सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शहरको अव्यवस्थित तार व्यवस्थापन कार्यको संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्।
लगातारको वर्षाका बाबजुद दुवै मन्त्रीले छाता ओढेरै झुन्डिएका तार व्यवस्थापनको पछिल्लो प्रगतिबारे जानकारी लिएका हुन्। अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिकूल मौसमका कारण काम रोकिन नहुने बताए।
कर्मचारीहरूले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले वर्षालाई अस्थायी अवरोधका रूपमा लिएर निर्धारित समयसीमाभित्रै कार्य सम्पन्न गर्न निर्देशन दिए।
उनले भने, ‘कर्मचारीहरूले झरीको पर्वाह नगरी निरन्तर काम गरिरहनुभएको छ। वर्षा एउटा अस्थायी अवरोध मात्र हो, यसलाई मानेर काम रोक्नु हुँदैन। कामको डेडलाइन नजिकिँदै गरेकाले हामीले यसलाई तिब्रता दिनुपर्छ।’
सहरको सौन्दर्यीकरण र सुरक्षाका लागि झुन्डिएका तार व्यवस्थापन गर्ने सरकारको प्राथमिकता अनुरूप मन्त्रीहरू आफैँ फिल्डमा ओर्लिएर अनुगमन गरेका हुन्। अनुगमनका क्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूलाई काममा थप तदारुकता देखाउन समेत निर्देशन दिइएको छ।

Shares

प्रतिक्रिया