सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुहबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। गए राति भएको यो घटनामा धार्मिक विषय जोडिएको स्थानीय प्रशासनले जनाएको छ।
आइतबार राति करिब ९ बजे युवाहरूको एउटा समूह साउने सोमबारको बोलबमको तयारीमा थियो। त्यो समूह बोलबम यात्राका लागि सप्तकोसी नदीमा जल लिन जाने क्रममा डिजे बनाउँदै कप्तानगन्ज चोकतर्फ जाँदै थिए।
डिजेको आवाज निक्कै ठूलो थियो। अर्को समूहका केही व्यक्तिले विरोध जनाइरहेका थिए। रातिको समयमा अरूलाई अप्ठेरो पर्ने गरी होहल्ला गरेको भनेर विरोध सुरु भयो। बोलबम जाने समूह र होहल्ला भयो भन्ने समूहको बिचमा केही भनाभनबाट विवाद सुरु भएको प्रहरीले जनाएको छ।
त्यो विवाद केहीबेगरमै ठेलाठेलमा परिणत भयो र त्यसपछि दुई समुदायबिच हानाहानसहित उग्र बन्दै गयो।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी कप्तानगन्जबाट प्रहरीको टोली घटना स्थल तर्फ जान्छ। त्यहाँ पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गर्छन्। तर उनीहरू टेर्दैनन्। प्रहरीले सम्झाउँदै गरेको बेलामा गाउँका दुवै समुदायका थप व्यक्तिहरू चिर्पट, ढुङ्गा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली त्यहाँ परिचालित हुन्छ। प्रहरी घटनास्थलमा पुगेपछि दुवै पक्षबाट प्रहरीमाथिसमेत ढुंगामुढासहित आक्रमण हुन थाल्छ। आफैँमाथि आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग सुरु गर्छ।
स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका ८ जना सुरक्षाकर्मी घाइते हुन्छन्। राईको टाउकोमा पाँचवटा टाँका लगाइएको छ।
नेपाल प्रहरीमाथि आक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरीले हवाई फायर सुरु गर्छ। ढुङ्गा, इँटा र सिसाले आक्रमण गर्दा धेरै जना सशस्त्र प्रहरीसमेत घाइते हुन्छन्।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीबाट पनि हवाई फायर हुन्छ। अवस्था नियन्त्रणबाहिर जाने भएपछि राति करिब १०ः४५ बजे घटनास्थलमा रहेको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको सशस्त्र प्रहरीका डीआइजी मनिष थापाले बताए। नेपाल र सशस्त्र प्रहरी दुवैको तर्फबाट अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर भएको उनको भनाइ छ।
हवाई फायर र अश्रु ग्यासले पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउन सुरु गर्छ। घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ आइतबार राति ११ः२५ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यी हुन घाइतेहरू
गोली लागेर देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन्। साथै, अन्य घाइते हुनेहरूमा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रवीन्द्र मेहता, अमितकुमार यादव तथा सुनीलकुमार मेहता लगायतका छन्। उनीहरूको विराटनगरको न्युरो, विराट नर्सिङ, नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
अहिलेसम्म नौ जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका पाँच जना गरी कुल २२ जना घाइते भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
झडपका क्रममा घाइते हुने सशस्त्र प्रहरीका डीएसपी नन्दप्रसाद महतो, चालक वरिष्ठ हवल्दार विष्णुबहादुर बस्नेत, सशस्त्र प्रहरी जवान सुरज साह, अशोक कुमार दनुवार र पङ्कजकुमार शाह रहेका छन्। घाइतेमध्ये बस्नेतको टाउकोमा गहिरो चोट लागेर चार टाका लगाइएको छ भने डीएसपी महतोको पाखुरामा चोट लागेको छ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्।
राईको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी जवान बुद्धदेव साह र निवेश यादव पनि घाइते भएका हुन्।
सुरक्षा सतर्कता बढाइयो
घटना बढ्दै जान थालेपछि सुनसरीका विभिन्न युनिट तथा कोशी प्रदेश प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी दंगा नियन्त्रण गण दुहबी लगायत विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी पनि ठुलो सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले नेपालखबरलाई जानकारी दिए।
रातभर झडप र आक्रमणमा उत्रिएका दुवै समुदायका मानिसहरू हाल छुट्टाछुट्टै स्थानमा रहेका छन्। थप सुरक्षाकर्मीको उपस्थितिमा दुवै पक्षसँग छलफल र सम्झाई बुझाइ भइरहेको तथा अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुई समूहका बिचमा भएको झडपले उग्र रूप लिएपछि सुनसरीका धेरै ठाउँमा अहिले टायर बालेर विरोध प्रदर्शन भइरहेको छ।
Shares

प्रतिक्रिया