ad ad

समाज


हिमाली जिल्लाका सबै नागरिकलाई दशैँअघि नै कोरोना खोप

हिमाली जिल्लाका सबै नागरिकलाई दशैँअघि नै कोरोना खोप

फाइल तस्बिर


यज्ञराज जोशी
असोज १७, २०७८ आइतबार १८:३२, काठमाडौँ

सरकारले दशैँअघि नै हिमाली जिल्लाहरुमा कोरोनाविरुद्धको खोप लगाइसक्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको थियो। 

सरकारले हिमाली जिल्लामा पटक पटक ढुवानी गर्न समस्या हुने भएकाले एकै चरणमा खोप लगाउने लक्ष्य लिएको हो।

अहिले हिमाली जिल्लामा पनि खोप अभियान जारी छ। अरु जिल्लामा प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन भइरहे पनि हिमाली जिल्लालाई पूर्ण खोपयुक्त बनाउने उद्धेश्यले सबै उमेर समुहकालाई लगाउने निर्णय स्वास्थ्य सेवा विभागले गरेको छ।

हालसम्म मनाङ, मुस्ताङ, रुकुम पूर्वमा १८ वर्षमाथिका सबैले पूर्ण रुपमा खोप लगाइसकेका छन्। बाँकी जिल्लामा असोज मसान्तसम्म खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। 

‘दशैँअघि हिमाली जिल्लामा खोप अभियान सक्ने गरी स्वास्थ्य सेवा विभागले पनि सूचना जारी गरेको छ। त्यहीअनुसार खोप अभियान चलिरहेको छ,’ पौडेलले भने, ‘ती जिल्लाहरुमा पटक पटक पुग्न कठिनाई हुने भएकाले अहिले जारी अभियानमै लक्षित समूह सबैलाई एकैपटक खोप दिने निर्णय गरिएको हो।’

अब असोज मसान्तसम्म कम्तीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दार्चुला, बाजुरालगायत जिल्लामा पूर्ण रुपमा खोप लगाइसक्ने तयारी गरिएको उनले बताए।

हालसम्म ताप्लेजुङमा ३४ प्रतिशत, संखुवासभामा ३३ प्रतिशत, सोलुखुम्बुमा ६८ प्रतिशत, रसुवामा ८९ प्रतिशत, दोलखामा ३९ प्रतिशत, सिन्धुपाल्चोकमा ५९ प्रतिशत, डोल्पामा ४१ प्रतिशत, मुगुमा ३३ प्रतिशत, हुम्लामा २६ प्रतिशत, जुम्लामा २६ प्रतिशत, कालिकोटमा २१ प्रतिशत, बाजुरामा ३१ प्रतिशत, बझाङमा ३५ प्रतिशत र दार्चुलामा ६७ प्रतिशतलाई खोप दिइएको छ।
नेपालमा आइतबारसम्म लक्षित प्रतिशतको ३५.५ प्रतिशतले पहिलो मात्रा र २९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। 

१८ वर्षमुनिका बालबालिका छाडेर २ करोड १७ लाख जनसंख्यालाई तत्काल खोप लगाउने गरि सरकारले लक्षित समूह तोकेको छ। जसमध्ये पहिलो मात्रा ७७ लाख १६ हजार ९८५ जनाले लगाइसकेका छन्। त्यस्तै पूर्ण मात्रा ६३ लाख ५२ हजार ३२२ जनाले लगाएका छन।

पुग्ला खोप? 
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि हिमाली जिल्लाहरुमा खोप पु¥याउने गरी खोप व्यवस्थापन गरिएको जानकारी दिए। दशैँसम्म देशभरका १ करोड ६० लाख लगाउने लक्ष्य रहेको उनले जानकारी दिए। 

‘सरकारको पहिलो प्राथमिकता खोप हो। हिमाली जिल्लामा दशैँअघि सबैलाई खोप लगाउने हाम्रो लक्ष्य छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘त्यसका लागि एक महिनाभित्र ५० लाख खोप व्यवस्थापन हुँदैछ। थप खोप आउँदैछ।’
हालसम्म नेपालमा एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ। जसमध्ये कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा आइसकेको छ।

एक महिनाभित्र भारतबाट किनेको दश लाख, कोभ्याक्स सुविधाबाट अनुदानमा १० लाख, ४ लाख क्यानडाबाट २ लाख माल्दिभ्सबाट आउने क्रममा रहेको उनले जानकारी दिए। 

त्यसपछिको एक महिनाभित्र कोभ्याक्ससँगको सहकार्यमा नेपालले पैसा तिरिसकेको ५३ लाख खोप आउने विश्वास श्रेष्ठले लिएका छन्। 

सरकारले बालबालिकाका लागि मोर्डनाको ४० लाख र फाइजरको ६० लाख खोप खरिदका लागि समेत विश्व बैंकबाट ऋण लिएर पैसा भुक्तानी गरिसकेको छ। जीटूजीबाट हुने खरिदको खोप मंसिरसम्म आउने उनले बताए।

‘मंसिर, पुसबाट बालबालिकालाई खोप लगाउन सुरु गर्छौँ। चैत या वैशाखसँग सबै नागरिकलाई खोप लगाउने तयारी सरकारको छ,’ श्रेष्ठले भने,  ‘५ करोड ५० लाख खोपको ग्यारेन्टी भइसकेको छ। तर ग्यारेन्टी गरेरमात्रै नपुग्ने भएकाले त्यसको हामी निरन्तर फलोअपमा छौँ।’

नेपालमा हाल १६ हजार ८०४ जना संक्रिय संक्रमित छन्। हालसम्म पीसीआर परीक्षणबाट ७ लाख ९७ हजार र एन्टिजेन परीक्षणबाट ९२ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ। 
त्यसमध्ये ७ लाख ६९ हजार २२४ जना निको भएका छन् भने नेपालमा ११ हजार १६४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .