ad ad

खेल


साफ च्याम्पियन्सिप : नेपालको उत्कृष्ट लय, जित्ला पहिलो पटक उपाधि?

विश्लेषकको टिप्पणी : अब गोलको खडेरी तोडिएको छ
साफ च्याम्पियन्सिप : नेपालको उत्कृष्ट लय, जित्ला पहिलो पटक उपाधि?

लक्ष्मी जि.सी
असोज १९, २०७८ मंगलबार १७:१७, काठमाडौँ

लगातार दोस्रो जितसँगै माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा फाइनल पुग्ने नेपालको सम्भावना बलियो भएको छ। 

साफ इतिहासमै नेपाली टोली फाइनल पुग्न सकेको छैन। तर पछिल्लो समय नेपाली युवा टोलीले प्रदर्शनमा निखार ल्याएर आशा जगाएको छ।

केही समय अघिसम्म गोल गर्न बिर्सिएको नेपाली टोलीले अहिले हरेक खेलमा विपक्षीको पोस्टको जाली चुमिरहेको छ। त्यही अनुसार नतिजा पनि आफ्नो पोल्टामा पारिरहेको छ।

यहीकारण पनि फाइनल पुग्ने नेपालको सम्भावना उच्च छ। अब एक खेल मात्रै जिते पनि नेपालले फाइनलमा स्थान पक्का बनाउनेछ। 

जारी साफ च्याम्पियनसिपमा नेपालले आगामी आइतबार बलियो चिरप्रतिद्वन्द्वी भारत र लयमा रहेको बंगलादेशसँग बुधबार खेल्दै छ। 

साफ च्याम्पियनसिप नै दक्षिण एसियाका राष्ट्रहरूबीच हुने सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो। नेपाललगायत दक्षिण एसियाली टोलीको मुख्य लक्ष्य नै साफ च्याम्पियनसिप नै हुने गरेको छ।

नेपालले पनि साफकै लागि लामो प्रशिक्षण गरेको थियो। गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) पछि नेपालले साफ केन्द्रित भएर नै तयारी गरिरहेको थियो। 

मुख्य प्रशिक्षक योहान कालिन स्वदेश फर्केपछि नेपाली टोलीको जिम्मा बालगोपाल महर्जनले पाए। उनको नेतृत्वमा नेपालले गत चैतमा घरेलु मैदानमा थ्री नेशन्स कपको उपाधि उचालेको थियो। 

अहिले नेपाली टोलीको मुख्य प्रशिक्षण कुवेतका अब्दुल्लाह अलमुताइरीले सम्हालेका छन्। उनी गत चैतमै नेपाल आइसकेका थिए। 

थ्री नेशन्स कप र एनएसएलको प्रदर्शनलाई हेरेर मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोली घोषणा गरेका थिए। 

नेपाली टोलीको जिम्मेवारी सम्हालेयता उनी साफकेन्द्रित देखिएका छन्।

त्यही अनुसार टोलीलाई नयाँ–नयाँ रणनीति बनाएर उतारिरहेका छन्।

अलमुताइरीलाई प्राविधिक रुपमा अब्बल तथा रणनीति र खेलाडीको मनोभाव बुझ्न सक्ने प्रशिक्षकका रुपमा चिनिएको छ।

पछिल्लो समय नेपाली खेलाडीको खेल प्रदर्शनमा प्रशिक्षकको रणनीति मैदानमा देखिएको छ। टोली घोषणा गर्दा नै आलोचना खेपेका अलमुताइरीलाई खेलाडीले निराश हुन दिएका छैनन्। 

टोलीमा मौका पाएका खेलाडीले आफूलाई प्रमाणित गरिरहेका छन्। युवा खेलाडी बाहुल्य नेपाली टोलीबाट गोल पनि निस्किरहेको छ। यसको नतिजा त जारी साफमा पनि देखिएको छ।

होला ‘ब्रेक थ्रु’ ?
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेकै सेमिफाइनल यात्रा मात्रै हो।

५ पटक सेमिफाइनल पुगेर रोकिएको नेपालले उपाधि परको कुरा, फाइनलमा स्थान बनाउन सकेको छैन।  

सन् १९९३ मा पाकिस्तानबाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले हालसम्म ३८ खेल खेलिसकेको छ। 

यसमध्ये नेपालले ११ खेलमा मात्र जित निकालेको छ। ६ खेलमा बराबरी र २१ खेलमा हार भोगेको छ। 

नेपालले पहिलो पटक सन् १९९५ मा श्रीलंकामा भएको साफको सेमिफाइनलमा स्थान बनाएको थियो। 

त्यस बेला अतिरिक्त समयमा घरेलु टोली श्रीलङ्कासँग नेपाल २–१ ले पराजित भएको थियो।

सन् १९९९ मा भारतमा भएको साफमा नेपाल बंगलादेशसँग २–१ ले नै पराजित भएको थियो।

सन् २०११ मा भारतमा र २०१३ मा नेपालमा भएको साफका दुवै सेमिफाइनलमा अफगानिस्तान नेपालको बाधक बन्यो। 

त्यतिबेला अफगानिस्तानसँग नेपाल १–० पराजित भएको थियो। पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो। 

यसपटक उच्च सम्भावना
तर नेपालको पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने फाइनल पुग्ने सपना पूरा हुने प्रबल सम्भावना रहेको खेल विश्लेषकहरू पनि बताउँछन्। 

राउन्ड रोबिनका आधारमा भइरहेको च्याम्पियनसिपमा नेपालले ४ टोलीको सामना गर्नुपर्नेछ।

पहिले दुई समूह हुने गर्थ्यो। तर अहिले ४ टोलीसँगको खेलको नतिजाले फाइनलमा पुग्ने भएकाले पनि नेपाललाई केही सहज हुने फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन्। 

‘नेपालका लागि माल्दिभ्ससँगको खेल महत्त्वपूर्ण थियो। जुन खेल हामीले जित्यौँ', उनले भने, 'पहिलो खेलमा मनिष डाँगीको गोल मात्र होइन, गोलरक्षक किरण चेम्जोङको प्रदर्शन पनि उत्कृष्ट थियो। नतिजा हाम्रो पक्षमा आइरहेका छन्, खेल पनि राम्रो भइरहेको छ।’ 

तर अझै पनि संयमित भएर खेल्न आवश्यक रहेको उनी बताउँछन्। 

‘हामी फाइनलमा पुग्ने मात्र होइन, जित्न पनि सक्छौँ', विश्लेषक मिश्र भन्छन्, 'तर दुईवटा खेल्न बाँकी रहेकाले 'रिस्क' जोनमा पनि छौँ। अहिले हामी फाइनलको बलियो दाबेदार हौँ।’

अल्मुताइरीको प्रशिक्षणमा लगातार गोल  
अब्दुल्लाहले प्रशिक्षण सम्हालेपछि नेपालले लगातार गोल गरिरहेको छ। इराकमा भएको मैत्रीपूर्ण खेलबाट नेपालले अब्दुल्लाहको प्रशिक्षणमा ९ खेलमा १२ गोल गरिसकेको छ। त्यसैले पनि नेपालको फिनिसिङमा देखिँदै आएको समस्या टर्दै गएको विश्लेषण गरिएको छ। 

‘विगतमा जो स्ट्राइकर थियो उसलाई मात्र बलसँग खेलाइरहेका हुन्थ्यौँ', विश्लेषक मिश्र भन्छन्, 'तर अब्दुल्लाहले सबैलाई बलसँग खेलाइरहेका छन्।’ 

उनका अनुसार अब्दुल्लाह रणनीतिक रुपमा पनि चतुर छन्, विपक्षीको रणनीति अध्ययन विधि र आफ्ना खेलाडीलाई ‘मोटिभेट’ गराइरहेका हुन्छन्। 

‘अलमुताइरीले मैदानमा क्षण–क्षणमा खेलाडी परिवर्तन गरिरहेका छन्। फ्रेस लेग पठाइरहेका छन् र उनीहरुले गोल पनि गरिरहेका छन्’, मिश्रले भने, ‘त्यसैले अहिले नेपाली टोली स्कोरिङको समस्याबाट मुक्त भएको छ।’

साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको पहिलो पटक हो। श्रीलङ्कासँगको जितपछि अलमुताइरीले खेल निकै कठिन रहेको बताए। 

‘यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्नसकेका छौँ,' उनले भने, 'प्रतियोगिता अझै बाँकी छ, मलाई खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ।’ 

नेपालको सुधारिएको प्रदर्शनका कारण दबाब अन्य टोलीलाई पनि रहेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .