ad ad

समाज


बेलायतको विमानस्थलबाटै यसरी फर्काइए २७ नेपाली विद्यार्थी, दुई सय उतै शरणार्थी बने

‘पहिलो पटक जहाजको लामो यात्राले थकित थिएँ, उसले अन्तर्वार्ता लिइरहेका बेला यता बैंकले रेस्पोन्स गरेन’
बेलायतको विमानस्थलबाटै यसरी फर्काइए २७ नेपाली विद्यार्थी, दुई सय उतै शरणार्थी बने

मीना खड्का
फागुन २, २०७८ सोमबार ९:२३, काठमाडौँ

काभ्रे बनेपा घर भएका सन्तोष (नाम परिवर्तन) केही दिनअघि पढ्न बेलायत गएका थिए। तर लन्डन विमानस्थलमा पुग्नेबित्तिकै उनी जनवरी ३१ मा पुनः नेपाल फर्काइए। त्यही दिन काभ्रेकै कमल (नाम परिवर्तन) र काठमाडौँका इशान पनि त्यसैगरी फर्काइए।

जनवरी ३१ मै मात्र चार जना नेपाली विद्यार्थी फर्किएको शैक्षिक परामर्श संघका वरिष्ठ उपाध्यक्ष देवी भट्टराई बताउँछन्। तर, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष राज सिटौलाका अनुसार ६ फेबु्रअरीसम्म २७ जना विद्यार्थी नेपाल फर्काइएका छन्।

सोधपुछ गर्दा विद्यार्थीले झुटा विवरण पेस गरेको, आफूले अध्ययन गर्ने विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नभएको, अंग्रेजीसमेत राम्ररी बोल्न नसकेको कारण देखाउँदै अध्यागमन अधिकृतले अध्यागमन ऐन, १९७१ अन्र्तगत भिसा रद्ध गरेर नेपाल फर्काएको सिटौलाको भनाइ छ। 

‘केही दिनदेखि मात्रै छनोट गर्न सुरु गरेको थियो। भाषाको समस्या धेरै भएका र बोल्नै नसक्ने विद्यार्थीलाई नेपाल पठाएको हो। ६ फेबु्रअरीसम्म २७ जना विद्यार्थी नेपाल पठाएको पाइएको छ,’ उनले भने।

सन्तोषका अनुसार एउटा विद्यार्थीले १ वर्षको कलेज शुल्क जानुअगाडि नै बुझाइसकेको हुनुपर्छ। उनले पनि ७ हजार पाउन्ड कलेजलाई तिरिसकेका थिए। 

उनले कलेजको नाम त सार्वजानिक गर्न चाहेनन्। तर, उनका अनुसार त्यो कलेज राम्रो थियो। जसका कारण महंगो शुल्क तिरेका थिए। १२ कक्षा उत्तीर्ण गरी आईएलटीएस गरेर काठमाडौँको एक कन्सल्टेन्सी मार्फत आवेदन दिएका उनले केही महिनामै उच्च शिक्षाका लागि बेलायत पढ्न पाउनेगरी योग्यताको प्रमाणपत्र प्राप्त गरे। 

उनी उच्च शिक्षाको लागि ब्याचलर तहको ४ वर्षे अकाउन्टेन्ट एन्ड फाइनान्स पढ्ने योजनामा थिए। त्यहाँको गुणस्तरीय शिक्षा र आकर्षक जीवनशैलीले नै उनलाई लोभ्याएको थियो। 

‘हप्ताको २० घण्टा काम गर्न पनि पाइने, पढाइलाई पनि राम्रोसँग अगाडि बढाउन सकिन्छ भन्ने लागेर बेलायत नै रोजेको थिएँ,’ उनले भने। 

तर, विमानस्थलबाटै उनलाई फिर्ता पठाइयो।

‘अध्यागमन अधिकारीले विभिन्न प्रश्नहरु सोधे, हामीसँग नभएका डकुमेन्ट पनि मागिए,’ उनले भने, ‘जीवनमा पहिलो पटक गरिएको लामो जहाजको यात्राले शरीर पुरै गलेको थियो म थकित थिएँ।’  

स्पष्ट जवाफ दिन नसकेको भन्दै म्यान्चेस्टर विमानस्थलबाट फर्काइएको थियो उनलाई।

‘दुई दिन मात्रै समय दिनुस् म बैंकमा ब्यालेन्स देखाउँछु भनेको थिएँ,’ उनले भने, ‘उसले मसँग अन्तर्वार्ता लिइरहेका बेलामा नेपालको बैंकले रेस्पोन्स नगरेको कारणले फर्किनुपरेको हो।’     

उनले बेलायत जान कन्सल्टेन्सीलाई १३ हजार पाउन्ड तिरेको बताए।

‘कलेजले १ हजार पाउन्ड बराबरको छात्रवृत्ति पनि दिएको थियो,’ उनले भने, ‘सोहीअनुसार बैंकमा पैसा थियो। समयमै बैंकको रेस्पोन्स पनि आएन। अनि तँ नेपाल जा भनेर जबर्जस्ती पठाइदियो।’ 

उपाध्यक्ष सिटौलाका अनुसार पर्याप्त रकम बैंकमा नभएको कारण नक्कली कागजात बनाएर नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई बेलायत पठाएका हुन सक्ने देखिन्छ। 

पछिल्लो समय कन्सल्टेन्सीले नै अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रमाणपत्र नचाहिने भन्दै विद्यार्थीलाई बेलायत पठाएका थिए। तर बेलायती अध्यागमनले सामान्य सोधपुछ गर्दा अंग्रेजी भाषामा एकदमै कमजोर पाइएपछि बेलायतको म्यान्चेस्टर अध्यागमनले उनीहरूलाई नेपालमै फर्काइदिएको हो।  

कन्सल्टेन्सीको लापरबाही
काठमाडौँकै इशानले ३ सय पाउन्ड स्टर्लिङ मात्र लिएर गएका थिए। यो रकम त्यहाँ अध्ययन गर्न नपुग्ने, साथै खाना र बस्नको लागि कतै व्यवस्था नभएको र भर्खरै गएकाले बेलायतको बैंकमा पनि खाता नभएकोले शंका गर्दै म्यान्चेस्टर अध्यागमनले स्पष्टीकरण मागेको थियो। तर उनले प्रष्ट पार्न सकेनन्। 

ती विद्यार्थीले भने, ‘हामीलाई कन्सल्टेन्सीले सही परामर्श दिएन। अध्यागमन विभागले यसरी अन्र्तवार्ता लिन्छ र यतिधेरै कागजात माग्छ भन्ने नै जानकारी भएन।’  

उनी काठमाडौँको पुतलीसडकमा रहेको बिज एजुकेसन कन्सल्टेन्सीमार्फत बेलायतको युनिर्भसिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक तह पढ्न भनेर गएका थिए। 

कमिसनको लोभमा कन्सल्टेन्सीले नै सही परामर्श नदिँदा विद्यार्थी समस्यामा परेको राज सिटौलाको भनाइ छ।  

‘विद्यार्थी पठाएबापत मोटो रकम कमिसनमा प्राप्त हुन्छ भन्दैमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु राम्रो होइन,’ उनले भने। 

यतिमात्रै होइन, विद्यार्थी भिसामा गए पनि नेपाली विद्यार्थी शरणार्थी भएर बस्ने गरेका छन्। यसमा समेत कन्सल्टेन्सीकै हात भएको पाइन्छ। 

‘कन्सल्टेन्सीले शरणार्थीका रुपमा बस्नु भनेर गलत परामर्श दिने गरेको सुन्नमा आएको छ,’ शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव ईश्वरीप्रसाद ज्ञवालीको भनाइ छ।   

अहिले २०० भन्दा बढी नेपाली विद्यार्थी शरणार्थीको रुपमा बेलायतमा बसिरहेका छन्। 

‘केही नेपाली विद्यार्थीहरु शरणार्थीका रुपमा बेलायतमा बसेर अहिले मेरै कम्पनीमा काम गरिरहेका छन्,’ सिटौलाले भने।

यसरी बेलायतबाट नेपाली विद्यार्थीलाई फिर्ता पठाइएको यो पहिलो पटक होइन। 

यसअघि सन् २००९ मा पनि सयौँ विद्यार्थी यसैगरी फर्काइएका अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए। 

‘मुख्य समस्या विद्यार्थी आफनो देशमा बस्ने वातावरण नहुनु हो,’ भण्डारीले भने, ‘सरकारको यसमा ध्यान जान आवश्यक छ, पढ्ने बहानामा अरुको देशमा जानु, जस्तोसुकै काम गर्न पनि तयार हुनु र नफर्कनु नै अहिलेको ठूलो समस्या हो।’ 

तर बेलायतमा अहिले शरणार्थीको रुपमा बसेका केही विद्यार्थीले पढाइ र काम दुवै नपाएको अवस्था छ।   

‘अभिभावक यो विषयमा बेखबर छन्। अभिभावकलाई छोराछोरीले पढिरहेका छन् भन्ने भ्रम छ,’ सिटौलाले भने, ‘तर उनीहरु न पढेका छन्, न त काम नै पाएका छन्। यसरी विद्यार्थी डिप्रेसनमा जाने अवस्था छ।’ 

गैरकानुनी कन्सल्टेन्सीलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी 
गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

पछिल्लो समय विद्यार्थीलाई विदेश पठाउँदा प्रचलित कानुनविपरीत काम गरेको पाइएकोले त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालय बताउँछ।

‘गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ,’ गृह मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’

यससँग सम्बन्धित उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ। तर अहिलेसम्म कारबाही प्रक्रिया सुरु भएको पाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .