ad ad

बागमती


काठमाडौँमा यो वर्ष अहिलेसम्मकै अत्यधिक गर्मी

अपराह्नपछि वर्षाको सम्भावना
काठमाडौँमा यो वर्ष अहिलेसम्मकै अत्यधिक गर्मी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ६, २०८१ आइतबार ६:५०, काठमाडौँ

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी तापक्रम देखिएको जानकारी दिए। 

‘शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको हो’, मौसमविद् लामिछानेले आइतबार बिहान नेपालखबरसँग भने, ‘यो वर्ष यसभन्दा अघि काठमाडौँमा सबैभन्दा बढी तापक्रम गत अप्रिल २५ र ३० मा ३३.५ डिग्री सेल्सियस थियो, शनिबार योभन्दा बढेर ३३.६ डिग्री सेल्सियस पुगेको हो।’

यस्तै शनिबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम पनि यस वर्ष अहिलेसम्मकै बढी देखिएको मौसमविद् लामिछानेले बताए।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम १९.२ डिग्री सेल्सियस पुगेको थियो।

‘यो पनि उपत्यकाका लागि यो वर्ष अहिलेसम्मकै बढी न्यूनतम तापक्रम हो’, उनले भने। उनका अनुसार यो वर्षअन्तर्गत यसअघि काठमाडौँ उपत्यकाको सबैभन्दा बढी न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियससम्म पुगेको थियो। 

आज (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.३ डिग्री सेल्सियस देखिएको र अधिकतम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।

वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्का वर्षा हुने सम्भावना छ।

‘अहिले बिहानीपख एकछिन घाम लाग्ने सम्भावना देखिए पनि अपराह्नपछि बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .