कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि सभापति गगन थापा कार्यदल बनाएर सहमति खोज्न अग्रसर भएका छन्। सभापति थापाले असन्तुष्ट नेताहरूसँग सूक्ष्म रूपले सहमतिको खाका बनाउन संस्थापन इतर पक्षसँग कार्यदलका दुई जना सदस्यको नाम मागिएको बताएका छन्।
थापाले आइतबार कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरूसँग चार सदस्यीय कार्यदल बनाउने तयारी भइरहेको बताएका थिए। पार्टीको केन्द्रीय समिति बैठक धकलेर सहमतिको प्रयास थालिएको भन्दै साउन तेस्रो हप्तासम्म यसले सार्थकता पाउने थापाको भनाइ थियो।
गत बिहीबार सभापति थापा कार्यदलमार्फत सहमति खोज्ने प्रस्ताव लिएर नेता शेखर कोइरालालाई भेट्न धापासीस्थित उनको निवास पुगेका थिए।
सभापति थापाले कोइरालासँगको भेटघाट सकरात्मक भएको पदाधिकारीलाई ब्रिफिङ गरेका थिए।
‘बिहीबार बिहान शेखर दाइसँग छोटो भेटघाट भएको थियो। कुरा सकारात्मक भएको छ। कार्यदल बनाएर सहमति जुटाऔँ भन्नेमा पुगेका छौँ,’ थापाको भनाइ छ।
सभापति थापाले संस्थापन पक्षबाट कार्यदलमा पठाउने व्यक्तिबारे पनि छलफल गरेका थिए।
‘सभापतिले कार्यदलमा कसलाई राख्ने भनेर परामर्श गर्नुभएको थियो। हामीले कार्यदलमा कसलाई राख्ने भन्ने सभापतिको कुरा हो, जसलाई राख्न उपयुक्त ठान्नुहुन्छ, उसैलाई राख्नुहोस् भनेर भनेका छौँ,’ सहमहामन्त्री योगेन्द्र चौधरीले भने।
उनका अनुसार उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा र राजेन्द्र केसीमध्ये दुई जना कार्यदलमा रहने छन्। सभापति थापाले १४ औँ महाधिवेशनको कार्यसमिति मर्ज बाहेकका विषयमा सहमति गर्न सकारात्मक रहेको उनको भनाइ छ। १५ औँ महाधिवेशन आयोजक समिति बनाउनका साथै पार्टीका निर्वाचन समिति, क्रियाशील सदस्यता समिति, विधान संशोधन समिति लगायतका विषयमा इतर पक्षलाई समेट्न सकारात्मक रहेको चौधरी बताउँछन्। तर, संस्थापन इतर पक्ष कार्यदल सदस्य पठाउने भन्दा राष्ट्रिय भेलाको तयारीमा लागेको छ।
सोमबार दिउँसो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षका शीर्ष नेताको बैठकमा राष्ट्रिय भेलाको तयारीका लागि छलफल भएको थियो।
‘राष्ट्रिय भेलाको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने र भ्रातृ संस्था परिचालनको संयोजनक तोक्ने निष्कर्षसहित आजको बैठक टुंगिएको छ,’ कांग्रेस नेता श्याम घिमिरेले भने, ‘भोलि बस्ने बैठकबाट निर्णय हुन्छ।’
सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र शेखर कोइराला बसेर छलफल गर्दा मात्र सहमति हुने घिमिरको बुझाइ छ।
‘कार्यदल सदस्य पठाउने कुराको अर्थ छैन। कार्यदलले सहमति जुटाउनै सक्दैन। पार्टीमा सहमति खोज्ने हो भने सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र शेखर कोइराला बस्नुपर्छ। आज छलफलमा यी नै कुरा भएको छ,’ घिमिरेले भने।
नेता मीनबहादुर विश्वकर्माले पनि आफूहरू राष्ट्रिय भेलामै केन्द्रित भएको बताए।
‘संवादका लागि सधै खुला छौँ। तर, हामी राष्ट्रिय भेलामै केन्द्रित छौँ। १६५ निर्वाचन क्षेत्र, जिल्लामा प्रतिनिधि पठाउने निष्कर्ष निकालेका छौँ,’ उनले भने, ‘भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनका लागि संयोजक तोक्ने कुरा भएको छ। संवाद हुँदा पनि अब राष्ट्रिय भेला रोकिँदैन। सहमति भए राष्ट्रिय भेला एकता भेलामा रूपान्तरण हुन्छ। भएन भने नयाँ दिशा तय गर्छ।’
इतर पक्षमा रहेका निवर्तमान विभाग प्रमुखलाई सम्बन्धित भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनको संयोजक बनाइएको विश्वकर्माले बताए।
‘जुन भ्रातृ तथा शुभेच्छुक संस्था हेर्ने विभाग प्रमुह हामीसँग हुनुहुँदैन। उहाँहरूको ठाउँमा नयाँलाई जिम्मेवारी तोक्ने काम भएको छ। भोलि बस्ने बैठकले सबै कुरा सार्वजनिक गर्छ,’ उनले भने, ‘राष्ट्रिय भेलामा बढीभन्दा बढी मानिस सहभागी गराउने प्रयास हुन्छ। उहाँहरूलाई हाम्रो दिशा र गन्तव्य प्रस्ट पार्नुपर्छ। हामी आफै मैदानमा खटेर साथीहरूलाई कन्भिन्स गर्दै गएमा धेरैले मान्नुहुन्छ।’
कांग्रेसको इतर पक्ष १५औँ महाधिवेशन, स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गरी पार्टी निर्माणमा जुटेको देखिन्छ। नयाँ बन्ने पार्टीको नेतृत्वमा डा शेखर कोइराला वा डा शशांक कोइरालालाई उभ्याउने देउवा पक्षको रणनीति देखिन्छ। नेतृत्व लिनका लागि डा शशांक सकारात्मक देखिएका छन् भने डा शेखरसँग संवाद भइरहेको देउवा पक्षका नेताहरूको भनाइ छ।
देउवा पक्षद्वारा साउन ६ मा प्रज्ञा प्रतिष्ठानमा आयोजित बीपी कोइराला स्मृति दिवस कार्यक्रममा शेखर कोइरालाको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शेखरनिकट निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले पनि नेतृत्व सहमति गर्न नचाहे नयाँ पार्टी बन्ने बताउन थालेका छन्। नयाँ पार्टीको पदाधिकारीमा युवालाई ल्याउने तयारी इतर पक्षको तयारी छ।
‘नेतृत्व एक जना अनुभवी नेताको हुन्छ। बाँकी पदाधिकारीमा युवालाई ल्याउने छलफल भएको छ,’ एक शीर्ष नेताले भने, ‘हामी विभिन्न विभागको जिम्मेवारी सम्हालेर बस्छौँ। पार्टी चलाउन युवालाई दिन्छौँ। हामी सहयोग गर्छौँ।’
प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहमति भएपछि सभापति थापामाथि पार्टी मिलाउन दबाब बढेको इतर पक्षको बुझाइ छ। कांग्रेस इतर पक्षको कदमलाई नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वले पनि नजिकबाट हेरेको कांग्रेस नेताहरू बताउँछन्।
भदौ २३ र २४ को घटनालाई हेर्ने दृष्टिकोण एमाले, नेकपा र नयाँ बन्ने पार्टीको एउटै हुने उनीहरूको भनाइ छ। आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धनको आधार खडा गरेर जाने विषयमा कांग्रेस इतर पक्षले एमाले र नेकपाको नेतृत्वसँग छलफल गरिरहेको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले विराटनगर पुगेर शेखर कोइरालालाई भेटेका थिए भने देउवा पक्षले उनीहरूसँग छुट्टै भेटवार्ता गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको आन्तरिक मतभेदको विषयमा चासो लिइराखेको बुझिएको छ। इतर पक्षका नेताहरूका अनुसार कांग्रेस विभाजित भई बन्ने नयाँ पार्टीसँग सहकार्य गर्न र सद्भाव राखेर अगाडि बढ्न ओली र प्रचण्ड सकारात्मक छन्।
Shares

प्रतिक्रिया