विजयादशमी दसैँको मुख्य दिन हो। यो दिन मान्यजनको हातबाट टीका लगाउन र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन्। तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै।
त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका शेर्पा याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो।
समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा शेर्पाको गोठ छ। छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि अहिले उनीसँग ३० वटा चौरी छन्। त्यसमधे दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूधको चिया खाएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ।
तिनलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ।
उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए।
चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए। मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ।
मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए।
सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ। रासस
Shares
प्रतिक्रिया