समाज


नोटको हैन, साँच्चिकै गैंडा हेर्न अमलटारी

गाउँले भन्छन्: बाली खाओस् तर गैंडा आओस्!
नोटको हैन, साँच्चिकै गैंडा हेर्न अमलटारी

पाहुनलाई स्वागत गर्दै अमलटारी होमस्टेका महिला

दसैं सकिएकै छैन। दसैंसँगै बजारमा आएका नयाँ नोट ‘दक्षिणा’ बनेर मान्छेको हातहात पुग्दा धेरैको खल्तीमा गैंडा भित्रिएका छन्। गैंडा अंकित हरियो नोट पाएका बालबालिका खुसी पनि छन् तर, नजिकैबाट गैंडा हेर्ने अवसर पाउने बालबालिका भने नेपालमा कमै छन्। र,केही भाग्यमानीमध्ये हुन्–नवलपुरको अमलटारीका बालबालिकाहरु। 

उनीहरुले मात्र हैन, नवलपुरका अघिल्लो पुस्ताको लागि पनि हात्ती र गैंडा नौला थिएनन् तर ती जनावर अंकित नोटको भने सधैं अभाव ! अझ, त्रास बोकेर गाउँ पस्ने हात्ती र गैंडाको के काम ? माछा मार्ने, खेतिपातीगर्ने परम्परागत पेशामा रमाएका गाउँलेहरुले दिमाग लगाए। त्रास बोकेर आउने गैंडा र हात्तीलाई साँच्चिकै खल्तीमा राख्ने सोच बनाए। अनि जन्म्यो–अमलटारी होमस्टेको योजना!

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको डण्डा बजारबाट भित्र लागेपछि आधा घण्टामै पुगिने सिमान्तकृत थारु जातिको  आदिम बस्ती ‘अमलटारी’ केही वर्षअघिसम्म गुमनामजस्तै थियो। २०७५ सालतिर जिल्ला वन कार्यालय नवलपुरले होमस्टे संचालनको लागि आवश्यक पूर्वाधार तयार गर्न गाउँलेलाई १ लाख रुपैयाँ आर्थिक सहयोग ग¥यो। 

‘एकातिर वन जोगाउनु थियो, अर्कोतर्फ गाउँलेहरुलाई आर्जनमा लगाउनु पनि’, जिल्ला वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत मोहनराज काफ्लेले भने,‘ त्यसको लागि होमस्टेको परिकल्पना गरियो, अहिले अमलटारी जंगली जनावर हेर्दै थारु संस्कृतिको आनन्द लिने ठाउँ भएको छ।’ 

उनका अनुसार संरक्षणको क्षेत्रमा नमूना बनेको गाउँले विश्व वन्यजन्तु कोषबाट पुरस्कार पनि पाइसकेको छ। 

अमलटारी सामुदायिक होमस्टेका प्रमुख धनीराम महतो पनि यो विचारसँग सहमत छन्। उनका अनुसार वन्यजन्तु र मानवबीचको द्वन्द्व नयाँ हैन। संरक्षणको चेतना नहुँदा गैैंडालाई पासो थाप्ने, बाघलाई विष हाल्ने गरिन्थ्यो तर अहिले तिनै गैंडा र वन्यजन्तुले आयआर्जनमा सघाएका छन्। निकुञ्ज बाहिर परेको नारायणीले छाड्दै गएको वनलाई सामुदायिक वन बनाइएको छ। सो क्षेत्रको २२ सय ५० हेक्टर जमिनमा ३५ वटाजति रैथाने गैैंडा बस्छन्। 

‘खाना खोज्दै जनावर आउँछन्’, उनले भने, ‘हाम्रोमा पाहुना पनि त ती जनावर हेर्न आउने हुन् नि, संरक्षण, पर्या–पर्यटन र जीविकोपार्जनलाई सँगै लैजाँदा राम्रो भएको छ।’ 

स्थानीयहरुले जनावर देखाएरै आयआर्जन गरेका छन्। कोभिड–१९ का कारण लामो समय बन्द रहेको होमस्टे यतिबेला खुलेको छ। दसैंपछिको छोटो बिदामा साँच्चिकै गैंडा हेर्न मन हुनेहरु यहाँ सजिलै पुग्नसक्ने महतोले बताए। 

गैंडासँगै अमलटारी होमस्टेले थारु संस्कृतिसमेत पस्किने बताउँदै महतोले भने, ‘वाइल्ड लाइफ र थारु संस्कृतिलाई घुलेर अमलटारी ब्राण्ड बनाउने हाम्रो प्रयास सफल हुँदैछ।’ 

संरक्षण र संस्कृतिको घुलमिल
हो, गण्डकीको कान्छो जिल्ला नवलपुरले होमस्टे र सामुदायिक वनका माध्यमबाट वन तथा वन्यजन्तु संरक्षणको अनुपम नमूना पेश गरेको छ। डिभिजन वन अधिकृत काफ्लेका अनुसार अहिले नवलपुरमा २०८ वटा सामुदायिक वन र १० वटा होमस्टे संचालनमा छन्। १३३३.५ हेक्टर अर्थात् ७७८.७ वर्गकिलोमिटर (कुल जमिनको  ५८ प्रतिशत) भाग जंगलले ढाकेको नवलपुरमा संरक्षण र आय आर्जनलाई सँगै लैजाने अभियानमा ती दुबै संरचना सहयोगी भएको उनको अनुभव छ। 

२०३० सालतिर चितवन, नवलपरासी, पर्सा र मकवानपुरका केही क्षेत्र समेटेर चितवन राष्ट्रिय निकुञ्ज बनाइयो। निकुञ्ज बन्नुअघि नै अमलटारीमा जंगली जनावर आउँथे। घना जंगल मासेर बस्ती बसाएपछि सो क्षेत्रका रैथाने गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू संकटमा परे। संकटमा परेका जनावरहरु आहारा खोज्दै गाउँ पस्न थाले। खेतीबाली खाइदिने, मानिसलाई आक्रमण गर्ने प्रवृत्ति बढेर गयो।

मानव– वन्यजन्तुको द्वन्द्व व्यवस्थापन चुनौतिको रुपमा देखाप¥यो। जिल्लाकै वनमध्ये कावासोतीमा २७ प्रतिशत र ७३ प्रतिशत हिस्सा ओगट्ने कावासोती र विनय त्रिवेणीमा संकट उत्पन्न भयो। अघिल्लो वर्ष बाघले र यो वर्ष बनेलले मान्छेको ज्यान लियो। 

तर, स्थानीयले वन्यजन्तुप्रतिको स्नेहमा कमी हुन दिएनन्। डिभिजन वन संरक्षण व्यवस्थापन कार्यालय र मध्यवर्ती क्षेत्रका उपभोक्ताले मान्छे–वन्यजन्तुबीच द्वन्द्व हुन नदिने उपाय सुझाए। जंगलमै पानीपोखरी बनाउन थाले। धेरै जनावर आउने ठाउँमा जालीसहितको पर्खाल बनाए। 

‘अहिले नारायणी वारीकै सामुदायिक वनहरुमा करिब १६ वटा पानीपोखरी बनाइएको छ भने २ सय मिटरजति तारजाली लगाइएको छ’, डिभिजन वन अधिकृत काफ्लेले भने, ‘नारायणी नदी वारी नै ३५ वटाजति गैंडा बसेका छन्। जंगली जनावरलाई एउटै क्षेत्रमा घेरेर राख्न सकिँदैन। उनीहरुको गैडाहरु हाइवे वा कावासोती क्षेत्रमै ८–१० वटा घुमिरहेका हुन्छन्। रोड दुर्घटना चाहिँ बढेको छ।’

नवलपुर क्षेत्रमा मध्यवर्ती संरक्षण क्षेत्रअन्तर्गतको ७० हजार हेक्टर जमिन पर्छ। त्योमध्ये ६ हजार हेक्टर जमिन चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतकै हो भने बाँकी बफर जोन हो। गैंडाकोटलदेखि कावासोतीसम्म हाइवेतिरको जग्गा बफर जोन हो भने राजमार्गभन्दा तलतिरको २ किलोमिटर क्षेत्र मध्यवर्तीमै पर्छ। त्यसलाई संरक्षित क्षेत्र नै भनिन्छ। नवलपुरमा हाल २०८ वटा सामुदायिक वन रहेका छन्। मध्यवर्ती क्षेत्र भने ७२९.३७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। २०५३ सालमा निकुञ्ज वरपरको क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो। 

चितवन निकुञ्ज, पहिलो पटक सन् १९७३ र १९७४ मा जारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र नियमावलीको अधीनमा रही सञ्चालनमा छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका,२०६९ को तेस्रो संशोधनले १४ प्रजातिका जनावर तथा सरीसृपले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको छ। अनुमति लिएर सामुदायिक वन क्षेत्रमा जाँदा र गाउँबस्तीमा आएर वन्यजन्तुले आक्रमण गरेको अवस्थामा मात्रै राहत पाइने छ। 

निर्देशिकामा वन्यजन्तुबाट मानिसको मृत्यु भएमा आश्रित परिवारलाई  १० लाख, सख्त घाइते हुनेलाई बढीमा दुई लाख र सामान्य घाइते हुनेलाई बढीमा  २० हजार दिने व्यवस्था छ। त्यसैगरी वयस्क भैँसी, राँगो, गोरु, उन्नत गाई, साँढे वन्यजन्तुबाट मारिएमा  ३० हजार र अन्य पशु चौपाया मारिएमा रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ। त्यसैगरी घरगोठ क्षति भएमा  १० हजार, भण्डारण गरेको अन्नबाली क्षति भएमा  १० हजार, खाद्यान्न बाली नष्ट भएमा बढीमा १० हजार दिने व्यवस्था छ। बीमा गरिएको भएमा बीमा रकम घटाएर राहत दिने व्यवस्था छ। 

डिभिजन वन अधिकृत काफ्लेका अनुसार गैंडाले बाली खाएको गुनासाहरु सुनिए पनि पछिल्लो समय क्षतिपूर्ति माग्न आउनेको संख्या भने घटेको छ। मानिसमाथि नै आक्रमण गरेको घटनामा चाहिँ वन कार्यालयले क्षतिपूर्तिको लागि निकुञ्जमा सिफारिस पठाउने गरेको छ। 

असोज ३०, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .