मकवानपुरको थाहा नगरपालिका-१० का ४१ वर्षीय आश्मान गोपालीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या भएको निष्कर्षसहित अनुसन्धानलाई तीव्र बनाएको छ।
घटनामा संलग्नता हुन सक्ने आशंकामा प्रहरीले हालसम्म ८ जनालाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ गरिरहेको छ।
आश्मान आइतबार हेटौँडा-११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको दायरा विस्तार गरेको हो।
प्रहरीका अनुसार घटनाअघि उनी हेटौंडाको एक होटलमा बसेका थिए। होटलमा उनीसँग सम्पर्कमा आएका तथा घटनासँग सम्बन्ध देखिएका व्यक्तिहरूमाथि अनुसन्धान केन्द्रित गरिएको छ।
अनुसन्धानका क्रममा प्रहरीले विभिन्न जिल्ला र स्थानीय तहका ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
प्रहरी नियन्त्रणमा पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका-९ की २२ वर्षीया पार्वती ब्लोन, मनहरी गाउँपालिका-३ की ३४ वर्षीया राममाया थिङ, ललितपुरको गोदावरी नगरपालिका-७ की ३५ वर्षीया आशिका लामा, उदयपुरको बेलटार नगरपालिका-७ की ३२ वर्षीया मनिषा दाहाल, मकवानपुरको बकैया गाउँपालिका-५ का ४० वर्षीय कमान सिंह माझी, हेटौंडा उपमहानगरपालिका-१७ का २४ वर्षीय रबिन प्रजा, नुवाकोटको पञ्चकन्या गाउँपालिका-५ की २२ वर्षीया बिनिशा तामाङ (मोनिका थिङ) र सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ की ३३ वर्षीया निरु तामाङ रहेका छन्।
प्रहरीले उनीहरूसँग घटनाअघि र घटनापछिका गतिविधि, मृतकसँगको सम्बन्ध, होटलमा भएको आवतजावत तथा अन्य सम्भावित प्रमाणका विषयमा सोधपुछ गरिरहेको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेकाले यस चरणमा थप विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलबाट संकलित प्रमाण, होटलको सीसीटीभी फुटेज, मोबाइल कल विवरण तथा अन्य प्राविधिक प्रमाणको समेत विश्लेषण भइरहेको छ।
अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
आश्मान गोपालीको हत्या किन र कसरी भयो भन्ने विषय अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया