ad ad

म्यागेजिन


कूटनीतिक धरोहर विन्देश्वरी शाहः पहिलो महिला राजदूत, शेख हसिनाकी ‘रोल मोडल’

कूटनीतिक धरोहर विन्देश्वरी शाहः पहिलो महिला राजदूत, शेख हसिनाकी ‘रोल मोडल’

आफ्नो ८५औँ जन्मदिन (१ फागुन २०७४) का दिन विन्देश्वरी शाह


सीताराम बराल
फागुन १, २०७८ आइतबार १९:१५, काठमाडौँ

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाह कहिले आफ्नो जन्मदिन, कहिले मातातीर्थ औँसी त कहिले आमाको जन्मदिनका दिन आफ्नी आमासँगका तस्बिर फेसबुक र ट्विटरमा पोस्ट गरिरहन्छन्।

कुनै तस्बिरमा उनी आमा विन्देश्वरी शाहलाई ढोग गरिरहेका, कुनैमा अंकमाल गरिरहेका त कुनैमा चुमिरहेका देखिन्छन्।

‘तपाईंजस्ती महान् आमाको छोराको रुपमा यो धर्तीमा जन्म लिन पाएँ,’ झण्डै ९० वर्ष पुग्न लागेकी वृद्ध आमासँगको तस्बिरसँगै उनी लेख्छन्, ‘तपाईंजस्ती महान् आमाको पुत्र हुन पाएकोमा मलाई गर्व छ।’ 

निश्चय नै, सबैका लागि आफूलाई जन्म दिने आमा महान् नै हुन्छिन्। धर्तीमा पदार्पणअघि नौ महिना बिताएको कोखप्रति हरेक सन्तानले श्रद्धा प्रकट गर्नु स्वाभाविक हो। तर, शाहले उल्लेख गरेजस्तै, उनकी आमा विन्देश्वरी शाह नेपालको कूटनीतिक इतिहासकी एक खास ऐतिहासिक पात्र हुन्, धरोहर हुन् र यो देशको सम्मानित व्यक्ति पनि हुन्। 

विदेशमा रहेका नेपालका ३३ कूटनीतिक नियोगमा कूटनीतिक सेवा र राजनीतिक नियुक्ति गरी विसं १९९० यता करिब डेढ सय जनाले राजदूतको जिम्मेवारी प्राप्त गरिसकेका छन्। तीमध्ये ‘पहिलो नेपाली महिला राजदूत’ का रुपमा विन्देश्वरी शाहको चर्चा हुने गर्छ।  

‘नेपालको कूटनीतिक इतिहासमा श्रीमती विन्देश्वरी शाह उच्च तहको क्षमता भएको कूटनीतिज्ञ हो, उहाँ आफ्नै क्षमताबाट त्यो जिम्मेवारीमा पुग्नुभएको हो,’ प्रसिद्ध कूटनीतिज्ञ, पूर्वपरराष्ट्रमन्त्री एवं अमेरिका र भारतका लागि पूर्व नेपाली राजदूत डा. भेषबहादुर थापा भन्छन्, ‘अब्बल दर्जाका नेपाली कूटनीतिज्ञका नाम छनोट गर्दा अगाडि आउने नाम विन्देश्वरी शाह पनि हो।’​

बर्नार्ड कलेजबाट सन् १९५६ मा डिप्लोमा सकेपछि विन्देश्वरी शाह

किशोरकालमै चम्किएको नाम
अमेरिकाको चर्चित कोलम्बिया युनिभर्सिटी अन्तर्गतको बर्नार्ड कलेजको वेबसाइटमा चार वर्षअघि (सन् २०१८) मा ‘लिगेसी अफ लभ’ शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो। लेख भर्खर त्यही कलेजमा भर्ना भएकी नेपाली किशोरी आर्या शाहले लेखेकी थिइन्। 

‘बर्नार्ड कलेज असाधारण प्रकृतिका महिलाहरु उत्पादन गर्न विश्वमै चर्चित छ, यो कलेजको नेपालसँग पनि विशेष सम्बन्ध छ,’ आर्याले लेखेकी थिइन्, ‘सन् १९५६ मा यो कलेज खोजी गर्दै एकजना नेपाली छात्रा यहाँ आइपुगेकी थिइन्। उनले यही कलेजबाट स्नातक उत्तीर्ण पनि गरिन्।’ 

आर्याले लेखमा उल्लेख गरेको सन् १९५६ की ती नेपाली छात्राको नाम थियो, बिन्दा मल्ल। जो प्रख्यात राजनीतिज्ञ एवं कूटनीतिज्ञ ऋषिकेश शाहका भाइ डा. नारायणकेशरी शाहसँग विवाहबन्धनमा बाँधिएपछि विन्देश्वरी शाहका नामले चिनिन थालिन्। 

‘बर्नार्ड कलेजबाट उनले (बिन्दा) ले हासिल गरेको शिक्षा उनको जीवनयात्राका लागि मार्गदर्शक थियो, पछि उनी नेपालको परराष्ट्र मन्त्रालयको सदस्य (अधिकृत) का रुपमा अमेरिकास्थित नेपाली राजदूतावासमा सरुवा भइन्,’ आर्याले लेखेकी छन्, ‘बंगलादेशले स्वतन्त्रता प्राप्त गरेपछि त्यहाँ नेपालको पहिलो राजदूतावास स्थापना पनि उनैले गरिन्। भारतमा राजदूत नियुक्तिसँगै नेपालको पहिलो महिला राजदूत समेत बनिन्।’

विन्देश्वरी शाह उनै हुन्, जो २०४५ को भारतीय नाकाबन्दीका बेला नयाँदिल्लीमा नेपालका लागि राजदूतका रुपमा नाकाबन्दी हटाएर नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन सक्रिय थिइन्। 

लेखक आर्या तिनै बिन्दाकी नातिनी हुन्। हजुरआमाले पढेको कलेजमा अध्ययनको अवसर आफूले पनि प्राप्त गरेपछि उनले सो लेख लेखेकी थिइन्। हजुरआमापछि नातिनीले पाएको यो अवसर चार वर्षअघि नेपालमा निकै चर्चाको विषय समेत बनेको थियो।

हजुरआमा विन्देश्वरीसँगै आर्या शाह

१९५६ मा बिन्दाले बर्नार्ड कलेजले प्रदान गर्ने एउटा महत्वपूर्ण अवार्डसमेत हासिल गरेकी थिइन्। 

त्यसो त, बर्नार्ड कलेजमा भर्ना हुनुभन्दा चार वर्षअघि नै बिन्देश्वरीको चर्चा अमेरिकी सञ्चारमाध्यमहरुले गर्न थालिसकेका थिए। चर्चित अमेरिकी अखबार ‘न्युयोर्क हेराल्ड ट्रिब्युन’ को एक प्रतिस्पर्धामा छानिएर अमेरिका पुगेकी थिइन् उनी। त्यहाँ राष्ट्रपति ह्यारी एस. ट्रुम्यानसँगको भेटका कारण १९ वर्षीया नेपाली युवती बिन्दालाई चर्चाको शिखरमा पुर्याएको थियो।  

त्यो बेला सो अखबारले वर्षेनि न्युयोर्क हेराल्ड ट्रिब्युन फोरम नामक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम आयोजना गर्थ्यो। निबन्ध प्रतियोगितामार्फत् हाइस्कुलका विद्यार्थी छनोट हुने यो कार्यक्रमका लागि एसिया र मध्यपूर्वका २४ मेधावी विद्यार्थी सहभागी हुन्थे।

बिन्दाले भर्खर दार्जिलिङस्थित सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट सिनियर क्याम्ब्रिजको अध्ययन सकेकी थिइन्। त्यसैबेला उनी सो प्रतिस्पर्धामा नेपालको तर्फबाट सामेल भइन्, छनोटमा पनि परिन्। फोरममा सहभागिताका लागि १९५२ मार्च पहिलो हप्ता उनी अमेरिका पुगिन्।​

त्यसैक्रममा उनको भेट अमेरिकी राष्ट्रपति ट्रुम्यानसँग भएको थियो। फोरममा विन्देश्वरीको सहभागिता र अमेरिकी राष्ट्रपतिसँगको भेटबारे ‘द ब्रोंक्सभिल रिपोर्टर’ नामक अमेरिकी अखबारले १८ मार्च १९५२ (६ चैत २००८) मा प्रकाशित गरेको थियो। 

सो समाचार पत्रकार सन्तोष खडेरीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन्। त्यो समाचारमा उल्लेख गरिएअनुसार त्यसअघि १५ मार्च (१९५२) मा राष्ट्रपति ट्रुम्यान कोलम्बिया स्कोलास्टिक प्रेस एसोसिएसनले आयोजना गरेको कार्यक्रमका लागि वालडोर्फ–अस्टोरिया पुगेका थिए। बिन्दा पनि त्यही कार्यक्रममा सहभागी थिइन्। त्यसैक्रममा अमेरिकी राष्ट्रपतिसँग भेटघाटको अवसर जुरेको थियो। 

‘हाइस्कुल तहका विद्यार्थीहरुका लागि न्युयोर्क हेराल्ड ट्रिब्युनले आयोजना गर्ने कार्यक्रम (फोरम) को सिलसिलामा नेपालकी सुश्री मल्ल (बिन्दा) होटल एस्टोरमा थिइन्,’ सो अखबारले लेखेको छ, ‘राष्ट्रपति ट्रुम्यान पनि कोलम्बिया स्कोलास्टिक प्रेस एसोसिएसनले आयोजना गरेको कार्यक्रमका लागि वालडोर्फ–अस्टोरियामै थिए। त्यसैक्रममा मल्लले राष्ट्रपति ट्रुम्यानसँग भेट गर्ने अवसर प्राप्त गरिन्। भेटका क्रममा राष्ट्रपति ट्रुम्यानले बिन्दालाई बधाई ज्ञापन गरे।’​

अमेरिकी राष्ट्रपतिसँगको भेट र बधाईबारे ‘द ब्रोंक्सभिल रिपोर्टर’ को समाचार

हाइस्कुलका विद्यार्थीहरूका लागि आयोजना गरिएको फोरममा एसिया र मध्यपूर्वका विद्यार्थी सामेल भए पनि अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने दुर्लभ अवसर २४ मध्ये सम्भवतः बिन्दाले मात्र प्राप्त गरेकी थिइन्। त्यसैले, अमेरिकी अखबारले प्राथमिकता दिएर नेपाली विद्यार्थीलाई ‘अमेरिकी राष्ट्रपतिद्वारा बधाई’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।​​

बाबुजस्तै अब्बल छोरी
अमेरिका पुग्ने पहिलो नेपालीको नाम खोज्दा भक्तपुरे नेवार समुदायका पद्मसुन्दर मल्लको नाम भेटिन्छ। मल्ल अमेरिका पुग्ने पहिलो नेपाली मात्र होइनन्, नेपालका पहिलो इलेक्ट्रिकल इन्जिनियर समेत हुन्। विन्दा मल्ल तिनै पद्मसुन्दर मल्लकी छोरी हुन्। 

शिक्षित बाबुकी छोरी भएकाले विन्दाले अध्ययन र करिअर विकासका लागि बाबुले जस्तै कठिन संघर्ष भने गर्नु परेन। अध्ययन र करिअरका लागि बाबु पद्मसुन्दरले गरेको यात्रा भने संघर्षै–संघर्षले भरिएको छ। यही संघर्षका क्रममा अमेरिका पुग्ने पहिलो नेपालीका रुपमा उनको नाम दर्ज भएको हो। 

चन्द्र शमशेरको पालामा नेपाल आएका पहिलो जापानी भिक्षु इकाइ कावागुचीको साथ लागेर जापान पुगेका थिए, पद्मसुन्दर मल्ल। कावागुचीसँगै जापान जानेमा उनका दाजु जगतसुन्दर मल्ल पनि थिए। नेपालको शिक्षाक्षेत्रमा जगतसुन्दरको नाम पनि अग्रपंक्तिमा आउँछ। 

जापानमा केही समय अध्ययन गरेपछि पद्मसुन्दर मल्ल अमेरिका पुगे। त्यो बेला पासपोर्ट–भिसाको आवश्यकता पर्दैनथ्यो। अमेरिका पुगेपछि आफ्नो उद्देश्य अनुसार इन्जिनियरिङ अध्ययनका लागि खर्च जुटाउन पद्मसुन्दर अमेरिकी अर्धसैनिक बलमा भर्ना भए।  

उनी दिनभरि जागिर खान्थे। त्यही जागिरबाट आएको रकमले इन्जिनियरिङ पढ्ने गरी स्थानीय डिट्रोइट इन्जिनियरिङ कलेजमा रात्रिकालिन कक्षामा भर्ना भएका थिए। 

तर समयक्रममा पासपोर्ट नभएका गैरअमेरिकीलाई अमेरिकी सरकारले फिर्ता गर्न थाल्यो। त्यसमा पद्मसुन्दर पनि परे।

‘राणाको पालामा विदेश जानेको जात जान्थ्यो। त्यसैले, फर्कनेले पतिया (चोखिने धार्मिक प्रक्रिया) लिनुपथ्र्याे,’ परराष्ट्रसेवामा विन्देश्वरी (बिन्दा) लाई आफ्नो जननी (गुरुआमा) मान्ने पूर्वराजदूत (जापान र जर्मनी) एवं पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईले भने, ‘त्यसैले, विन्देश्वरीका बुबा पद्मसुन्दर नेपाल नआई दार्जिलिङतर्फ लाग्नुभयो। किनकि त्यहाँ उहाँका नातेदारहरु थिए।’

त्यो बेला खर्साङमा इलेक्ट्रिकल प्लान्ट स्थापना हुँदै थियो। सो प्लान्ट स्थापनाको जिम्मेवारी उनैले पाए। खर्साङमा बिजुली बाल्ने कामको श्रेय उनै पद्मसुन्दरलाई जान्छ। 

जुद्ध शमशेरका पालामा नेपालकै दोस्रो जलविद्युत योजना मोरङमा स्थापना हुने भयो। नेपाली सीमा नजिकैको भारतीय–नेपाली बस्ती खर्साङमा जलविद्युत प्लान्ट स्थापनाका कारण पद्मसुन्दरको नाम नेपालको पूर्वी क्षेत्रमा चर्चित थियो। 

मोरङमा नेपालको दोस्रो जलविद्युत आयोजना निर्माण हुने भएपछि श्री ३ जुद्धले पतिया नै नगरी उनलाई नेपाल आउने अनुमति दिए। पद्मसुन्दर मोरङमा जलविद्युत् आयोजना स्थापना गर्ने जिम्मेवारीमा रहेका बेला ८९ वर्षअघि विन्देश्वरीको जन्म भएको थियो, १ फागुन अर्थात् १३ फेब्रुअरी १९३३ का दिन। 

राणाकालमा आफूले निकै संघर्ष गरेर उच्च शिक्षा आर्जन गरेकाले बाबु पद्मसुन्दरले छोरी बिन्दालाई अध्ययनका लागि भारत पठाए। उनी दार्जिलिङस्थित प्रसिद्ध सेन्ट हेलेन्स कन्भेन्ट स्कुलमा भर्ना भइन्। त्यही स्कुलबाट सिनियर क्याम्ब्रिज कोर्स पुरा गरेपछि निबन्ध प्रतियोगितामा ‘न्युयोर्क हेराल्ड ट्रिब्युन’ ले आयोजना गरेको उपरोक्त फोरममा सहभागी हुने अवसर उनलाई जुरेको थियो। 

त्यही पहिलो अमेरिका यात्रापछि उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका जानुपर्छ भन्ने निष्कर्षमा पुगिन्। र, कोलम्बिया युनिभर्सिटी अन्तर्गतको बर्नार्ड कलेजमा भर्ना पनि पाइन्। त्यसपछि सो कलेजबाट स्नातक गर्ने पहिलो नेपाली छात्राका रुपमा उनकै नाम दर्ता भयो। 

स्नातकपछि विन्देश्वरीले प्रतिष्ठित जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर अध्ययन पुरा गरिन्। त्यसैबीचमा उनले लाइब्रेरी साइन्स (पुस्तकालय विज्ञान) सम्बन्धी तालिम पनि गरिसकेकी थिइन्। 

पुस्तकालय विज्ञानमा तालिम गर्ने पहिलो नेपाली महिलाको नाम लिनु पर्यो भने पनि विन्देश्वरीकै नाम आउँछ। 

महेन्द्र–बीपीलाई सदस्यता
उनले उच्च शिक्षा हासिल गरेकी थिइन्, अन्तर्राष्ट्रिय राजनीतिमा– जसको सम्बन्ध अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिसँग थियो। 

‘पुस्तकालय विज्ञान’ उनले अमेरिकामा रहँदा तालिम प्राप्त गरेको क्षेत्र थियो।

उच्च अध्ययन समाप्त गरेर फर्केपछि आफूले शिक्षा र तालिम हासिल गरेको विषयमा नै सेवा गर्ने अवसर प्राप्त गरिन्। यी अवसर प्राप्त गर्न उनलाई खासै मेहनत गर्न किन परेन भने त्यो बेला जुनकुनै विषयमा पनि शिक्षित जनशक्तिको अभाव थियो।​

नेपाल फर्केलगत्तै पुस्तकालय विज्ञानसम्बन्धी उनले लिएको तालिम काम लाग्यो। उतिबेला चेतभवनमा रहेको राष्ट्रिय पुस्तकालयमा ‘लाइब्रेरियन’ पदमा उनले नियुक्ति पाइन्। 

डा. भट्टराईका भनाइमा अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर आएकी र महिला लाइब्रेरियन भएकाले उनी त्यतिबेला सेलेब्रिटी जस्तै थिइन्। 

‘न्युयोर्क हेराल्ड ट्रिब्युन’ को तर्फबाट अमेरिका जाने टोलीमा नेपाली विद्यार्थीको रुपमा छनोट, अमेरिकी राष्ट्रपतिसँग भेट र प्रतिष्ठित अमेरिकी विश्वविद्यालयबाट डिग्री हासिल र नेपाल फर्केर राष्ट्रिय पुस्तकालयमा लाइब्रेरियन बनेपछि विन्देश्वरीको चर्चा चुलिँदै थियो।​

अमेरिकामा अध्ययनरत विन्देश्वरी

सेन्ट्रल लाइब्रेरीको लाइब्रेरियन भएलगत्तै विन्देश्वरीले पुस्तकालयको सदस्यता विस्तार अभियान सुरु गरेकी थिइन्। त्यसक्रममा उनले राजा महेन्द्र र कांग्रेस नेता बीपी कोइरालालाई पनि सदस्यता दिलाइन्।

‘उहाँले सदस्यता दिएकामध्ये राजा महेन्द्रको सदस्यता नम्बर १ रहेछ, बीपी कोइरालाको सदस्यता नम्बर २,’ परराष्ट्र सेवामा छँदा यसबारे शाह (मल्ल) बाट पाएको जानकारी स्मरण गर्दै डा. भट्टराईले भने, ‘तर, उहाँ राष्ट्रिय पुस्तकालयमा लामो समय रहनु भएन। केही महिना काम गरेर उहाँ अस्थायी अधिकृतका रुपमा परराष्ट्र मन्त्रालयमा स्थानान्तरण हुनुभयो।’

अस्थायी नै सही, यो जिम्मेवारी उनले अमेरिकामा हासिल गरेको प्राज्ञिक अध्ययन (अन्तर्राष्ट्रिय राजनीति) सँग मिल्दोजुल्दो थियो।

यतिबेलासम्म मुलुकमा पहिलो आम निर्वाचन (२०१५) सम्पन्न भइसकेको थियो। निर्वाचनमा विजयी नेपाली कांग्रेसका नेता बीपी कोइराला प्रधानमन्त्री भए। जसलाई उनले राष्ट्रिय पुस्तकालयको दोस्रो सदस्यता प्रदान गरेकी थिइन्। 

खासमा बिन्देश्वरीका बाबु पद्मसुन्दरलाई जलविद्युत योजनाका लागि मोरङ ल्याउनेमा कोइरालाहरुकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका थियो। दार्जिलिङमा नेपाली साहित्यमा ख्याति कमाएका धरणीधर कोइरालामार्फत उनलाई मोरङ ल्याइएको थियो।  

राणाकालमा लामो समय भारत प्रवासमा रहनुपरे पनि बीपी कोइराला मोरङको विकासमा विन्देश्वरीका बाबु पद्मसुन्दरको योगदानबारे परिचित थिए, साथै विन्देश्वरीको शैक्षिक योग्यताबारे जानकार पनि। 

त्यसैले विन्देश्वरीलाई पुस्तकालयबाट परराष्ट्र मन्त्रालयमा स्थानान्तरण गर्न बीपीले उत्प्रेरित गरेको डा. भट्टराईको भनाइ छ।  

बीपी परराष्ट्र सेवालाई मजबुत बनाउने क्रममा थिए। त्यसैले उनको पालामा परराष्ट्र मन्त्रालयका लागि अधिकृत पदको विज्ञापन खुल्यो। ५ पुरुष र २ महिला उम्मेदवारले आवेदन भरे। त्यसमध्ये पाँचै पुरुष र एक महिला उत्तीर्ण भए।

सफल हुने एक मात्र महिला अधिकृत उनै विन्देश्वरी थिइन्। परराष्ट्रमा विन्देश्वरीसँगै अस्थायी अधिकृत रहेकी शान्ति राणालाई भने दुर्भाग्यवश सफलता मिलेन। 

विन्देश्वरीबाहेक सफलता हासिल गर्ने ५ अधिकृतहरुमा उद्धवदेव भट्ट, विश्व प्रधान, यादवकान्त सिलवाल, भानुप्रसाद थपलिया र केदारप्रसाद कोइराला थिए। यी पाँचमध्ये अघिल्ला तीन भाइले परराष्ट्र सेवाको उच्च पद ‘परराष्ट्र सचिव’ बन्ने अवसर प्राप्त गरे। विन्देश्वरीले भने अतिरिक्त ‘परराष्ट्र सचिव’ सम्म बन्ने अवसर प्राप्त गरिन्। 

विन्देश्वरी शाह अतिरिक्त परराष्ट्र सचिव बनेको झण्डै तीन दशकपछि परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल अधिकारीले पहिलो महिला परराष्ट्र सचिवका रुपमा नाम दर्ज गराउँदैछिन्। वर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालपछि उनी नेपालको पहिलो महिला परराष्ट्र सचिव हुँदैछिन्। 

पहिलो महिला राजदूत
विन्देश्वरी जब परराष्ट्र सेवामा प्रवेश गरिन्, नेपालमा ‘पहिलो महिला’ का रुपमा एकपछि अर्काे गर्दै कीर्तिमान कायम गर्दै गइन्। 

‘लाइब्रेरी साइन्स’ अध्ययन गरेर पहिलो महिला लाइब्रेरियनको रेकर्ड त बनाएकै थिइन्, परराष्ट्र सेवामा प्रवेशपछि परराष्ट्र मन्त्रालयकी पहिलो महिला अधिकृतमा उत्तीर्ण हुने रेकर्ड पनि उनकै नाममा बन्यो। 

उनी परराष्ट्र सेवामा प्रवेश गरेको केही समयपछि बीपी कोइराला नेतृत्वको निर्वाचित सरकार अपदस्थ भयो। प्रधानमन्त्री भइसकेका बीपीकै दाजु मातृकाप्रसाद कोइरालालाई राजा महेन्द्रले राजदूतको जिम्मेवारी दिएर अमेरिका पठाए। 

कोइराला राजदूतको रुपमा अमेरिका पुगेको केही समयपछि विन्देश्वरीको पनि वासिङ्टनस्थित नेपाली राजदूतावासमा सरुवा भयो– सेकेन्ड सेक्रेटरीका रुपमा।  

दुई वर्षपछि कोइराला राजीनामा गरेर फर्के। कोइरालापछि जनरल पदमबहादुर खत्रीलाई राजदूतको जिम्मेवारी दिएर पठाइयो। कोइरालाको फिर्ती र जनरल खत्री जिम्मेवारी सम्हाल्न अमेरिका पुग्नुअघि कार्यवाहक राजदूतको जिम्मेवारी उनैले सम्हालिन्। 

हाल अमेरिकाका लागि प्रस्तावित राजदूत प्रा. श्रीधर खत्रीका पिता जनरल खत्री राजदूत बनेपछि पितासँगै अमेरिका गएका थिए। त्यसैले, बिन्देश्वरी शाहलाई उनी सानैदेखि नजिकबाट चिन्ने व्यक्तिमा पर्छन्।

‘विन्देश्वरी शाहलाई द्वितीय सचिवका रुपमा अमेरिका पोस्टिङ गरिएको थियो, त्यहीँ रहँदै उहाँको प्रथम सचिवमा बढुवा भयो,’ प्रा. खत्रीले नेपालखबरसँग भने, ‘त्यतिबेलै पनि उहाँ अध्ययन गर्ने, कम बोल्ने तर ‘टु दि प्वाइन्ट’ आफ्नो कुरा राख्ने स्वभावको हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व ओजनदार थियो।’

पूर्व परराष्ट्र सचिव डा. भट्टराईका भनाइमा वासिङ्टन पोस्टिङ विन्देश्वरीका लागि कोशेढुङ्गा साबित भयो। किनभने उनले मातृकाप्रसाद कोइरालाजस्ता नेपाली राजनीतिका शिखर व्यक्तित्व र जनरल खत्रीजस्ता कूटनीतिका धुरन्धरसँग काम गर्ने अवसर प्राप्त गरिन्। नेपाली राजनीति र कूटनीतिका यी दुई शिखर व्यक्तित्वहरुसँगको सहकार्य उनका लागि थप तालिम भयो।

परराष्ट्र मन्त्रालयमा अधिकृत रहँदा उनले अर्काे महत्वपूर्ण जिम्मेवारी पनि पाइन्। त्यो हो– नेसनल कमिसन अन दि स्टाटस अफ वुमनको सदस्य सचिवको जिम्मेवारी।

डा. भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ मा उल्लेख भएअनुसार संयुक्त राष्ट्रसंघको निर्णयअनुसार नेपालले यो कमिसन (आयोग) गठन गरेको थियो, जसको संरक्षक तत्कालीन बडामहारानी रत्न थिइन् भने अध्यक्ष परराष्ट्रमन्त्री समेत रहेका मन्त्रिपरिषदका उपाध्यक्ष कीर्तिनिधि विष्ट थिए। 

‘यो कमिटीलाई नेपालको पहिलो महिला आयोग भन्दा हुन्छ,’ डा. भट्टराईले भने, ‘बडामहारानी र मन्त्रिपरिषदका उपाध्यक्ष रहेको आयोगमा उहाँले सदस्य सचिवको जिम्मेवारी पाउनु आफैँमा महत्वपूर्ण अवसर थियो।’

अमेरिकाबाट नेपाल फर्केको पाँच वर्ष बित्दानबिन्दै पूर्वी पाकिस्तान (बंगलादेश) ले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्यो। स्वतन्त्रताअघि ढाका (बंगलादेश) मा नेपालको महावाणिज्यदूतावास थियो। स्वतन्त्रतापछि नेपालले त्यहाँ राजदूतावास नै स्थापना गर्ने भयो। 

ढाकामा राजदूतावास स्थापना गर्ने जिम्मेवारी विन्देश्वरीले नै पाइन्। कार्यवाहक राजदूतका रुपमा उनले त्यहाँ चार वर्षे कार्यकाल पुरा गरिन् र स्वदेश फर्किन्। बंगलादेशमा कार्यवाहक राजदूतको जिम्मेवारीमा रहँदा उनको मन्त्रालयको उपसचिवमा बढुवा भइसकेको थियो। 

ढाकामा नेपाली राजदूतावास स्थापना तथा कार्यवाहक राजदूतका रुपमा चार वर्ष बिताएर स्वदेश फर्केपछि उनी केही वर्ष परराष्ट्र मन्त्रालयमै रहिन्। बंगलादेशबाट फर्केको केही वर्षपछि उनलाई परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा गरियो।  

उपसचिव र सहसचिवका रुपमा झण्डै १२ वर्ष मन्त्रालयमा बिताएपछि उनी २०४४ चैतमा भारतका लागि नेपाली राजदूत बनिन्। राजदूत बनाउने निर्णय भने सरकारले १६–१८ कात्तिक (२०४४) मा काठमाडौँमा सम्पन्न तेस्रो सार्क सम्मेलनअघि नै गरेको थियो। सार्क सम्मेलनको तयारीमा लाग्नुपर्ने भएकाले उनी यतै रोकिएकी थिइन्।​​नेपाली राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा भारतीय राष्ट्रपति रामास्वामी बेंकटरमणसँग विन्देश्वरी शाह (डा मदन भट्टराई)

शाहले भारतका लागि राजदूतको कार्यभार सम्हालेको केही महिनापछि नेपाल–भारत सम्बन्धमा तिक्तता सुरु भयो। दरबारसँगको सम्बन्ध बिग्रँदा नेपाल–भारतबीचको पारवहन सन्धिको अवधि सकिएको विषयलाई आधार बनाउँदै भारतले नेपालमाथि नाकाबन्दी गर्यो। 

त्यही मौका पारेर नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले संयुक्त रुपमा पञ्चायतविरुद्ध संघर्ष सुरु गरे। कांग्रेस–वाममोर्चाको संघर्षका कारण पञ्चायती व्यवस्थाको अन्त्य भयो, बहुदलीय व्यवस्थाको पुनस्थापना। 

यही राजनीतिक परिवर्तनका बीच चार वर्षे कार्यकाल समाप्त नहुँदै राजदूत शाहलाई फिर्ता बोलाइयो। 

नयाँदिल्लीमा राजदूतका रुपमा कार्यभार सम्हाल्न जाँदा उनी परराष्ट्र मन्त्रालयको सहसचिव थिइन्। नयाँदिल्लीमै रहँदा उनको बढुवा भइसकेको थियो, परराष्ट्र मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा। राजदूतबाट फिर्ता भएपछि यही (अतिरिक्त सचिव) हैसियतमा उनी मन्त्रालयमा करिब एक वर्ष कार्यरत रहिन्।

त्यसैबीच आम निर्वाचन भएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको एकमना सरकार निर्माण भयो। नयाँ सरकार निर्माण भएलगत्तै त्यसले ३० वर्षे उमेरहद सम्बन्धी व्यवस्था लागू गर्यो। सो व्यवस्थाका कारण शाहले ३० वर्षअघि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवबाट अवकाश पाइन्।

‘श्रीमती शाहमा पहिलो महिला परराष्ट्र सचिव र पहिलो महिला शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) बन्ने गहिरो अभिरुचि थियो, शैक्षिक योग्यता, पारिवारिक पृष्ठभूमि, कूटनीतिक अनुभव, नेतृत्व क्षमता र ओजपूर्ण व्यक्तित्वको कसीमा नेपालको पहिलो महिला परराष्ट्र सचिव हुने सबै योग्यता पनि थियो,’ डा. भट्टराईले ‘परराष्ट्रका प्रशासक’ का लेखेका छन्, ‘तर, परिस्थिति र सायद अन्य विभिन्न कारणले उनका दुवै इच्छा पुरा भएनन्।’ 

डा. भट्टराईले यहाँ उल्लेख गरेको ‘परिस्थिति’ २०४६–०४७ मा भएको राजनीतिक परिवर्तन र निजामती सेवामा लागू भएको ३० वर्षे उमेरहद हो भने ‘अन्य विभिन्न कारण’ मध्ये प्रमुख कारण चाहिँ कसैको चाकडी नगर्ने स्वभाव। 

शेख हसिनाले ‘मेरो रोलमोडल’ भनेपछि...
परराष्ट्र मन्त्रालयबाट पोस्टिङका क्रममा शाह जुन–जुन मुलुक पुगिन्, संयोगवश उनी कार्यरत रहेका ती मुलुक कि राजनीतिक उथलपुथलबाट गुज्रँदै थिए, कि त्यो मुलुकसँग नेपालको सम्बन्ध उतारचढावको स्थितिमा थियो। 

जस्तो, उनको पहिलो पोस्टिङमा अमेरिकामा छँदा राष्ट्रपति जोन अफ केनेडीको हत्या भयो। दोस्रो पोस्टिङका क्रममा ढाकामा रहँदा बंगलादेशी राष्ट्रपति शेख मुजिबुर रहमान मारिए। लगत्तै जनरल जियाउर रहमान राष्ट्रपति बने। उनी बंगलादेशबाट फर्केको केही समयपछि राष्ट्रपति रहमानको पनि हत्या भयो।

राजदूत बनेर भारत के पुगेकी थिइन्, केही महिनापछि नै नेपाल–भारतबीचको सम्बन्धमा तिक्तता आउन थाल्यो। दरबारसँगको मनमुटावका कारण पारवहन सन्धिलाई बहाना बनाउँदै भारतले नेपालमाथि नाकाबन्दी नै लगायो।

भारत तथा अमेरिकामा राजदूतको कार्यभार सम्हालिसकेका पूर्वपरराष्ट्रमन्त्री डा. थापाका भनाइमा भारतीय नाकाबन्दीका बाबजुद दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन राजदूतका हैसियतमा शाहले भरमग्दुर प्रयास गरेकी थिइन्। तर, राजनीतिक स्थिति नै यति जटिल थियो– एकजना राजदूतको बुताबाट सम्बन्ध सामान्य स्थितिमा फर्कने सम्भावना नै थिएन। 

‘नाकाबन्दीका बेला नयाँदिल्लीमा नेपालको राजदूत श्रीमती शाहजस्तो ओजनदार व्यक्तित्व हुनुहुन्थ्यो, जो थोरै बोल्नुहुन्थ्यो, तर सटिक रुपमा नेपालको कुरा राख्नुहुन्थ्यो,’ अमेरिकाका लागि प्रस्तावित राजदूत प्रा. खत्री भन्छन्, ‘राजनीतिक कारणले त्यो बेला दुई देशबीच सम्बन्ध सुधार हुन नसके पनि उहाँले भरमग्दुर प्रयास भने गर्नुभएको हो।’​

राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमणमा एकमात्र महिला सदस्यका रुपमा विन्देश्वरी शाह

प्रा. खत्रीका भनाइमा कुनै राजदूतको भूमिकाको मूल्याङ्कन उसले सम्बन्धित मुलुकमा रहँदा घरेलु नीतिलाई पछ्याउँदै प्रभावकारी भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने कुरालाई आधार बनाएर गर्नुपर्छ। 

‘नयाँदिल्लीमा राजदूत छँदा उहाँ यस विषयमा कहीँ कतै चुक्नु भएको थिएन,’ प्रा. खत्री थप्छन्, ‘तर, आन्तरिक राजनीतिका कारण दुर्भाग्यवश उहाँ राजदूत रहेका बेला दुई देशबीचको सम्बन्ध बिग्रन पुग्यो। सम्बन्ध बिग्रनुमा उहाँको कुनै दोष थिएन।’ 

कुटनीतिज्ञको एउटा जिम्मेवारी भने आफू गएको मुलुकमा आफ्नो मातृभूमिको इज्जत र प्रतिष्ठा बढाउनु पनि हो। अमेरिकामा भएको पहिलो पोस्टिङदेखि नै यस मामिलामा उनी अब्बल ठहरिइन्।

जब मातृकाप्रसाद कोइराला राजीनामा दिएर वासिङ्टनबाट स्वदेश फर्के, त्यो बेला कार्यवाहक राजदूतका रुपमा शाहले नै जिम्मेवारी सम्हालिरहेकी थिइन्। त्यसैबेला अमेरिकी सरकारले वासिङ्टनमा रहेका सबै नियोग प्रमुखहरुको जमघट आयोजना गर्यो। 

‘त्यो जमघटमा वासिङ्टन डीसीमा राजदूतावास रहेका सबै देशका पुरुष राजदूत सहभागी थिए, कार्यवाहक राजदूतका रुपमा शाह (मल्ल) उपस्थित हुनुहुन्थ्यो, अमेरिकामा रहेकामध्ये महिला नियोग प्रमुख उहाँ मात्रै हुनुहुँदो रहेछ,’ नेपालको परराष्ट्र मामिलासम्बन्धी इतिहासका जानकार डा. भट्टराईले भने, ‘सन् साठीको दशकमै नेपालबाट नियोग प्रमुखको रुपमा उहाँको उपस्थिति अन्य विकसित मुलुकका लागि समेत आश्चर्य र चर्चाको विषय बनेको रहेछ।’

परराष्ट्र सेवामा छँदा समयक्रममा डा. भट्टराईको पनि बंगलादेशमा पोस्टिङ भयो। त्यसक्रममा डा. भट्टराईले पनि केही समय कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाले। 

विन्देश्वरी शाह ढाकामा नेपालको राजदूतावास स्थापना गरी कार्यवाहक राजदूत भएका बेला शेख मुजिबुर रहमान राष्ट्रपति बनेका थिए। राष्ट्रपति रहमानकी पुत्री शेख हसिनासँग विभिन्न जमघटहरुमा राजदूत शाहको भेट भइरहन्थ्यो। 

जब त्यसको धेरै वर्षपछि शेख हसिना आफैँ बंगलादेशको प्रधानमन्त्री बनिन्, त्यो बेला कार्यवाहक राजदूतको जिम्मेवारीमा रहेका डा. भट्टराईको उनीसँग भेटघाट भइरहन्थ्यो। 

यस्तै एक भेटमा प्रधानमन्त्री हसिनाले डा. भट्टराईलाई छक्क पारिन्।

‘म्याडम शाह आजकल के गर्दै हुनुहुन्छ?’ हसिनाले डा. भट्टराईसँग जिज्ञासा राखिन् र थपिन्, ‘उहाँ वास्तवमा महान् महिला हो। जनरल रहमान राष्ट्रपति छँदा उहाँसँग मेरो भेट भइरहन्थ्यो। मैले उहाँबाट धेरै कुरा सिकेको छु। खासमा उहाँ मेरो रोल मोडल हो।’

तत्कालीन भारतीय उपरराष्ट्रपति शंकरदयाल शर्मा (बीच) का साथ विन्देश्वरी शाह (दायाँ) र उनका पति डा. नारायणकेशरी शाह

‘हो, उहाँसँग संगत गर्नेले धेरै कुरा सिक्न सक्थे। जिम्मेवारी पुरा गर्न निरन्तर सक्रिय भइरहने उहाँको स्वभाव अनुकरणीय थिए,’ प्रा. खत्रीले भने, ‘स्पष्ट निर्णय गर्ने, आवश्यक विषयवस्तुबारे सुसूचित भइरहने र यसका लागि गहिरिएर अध्ययन गर्ने उहाँका गुण र उहाँबाट सिक्न सकिने कुरा थिए।’

मन्त्रालयमा हुँदा होस् वा विदेशस्थित नेपाली नियोगको पोस्टिङमा रहँदा– उनी आफ्ना सहकर्मीहरुसँग सल्लाह गरेर निर्णय लिन्थिन्। कसैलाई ठूलो–सानाको भेदभाव गर्दैनथिन्। सिनियरबाट सिक्न आफू पनि हिच्किचाउँदैनथिन्। प्राप्त भएका अवसर आफूभन्दा जुनियर कर्मचारीलाई प्रदान गर्न कन्जुस्याइँ गर्ने स्वभाव पनि उनमा थिएन। 

बरु वृत्तिविकास हुने अवसर सिर्जना गरेर त्यसमा सहभागी गराउँथिन्। 

पञ्चायतकाल थियो, प्रशासनमा दरबारका हाबी थिए। तर, अवसरका लागि दरबारका सचिवहरुको चाकडी गर्ने स्वभाव पनि उनको थिएन। परराष्ट्र सेवामा रहँदा उनले जे अवसर पाइन्, आफ्नो क्षमता र योग्यताका कारण पाएकी थिइन्। 

चाकडी गरेको भए सायद उनी असमयमै नयाँदिल्लीबाट फिर्ता हुनुपर्ने थिएन। पञ्चायतकालमा त चाकडी नगरेकी मान्छे, बहुदलकालमा पनि उनले आफ्नो स्वाभिमान उँचो राखिन्। उनका लागि राजदूत पदभन्दा स्वाभिमान महत्वपूर्ण भयो। 

जानकारहरुका भनाइमा पञ्चायतकालमा दरबारका सचिवहरुको रजगज भएका बेला उनी दरबारका सचिवहरुलाई बोलाउनु पर्दा नाम नै उच्चारण गरेर तर सम्मानपूर्वक बोलाउँथिन्, ‘जी–हजुरी’ गरेर होइन। 

दरबारको रजगज भएका बेला आफूलाई यसरी बोलाउँदा सचिवहरु चिढिन्थे पनि। तर, को खुसी भयो र को चिढियो भन्ने कुराको वास्ता उनलाई हुँदैनथ्यो। आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नेबाहेक अरु कुरामा उनी सरोकार राख्दैनथिन्। 

‘उहाँ साँच्चिकै अद्भुत र अद्वितीय महिला हो,’ डा. भट्टराईले भने, ‘उहाँ जतिबेला सक्रिय जीवनमा हुनुहुन्थ्यो, उहाँसँग धेरै कुरा सिक्न सकिन्थ्यो। मैले उहाँको प्रशंसा गरेको अरु कारणले होइन, त्यही स्वाभिमान र उहाँबाट सिक्न सक्ने गुण भएकाले हो।’

प्रा. खत्रीका भनाइमा शिक्षित नेपालीहरु समेत विन्देश्वरी शाहको व्यक्तित्वलाई ‘नेपालको पहिलो महिला राजदूत’ का रुपमा मात्र सीमित गर्न खोज्छन्। यो सीमा श्रीमती शाहप्रतिको अन्याय हो। 

‘खासमा उहाँ पहिलो महिला राजदूतमात्र होइन, नेपालको कूटनीतिमा निकै ठूलो योगदान भएको कूटनीतिज्ञ हो,’ प्रा. खत्री भन्छन्, ‘नेपालको परराष्ट्र सेवाको ओजनदार व्यक्तित्व हो। नेपालको कूटनीतिक इतिहासमा एउटा सम्मानित नाम हो।’

आज ८९ वर्षमा पाइला टेकेकी (जन्म १३ फेब्रुअरी १९३३) विन्देश्वरी शाह जीवनको उत्तराद्र्धमा छिन्। कोरोना महामारी र शारीरिक अशक्तताका कारण उनलाई भेट्न र कुराकानी गर्न मुस्किल छ।

राजदूत नियुक्त परराष्ट्रका अधिकारीहरुले २० चैत २०६८ मा आयोजना गरेको जमघटमा विन्देश्वरी शाह (सीताराम बराल)

तर, प्रा. खत्रीले भनेजस्तै, श्रीमती शाहको नाम र व्यक्तित्व नेपालको कूटनीतिक परिधिमा कति ओजनदार रुपमा स्थापित रहेछ भन्ने कुरा मैले दस वर्षअघि राजदूत नियुक्त परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीहरुले आयोजना गरेको एउटा जमघटमा अनुभव गर्न पाएको थिएँ। 

त्यो जमघटमा श्रीमती शाह पनि निम्त्याइएकी थिइन्। जब उनी जमघटस्थलमा प्रवेश गरिन्, भर्खर राजदूत नियुक्त भएका परराष्ट्र मन्त्रालयका सबै अधिकारीहरु उनीप्रति सम्मान प्रकट गर्न आदरसाथ उठे। 

जब उनीहरु विन्देश्वरी शाहका अघिल्तिर हुन्थे, श्रद्धाले उनीहरु आफ्नो शिर झुकाइरहेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .