गत असोज १७ मा कोशीटप्पुको हिरो भनेर चिनिएको मकुना हात्ती मर्यो। विदुतीय धरापमा परेर ज्यान गुमाएको त्यही मकुनाको गत मंसिर ११ मा छोरो ‘छावा’ जन्मिएको थियो।
आरक्षको सरकारी पोथी हात्ती शोभाकलीलाई गर्भिणी बनाएर मकुनाको मृत्यु भएको थियो। मकुनालाई ‘मिस’ गरिरहेको कोशीटप्पुले त्यसैको नयाँ सन्तान पाउँदा केही राहत महसुस गरेको थियो।
तर, लगातार हात्ती गुमाउँदै आएको कोशीटप्पुले मकुना र शोभाकलीको छावा रामसारगज लाई पनि लामो समयसम्म आफ्नो बनाउन सकेन। जन्मिएको २३ दिन नपुग्दै मकुनाको चिनो र शोभाकलीको पनि सम्भवतः अन्तिम बच्चा रामसारगज लाई कोशीटप्पुले गुमाएको हो।
आइतबार हात्तीसारनजिकै लडेर रामसारगजको मृत्यु भएको थियो। जन्मिदै गर्दा शोभाकलीको लात खाएको रामसारगज त्यसैको कारणले मृत्यु भएको हो कि भन्नेमा आरक्ष प्रशासन रहेको छ।
‘जन्मिदा शोभाकलीले केही समय कुल्चिएको थिइ, त्यसले अलि उसमा समस्या आएको थियो’ एनटीएनसीका वीरेन्द्र गौतमले भने, ‘अहिलेको कारण पनि त्यही हो कि भन्ने छ तर, यकिन छैन। पोस्टमार्टम रिपोर्टले मात्र विस्तृत कुरा ल्याउन सक्छ।’
रामसारगजको शरीर आरक्षको सङ्ग्रहालयमा राख्ने तयारी छ। रामसारगज मरेपछि आमा शोभाकलीले दुई दिनसम्म छावा खोजेको थियो।
Shares
प्रतिक्रिया