सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्।
अनलाइन पत्रकार संघसँग बुधबार मन्त्रालयमा भएको छलफलमा उनले कानुन निर्माणका क्रममा सरोकारवाला निकायको सुझावलाई प्राथमिकताका साथ समेटिने बताएका हुन्।
उनले आमसञ्चार विधेयकमाथि मन्त्रालयले छलफल सुरु गरिसकेको र आवश्यक परामर्शपछि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिए।
त्यस्तै, मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पनि सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढाइने उनको भनाइ थियो।
डिजिटल सञ्चारमाध्यमको प्रयोग तीव्ररूपमा बढिरहेका बेला त्यसअनुकूल कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालसँग सम्बन्धित कानुनी प्रावधान पनि समयानुकूल बनाउनुपर्ने बताए।
सामाजिक सञ्जाल पनि जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले गलत, भ्रामक सूचना तथा हेट स्पिचजस्ता प्रवृत्ति नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले नभई थप जिम्मेवार र सुदृढ बनाउने उद्देश्यले नीति तथा कानुन निर्माण गर्न लागेको स्पष्ट बताए।
छलफलका क्रममा अनलाइन पत्रकार संघका पदाधिकारीहरूले प्रसारण तथा पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि समानरूपमा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए। सञ्चारमाध्यमको प्रकृति फरक भएकै आधारमा विभेदपूर्ण व्यवहार गर्न नहुने उनीहरूको भनाइ थियो।
संघले पत्रकारको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न, डिजिटल साक्षरता अभिवृद्धि गर्न तथा डिजिटल पत्रकारितासँग सम्बन्धित कानुनी व्यवस्था तयार गर्दा पर्याप्त अध्ययन र गृहकार्य गर्न पनि सरकारलाई सुझाव दिएको छ।
Shares

प्रतिक्रिया