ad ad

समाज


पद्मकन्या र विजय स्मारकः एउटै कम्पाउन्डभित्रका दुई स्कुलबीच यस्तो छ सम्बन्ध

पद्मकन्या र विजय स्मारकः एउटै कम्पाउन्डभित्रका दुई स्कुलबीच यस्तो छ सम्बन्ध

काठमाडौँको डिल्लिबजारमा एकै ठाउँमा सञ्चालनमा छन् पद्मकन्या विद्याश्रम र विजय स्मारक स्कुल (तस्बिरः विजय सिंह)


मीना खड्का
माघ २५, २०७८ मंगलबार १३:३३, काठमाडौँ

नेपालमा आम मानिसले सार्वजनिक शिक्षामा सहज पहुँच पाएको धेरै समय भएको छैन। एक सय ६८ वर्षअघि नै पहिलो पटक दरबार हाइस्कुल स्थापना भए पनि देशभर स्कुल स्थापना हुन निकै समय लाग्यो। अझै पनि ग्रामीण क्षेत्रमा माध्यमिक शिक्षा पढ्ने विद्यार्थीहरु लामो, अप्ठेरो बाटो हिँडेर स्कुल जानुपर्ने अवस्था छ। 

तर, काठमाडौँको डिल्लीबजारमा भने दुई वटा माध्यमिक विद्यालय सँगसँगै छन्– पद्मकन्या विद्याश्रम र विजय स्मारक माध्यमिक विद्यालय। यसरी एकै ठाउँमा दुई वटा स्कुल कसरी स्थापना भए? अनि एउटै कम्पाउन्डभित्रका यी दुई स्कुलबीचको सम्बन्ध कस्तो छ त?

रोचक कुरा के छ भने यी दुवै स्कुल राणा प्रधानमन्त्रीहरुले खोलेका हुन्।

२००४ सालमा दरबार हाइस्कुलमा कन्या पाठशाला खुल्यो। कन्या पाठशालाका लागि त्यही वर्ष प्रधानमन्त्री श्री ३ पद्म शमशेर जबराले डिल्लीबजारस्थित आफ्नै दरबार दान दिए। 

त्यो ठाउँमा पद्म शमशेरको दरबार थियो। जहाँ उनका छोरा वसन्त शमशेर बस्ने गर्थे। छोरा बसिरहेको दरबार र १३ रोपनी जग्गा पाठशालालाई दिएपछि पद्म शमशेरले छोरालाई विशालनगरको दरबार शोधभर्नाबापत् दिएको सुशीला भट्टले ‘पद्मकन्या विद्याश्रम एक–संस्मरण’ नामक लेखमा उल्लेख गरेकी छन्।

२००४ मा भारत गएका पद्म शमशेरलाई उतैबाट राजीनामा दिन बाध्य बनाएर मोहन शमशेर प्रधानमन्त्री बने। तर, उनी राणा खलककै अन्तिम प्रधानमन्त्री बन्न पुगे। 

२००७ सालको परिवर्तनसँगै राणा शासनबाट मुलुक मुक्त भयो। स्कुलहरु खुल्न थाले। राणाहरुको एकलौटी शासन समाप्त भए पनि सत्तामा उनीहरुको राम्रै पकड र हिस्सेदारी थियो। मोहन शमशेरका छोरा विजय शमशेर राजदूत बनेर भारत गएका थिए। त्यहीँ नै २०१० सालमा करेन्ट लागेर उनको मृत्यु भयो। 

छोराको मृत्युपछि उनको स्मृतिमा मोहन शमशेरले एक लाख रुपैयाँ दान दिएर २०१२ मा विजय स्मारक स्कुल स्थापना गराएका थिए। 

तर, मोहन शमशेरले पद्मकन्या विद्याश्रमसँगै आफ्नो छोराको स्मृतिमा स्कुल खोल्ने निर्णय किन लिए? कतै पद्म शमशेरलाई अपदस्थ गरी प्रधानमन्त्री बनेका मोहन शमशेर स्कुल खोलेको कीर्तिमा पनि पद्म शमशेरलाई टक्कर दिन चाहन्थे? वा, जग्गाको उपलब्धता या त्यस्तै कारण मात्र थियो? यसको स्पष्ट जवाफ छैन। 

जे होस्, यसरी एकै ठाउँमा दुई वटा स्कुल खुल्न पुगे, जुन आजपर्यन्त सञ्चालनमा छन्। र, सँगसँगै भएर पनि यी दुई स्कुलबीच मनमुटाव छैन। बरु सकारात्मक प्रतिस्पर्धा छ।

‘कसले गुणस्तरीय शिक्षा दिने भन्ने प्रतिस्पर्धा हुन्छ, यो त स्वाभाविक हो। तर, कसरी एकले अर्कालाई हराउने भनेर प्रतिस्पर्धा हुँदैन,’ पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘एउटै कम्पाउन्डमा भए पनि दुवै विद्यालयका बीचमा कुनै प्रकारको विवाद छैन।’ 

उतिबेला छात्राहरुका लागि मात्रै भनेर थुप्रै स्कुल खुलेका थिए। तर, शिक्षा सुलभ हुँदै जाँदा त्यस्ता स्कुल मासिँदै गए। पद्मकन्या विद्याश्रम भने अहिलेसम्म आफ्नो अस्तित्व र इतिहास जोगाइराख्न सफल छ। 

‘स्थापनाताका पद्मकन्यामा टाढाका मानिने असन, इन्द्रचोक, नरदेवी, आदि स्थानबाट छोरीहरु पढ्न आउँथे। नभए नजिकका टोलहरु मैतीदेवी, ज्ञानेश्वर, कमलपोखरी, नक्सालका छोरीहरुकै सहभागिता भएको पाइन्थ्यो। उसो त त्यतिबेला छोरीहरुका लागि यो विद्यालय वरदान नै सावित भएको थियो भन्दा फरक पर्दैन,’ विद्यालयको तर्फबाट २०४९ साल असोज १ गते प्रकाशित ‘अभिभावक वर्गमा अपिल’मा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष प्रा.आनन्ददेव भट्टले लेखेका छन्। 

राजधानीको मुटु डिल्लीबजारमा आफ्नै करिब १३ रोपनी जग्गा र तीन ब्लकमा विभाजित दुई तल्ले भवनहरुसहितको पद्मकन्या विद्याश्रममा हाल देशका विभिन्न भागबाट काठमाडौँ आएका करिब नौ सय छात्राहरु अध्ययनरत छन्।

तिवारीका अनुसार पद्मकन्या भौतिक साधन, जग्गाजमिन आदिका हिसाबले नगरभित्रका अन्य विद्यालयका तुलनामा राम्रो छ। २०७४ सालमा प्रकाशित विद्यालयको स्मारिकामा उल्लेख गरिएअनुसार आयआर्जनका लागि भनेर विद्यालय परिसरमा १३ वटा सटर भाडामा दिइएको छ। ती पसलको भाडाबाट हुने आम्दानीले विद्यालयमा भौतिक तथा कर्मचारी व्यवस्थापनमा सहयोग पुगेको छ। 

त्यस्तै विद्यालयमा एउटा ठूलो हल छ। जहाँ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिन्छन्। 

वि.सं. २००५ मा पद्मकन्याबाट चार जना छात्राले पहिलो पटक एसएलसीको आवेदन फारम भरेका थिए र दुई जना उत्तीर्ण भएका थिए।

विजय स्मारक भने वि.सं. २०२१ सालदेखि एसएलसी परीक्षामा सामेल भएको विद्यालयको दस्तावेजमा देखिन्छ। नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको संख्या अहिले ७ सय ३९ छ। यो स्कुल ६ रोपनी १३ आना जग्गामा अवस्थित छ।

दुवै विद्यालय सरकारी जग्गामा भएकाले जग्गाको विषयमा कुनै विवाद छैन। 

‘जग्गाका विषयमा विवाद हुने त कुरै भएन। दुवैको सरकारी जग्गा हो। आ–आफ्नै लालपुर्जा छ,’ विजय स्मारकका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकालले भने, ‘नकारात्मकभन्दा धेरै सकारात्मक प्रतिस्पर्धा हुन्छ। शैक्षिक गुणस्तर वृद्धिका लागि एकअर्काको सिको हुन्छ। दुवै विद्यालयको स्रोत केन्द्र एउटै भएकाले सकारात्मक समन्वय र सहकार्य छ।’

शिक्षक आवश्यक परे र एक अर्कालाई थाहा भएको खण्डमा शिक्षक उपलब्ध गराएर सहयोग गर्ने गरेको प्रधानाध्यापक तिवारीको भनाइ छ। 

विजय स्मारकका शिक्षक गोविन्द ढकालका अनुसार शैक्षिक कार्यक्रम, परीक्षा सञ्चालन, रिसर्च सेन्टरका बैठक, वार्षिकोत्सवका कार्यक्रमहरु दुई विद्यालयको सहकार्यमा हुने गर्छ।

‘अघिल्लो वर्ष विजय स्मारकका एसईईका विद्यार्थीको पद्मकन्यामा लगेर परीक्षा सञ्चालन गरेका थियौँ,’ ढकालले भने।

कोरोना महामारी सुरु भएपछि ०७६ मा यी दुई स्कुलले अनलाइन कक्षा सुरु गरे। त्यसबेला पनि अनलाइन कक्षाको प्रभावकारिताका विषयमा दुई विद्यालयका शिक्षक र प्रधानाध्यापकका बीचमा छलफल भएको थियो। 

यी दुई स्कुलले एकअर्काको राम्रा काम र अभ्यासको सिको पनि गर्दै आएका छन्। 

दुवै विद्यालयका शिक्षकको सामूहिक सहकार्य, पर्याप्त भौतिक पूर्वाधार, विद्यार्थीमैत्री संरचना र लोभलाग्दो शैक्षिक प्रगति देख्न सकिन्छ। 

गत असारमा विजय स्मारकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै काठमाडौँ महानगरले नमुना विद्यालय घोषणा गरेको थियो। 

विमलेन्द्र राज मिश्रले विजय स्मारकमा ३६ वर्ष पढाए। मिश्रका अनुसार उनको कार्यकालमा पनि पद्मकन्यासँगको सम्बन्ध र सहकार्य राम्रो थियो। 

‘त्यतिबेला पनि कार्यक्रमहरु सहकार्यमा गरिन्थे,’ मिश्र भन्छन्, ‘प्रायः विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पद्मकन्याका विद्यार्थीको सहभागिता हुन्थ्यो। पद्मकन्यामा कार्यक्रम हुँदा हाम्रा विद्यार्थी जान्थे।’  

अहिले दुई विद्यालयको बीचमा रहेको पर्खाल भत्किएको छ। 

‘पर्खाल भत्केपछि कहिलेकाहीँ यताका विद्यार्थी उता जाने र उताका यता आउने हुन्छ। उनीहरुको बीचमा विवाद भए पनि प्रधानाध्यापकहरुले छलफल गरेर मिलाउछौँ,’  प्रधानाध्यापक तिवारीले भनिन्, ‘भत्किएको पर्खाल निर्माण गर्ने योजना छ। अब चाँडै नै पर्खाल बनेपछि यसरी विद्यार्थीका बीचमा हुने विवाद पनि हट्नेछ।’ 

ईश्वरप्रसाद सापकोटा शिक्षक, सहायक प्रधानाध्यापक र प्रधानाध्यापक भएर लामो समय पद्मकन्यामा रहे। उनको अनुभव पनि सकारात्मक छ।

‘त्यतिबेला पनि हाम्रो विद्यालयका राम्रा अभ्यास जानकारी गराउने र विजय स्मारकका नयाँ अभ्यासलाई विद्यालयमा लागू गर्ने गर्थ्यौँ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .