समाज


आज यी प्रदेशमा मध्यम-भारी वर्षा हुने प्रक्षेपण, १८ जिल्लामा बाढीको जोखिम

काठमाडौँ उपत्यकामा के छ सम्भावना?
आज यी प्रदेशमा मध्यम-भारी वर्षा हुने प्रक्षेपण, १८ जिल्लामा बाढीको जोखिम

न्नपूर्ण गाउँपालिकास्थित विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर क्षेत्र। तस्बिरः विष्णु नेपाल/रासस


नेपालखबर
साउन ६, २०८३ बुधबार ८:४७, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी दिउँसो मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार राति कोसी र मधेस प्रदेश तथा देशका  हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ, तराईमा भने आंशिक बादल लाग्नेछ।

यस क्रममा आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा अहिले बिहान एकछिन मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बादल बढ्ने र वर्षा हुने सम्भावना छ। 

‘त्यस्तै दिउँसो १/२ बजेपछि वर्षा सुरु हुने अनुमान छ’, उनले नेपालखबरसँग भने, ‘दिउँसोदेखि रातिसम्मको अवधिमा आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।’ 

यी जिल्लामा बाढीको सम्भावना

वर्षा सम्भावनासँगै आज देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित १८ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना छ। 

बाढी महाशाखाले भनेको छ, ‘आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad