कारोबार


५ लाख बिघा जमिन छिचोल्ने सुनकोसी-मरिन, मधेसकै रुपान्तरणकारी आयोजना

५ लाख बिघा जमिन छिचोल्ने सुनकोसी-मरिन, मधेसकै रुपान्तरणकारी आयोजना

सुनकोशी मरिन डाइभर्जन आयोजना।


वसन्त अर्याल
बैशाख २६, २०८१ बुधबार १६:४४, काठमाडौँ

मधेस प्रदेशकै रूपान्तरणकारी आयोजना सुनकोसी मरिनको मुख्य काम सकिएको छ। 

तराईका पाँच जिल्लामा सिँचाइको सुविधा पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ। 

मरिन खोलाको पानीलाई प्रयोग गर्दै बागमती सिँचाइ आयोजनाबाट तराईका २ जिल्लामा सिँचाइ भइरहेको छ। अहिले रौतहट र सर्लाही जिल्लाको ४५ लाख ६०० हेक्टर जमिनमा पानीको पहुँच छ। 

बुधबार ‘ब्रेक थ्रु’ भएको सुरुङबाट सुनकोसीको पानी मरिन नदीमा झारिनेछ।

बागमती सिँचाइ योजनाको संरचना बढाई अहिले सिँचाइ भइरहेका रौतहट र सर्लाहीसँगै ३ वटा जिल्लामा नहर पुर्‍याइनेछ। नयाँ नहर बारा, महोत्तरी र धनुषा जिल्लामा पुग्नेछ। 

बुधबार सुरुङ ब्रेक थ्रुपछि टीबीएम मेसिन अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।

वर्षैभरि सिँचाइ सुविधा, ३१ मेगावाट बिजुली 
सुनकोसी र मरिनको पानीले ५ जिल्लाका १ लाख २२ हजार हेक्टर अर्थात् ४ लाख ८२ हजार बिघा जमिनमा वर्षैभर सिँचाइ उपलब्ध हुनेछ। 

२०७६ मा मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवको आयोजना घोषणासँगै आयोजनाको निर्माण प्रक्रियाले गति लिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गरेका थिए। २०७९ असोजबाट टनेल बोरिङ मेसिन (टीबीएम) भित्र्याई सुरुङ खन्ने काम सुरु भयो। २०८१ वैशाख २६ (आज) मा सुरुङ ‘ब्रेक थ्रु’ भयो। 

आयोजनाबाट सिँचाइ मात्रै नभई ३१ मेगावाट विद्युत् उत्पादन समेत हुनेछ। जसअन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट बजारबाट २ किमि माथि र सुनकोसी–तामाकोशी दोभानबाट करिब ९५० मि. तल सुनकोसी नदीमा ब्यारेज निर्माण हुँदै छ।

साथै इन्टेक, डिसेन्डर तथा १३.३ किमि टनेलबाट ६७ क्युमेक्स (६७ घनमिटर प्रतिसेकेन्ड) पानी मरिन खोलाको बायाँ किनारमा निर्माण हुने पावरहाउसमा खसालिनेछ।

उक्त ठाउँमा विद्युत् निकाली बागमती सिँचाइ आयोजनाको लागि छाडिनेछ। 

सुनकोशी नदी।

अर्थतन्त्रमा गुणात्मक योगदानको विश्वास 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए। 

‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ’, सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘आज सुरूङको ब्रेक–थ्रु भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ।’

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल गार्हस्थ्य उत्पादनमा झण्डै एकतिहाइ योगदान छ। प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको  बताए। 

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेसभित्र पर्छ। 

प्रधानमन्त्री दाहालले भने, ‘सुरूङको ‘ब्रेक थ्रु’ सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ। ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ।’

हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै  उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने बताए। 

प्राविधिक दक्षता सिकाइ 
आयोजना सफल भएसँगै जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेका छन्। 

प्रधानमन्त्रीले आयोजना सञ्चालनपश्चात् सुनकोसी र तामाकोशी क्षेत्रमा बसोबास गर्नेको आयमा समेत वृद्धि हुने बताएका छन्।

उनले माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल/जलाशयमा पर्यटन व्यवसाय विकास हुने बताए।  

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीहरुले आयोजना स्थलमा खटिई समस्या समाधान गरेकाले छिटो काम भएको बताए।  

उनले बाँकी कामको लागि निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन समेत दिएका छन्। 

सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। आयोजना स्थलमा पुगेका नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुरुङ ब्रेक थ्रु भएकोमा बधाइ दिँदै १ लाख २२ हजार हेक्टर जमिन सिँचाइ हुने साँच्चिकै गौरवको आयोजना भएको बताए।

उनले निर्धारित समयभन्दा १ वर्षअगावै निर्माण भएको बताए।

सुनकोशी मरिन आयोजना स्थलको स्याटेलाइट दृश्य (गुगल अर्थ)

सुरुङ छिचोलियो, बाँकी के–के छन् गर्नुपर्ने?
सुरुङको ब्रेक थ्रु भए पनि हेडवर्क्स, इन्टेक, डिसेन्डर बेसिन, पावर हाउस, हाइड्रोमेकानिकललगायत निर्माणका काम बाँकी छन्।

इलेक्ट्रिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन निर्माण कार्य सुरु भएका छन्। सुनकोसीको पानी मरिनमा खसेसँगै वहाव नियन्त्रणको काम गर्नुपर्ने हुन्छ। 

आयोजनाका अनुसार बाँध निर्माणमा अपेक्षित प्रगति हुन सकेको छैन। टीबीएम मेसिन नै प्रयोग भएको भेरी–बबई बहुउद्देश्यीय आयोजना जस्तै हुने शंका पनि छ। भेरी बबईमा सुरुङमार्ग सकिए पनि विद्युत् उत्पादनको लागि पूर्वाधार र बाँध समयमा नबन्दा पूर्णता पाउनसकेको छैन। 

सुनकोसी मरिनमा महत्वपूर्ण विद्युत् गृह र प्रसारणलाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ। प्रसारणलाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ। 

यस्तै हाइड्रोमेकानिकल र लेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजनाले जनाएको छ। विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .