काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।
मंसिर अगाडि नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिए। निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन्।
‘यो आयोजना मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। तर मंसिरभन्दा अगाडि नै सकेसम्म छिटो निर्माण सम्पन्न गरी यहाँबाट काम सञ्चालन गर्ने उद्देश्य पनि रहेको छ,’ उनले भनिन्।
हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको उनले बताइन्। यसले प्रदुषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन्। यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उनले बताइन्।
‘केन्द्रमा सामग्री मेटेरियल रिकभरी सुविधा पनि रहनेछ। अहिले स्थानान्तरण केन्द्रमा फोहोर छुट्याउने काम मानिसहरूले हातैले गरिरहेका छन्। अब भने यहीँबाट यान्त्रिक विधिबाट पनि फोहोर छुट्याउने योजना रहेको छ,’ डंगोलले भनिन्, ‘निर्माण सम्पन्न भएपछि यान्त्रिक फोहोर छुट्याउने प्रणाली सञ्चालनमा ल्याइनेछ। यसको अर्को मुख्य उद्देश्य भनेको बञ्चरेडाँडामा जाने फोहोरको मात्रा घटाउनु पनि हो।’
केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने डंगालले बताइन्। उनले जैविक फोहोरलाई कम्पोस्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन्।
‘हामी यो टेकुको बन्दै गरेको फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रमा छौँ। यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको नै जैविक र अजैविक फोहोरलाई छुट्याउने हो,’ उनले भनिन्, ‘अजैविक फोहोरलाई यहाँबाट पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई हामीले बञ्चरेडाँडामा लग्ने फोहोरसँगै पठाइनेछ।’
उनकाअनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्नेछ।
Shares

प्रतिक्रिया