ad ad

ब्लग


यो सिउँदो भरिनुअगावै तिमी फर्केर आउनू...

यो सिउँदो भरिनुअगावै तिमी फर्केर आउनू...

मीना खड्का
फागुन १, २०७८ आइतबार २२:११, काठमाडौँ

विदाइ नमीठो नै हुन्छ। अझ नराम्रो र नमीठो महशुस गरेर फर्किएँ म। तिम्रो विदाइपछि।​​ तिम्रो विदाइलाई आँखाभरि बसाएर हिँडिरहैँ। फक्रिँदै गरेका हाम्रा साझा सपना गाउँमै थन्क्याएर फेरि अर्को सपनाको निम्ति तिमी दूरदेश पस्यौ। 

तिमीलाई दूरदेशको सपना प्यारो लाग्यो। अनि मलाई तिमी। 

नेपालमा भनेजस्तो रोजगारी र मनग्य कमाउन नसकिने सोच थियो तिम्रो।

‘पढाइ पूरा गरेपछि पनि जागिर पाइँदैन। करिअर र सुखद भविष्यको कल्पना गर्दागर्दै उमेर जान्छ’– यस्तै भन्दै विदेश जानुपर्ने निर्णय सुनाएका थियौ। 

विदेशबाट टन्नै रकम कमाएर ल्याउने र फर्केर फेरि सपना पूरा गर्ने आशा देखाएर तिमी हिँड्यौ। 

तर, थाहा छैन तिमी फर्किने बेलासम्म उस्तै उत्साह रहन्छ, रहन्न। 

डर लाग्छ– सपना पूरा गर्न खोज्दाखोज्दै जिन्दगी नै रित्तिँदै जान्छ कि?   

यही सोचेर तिमीलाई भन्न मन थियो– नेपालमै केही गर! 

तर सकिनँ। घाँटीमै अड्कियो वाक्य। 

लाग्यो– केही देखेनौ अवसर यहाँ। त्यसैले गर्यौ– विदेशै हानिने यो अन्तिम निर्णय। तिम्रो मात्रै पनि त कहाँ हो र? लाखौँ युवाको रोजाइमा पर्छ अमेरिका।

मान्छेका आ–आफ्ना सपना हुन्छन्। जुन पूरा गर्न दिनुपर्छ। रोक्नुहुँदैन। हो, यही सम्झेर मैले चुपचाप तिम्रो विदेश सपनालाई समर्थन गरेँ।

जन्मेको देश र नेपाली भेषलाई माया नमार्नु! परदेश जानेहरुको वेदना पञ्चायतकालदेखिकै हो। नभुल्नु! 

म दूर गाउँबाट फर्केर आउँछौ भन्ने भ्रम या आशा यस्तै केही बोकेर बाँचेकी छु।

कुनै परिवर्तन नभइदेओस्! तिम्रो हिँडाइ, बसाइ र खुवाइमा। जस्तो थियो– त्यतिबेला। जे छ– यतिबेला। सबै उस्तै बचाइराख्नु! 

अहिले एक्लै हिँडेका यी बाटाहरुमा तिमीसँग हिँड्न पाइयोस् फेरि–फेरि! जसरी सजाएका थियौँ सधैँ सँगै हुने सपना। 

मलाई तिम्रो अभावमा कहिलेकाहीँ एक्लो महशुस हुन्छ। तर सधैँ साथमा हुने वरपीपल पनि त नितान्त एक्लो छन्। माया साथ मात्रै पनि त होइन। 

र, जीवनसाथी साथी मात्रै पनि त होइन। यो शब्द त आफैँमा छहारी हो। माया साँच्चै ‘घर’ हो। टाढा भए पनि जीवनका ठुल्ठूला हुरीदेखि बचाउने। 

लड्न सिकाउने साथ र हौसला दिने त्यो टाढा भए पनि छँदै छ। परदेशीको भर हुँदैन भन्छन् तर मलाई तिम्रो भर लाग्छ। 

तिमीसँगै गएका केहीले भनिसके– ‘म आउन सक्दिनँ।’ 

३ वर्षअघि तिम्रो साथीले आफ्नी प्रेमिकालाई भनेछन्– ‘म ग्रिनकार्ड नभई त्यो रिस्क लिन सक्दिन। म नेपाल आउन सक्दिन, तिमी अर्कैसँग बिहे गर!’

त्यहाँ कहिलेसम्म बस्नुपर्छ भन्ने टुंगो नभएपछि उनले बाध्य भएर यसो भनेका थिए रे! बाध्यता थियो कि बहाना थाहा भएन। तर यहाँबाट गएका कति मान्छे फर्किएका छैनन्।

तिमी ढिलै गरी फर्किनेछौ या उतै हराउनेछौ थाहा छैन। तर धन्य छु म। त्यस्तो प्रसंग अहिलेसम्म निकालेको छैनौं। 

दिन र रात फरक छ। त्यहाँ सूर्योदय यहाँ सूर्यास्त! 

राति अबेर गरी आउने ‘जहाँ भए पनि म तिम्रो नै हुँ। चिन्ता नगर। समय लागे पनि म फर्किन्छु, धैर्य गर्नु’ तिम्रा यस्तै लामा–लामा सन्देशहरुले झन् तागत थप्छन्। बलियो बनाउँछन्। 

तिम्रा यी सन्देशहरु मेरा उत्साह, प्रेरणा र हौसलाका उद्गमविन्दु हुन्, भरोसाका केन्द्र हुन्। तिमी टाढा भए पनि सँगै भएको आभास दिलाउँछन्। 

एक आशामा अझ भनौं भ्रममा म बाँचिरहेकी छु। भ्रम नै हो यो यदि भने यही प्रिय छ मलाई। जसले बाँधेको छ। 

कहिलेकाहीँ सानो विवाद हुँदा अनि तिमी कराउँदा मन टुट्छ। तर अझै बाँकी छ जिजीविषा। 

हरेक औँसीपछि पूर्णिमा आउँछ। त्यही पूर्णिमाको आशमा म बिताइरहेकी छु दैनिकी। कुनै न कुनै समय पूर्णिमाको आगमन हुनेछ भन्ने प्रार्थना गर्दै। 

त्यसै भनिएको होइन– प्रेममा जादु हुन्छ, शक्ति हुन्छ। त्यसैले त सँगै छैनौ र पनि लागिरहन्छ– आसपासमै छौजस्तो। र, म हराएकी हुन्छु तिमीमा। रंगिएकी हुन्छु तिम्रा प्रेमिल रंगहरुमा। 

यी दिनहरुमा तिमी नभए पनि उस्तै प्रेमका रंगहरु नै पर्याप्त लाग्छन्। अव्यक्त प्रेमका भाषाहरुमा नितान्त खुसी पोल्टोमा राखेर पर्खिरहेकी छु म तिमीलाई। यी सारा अनुभूति र प्रेमका रंगहरु युगौँयुग रंगहीन हुनेछैनन्। 

दिनभर सम्झनामा छटपटाउनु र हररात सपनीमा भए पनि भेट्ने लालसामा बाँच्नु यही दैनिकी बनेको छ। मेरो प्रेम र पागलपनलाई भुलेर सुख सुविधा र सम्पत्तिमा नबिक्नु अनि नभन्नु– ‘सरी म आउन सकिनँ। 

बरु यसो भन्नु– ‘पर्खी बस म आउन समय लाग्छ।’ 

म हरपल पर्खिरहेकी छु। आजीवन पर्खिरहेकी हुनेछु। आउँछु भन्यौ मात्रै भनेर नआए पनि आउँछौ भन्ने आशा बोकेर म बाँच्नेछु। 

फर्केर आउनेलाई पर्खी बस्न सकिन्छ। पर्खिन सकिन्छ। 

एउटा अठोट अनि आस्था– हाम्रा अघिल्तिर कहिल्यै खडा हुनेछैन अविश्वासको प्रश्नचिह्न। अनि निम्तिनेछैन दुःखदायी समय र आँखामा आँशु। 

मानिसहरु हराउने गर्छन् रे! उसो त तिमी नहराउनू– त्यो सहरसँग, त्यहाँका रहर र पैसासँग नसाटिनू। प्रेम नसाट्नू। यता उजाडेर उता हरियाली नबनाउनू। हाम्रा अधूरा सपना पूरा गर्न यतै आउनू। 

सुनेकी छु– त्यहाँ त मनहरु भासिन्छन रे! आमाको कोख र बाबुको काँध त्यतै हराउँछन् रे! त्यतै हराएका छन् रे दिदीबहिनीको तिहार र माइती अनि प्रेमिकाको प्रेम!

थाहा छैन– किन हराउँछ अस्तित्व र पहिचान? के चिज छ त्यहाँ जसले अठ्याउँछ ती मनहरुलाई! 

कल्पिरहेकी छु। कल्पनाहरु मीठा छन्, स्वादिला छन्। बिहेको मण्डपदेखि, हनिमुनसम्म।

रातमा आँखा बन्द गरेर देखेका सपना होइनन् यी। 

मलाई थाहा छ। गाउँ शोकमा डुब्दा तिमीलाई दुख्थ्यो। पहाडमा पहिरो जाँदा तिम्रो मनमा पहिरो जान्थ्यो। तराईमा बाढीले बस्ती डुबाउँदा तिमीलाई छटपटी हुन्थ्यो। सुदूरका महिला महिनावारी भएपछि छाउगोठमा बस्नुपर्ने बाध्यताका कारण सर्पले डसेर मर्दा तिम्रो हृदय छियाछिया हुन्थ्यो। 

साँच्चै तिमी आफ्नो व्यक्तिगत स्वार्थमा मात्रै सीमित भएर बाँच्ने व्यक्ति थिएनौ। समाज र देशको विषयमा पनि सोच्थ्यौ। 

अहिले त देशमा समस्या झन् भन्दा झन् धेरै बढेका छन्। गरिबी, अभाव, शोषण, अन्याय र अनेक बेथितिले भरिएको नेपाली समाजको यथार्थ आज पनि उस्तै छ। 

असुरक्षित महशुस भए पनि आफ्नै देशमा सुरक्षा खोज्नुपर्छ। भाग्नु समाधान होइन। अब बलियो भएर फर्किनू। 

तिमी फर्केर आएपछि हामी गाउँमा गएर गरिब दुःखीको सेवा गर्नेछौँ। दुर्गम बस्तीमा चेतना बाँड्नेछौँ। अशिक्षितलाई शिक्षित बनाउनेछौँ। अन्धविश्वासमा रुमल्लिएको समाजलाई आधुनिक युगको चेतना दिनेछौँ। अनि आशीष थप्नेछौँ– अझ बढी यही देशको लागि गरिरहन पाऊँ भनी। 

कति सन्तुष्टि मिल्छ होला हामीलाई त्यो बेला। विदेशमा सुख सुविधा होला तर खुसी यतै खोजौँला हामी दुवै मिलेर। 

आफ्नै देश, आफ्नै परिवेशमा रमाउन नपाउँदा मानिसले आफूलाई अपूर्ण महशुस गर्छ। मातृभूमिको माटोको सुगन्धसामु विदेशको शान, सुख, सुविधा र सम्पन्नता केही पनि होइनन्। सबै सुखमा खुसी भेटिँदैन। 

त्यसैले सारा धन, भौतिक सुख सुविधाले जीवन भरीपूर्ण किन नहोस्, तर मातृभूमिमा बाँच्न नपाउनु मानिसको सबैभन्दा ठूलो अभाव र रिक्तता हुन्छ। यो स्मरणमा रहिरहोस्! 

विदेशमा सुखको आशमा त्यहीँको दलदलमा भासिएका र विषयवासनाको तीव्र लालसामा रनभुल्लमा परेका लाखौँ युवामाझ तिमीलाई भिन्नै अनि उस्तै पहिलाको जस्तै देख्ने तीव्र चाहना छ। 

प्रिय किरण! मुहारभरि मुस्कान बोकेर हिँड्ने सपना छ। कुनै पनि बाध्यता अथवा बहाना देखाएर तिमी उतै नहराउनू! तिम्रो अभावमा अँध्यारो अनुहार बनाएर अरुको सान्त्वना लिँदै जिउने चाहना छैन। 

यी एक्ला दिन र डेराका भित्ताहरुमा निस्फिक्री आँशु बगाउने चाहना छैन। कसैलाई भन्न सकिँदैन तिमीलाई बाहेक यो दिल दुःखेको कुरा। 

म सम्झिरहेकी छु– तिमीले छुट्नुअघि गहभरि आँशु राखेर ‘छिट्टै फर्किन्छु है सानी’ भनेर गरेको वाचा।

हामीले सँगै मिलेर नाम खोपेको रुख बूढो नभइसक्दै, नसुक्दै नलड्दै तिमी फर्किनू। यादहरु हराउनुअगावै। सपना टुट्नुअगावै। 

प्रिय किरण! यो सिउँदो भरिनुअगावै सिन्दुर बोकेर फर्किनु। 

मलाई फेरि लेख्न मन छैन। मन हराएको खबर। सुनाउनु छैन वियोगान्त कथा।

देखाउनु छैन तिम्रो अभावका आँशु। दिन मन छैन आफैँलाई दोष। सही निर्णय गरिएन भन्ने गुनासो। 

यी सारा मेरा चाहनालाई राख्न मन छैन बन्धक। यही बुझेर तिमी फर्किनु। मनन गर्नु प्रेमभन्दा सुन्दर अरु केही छैन, हुनेछैन यो संसारमा। 

म विश्वस्त हुँदै बाँचेकी छु। वियोगपछि मिलन हुन्छ भन्ने सांसारिक कथनमा। जीवनमा प्रेमको फूल एकैपटक फुल्छ रे! एकैपटक फक्रिन्छ रे! तिम्रो प्रेम र अभावमा त कसरी फक्रेला र जीवन? 

इतिहासमा होइन वर्तमानमा बाँच्ने चाहना छ। मनमा एकपटक लेखिसकेको तिम्रो नाम कुनै पनि बहानामा मेटाउन मन छैन। अरु कसैलाई राख्न सकिँदैन तिम्रो ठाउँमा। 

फेरि फेरि महशुस गर्न मन छैन– तिमीविनाको जीवन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .