ठूला मेसिनहरू एकनासले चलिरहेका छन्। कतै माटो पिसिँदै छ त कतै डिजिटल प्रिन्टरले टायलमा अनेक डिजाइन उतारिरहेको छ।
आधुनिक मेसिन र प्रविधिले सुसज्जित लुम्बिनी सेरामिक्स लिमिटेडभित्रको दृश्य हो यो।
नयाँ उद्यमको हुटहुटी बोकेका सुब्रत धिताल, आशुतोष खेतान र अभिनव चुरिवालको योजनामा बर्दियाको गुलरियामा यो उद्योग खुलेको हो।
२०८१ भदौ १ देखि सञ्चालनमा आएको उद्योगले अहिले नेपालमै विश्वस्तरीय टायल उत्पादन गरिरहेको छ। अहिले यसैले उनीहरुको सपना साकार पारिरहेको छ।
***
लुम्बिनी सेरामिक्स स्थापना गर्ने सोचअगाडि उनीहरूलाई टायलबारे जानकारी थिएन। काठमाडौंमा जन्मे–हुर्केका सुब्रतले अध्ययन सकेपछि ‘कटन कम्फर्ट’ नामको गार्मेन्ट उद्योग चलाए। त्यस बेला नेपालमा गार्मेन्ट उद्योगले निर्यातको बलियो सम्भावना देखाइरहेको थियो।
उनी अमेरिकाका चर्चित रिटेल ब्रान्डहरु ग्याप, वालमार्ट र टार्गेटका लागि उत्पादन निर्यात गर्थे। एक दशकसम्म कम्पनीले आफ्नो क्षेत्रमा अग्रस्थानमै रहन सफल भयो। तर, अन्तर्राष्ट्रिय बजारमा सफल हुन केवल राम्रो उत्पादन बनाएर मात्रै पुग्दैन। समयसँगको दौडमा एक मिनेटको ढिलाइले पनि लाखौँको क्षति सिर्जना गर्न सक्छ।

अमेरिकी बजारमा ‘जस्ट इन टाइम’ आपूर्ति प्रणाली थियो। समुद्री मार्गबाट सामान निर्यात हुन्थ्यो। केही गरी जहाज ढिलो हुँदा हवाइमार्गबाट सामान पठाउनुपथ्र्यो। भनिएको समयमा सामान पुर्याउन सकिएन भने ग्राहकको गोदामसम्मै सामान पुर्याउने सम्पूर्ण अतिरिक्त खर्च उत्पादककै काँधमा आउँथ्यो। नाफा क्षणभरमै घाटामा बदलिन्थ्यो।
यता नेपालभित्रको राजनीतिक अस्थिरताले उद्योगलाई झन् कठिन बनाइदियो। बन्द, हडताल, श्रमिक विवाद र निरन्तरको अनिश्चितताले निर्यात उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गयो। दुई दशकको यात्रापछि २०५० को दशकको अन्त्यतिर गार्मेन्ट उद्योगबाट सुब्रतले बाहिरिने निर्णय गरे।
एउटा उद्योगबाट बाहिरिने निर्णय कतिपयका लागि व्यावसायिक यात्रा अन्त्यको निर्णय पनि हुन सक्छ। तर, सुब्रतका लागि भने नयाँ सुरुवात बन्यो। लोडसेडिङ सहनु आम नागरिकको सामान्य दैनिकी बनिरहेको थियो। देश अँध्यारोमा थियो, उनले उज्यालो खोजे।
उनी भन्छन्, ‘त्यो बेला हाइड्रोमा जाने कुरा ‘नो–ब्रेनर’ निर्णय थियो।’ त्यसबेलाको आवश्यकता नै विद्युत् भएकाले मानिसहरु धेरै नसोचीकनै जलविद्युत् आयोजनामा आएका थिए।
सुब्रतसँगै जलविद्युत् आयोजनामा जोडिए– आशुतोष खेतान।
उनीहरूले नुवाकोटको तादी खोलामा ५ मेगावाट र म्याग्दीमा ४२ मेगावाट क्षमताको आयोजना निर्माण गरे। त्यससँगै देशभरका दर्जनौँ सम्भावित नदी र आयोजनाको अध्ययन गर्दै हिँडे।
जलविद्युत्ले उनीहरुलाई पाठ सिकायो— नेपालमा प्रशस्त अवसर छन्, आफैँ भेटिँदैनन्, खोज्नुपर्छ। हाइड्रो परियोजनाकै क्रममा उनी निरन्तर विदेश गइरहेका थिए। नयाँ उद्योग, नयाँ प्रविधि र नयाँ सम्भावना खोज्ने बानी परिसकेको थियो।
आशुतोषका आफन्त अभिनवको परिवारले भने वर्षौँदेखि भारतबाट स्यानिटरी वेयर र टायल आयात गरेर व्यापार गरिरहेका थिए। अभिनव टायलका विषयमा जानकार थिए।
यदाकदा भेट हुँदा नेपालमै टायल उत्पादन गर्न सकिने सम्भावनाबारे छलफल हुन्थ्यो। सुब्रत आशुतोष र अभिनवको प्रस्तावमा उत्सुक देखिए। उनीहरु सम्भावनाको अध्ययन गर्ने निष्कर्षमा पुगे।
भारतको अहमदाबादमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना भएको थियो। उक्त मेला अवलोकनपछि भारतको सबैभन्दा ठूलो सेरामिक उद्योग केन्द्र गुजरातको मोरबी पुगे। मोरबी एउटा सहर मात्र होइन, टायल अध्ययनका लागि त्यो एउटा खुला विश्वविद्यालयसरह छ।
हजारौँ टाइल उद्योग, अत्याधुनिक उत्पादन लाइन, निर्यातको व्यस्तता, गुणस्तरमा आधारित प्रतिस्पर्धा—सबै कुरा एकै ठाउँमा उपलब्ध।
मोरबीका टायल उद्योगहरू घुमेर फर्किँदासम्म उनीहरुमा आत्मविश्वास बढेको थियो– नेपालमा पनि गुणस्तरीय टायल उत्पादन गर्न सकिन्छ।
त्यसपछि उनीहरुले नेपाली बजारको सम्भावना हेरे।
त्यस बेला भन्सार विभागको तथ्यांक थियो– नेपालले वार्षिक करिब १२ अर्ब रुपैयाँको टायल आयात गरिरहेको छ। यो त आयातित टायलको मूल्य मात्र थियो। भारतको पश्चिम क्षेत्रमा बनेको टायल नेपाल आइपुग्दा ढुवानी लागत ठूलो थियो। नेपालमा टायल उद्योग रहेको जानकारी उनीहरुलाई थिएन।
यो तथ्य र आँकडाले नेपालमा बजार सम्भावना देखायो। प्रश्न उब्जियो– यति ठूलो बजार छ, कच्चा पदार्थ खोज्न सकिन्छ, प्रविधि ल्याउन सकिन्छ र गुणस्तर कायम गर्न सकिन्छ भने नेपाल किन सधैँ आयातमै भर पर्ने?

उनीहरू टायल उद्योग स्थापना गर्ने निष्कर्षमा पुगे। तर, हतार भने गरेनन्।
गार्मेन्ट उद्योगबाट सुब्रतले सिकेका थिए, ‘मूल्यले सुरुमै बजार जित्न त सकिन्छ, तर अन्तिम विजय गुणस्तरले मात्र दिलाउँछ।’
त्यसैले उनीहरूले उद्योगको नक्सा बनाउनुअघि उत्पादनको स्तर तय गरे। उनीहरुको चाहना थियो– त्यो त्यस्तो उत्पादन बनोस्, जसले मूल्यका कारण होइन गुणस्तरका कारण बजार जितोस्!
सुब्रत भन्छन्, ‘बजार खाली हुँदा सामान्य उत्पादन पनि बिक्छ। तर समयसँगै प्रतिस्पर्धा बढ्छ। त्यसपछि मूल्यभन्दा बढी गुणस्तर, सेवा, गुनासो व्यवस्थापन र ग्राहकको विश्वास निर्णायक बन्छ। त्यसैले हामी उत्पादनको स्तर निर्धारण गर्न लाग्यौँ।’
यदि नेपालमै टाइल बनाउने हो भने कस्तो बनाउने? भारतीय बजारका लागि पर्याप्त हुने स्तरको कि विश्वका विकसित बजारसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको? यो उनीहरुले आफैँलाई सोधेको प्रश्न थियो।
यो प्रश्नको उत्तर विश्वबजारको अध्ययनबाटै खोज्न चाहे। त्यसपछि उनीहरू युरोपको यात्रामा निस्किए।
उत्कृष्ट टायल उत्पादकको रुपमा इटालीलाई चिनिन्छ। टायलका गुणस्तर, डिजाइन र प्रविधिमा इटाली अग्रस्थानमा छ।
उनीहरुले स्पेनमा सेरामिक उद्योगको विकास, इटालीमा उच्चस्तरीय डिजाइन, ग्लेजिङ र उत्पादन प्रविधि बुझेपछि चीनमा विशाल उत्पादन प्रणाली र मेसिनरीको दक्षता हेरे।
सुब्रत भन्छन्, ‘टाइल उद्योगमा माटोभन्दा पनि धूलो व्यवस्थापन ठूलो विज्ञान रहेछ। उत्पादनको क्रममा सूक्ष्म धूलो तयार टाइलको सतहमा बस्यो भने चमकदेखि डिजाइनसम्म बिग्रिन्छ र गुणस्तर खस्किन्छ। त्यसैले विश्वस्तरीय उद्योगहरूले कच्चा पदार्थ आउने, उत्पादन बाहिरिने र धूलो संकलन गर्ने प्रणाली नै अलग–अलग बनाएका रहेछन्। उड्ने धूलो नियन्त्रण गर्न विशाल डस्ट–कलेक्सन प्रणाली राखिएको रहेछ।’
टाइल बनाउने भनेको केवल माटो पकाउने काम होइन, माइक्रोन तहको अनुशासन कायम गर्ने उद्योग पनि हो।
उनीहरुले विश्वबजारमा टायलको उत्पादन र गुणस्तर अध्ययन गरिरहँदा नेपाली बजारमा भने अधिकांश ग्राहकले टाइलको रङ र डिजाइन मात्रै हेर्थे। गुणस्तरमा खासै चासो थिएन।
भिट्रिफाइड, पोर्सिलिन, वाल टाइल, फ्लोर टाइल– यी नाम केवल व्यापारिक वर्गीकरण होइनन्। यसको आधार पानी सोस्ने क्षमता हो। पानी जति कम सोस्छ, टाइल त्यति बलियो र टिकाउ हुन्छ। युरोपका मापदण्ड अध्ययन गर्दा उनीहरूले पोर्सिलिन टाइलको अन्तर्राष्ट्रिय परिभाषा बुझ्दै गए।
भारतले आफ्नै मापदण्ड विकास गरेर अझ कम पानी सोस्ने भिट्रिफाइड टाइललाई अलग श्रेणी दिएको थाहा पाए। त्यसपछि उनीहरुले निर्णय लिए– नेपालमा उद्योग खोल्ने हो भने उच्च गुणस्तरको भिट्रिफाइड टाइलबाट सुरू गर्ने। भिट्रिफाइड टाइल माटो, सिसा, सिलिका र क्वार्ट्जजस्ता खनिज पदार्थहरू मिसाएर उच्च तापमानमा पगालेर बनाइन्छ। यसले ०.५ प्रतिशतभन्दा कम पानी सोस्छ। त्यसैले यो ओस प्रतिरोधी हुन्छ।

टायल उद्योग स्थापना गर्ने भएपछि प्रविधि किन्न सकिन्थ्यो। मेसिन ल्याउन सकिन्थ्यो। तर कच्चा पदार्थ सधैं विदेशबाट ल्याएर सम्भव थिएन। उच्चस्तरीय भिट्रिफाइड टाइलको करिब ६०–६५ प्रतिशत हिस्सा विशेष प्रकारको खनिजमा निर्भर हुन्छ। त्यसैले उनीहरू खानीको खोजीमा नेपालको पहाड–पर्वत चहार्न थाले।
सुब्रत सुनाउँछन्, ‘कतै खनिज थियो तर औद्योगिक परिमाणमा थिएन। कतै गुणस्तर थियो तर राष्ट्रिय निकुञ्जको सीमाभित्र पथ्र्यो। कतै चट्टान बलियो थियो तर उत्खननका लागि विस्फोटक प्रयोग गर्नुपर्ने, त्यसका लागि सेनाको सहयोग चाहिने, त्यसको लामो प्रशासनिक प्रक्रिया त्यति सजिलो हुँदैन।’
निरन्तरको खोजपछि डडेल्धुराको गन्यापधुरामा खानी भेटियो। खानीको अनुमतिका लागि प्रक्रिया अघि बढाइयो।
खानी भेटिएपछि अर्को प्रश्न उठ्यो— उद्योग कहाँ बनाउने?
खानीनजिकै उद्योग हुँदा उपयुक्त हुन्थो तर, कच्चा पदार्थले मात्रै उद्योग चल्ने होइन।
सुब्रत भन्छन्, ‘उद्योगको पहुँच बजारसँग पनि हुनुपर्यो। खानी नचल्दासम्म भारतबाटै कच्चा पदार्थ ल्याउनुपर्ने हुन्थ्यो। त्यसका लागि भन्सार नाका नजिकै उद्योग भएको राम्रो हुन्थ्यो। भविष्यमा विस्तार गर्ने ठाउँसहितको जमिन पनि चाहियो।’
धेरै ठाउँ हेरेपछि हुलाकी राजमार्गको पहुँच भएको बर्दियाको गुलरिया उद्योगका लागि उपयुक्त ठहरियो। उनीहरुले त्यहाँ १३ बिघा जग्गा किने।
त्यसपछि भारतमा परामर्शदाता राखेर उद्योग स्थापनाको काम अघि बढ्यो। युरोपेली अवधारणा, चिनियाँ उत्पादन लाइन, अन्तर्राष्ट्रिय ग्लेजिङ प्रविधिलाई एउटै परियोजनामा जोडियो। प्रविधिको उच्चतम संयोजनसहितको उद्योग तयार भयो। जसका लागि करिब साढे ४ अर्ब रुपैयाँ लगानी गरेको सुब्रत बताउँछन्।
सुब्रतले लुम्बिनी सेरामिक्स लिमिटेडको अध्यक्षको जिम्मेवारी सम्हाले। आशुतोष र अभिनव निर्देशकको भूमिकामा रहे।
नेपालमा उद्योग स्थापना गर्दा प्रशासनिक झन्झट, स्थानीय अवरोधको अनेक गुनासा सुनिन्छन्। तर, उनीहरूले त्यस्तो असहजता महसुस गर्नु नै परेन।
उनी भन्छन्, ‘हामीले हाइड्रोपावर बनाइसकेका कारण पनि हुन सक्छ। यो उद्योग स्थापना गर्न तुलनात्मक रूपमा सहज लागेको थियो। वातावरणीय अध्ययन, नियामकीय स्वीकृति र अन्य प्रक्रियामा असहज अनुभव गर्नै परेन।’
उद्योग बनाउन उनीहरूलाई करिब १८ महिना लाग्यो। लुम्बिनी सेरामिक्सले २०८१ भदौ १ बाट उत्पादन थाल्यो। उनीहरुले उत्पादन गरेको टायलको ब्रान्ड नेम दिइयो– लामिनार।
तर, उद्योग बनाउन सुरू गर्नुभन्दा अगाडि नै प्रक्रिया सुरु गरेको खानीको लाइसेन्स भने करिब साढे ३ वर्षपछि साउनको पहिलो साता मात्रै पाइएको सुब्रतले बताए।

मापदण्ड र सचेतता सँगसँगै
भिट्रिफाइड टाइल बनाउने निर्णय नै उनीहरुले लिएको जोखिम थियो। किन कि अधिकांश उपभोक्तालाई भिट्रिफाइड र सामान्य टाइलबीचको फरकसमेत थाहा थिएन। मानिसहरु टायलको बुट्टा हेरेरै दंग पर्ने अवस्था थियो।
नेपालमा टायलको स्पष्ट मापदण्ड नै थिएन। त्यसको फाइदा उठाउँदै बजारमा जुनसुकै गुणस्तरको उत्पादन उस्तै दाबीसहित बिक्री भइरहेको थियो।
सुब्रतको टिमले सरकारसँग समन्वय गर्दै टायलमा राष्ट्रिय मापदण्ड आवश्यक रहेको विषय उठाए। अन्ततः उनीहरूको प्रयास सफल भयो। नापतौल तथा गुणस्तर विभागले टायलको राष्ट्रिय मापदण्ड बनाएर लागू गर्यो।
अहिले लुम्बिनी सेरामिक्सले उत्पादन गरेको लामिनार ब्रान्डको भिट्रिफाइड टायलले नेपाल गुणस्तर प्रमाण चिह्न एनएस ६१७ प्राप्त गरेको छ।
लामिनार ब्रान्डमा विभिन्न डिजाइन तथा प्रयोगका क्षेत्रलाई लक्षित गर्दै फराकिलो उत्पादन पोर्टफोलियो बनाइएको छ। कम्पनीले टायलका लागि करिब पाँच सय प्रकारका डिजाइन तयार गरेको चुरिवालले बताए।
यसका प्रमुख उत्पादनमा डेकोरोशा, अल्टो, ब्रिलो, भिट्रोना, ट्रेसो, स्टोन–डेक, सेन्टो÷मोनोलिथ टायल छन्। टायलको सतहका आधारमा म्याट, टेक्स्चर्ड म्याट, म्याट कार्भिङ, ग्लोसी, हाई ग्लोसी, फुल बडी, डिजिटल फुलबडी र जर्मसेफर छन्।
जर्मसेफर अस्पताललाई लक्षित गरेर उत्पादन गरिएको हो। किटाणु विस्तार हुन नदिने गरी टायल तयार गरिएको कम्पनीका निर्देशन अभिनव चुरिवाल बताउँछन्।
उनी भन्छन्, ‘कहाँ कस्तो टायल प्रयोग गर्ने भन्ने सचेतता अझै पर्याप्त भइसकेको छैन। मानिसको धेरै भीडभाड हुने ठाउँ जस्तै विमानस्थल, सडककको फुटपाथ र सवारी साधान पार्किङ हुने ठाउँमा उस्तै टायल लगाएको देखिन्छ। टायलको बारेमा नबुझेर यस्तो भएको हो।’
चिप्लो हुन नुहने ठाउँमा पनि चिप्लो टायल प्रयोग हुँदा दुर्घटना निम्तिरहेको उनी बताउँछन्।
हुन पनि नेपाली टायल बजार वर्षौंदेखि आयातमा निर्भर थियो। भारतीय, चिनियाँ र युरोपेली ब्रान्डको दबदबा बजारमा थियो। ग्राहकहरू पनि विदेशी उत्पादन नै राम्रो भन्ने मानसिकतामा थिए।
त्यति मात्रै होइन, नेपालमा अधिकांश ग्राहक टाइलको रङ, डिजाइन र मूल्यका आधारमा निर्णय गर्थे। भिट्रिफाइड र सामान्य टायलमा के फरक छ भन्नेमा चासो नै हुँदैनथ्यो। पानी सोस्ने क्षमता किन महत्वपूर्ण छ? कुन ठाउँमा कस्तो प्रकारको टायल प्रयोग गर्नुपर्छ भन्ने जानकारी निकै थोरै मानिसमा मात्रै थियो।
कम्पनीले उत्पादन दिन थालेपछि टायलबारेको सचेतनालाई अभियानकै रुपमा सुरु गरेको चुरिवालले बताए। उनीहरुले बर्दियामा रहेको प्लान्टमा एक हजारभन्दा बढी मानिसलाई भ्रमण गराएर टायल उत्पादन प्रणाली र गुणस्तरबारे बताइसकेका छन्।

त्यति मात्रै होइन, उनीहरूले ‘एक्सपेरियन्स सेन्टर’ निर्माण गरेका छन्। ग्राहकले एक्सपेरियन्स सेन्टरमा सयौ डिजाइन हेरेर आफ्नो घर वा परियोजनाका लागि उपयुक्त टायल बारे जानकारी पाउँछन्। मन परेको टायल त्यहीबाट अर्डर गर्छन्। कम्पनीले ग्राहकको लोकेशनको डिलरमा अर्डर प्लेस गरिदिन्छ। ग्राहकले त्यहीबाट डेलिभरी पाउँछन्।
यो प्रचार अभियानकै कारण अहिले अवस्था फेरिएको छ।
लुम्बिनी सेरामिक्सकै उत्पादनले कुल टायलको बजारमध्ये २० प्रतिशत हाराहारी बजार हिस्सा लिएको कम्पनीको दाबी छ।
छोटो समयमै बजारमा बलियो उपस्थिति देखिनुको कारण हो– गुणस्तरीय उत्पादन।
सुब्रत भन्छन्, ‘मूल्य घटाएर केही समय बजार लिन सकिएला। तर त्यो रणनीतिले उद्योगको भविष्य निर्माण हुँदैन। त्यसैले सुरुबाटै उनीहरूले सस्तो उत्पादनसँग प्रतिस्पर्धामा नजाने निर्णय गरेका थियौँ। गुणस्तरीय उत्पादनमा सम्झौता गरिएन। कच्चा पदार्थको छनोटदेखि प्रेसिङ, ग्लेजिङ र डिजिटल प्रिन्टिङसम्म अन्तर्राष्ट्रिय मापदण्ड अपनाइयो। उत्पादन बजारमा पठाउनुअघि गुणस्तर परीक्षणलाई अनिवार्य बनाइयो।’

लुम्बिनी सेरामिक्सले उत्पादन गरेको टायल अहिले खाडी क्षेत्रका केही मुलुक र मलेसियासम्मबाट माग भइरहेको कम्पनीका निर्देशक आशुतोष खेतान बताउँछन्। तर, उनीहरूले अहिलेकै उत्पादनबाट डेलिभरी गर्न सक्ने अवस्था नरहेको बताइरहेका छन्।
लुम्बिनी सेरामिक्सले अहिले दैनिक १३ हजार स्क्वायरफिट टायल उत्पादन गरिरहेको छ। त्यसमध्ये, छिमेकी भारतीय सहरमा उत्पादनको ५ प्रतिशत हाराहारी मात्रै निर्यात भइरहेको खेतानले बताए।
३ जनाको सोचबाट सुरु भएको उद्योगमा अहिले ३५० जनाले रोजगारी पाएका छन्।
विदेशबाट आयात हुने टायल प्रतिस्थापन भइरहेको छ। स्वदेशी उद्योगले अन्तर्राष्ट्रिय गुणस्तरका टायल बिछ्याउँदै आयातित टायल विस्थापनको उद्देश्य हासिल गर्न निरन्तर क्रियाशील छ।
Shares

प्रतिक्रिया