समाज


सुरुङमा थुनिएका १७ मजदुरको १० घण्टापछि सकुशल उद्धार

सुरुङमा थुनिएका १७ मजदुरको १० घण्टापछि सकुशल उद्धार

नेपालखबर
असार ६, २०७६ शुक्रबार २:४३,

निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको सकुशल उद्धार भएको छ।

सुरुङको प्रवेश मार्गमा बिहीबार राती साँढे ८ बजे सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ गरी १७ जना कामदार थुनिएका थिए।

उनीहरु सबैलाई बिहान साढे सात बजेसम्ममा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी भोगेन्द्रपुरुष ढकालले जानकारी दिए।

आयोजना निर्माणस्थलबाट नेपालखबरसँग डिएसपी ढकालले भने, ‘पहिरोले सुरुङमार्गमा अबरोध गरेको थियो, तर पूरै सुरुङमार्ग थुनिएको थिएन। माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले राति उद्धारको काम रोकेका थियौँ। बिहान पहिरो नझरेको मौका पारेर सातै जनाको उद्धार गरिएको छ। ।’

उद्धार गरिएका मजदुरमा बैतडीका जनकबहादुर राना र रतनसिंह प्रजा, सल्यानका गोविन्द पुन, लमजुङका टेकबहादुर थापा, धादिङका कुशल श्रेष्ठ, रुकुमका अर्जुनबहादुर रोक्का र निमासेडर लामा, बर्दियाका दानबहादुर ओली, सुर्खेतका कर्णबहादुर घर्ती, रुद्रबहादुर ठाडा मगर र टेकबहादुर दर्लामी छन्।

त्यसैगरी चिनियाँ नागरिक जि हङ, वाङ चिङ, हङ हु जिङ, जिउ जिओ, हङलङ नुङ र झन ल्याङको पनि उद्धार भएको छ।

१० घण्टा सुरुङभित्र थुनिए पनि उनीहरुको स्वास्थ्य अबस्थामा कुनै खराबी नआएको डिएसपी ढकालले बताए।

‘सुरुङको मुखमा पहिरो झर्ने क्रम अझै रोकिएको छैन,’ ढकालले भने, ‘सुरुङमाथिबाट अहिले पनि सुख्खा पहिरो झरिरहेको छ। पहिरोको जोखिम नसकिएकाले अहिले काम रोकेका छौँ।’

नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नजिकै एक सय ११ मेगावाटको जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad