कञ्चनपुरमा लागुऔषध दुर्व्यसन विकराल बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ताले कारागार भरिभराउ हुन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध मुद्दामा एक वर्षको अवधिमा २० महिला र ३८९ पुरुष गरी ४०९ जना पक्राउ परेका छन्।
लागुऔषध दुर्व्यसनले पछिल्लो समय भयावह रूप लिँदै गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताए।
‘हिजोसम्म लागुऔषधको समस्या पल्लो गाउँसम्मको समस्या थियो, अहिले आफ्नो गाउँ हुँदै घरको ढोकामा पुगिसकेको छ,’ एसपी गिरीले भने, ‘यसलाई हामीले गम्भीररूपमा लिएर प्राथमिकताका साथ नियन्त्रणको काममा लागिरहेका छौँ।’
जनचेतनामूलक कार्यक्रमसँगै कानुनी कारबाहीको पाटोलाई पनि सँगसँगै अघि बढाएको उनले बताए। प्रहरी हिरासतदेखि कारागारसम्म लागुऔषध मुद्दाका प्रतिवादीबाट भरिभराउ हुने गरेको छ।
कञ्चनपुर कारागारमा ३९५ जना कैदीबन्दी छन्, जसमध्ये १६० जना लागुऔषध मुद्दाका बन्दी रहेको एसपी गिरीले बताए।
जिल्ला प्रहरी कार्यालयसहित मातहतका युनिटमा बुधबारसम्म ६५ जना हिरासतमा छन्। जसमध्ये ३२ जना लागुऔषधसँग सम्बन्धित रहेको उनले बताए।
आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले लागुऔषध सम्बन्धी २३१ मुद्दा दर्ता गरेको छ। प्रहरीका अनुसार यसअवधिमा ५२६ ग्राम २३० मिलिग्राम गाँजा, ६ किलो चरेस, ६५८.८२६ ग्राम खैरो हेरोइन र ७२६ वटा ट्याबलेट बरामद गरिएको छ।
लागुऔषध सेवनकर्तामध्ये २२ जनालाई सुधार केन्द्र पठाइएको छ भने ३९ जनालाई दैनिक हाजिर हुने गरी राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी, खोजतलास तथा सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।
साथै लागुऔषधको अवैध कारोबार तथा सेवनविरुद्ध समुदायको सहयोग आवश्यक रहेको भन्दै शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया