रोपाइँका बेला सरकारले रासायनिक मल नदिएपछि सीमावर्ती भारतीय बजारबाट मल खरिद गरेर ल्याउँदै गर्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ विगत २२ दिनदेखि भारतीय जेलमा थुनिएका छन्।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षा बलले गएको असार १७ गते पक्राउ गरेर जेलमा राखेको हो।
उनीहरूलाई मल तस्करीको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको परिवारका सदस्यले बताएका छन्।
रोपाइँको बेला सरकारले मत नदिएपछि उनीहरू मलको जोहो गर्न गत असार १७ गते सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए।
सिंह दाजुभाइले साइकलमा २ बोरा युरिया र ६ बोरा डीएपी मल राखेर ल्याउँदै गर्दा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेलगत्तै सोनवर्षा थानामा राखिएका उनीहरूलाई हाल सीतामढी जिल्लाको डुमरा कारागारमा राखिएको छ। तर, उनीहरूको मुद्दामा थप सुनुवाइ हुन नसक्दा रिहाइ अन्योलमा परेको थुनामा रहेका नागेन्द्रका ज्वाइँ प्रवीन सिंहले बताए।
उनीहरूको रिहाइको लागि परराष्ट्र मन्त्रालयले पनि पहल गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासले उनीहरूको रिहाइको लागि आवश्यक पहल गरिरहेको बताएका छन्।
त्यहाँको कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई धरौटीमा घर फर्काउने प्रयास भइरहेको खनालको भनाई छ।
सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले गत असार २५ गते सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाए पनि हालसम्म धरौटी (बेल) हुन सकेको छैन।
अदालती प्रक्रियामा ढिलासुस्ती हुँदा रिहाइमा ढिलाई भएको सिंहले बताए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पनि सिंह दाजुभाइ पक्राउ परेको घटनाबारे आफूले गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराएपछि रिहाइको पहल भएको बताएका छन्।
तर उनीहरूकाे रिहाइमा भएको ढिलाइले परिवारका सदस्य चिन्तामा छन्।
Shares

प्रतिक्रिया