समाज


छोरी गुमाए, क्षतिपूर्तिका लागि अदालत धाउँदै छन् विदुरमान

छोरी गुमाए, क्षतिपूर्तिका लागि अदालत धाउँदै छन् विदुरमान

कृष्ण आचार्य
कात्तिक २७, २०७६ बुधबार ८:२४,

२८ फागुन २०७४। नेपाली समयअनुसार मध्याह्न १२ बजेर १५ मिनेटमा बंगलादेशको राजधानी ढाकाबाट युएस–बंगला एयरको विमान २११ काठमाडौंका लागि उड्यो।

एञ्जिला श्रेष्ठले परिवारका सदस्यलाई आफू उडेको जानकारी गराइन्। सोही दिन एञ्जिला नेपाल आएपछि साँझ ४ बजे एक पारिवारिक समारोहमा सहभागी हुने योजना बनिसकेको थियो।

बंगलादेशबाट डाक्टरी सकेर आउन लागेकी छोरीलाई स्वागत गर्न बुबा विदुरमान विमानस्थल पुगेका थिए। डाक्टरी सकेर फर्कँदै गरेकी छोरीलाई भेट्न उनलाई हतारो थियो।

त्यसैले दिउँसो दुई बजेपछि विदुरमानको आँखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाथिको आकाशमा थियो।

‘छोरीलाई भेट्ने हुटहुटीका साथ उनलाई कुरेर कहिले आकाशमा त कहिले आगमन द्वारमा हेरिरहेको थिएँ। त्यत्तिकैमा सवा २ तिर विमानस्थलभित्रबाट ठूलो आवाज आयो,’ विदुरमान भन्छन्।

विदुरमानलाई लाग्यो, केही पड्किएको होला। उनले बाहिर आएर विमानस्थलको टर्मिनलतर्फ आँखा डुलाए। आन्तरिक टर्मिनलमा आगोको मुस्लो उडिरहेको देखे। सोचे, डोमेस्टिक विमान दुर्घटनामा परेछ।

000

‘बंगलादेशबाट आएको विमान दुर्घटनामा परेछ,’ साढे दुई बजेतिर यो सूचना विदुरमानको कानमा ठोक्कियो। ठोक्किनु के थियो, त्यसले उनको मुटुमै हान्यो।

‘छोरी’ उनले यत्ति बोल्न सके। त्यतिबेलासम्म विमानस्थलमा रुवाबासी चलिसकेको थियो। विमानमा सवार अधिकांशको ज्यान गएको सूचना मानिसहरुले फलाकिरहेका थिए।

विदुरमान बेहोसीमा पुगे। के भयो उनलाई केही थाहा छैन। ड्राइभरले जसोतसो सम्हालेर उनलाई घरसम्म ल्याए।

घर पुग्दा परिवारमा अवस्था उस्तै थियो। आफैँ सम्हालिन नसकेका विदुरमानले परिवारका सदस्यलाई कसरी सम्हाल्थे!

त्यही पनि झिनो आश बाँकी थियो, कतै छोरी घाइतेमात्र पो भएकी छन् कि भन्ने। तर, त्यो आश पनि त्यतिबेला समाप्त भयो जब समाचारमा विमान दुर्घटनामा मृत्यु हुनेमा एञ्जिलाको पनि नाम आयो।

त्यसपछिका घटना विदुरमानलाई केही थाहा छैन। एकैपटक छोरीको जलेको शरीर अस्पतालमा देखे।

000

विदुरमानका एक छोरी र एक छोरा थिए। एञ्जिला जेठी थिइन्। चन्द्रागिरी नगरपालिका–१० मा जन्मिएकी उनी २३ वर्षकी थिइन्।

पढाइमा अब्बल एञ्जिलाले न्यु एकेडेमीबाट एसएलसी र युनाइटेड कलेजबाट प्लस टु पास गरिन्। त्यसपछि एमबीबीएस पढ्न २०६९ मा बंगलादेश पुगिन्।

एञ्जिला व्यवहारिक थिइन्। परिवारमा सबैलाई सम्झाइ–बुझाइ गर्थिन्। केही सल्लाह लिनुपरे विदुरमान छोरीलाई नै सोध्थे।

‘पढाइबाहेक उसको डान्समा पनि रुची थियो,’ आँखामा टिलपिलाएका आँसु लुकाउने प्रयास गर्दै विदुरमान भन्छन्, ‘ऊ हाम्रो परिवारको मुटु थिई।’

000

विमान दुर्घटना भएको दुई वर्ष पुग्न लाग्यो। तर, डाक्टर बनेर नेपाल फर्किएका एञ्जिलासहित सात जनाको परिवारले अझैसम्म पनि कानुन बमोजिम क्षतिपूर्ति पाएका छैनन्।

डाक्टर बन्दा गरेको लगानी र छोराछोरी डाक्टर बनेर आएपछिको आशा; सबै निराशामा परिणत भएपछि क्षतिपूर्तिका लागि विदुरमानले दुई वर्षदेखि संघर्ष गरिरहेका छन्।

यूएस बंगलाले काजकिरियाका लागि भनेर सुरुमा २० लाख दियो। बंगलाका अधिकारीले विदुरमानसहितको टोलीलाई बोलाएर छलफल गर्‍यो। तर, सहमति जुटेन।

bidurman3.jpg

विदुरमान भन्छन्, ‘तपाईंहरुले कानुन बमोजिम पाउने भनेको २० हजार डलर हो। तर, हामीले छाती फुलाएर ५० हजार डलर दिने भएका छौँ। पाइलटको गल्ती होइन, अरु कारणले हो भनेर सही गर्नुस् पैसा पाउनुहुन्छ भने।’

तर, पीडित पक्ष उनीहरुको कुरामा सहमत भएनन्। किनभने सरकारद्वारा गठित जाँचबुझ आयोगले भने पाइलटको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो।

त्यसपछि एयरलाइन्सले पीडित पक्षलाई झुलाउन खोज्यो।

‘तपाईंहरुका छोराछोरीले डाक्टर बनेर कति पैसा कमाउँछन् त्यसको विवरण ल्याउनुस्, त्यसपछि कुरा गरौँला भन्ने आश्वासन दिए,’ विदुरमान सुनाउँछन्।

पीडित परिवार आर्थिक तथा गैरआर्थिक क्षतिको वर्गीकरणमा लाग्यो। अन्तर्राष्ट्रिय परिपाटीअनुरुप एञ्जिलाले आफ्नो जीवनको ५९ वर्षसम्म काम गर्न सक्ने आधार तय भयो। जसअनुरुप उनको कमाइ ३० करोड रुपैयाँ मूल्यांकन भयो।

अरुको पनि यसकै हाराहारी मूल्यांकन गरियो। ग्लोबल रिस्क कन्सल्टेन्ट्सले गरेको एक्चुरियल मूल्यांकन प्रतिवेदनका आधारमा बीआरएस नेउपाने एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले क्षतिपूर्ति विवरण तयार पार्‍यो।

‘मन्ट्रियल महासन्धिको धारा २१ को अनुच्छेद २ र वार्सा महासन्धिको धारा २५ को व्यवस्थाअनुसार लापरवाहीका कारण भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व बहन गर्नुपर्ने उल्लेख छ,’ विदुरमान भन्छन्, ‘सोहीअनुरुप हामीले क्षतिपूर्ति माग गरेका हौँ।’

तर, सो क्षतिपूर्ति दिन एयरलाइन्स तयार नभएपछि अहिले पीडित परिवारले अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको छ।

000

‘क्षतिपूर्तिवापत आएको रकम मैले व्यक्तिगत वा पारिवारिक काममा खर्च गर्ने छैन,’ विदुरमान भन्छन्।

उनले सामाजिक कार्यका लागि छोरीको नाममा ‘एञ्जिला फाउन्डेसन’ खोलिसकेका छन्।

विदुरमानको इच्छा छ, डाक्टर पढ्ने हैसियत नभएका तर, रुची र क्षमता भएका गरिबका छोराछोरीलाई फाउन्डेसनमार्फत शिक्षा दिने।

‘उसको हजुरआमाको ब्रेन ह्यामरेज भएको थियो। उसको इच्छा डाक्टर बनेर हजुरआमाको उपचार गर्ने थियो। त्यो पूरा हुन सकेन,’ विदुरमान आँसु पुस्छन्, ‘अब फाउन्डेसनले गरिबका छोराछोरीलाई डाक्टरी बढाउन सहयोग गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .