ad ad

समाज


नेपालमा अर्काे मौसम प्रणाली प्रवेश गर्दै, सोमबारसम्म हिमपात–वर्षाको सम्भावना

नेपालमा अर्काे मौसम प्रणाली प्रवेश गर्दै, सोमबारसम्म हिमपात–वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १८:४७, काठमाडौँ

हाल नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहे पनि भोलि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज शुक्रबार जारी गरेको विशेष बुलेटिनअनुसार उक्त प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना छ। जसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ।

‘यस प्रणालीको प्रभावले सोमबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ’, बुलेटिनमा भनिएको छ, ‘साथै बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।’

यसका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका  पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जानकारी बुलेटिनमा दिइएको छ। 

‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध  छ’, बुलेटिनमार्फत सचेत गराइएको छ, ‘चिसो मौसममा अत्याधिक बिजुलीको माग बढ्न गई नियमित प्रसारणमा प्रभाव पर्नसक्ने तथा झ्यालढोका बन्द गरी कोठामा आगो बाल्दा  आगलागी र धुवाँको कारण ज्यान जोखिममा हुन सक्ने भएकाले थप सतर्कता अपनाउनहुन पनि अनुरोध छ।’

मंगलबारदेखि मात्र यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .