महाधिवेशन गरेको ३१ दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन्। साउन १३ गते बुधबार पार्टी कार्यालयमै बैठक बस्न लागेको केन्द्रीय सदस्य एवं प्रधानमन्त्री बालेन्द्र शाहका नीति तथा सुशासन सल्लाहकार सुदीप ढकालले जानकारी दिए।
असार ७ देखि १२ गतेसम्म चितवनमा प्रथम महाधिवेशन सम्पन्न गरेको रास्वपाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको छैन। सभापतिमा लामिछाने निर्विरोध निर्वाचित हुँदा ९९ जना केन्द्रीय सदस्य र ६ जना पदाधिकारी निर्वाचनबाट चुनिएका थिए। बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापति लामिछानेलाई विधानले दिएको छ।
एकता, समायोजन र पार्टी प्रवेशबाट आएका नेताहरूको व्यवस्थापन गर्न मनोनीत कोटा राखिएको नेताहरू बताउँछन्। तर, उनले एक महिनासम्म पनि कसैको मनोनयनबारे निर्णय गर्न सकेका छैनन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने सहमति भए पनि अन्यबारे निर्णय भएको छैन।
उपसभापति, महामन्त्री र १८ जना केन्द्रीय सदस्य बालेन समूहलाई दिन लामिछाने तयार छन्। बालेन समूहकै कोटामा जेनजी, घाइते सहिद परिवार लगायत समेटिने उनको भनाइ छ।
बालेनसँग रविले पछिल्ला दिन लगातारजसो छलफल गरिरहेका थिए।
तर, बालेन समूहले नाम नदिएकाले पहिलो केन्द्रीय समितिको बैठकमै सबै पदाधिकारीहरूको मनोनयन हुने निश्चित नभएको लामिछानेनिकट एक पदाधिकारी बताउँछन्।
यद्यपि, प्रवक्ता र कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य मनोनयन गर्ने तयारीमा लामिछाने छन्। दैनिक पार्टी सञ्चालनका लागि प्रवक्ता र कोषाध्यक्ष तत्काल मनोनयन गरेर जाने निचोडमा उनी पुगेको निकट नेताले बताए।
अहिलेसम्म प्रवक्तामा केन्द्रीय सदस्य प्रमोद न्यौपाने र कोषाध्यक्षमा लीमा अधिकारीको चर्चा छ। तथापि, लामिछानेले मनोनीत गर्ने नाम नखुलाएको ती नेता बताउँछन्।
आगामी बुधबार राखिएको पहिलो केन्द्रीय समितिको बैठकमा मनोनयनको एजेन्डा पनि रहेको अर्का नेताले जानकारी दिए। बैठकमा पाँच महाधिवेशनको समीक्षा, आवकश्यक तर्जुमा, सांगठनिक व्यवस्थापन तथा मनोनयन, अगामी अभियान तथा कार्यक्रम सन्चालन तथा विविधगरी पाँच वटा एजेन्डा तय भएको उनले बताए।
‘१३ गते पार्टी कार्यालयमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘प्रवक्ता कोषाध्यक्ष र केही केन्द्रीय सदस्यको मनोनयन प्रस्ताव आउन सक्छ।’
अरु पदाधिकारी तत्काल मनोनयन हुने सम्भावना नरहेको ती नेताले बताए।
बालेन समूहले पाएको पदाधिकारीमा कसलाई पठाउने भन्ने यकिन निर्णय नगरेको उनीनिकट नेताहरूको भनाइ छ।
बालेनका विश्वासपात्र मध्येका सुनिल लम्साल, सुदीप ढकाल, भूपदेव शाहमध्येबाटै पदाधिकारी बन्नसक्ने उनीहरूको भनाइ छ। त्यसो त गृहमन्त्री सुधन गुरुङले समेत पदाधिकारीमै दाबी गरिरहेको नेताहरू बताउँछन्।
Shares

प्रतिक्रिया