साथबाट ४ थान गोली र विस्फोटक पदार्थसमेत फेला परेको थियो।

उनीहरुको बयानबाट अन्सारी मुख्य योजनाकार रहेको खुलेको थियो। तर त्यसपछि उनी भारतमा बसेरमा नेपालमा अपराध गर्दै आएका थिए। 

पक्राउ परेका ३ जनालाई जिल्ला अदालत पर्साले अढाइ वर्षका दरले कैद र २५ हजार रुपैयाँका दरले जरिवानाको सजाय सुनाएको थियो। अन्सारीको मुद्दा मुल्तबीमा थियो।

यसरी सुरु भयो अन्सारीको अपराध यात्रा 
फुलहसन अन्सारीका बुबासँग तीन बिघा जमिन थियो। परिवार खेती गरेर गुजारा चलाउँथ्यो। तर, बुबाले जग्गाजमिन समेत बेचेर जाँड रक्सी खाएको अन्सारीको बयान छ।

त्यसपछि उनीहरुसँग ४ धुर सगोलको घडेरी र ढुंगा माटोको घर मात्र बाँकी रह्यो। घरको आर्थिक अवस्था नाजुक हुँदै गएपछि १५ वर्षको उमेरमा उनी पढाइ छाडेर भारतको दिल्ली गए।

तर, नाबालक भएकोले त्यहाँ उनले काम पाएनन्। ७८ दिनपछि घर फर्किए। घर फर्किएको करिब २ महिनापछि फिल्म हेर्न गएका बेला उनको भेट बाराको बरेवा शीतलपुर बस्ने नितेश कुसवाहसँग भयो। 

सँगै सिटमा बसेको बेलामा कुरा हुँदा तराई जनतान्त्रिक पार्टीमा लागेमा मधेसीमाथिको शोषण अन्त्य गर्न सकिने र पैसा पनि कमाइने प्रलोभन नितेशले दिए। 

सोही प्रलोभनमा परेका अन्सारी नितेशसँग भारतको आधापुर पुगे। पार्टीका बारा, पर्सा, रौतहट संयोजक प्रकाण्ड उपनाम भएका शेखर भन्ने व्यक्तिसहित ३ जनाको समूहसँग भेट गराए। 

त्यो समूहले उनलाई सुतली बम पड्काउन सिकायो। उनले अर्का एक व्यक्तिसँग मिलेर वीरगञ्ज पब्लिक कलेजनजिकै रहेको राजकुमार अग्रवाल नामक व्यक्तिको घरमा बम पड्काए।

त्यसको २ महिनापछि प्रकाण्डले वीरगञ्जमै रहेको आफ्नो कोठामा अन्सारीलाई पु¥याए र बम बनाउन सिकाए। केही दिनपछि प्रकाण्डकै निर्देशनअनुसार एउटा सरकारी कार्यालयको प्रमुखबाट एक लाख रुपैयाँ चन्दा उठाई पार्टीलाई दिए। त्यसपछि पार्टीले उनको नाम पनि बदलिदियो। 

उनले विवेक सिंह उपनाम राखी चन्दा संकलन गर्न अनुमति पाए। प्रकाण्डले उनलाई रक्सौल बोलाई एउटा कटुवा पेस्तोल र ९ राउण्ड गोली पनि दिए।

पेस्तोल पाएपछि अन्सारीले उद्योगी–व्यापारीहरू राजेश क्याल, जटाशंकर साहसहित विभिन्न व्यक्तिसँग २० लाख रुपैयाँका दरले चन्दा माग गरे। नदिएमा बम पड्काउने र भौतिक आक्रमण गर्ने धम्की दिए। पैसा दिन इन्कार गरेकोले जटाशङ्कर साह र राजेश क्याललाई गोली हानी हत्या गरेको उनले बयानका क्रममा बताएका छन्।

बाराको कन्या प्राविकी प्रधानाध्यापक उर्मिला थसिनेलाई विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोप लगाई १० लाख माग गरेको र नदिएपछि गोली प्रहार गरी घाइते बनाएको पनि उनले बयान दिएका छन्।

वीरगञ्जको एउटा कलेजका संस्थापकलाई फोन गरी २५ लाख माग गर्दै धम्क्याएका थिए। त्यही सिलसिलामा सिर्सिया पुलनजिक प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनी तीन जनाको छुट्टाछुट्टै हत्या अभियोगमा कारागार चलान भएका थिए।

जेल परेको ८ वर्षपछि सामान्य विवादमा जेलभित्र चक्कु प्रहार गर्दा राजन बानियाँको मृत्यु भएको थियो। अरू ८ जना गम्भीर घाइते भएका थिए।

९ वर्ष जेल बसेपछि असल चालचलन भएको सिफारिसमा ५६ प्रतिशत कैद मिनाहा भई छुटेका थिए। तर, चोरी मुद्दामा पुनः पक्राउ पर्ने डरले भागेर उनी रक्सौल गए। भारतीय जाली नोट कारोबारी साजिद अन्सारीलाई भेटे। साजिदसँग जेलमै चिनजान भएको थियो। र, भारतमै बस्न थाले। 

त्यसपछि विभिन्न व्यक्तिलाई धम्क्याएर ३ करोड रुपैयाँ कमाउने योजना बनाए। त्यसका लागि ४ वटा बम बनाएर पर्साका प्रमोद भन्ने व्यक्तिलाई बम राख्न पठाएका थिए।

उनले वीरगञ्ज कारागारका चौकीदार शेख भोलालाई फोन गरेर पैसा मागेर  तर उनले दिन इन्कार गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर शेख भोलाको सरुवा गर्न भने। 

तर सीडीओले सरुवा नगरेपछि ‘अब म जे पनि गर्नसक्छु, त्यसको जिम्मेवार तपाईँ हुनुपर्छ,’ भन्दै अश्लील र धम्कीपूर्ण एसएमएस पठाएका थिए। त्यसपछि  बिर्ताबजार र मीनाबजारमा बम पड्काउन लगाएका थिए।

त्यस्तै बारा प्रसौनीका एक व्यापारीलाई फोन गरी २० लाख रकम मागेको र नदिएपछि उनको घरमा बम पड्काएको पनि खुलासा भएको छ।

पछिल्लो समय उनले साजिद अन्सारीसँग मिलेर भारतमा ब्राउनसुगरलगायतका लागुऔषध बेचबिखन गर्ने, रकम असुली गर्ने काम गर्दै आएका थिए। 

साजिद अन्सारीको समूहसँगै मिलेर वीरगञ्जका उद्योगी, व्यापारी लगायतका धनी व्यक्तिहरूलाई फोन गरेर पुनः फिरौती असुल गर्ने योजना बनाएका थिए। त्यही सिलसिलामा नेपाल आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो। अहिले अनुसन्धान भइरहेको एसपी पाण्डेले नेपालखबरलाई बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .