ad ad

समाज


२७ वर्षे सिद्धान्तको सोच, जसले चाँगुलाई विश्वकै उत्कृष्ट १० नगरमा पार्‍यो

२७ वर्षे सिद्धान्तको सोच, जसले चाँगुलाई विश्वकै उत्कृष्ट १० नगरमा पार्‍यो

सिद्धान्त न्यौपाने


यज्ञराज जोशी
असोज ७, २०७८ बिहिबार ७:२३, काठमाडौँ

चाँगुनारायण नगरपालिकामा सूचना प्रविधि अधिकृत (आईटी अफिसर)को जागिर सुरु गरेपछि २७ वर्षे सिद्धान्त न्यौपानेलाई सबैलाई यो तथ्यांक चाहियो, त्यो तथ्यांक चाहियो भनेर खोज्दै आउँथे। 

आईटी अफिसर भएकाले कार्यालयकै कर्मचारी, जनप्रतिनिधि, अध्ययन अनुसन्धान गर्नेहरु तथा सेवाग्राहीहरु तथ्यांकका लागि उनीसँग ठोक्किनु अस्वभाविक होइन। 

तर, अझै पनि ढड्डा नै पल्टाउनुपर्ने सरकारी कार्यालयमा चाहिएको तथ्यांक खोज्न कम्ता सास्ती हुन्थेन। तथ्यांक छरपस्ट हुन्थे। कति कागजमा थिए। कति उनले आफै वर्ड फाइल, एक्सेलमा सेभ गरेका हुन्थे। कति इमेलमा हुन्थे। खोजेका बेला सजिलै भेटिँदैनथे। 

यथोचित डाटा भण्डारण नहुँदा नगरपालिकाको कार्य सम्पादनमै असर पुर्याएको थियो। एक दिनमा सकिने काम तथ्यांक नभेटिएकै कारण तीन–चार दिन लाग्ने अवस्था थियो। सोहीकारण सेवाग्राहीले पनि सानो कामको लागि दैनिक धाउनुपर्ने बाध्यता थियो। 

दातृ निकायको सहयोगमा संघीय मामिला मन्त्रालय अन्तर्गतको संघीय र स्थानीय सरकारलाई सपोर्ट गर्ने कार्यक्रममार्फत नगरपालिकामा आईटी अफिसरका रुपमा काम गर्न थालेको केही समयमा नै सिद्धान्तलाई तथ्यांकहरु एकीकृत नभएका कुराले निकै सताउन थालेको थियो। 

त्यसपछि उनले एकीकृत रुपमा सजिलै सबै तथ्यांकहरु एकै ठाउँमा पाउन सक्ने, कार्यसम्पादनका क्रममा आएका डाटालाई प्रविष्ट गर्ने र नगरपालिकासँग सम्बन्धित डाटाहरुमा सबैको पहुँच पुग्ने वेब पोर्टल हुनुपर्ने महसुस गरे। 

सिद्धान्तले यस्तो प्लाटफर्मको कल्पना गरेका थिए, जहाँ नागरिकले पनि निशुल्क रुपमा आफूअनुकूल नगरपालिकासँग सम्बन्धित ततथ्यांकहरु वर्ड, एक्सेल, पीडीएफ फाइलमा डाउनलोड गर्न सकून्। अध्ययन अनुसन्धान गर्न चाहनेलाई सजिलै तथ्यांक उपलब्ध होस्। नगरमा दैनिक गरिने सुशासन र प्रशासनिक कामहरु सार्वजनिक गर्न सकियोस्, पर्यटकीय क्षेत्रका विवरण, खर्च विवरण, सञ्चालन गर्ने योजनाहरु, ठेकेदार को, कहिलेबाट सुरु, कहिले सक्ने, स्रोत नक्साहरु, डीपीआरहरु, डेमोग्राफी(जनसंख्या, जन्म, मृत्यु, विवाह, जातजाती, भाषागत आदि) तथा आर्थिक–सामाजिक तथ्यांकहरु एकै ठाउँमा पाइयोस्। 

‘ओपन डाटा प्लाटफर्म’को प्रस्ताव सिद्धान्तले गतवर्ष नगरपालिकाका कार्यकारी अधिकृत र मेयरसामु राखे। उनका योजनामा हाकिमहरु सकनरात्मक भएपछि गतवर्ष नै कार्यपालिका बैठकले उनको प्रस्तावलाई पास गरेको थियो। सोहीकारण नगरपालिकाले गतवर्ष १ करोड ६२ लाख रुपैयाँ आईटी क्षेत्रका लागि मात्रै छुट्याएको थियो।  

सिद्धान्तको सोचलाई मूर्तरुप दिने काम बालुवाटारस्थित नक्सा प्रा.लि. नामक परामर्शदाताले गरेको हो। गत महिना नै नक्साले सिद्धान्तको योजनाअनुसारको पोर्टलको विकास गरेको थियो। 

सोही प्रोजेक्टलाई नक्साले सिद्धान्तलाई प्रस्तावक राखेर अमेरिकाको न्युयोर्क विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इञ्जिनियरिङद्वारा सञ्चालित द गभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रम प्रस्ताव हालेको थियो। उक्त कार्यक्रममा सहरहरुलाई आधुनिक तथा वैज्ञानिक तरिकाले तथ्यांक राख्न सहयोग गरिन्छ। 

सोमबार घोषित नतिजाअनुसार चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र छनोट भएको छ। उत्कृष्ट १० भित्र छानिएका नगरपालिकाभित्र दक्षिण एसियाको चाँगु एक मात्रै नगरपालिका हो। 

चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको न्युयोर्क, क्यानडाको विनिपेग, इजरायलको बिअरसिबा, अमेरिकाको अल्बाकर्की, सिराक्युज, रोमानियाको तिमिस्वारा, अर्जेन्टिनाको मिन्डोजा सिटी, अमेरिकाको मिजोरी, इक्वेडरको वायाकिल उत्कृष्ट १० मा परेका छन्। 

नगरपालिका उत्कृष्ट १० मा परेसँगै अब सिद्धान्तलाई विश्वविद्यालयले ६ महिनाको आईटी तालिम दिनेछ। जहाँ माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिन्ट, एनवाईयू सीयूएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विख्यात कम्पनीका इन्जिनियर तथा तथ्यांक वैज्ञानिकहरुले तालिम दिनेछन्। जसले नगरपालिकाको पोर्टललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सघाउने सिद्धान्तको विश्वास छ। 

‘आफ्नो समस्या समाधानका लागि त्यो प्लाटफर्म निर्माण गरिएको हो तर हाम्रो मेहनतको नतिजाले अन्तर्राष्ट्रियस्तरमै हामीलाई अब्बल ठहर्याइदियो,’ सिद्धान्तले नेपालखबरसँग भने, ‘अब ६ महिनाको प्रशिक्षणपछि चाँगुनारायण नगरपालिका विश्वको उत्कृष्ट ओपन डाटा प्लाटफर्ममा सूचीमा सूचीकृत हुनेछ।’

नगरपालिकाको पोर्टल अझै औपाचारिक रुपमा रुपमा सार्वजनिक गरिएको छैन। त्यसमा अझै तथ्यांकहरु समावेश गर्न, दिगो विकासका लक्ष्यअन्तर्गत भएका काम, नक्सासम्बन्धी काम गर्न बाँकी नै छन्। ती काम आगामी दुई महिनाभित्र सक्ने लक्ष्य रहेको सिद्धान्तले बताए। 

अहिले भने सरकारी निकायमा शिक्षा, स्वास्थ, लेखा, राजस्वले चलाउने आआफ्ना सिस्टमहरु उक्त पोर्टलमा अटो अपटेड हुने व्यवस्था मिलाइसकिएको छ। जसकारण कार्यालयका तथ्यांकहरु रियल टाइममा हेर्न सकिने उनी बताउँछन्। 

‘आईटी अफिसरको काम फोटोकपी र प्रिन्ट गर्ने होइन’


चाँगुनारायण नगरपालिकाको सुचना प्रविधिमा कार्यरत कृष्ण शरण लामिछाने।

स्थानीय तह निर्माणपछि संघीय मामिला मन्त्रालयले दातृ निकायको सहयोगबाट सम्पूर्ण नगरपालिकामा एकजना आईटी अफिसर खटाइदिएको छ। तर ती आईटी अफिसरलाई उचित काम लगाउन सकिएको सिद्धान्तको ठहर छ।

‘म अरुभन्दा उत्कृष्ट होइन। अरु नगरपालिकामा पनि मजत्तिकै क्षमता भएका आईटी अफिसरहरु हुनुहुन्छ,’ उनले भने, ‘आईटी अफिसरलाई प्रिन्ट र फोटोकपीमा काम लगाउने नगरपालिका पनि छन्। कतिपय ठाउँमा आईटी अफिसरहरु हप्ताका एकचोटी पुग्दै हाजिर लगाएर तलब पकाउँछन्। कतिपय नगरपालिकामा स्टोर, लगायत अरु क्षेत्रमा खटाइएको छ।’

उनीहरुले पनि आड, भरोसा पाए नेपालका सबै नगरपालिकाले आईटी क्षेत्रमा फड्को मार्ने उनको विश्वास छ। 

चाँगुनारायण नगरपालिका आईटी क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर आफूहरुलाई विश्वास गरेको उनी बताउँछन्। यसवर्ष समेत १ करोड ६५ लाख बजेट विनियोजित गरिएको र आवश्यक परे थप बजेट आउनेमा विश्वस्त पारिएकोमा उनी खुसी छन्। 

‘मेयरसाब र हाकिमसाब पोजिटिभ भएपछि हामीले यो नतिजा ल्याउन सकेका हौं,’ उनी भन्छन्, ‘नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले आईटी अफिसरको आइडियामा देखाएको विश्वास, सक्रियता र सहयाताले परिणाम दिने रैछ भन्ने यो उदाहरण हो। 

आफूले चाँगुनारायणलाई सदैव आफ्नो घर ठानेर काम गरेको र विश्वको उत्कृष्ट १० भित्र परेपछि आगामी दिनमा थप काम गर्ने चुनौती थपिएको उनी बताउँछन्। 

‘मैले यहाँ आफ्नै घर रहेर काम गरिरहेको महसुस गर्छु। अन्तर्राष्ट्रिय समुदायमा आफ्नो नगरपालिकाको पहिचान बढाइयो यो राष्ट्रिय गौरवको कुरा हो,’ उनी भन्छन्, ‘अब चाँगुनारायाणको डाटा सिस्टम कस्तो छ भनेर सबैले हेर्नेछन्। यसलाई अझै राम्रो र सबैले सजिलै हेर्न मिल्ने बनाउने चुनौती छ। त्यसमा पुरै प्रयास लगाउनेछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .