ad ad

समाज


‘मकुना’बाट आमा गुमाएका रामचन्द्र भन्छन् : जे भए पनि हात्ती मार्न हुँदैनथ्यो

‘मकुना’बाट आमा गुमाएका रामचन्द्र भन्छन् : जे भए पनि हात्ती मार्न हुँदैनथ्यो

कृष्ण बहाब
असोज १९, २०७८ मंगलबार १६:९, काठमाडौँ

बराहक्षेत्र ११ मधुवनमा रामचन्द्र खत्वेको घर छ। कच्ची घरमा बस्ने खत्वेको दैनिकी मजदुरी गरेर बित्छ।

मजदुरी गरेर सामान्य जीवन गुजार्ने रामचन्द्रले गत असोज ४ गते आफ्नी आमा गुमाए। 

रामचन्द्रकी आमा कोशीटप्पु वन्यजन्तु आरक्षमा घाँस काट्न गएकी थिइन्। घाँस काटेर फर्किँदै गर्दा ६८ वर्षीया मुमनी देवी खत्वेको मकुनासँग जम्काभेट भयो। घर फर्किँदै गरेकी खत्वेलाई मकुनाले पछारिदियो। त्यति बेलै खत्वेले आफ्नो प्राण त्यागिन्।

पोथी हात्तीसँग शारीरिक सम्पर्कको समयमा रहेको मकुना केही दिनदेखि अलि आक्रामक थियो। त्यही आक्रामक स्वभाव भएकै बेला मकुनाको आक्रमणबाट खत्वेको ज्यान गयो।
खत्वेको ज्यान लिएपछि कोशीटप्पु वन्यजन्तु आरक्ष प्रशासनले केही समयसम्म आरक्षभित्र सर्वसाधारण पस्न बन्देज पनि लगायो। असोज १२ गतेसम्म आरक्षभित्र पस्न नदिने उर्दी प्रशासनको थियो। मकुनाले मान्छे मारेपछि आरक्षले नियमित जसो यस्तो उर्दी लगाउने गर्दथ्यो।

१२ गतेदेखि भने आरक्षभित्र टिकट काटेर आगन्तुक पस्न पाउने भए। हात्ती पनि पुरानै अवस्थामा फर्कियो। तर, गत आइतबार भने आरक्षले नियमित निगरानी गरेको मकुनाकै मृत्यु भयो।

आरक्षकै ‘हिरो’ भनेर चिनिएको मकुनाको आरक्ष हेडक्वाटरकै ५ सय मिटरको दूरीमा विद्युतीय धरापमा परेर ज्यान गयो।

मकुनाको मृत्यु भएको दिन भने खत्वेको १३ दिनको तिथिको कार्यक्रम गर्ने सुरसार चल्दै थियो। खत्वेसँग मकुनाको एउटा संयोग नै भयो। किनकी ६८ वर्षकी खत्वेको ज्यान लिएको १३ दिनमै ३५ वर्षको मकुनाले समेत आफ्नो ज्यान गुमाएको थियो।

पीडित नै भन्छन्ः हात्ती मार्नु त हुँदैनथ्यो!
मकुनाको सदगदपछि रिपोर्टिङ सकेर खत्वेको घर पुग्दा त्यहाँ १३ दिनको सुद्धी कार्य चल्दै थियो। पुरी तरकारी खान गाउँलेहरू खत्वेको घरमा जम्मा भएका थिए। धार्मिक काम सकिएकाले प्रसादको रूपमा सबै जना खाना खाने तयारीमा लाग्दै थिए।

खत्वेको घर पुगेर त्यहाँ उनका दुई छोरा रामचन्द्र खत्वे र महेन्द्र खत्वेसँग भेट भयो। मकुना मरेको खबर उनीहरूले समेत सुनी सकेका रहेछन्। कान्छा छोरा महेन्द्र भने मकुनाको लास हेर्न जान खोजे तर पण्डितले अनिवार्य बस्नै पर्छ भनेपछि उनी मकुना हेर्न जान पाएनन्।

आमालाई मारेकोमा आक्रोश भएपनि रामचन्द्रलाई भने मकुना मर्नु हुन्न भन्ने लागेको भनेर सुनाए।

‘बाघको अगाडि प¥यो भने त मार्छ नि हैन त दाजु, त्यस्तै हाम्रो आमाको लेखान्त नै त्यस्तै थियो होला’ रामचन्द्रले भने, ‘रिस त उठेको छ नि दाजु, त्यो जंगली हो नि उसकै ठाउँमा हामी बसेकोले पनि मारेको होला तर तेस्ले त बुझ्दैन।’

खत्वे मात्र हैन हात्तीबाटै पटक पटक पीडित भएका अर्का व्यक्ति हुन् गेहेनाथ पोखरेल। आरक्षको नजिकै प्रकाशपुरमा बस्ने पोखरेलको घर हात्तीले क्षति नगरेको कुनै पनि वर्ष छैन। सरकारले कुनै व्यवसायको वर्षेनी नवीकरण गरेझैँ पोखरेलको घर पनि वर्षेनी हात्तीले भत्काएर ‘नवीकरण’ गर्छ। 

न्यून आम्दानी भएका पोखरेल कोसी सम्झौतामा भए अनुसारको भारतले लिजमा लिएको जग्गामा बस्छन्। भारत सरकारले तत्कालीन रूपमा ढुंगा ओसार्न बनाएको रेल्वे थियो। २०४० पछाडि रेल कुद्न छोडेपछि बनेको रेल्वे बस्तीमा उनको सानो घर छ।

खरको छानो लगाएर बनाएको पोखरेलको फुसको घरलाई हात्तीले देखि सक्दैन थियो। आरक्षबाट निस्किएको हात्तीको झुण्डले पोखरेलको घर भत्काउने गरेको छ। घर भत्काउन आएको हात्तीबाट उनले आफूलाई पटक पटक बचाएका छन्। 

पटक पटक घर भत्काएर दुःख दिएको मकुना मरेको खबर पोखरेलले पनि थाहा पाए। घर त जहिल्यै भत्काउँथ्यो मरेको सुनेपछि उनलाई माया लाग्यो। घर देखि करिब १० किलोमिटर पर मरेको मकुना हेर्न उनी पुगे। 

‘हात्ती हेर्न आएको उनलाई सोधे किन आउनु भएको तपाईं? जहिल्यै घर भत्काउने यही हैन?’ 

यो प्रश्नको उत्तरमा उनी तत्काल खिस्स हाँसे मात्र। एक छिनपछि आफैँ भन्न थाले, ‘मकुना नै हैन यो? यही त घरमा आउँथ्यो नि। दुई चोटि यसैले हो घर भत्काएको।’ 

पटक पटक घर भत्काएको हात्ती मर्दा उनले खुच्चिङ भनेनन्। 

‘मरोस् भन्ने त हुँदैन नि। गणेशको अवतार हो। त्यत्रो जीव कतिन्जेल बाँच्थ्यो होला। मान्छेले करेन्टमा पारेर मारेछन्। कति वर्षको भएछ यो? अझै बाँच्थ्यो होला है।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .