तराई–मधेसमा आज छठ पर्व विधिवत् सुरु भएको छ।
पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज व्रतालुले माछा र कोदो खाँदैनन्। आजको दिनलाई ‘माछमरुवा बार्ने दिन’ भनिन्छ।
भोलि दोस्रो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन सेवन गर्छन् भने तेस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाइएको खीर खान्छन्। जसलाई खरना भनिन्छ।
चौथो दिन भने छठको मुख्य विधि गर्ने दिन हो। त्यस दिन पूजा सामग्री जलाशय वा नदी किनारमा बनाइएका घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। अनि पाँचौ दिन बिहान फेरि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधि पूरा हुन्छ।
छठ पर्वमा बाँसका ढाकी, डग्री, माटोका कोसिया कुरबार, हातीलागयत सामग्री चढाइन्छ। त्यस्तै प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने चलन छ।
अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्छन्।
पारिवार एवं सन्तानको सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वलाई निष्ठा र कठोर पर्वका रूपमा लिइन्छ।
तराई मधेसवासी यतिबेला छठ पर्वको तयारीमा व्यस्त भएका छन्। पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ।
यस्तै नदी, तलाउ, पोखरी, इनारलगायत जलाशय किनारमा छठघाट सिँगार्ने क्रम तीव्र बनेको छ।
खासगरी जनकपुरका धार्मिक तथा ऐतिहासिक पोखरी, तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायत जलाशय दुलहीझैं सिँगारेर झकिझकाउ पारिएको छ।
अहिले गाउँघर, सहर बजार, गल्लीमा छठ पर्वसम्बन्धी सुमधुर गीत/संगीतले मिथिला क्षेत्र गुञ्जिरहेको छ।
छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्व पनि मानिन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडमा पनि मनाउने चलन बढ्दो छ।
Shares
प्रतिक्रिया