समाज


सामना पहाडको मातृत्व अनुभवः सन्तानका पुरा गर्न नसकेका रहरले पोलिरहने रहेछ

सामना पहाडको मातृत्व अनुभवः सन्तानका पुरा गर्न नसकेका रहरले पोलिरहने रहेछ

कविता लेख्ने क्रममा सुमन सिलवाल सामना पहाडको नामले चिनिन थालिन् (तस्बिरः विजय सिंह)


राधिका अधिकारी
फागुन २१, २०७८ शनिबार ७:३५, काठमाडौँ

सामना पहाड (सुमन सिलवाल) को बाल्यकाल पर्वतको बाच्छामा बित्यो। खेतीकिसानी गर्ने उनका बुबाआमाका ६ सन्तान थिए। जसमा सबैभन्दा जेठी सामनाले सानैबाट भाइ–बहिनी हुर्काउने जिम्मेवारी बहन गर्नु पर्यो। त्यो समय बुबाआमाले छोराछोरीका लागि समय दिने भनेको के हो थाहै थिएन। बरु छोराछोरीले बुबाआमालाई सघाउनुपर्थ्यो।

कहिले गोठको धन्दा, कहिले अर्मपर्म, कहिले भात–भान्सा त कहिले भाइबहिनीको हेरविचार। सुन्दा सामान्य लागे पनि कलिलो वयमा यी सबै काम गर्न सजिलो हुँदैनथ्यो। सामान्य आर्थिक अवस्था, धेरै छोराछोरी भए पनि सामनाका बुबामा छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना थियो। त्यही भएर उनी स्कुल जान पाइन्। र, उनले सानैबाट नियालेकी थिइन् आफ्ना आमाबुबाको संघर्षपूर्ण जिन्दगी। 

अभावले सिकाएको पाठ
अभावले जिन्दगीमा के के मात्रै सिकाएन? ‘म अघाएकी छैन’ भन्दा आमालाई खाना नपुग्ला भनेर आधा पेटमै ‘अघाएँ’ भन्न सिकायो। सपना त नयाँ कापीमा सफा अक्षर कोर्ने हुन्थ्यो। तर, साथीले पुरानो भनेर छोडेका कापीमा लेख्न सिकायो अभावले। छात्रावृत्ति पाएको पैसाले नुनतेल किन्न सिकायो। सबैभन्दा ठूलो कुरा त जिन्दगीमा केही गर्नैपर्छ भन्ने पाठ सिकायो। 

उनका बुबाले सामनालाई एसएलसी पछि नपढाउने निधो गरे। एसएलसी पास गरेर क्याम्पस पढ्ने सपना बुन्दै गरेकी छोरीलाई उनले भने, ‘अब तिमीले जागिर खाएर मलाई सहयोग गर्नु पर्छ।’ हुन्छ वा हुँदैन भन्ने विकल्प थिएन सामनासँग। उनका बुबाले सामाजिक परिचारिकाको तालिम लिन पठाए। जागिरका लागि सामाजिक परिचारिकाको तालिम लिन गएकी सामना फर्किंदा पढ्नै पर्ने रहेछ भन्ने चेतना लिएर आइन्।

भन्छिन् ‘त्यो तालिमले मलाई पढाइ छोड्नु हुँदैन, बुबालाई खरबारी नै बेचाएर भए पनि पढाउन लगाउँछु भन्ने महसुस गरायो।’

छोरीलाई क्याम्पस पढाउन सजिलो थिएन उनका बुबालाई। अरु ४ जना छोराछोरी स्कुल जाने भइसकेका थिए। तर सामानाले जिद्दी गर्न छोडिनन्। पोखरा गएर विज्ञान पढ्ने उनको अडानका अगाडि बुबाको केही लागेन। आमाले गाउँमा ऋण काढेर एकजोर कुर्ता सुरुवाल किनिदिइन्। त्यही लगाएर पोखरा झरेकी सामनाले पढ्नका लागि बेग्लै संघर्ष गर्नु पर्यो। 

होस्टेलमा नाम ननिस्किनु, एक्लै कोठा खोजेर बस्ने क्षमता र आँट नहुनु, सँगै बस्न भनेर आएका आफन्तले अलपत्र छोडेर हिँड्नुले एकपटक उनको मनोबल गिरिसकेको थियो। त्यही समय पोखरामा बसेर पढ्नका लागि कोठा खोज्दै हिँडेका स्याङ्जाका दिलमाया पौडेल र मिनाक्षी वाग्ले भेटिए। सामनालाई भगवान भेटे जस्तो भयो। उनीहरुले नै सामनालाई प्रस्ताव गरे– ३ जना मिलेर बसौं। उनीहरुको आपसी समहमति भयो। त्यसपछि सामनाले आईए पढ्ने धोको पुरा गर्न पाइन्। साथी सम्झिँदै सामना भन्छिन्, ‘संघर्षका बेला साथ दिने साथी भुल्न नसकिँदो रहेछ।’

सानैदेखि कविता लेख्ने सामनाले पोखरा बसाइका क्रममा पनि निक्कै कविता लेखिन्। लेखेका कविता छपाउन मन लाग्थ्यो। सक्कली नामबाट छपाउँदा बुबाले थाहा पाउँथे। आफ्ना पिताको गालीबाट बच्न उनले आफ्नो नाम नै फेरिदिइन्। त्यहीबेलाबाट सुमन सिलवाल नामकी उनी सामना पहाडका नामले चिनिन् थालेकी हुन्। हिजोआज त उनलाई सुमन भनेर चिन्ने मान्छे कमै छन्। 

घरमा सघाउने छोरी पनि हिँडेपछि सामनाका बुबाले बाच्छामा घरव्यवहार धान्न सकेनन्। कुश्मा बजारमा झरेर होटल व्यवसाय र ज्यालामजदुरी गर्न थाले। व्यवसाय पनि भनेको जस्तो भएन। त्यसपछि उनका आमा बुबाले हजुरआमाको सरसल्लाह समेत लिएर तराई झर्ने निधो गरे। कावासोती नजिकैको हर्कपुर भन्ने गाउँमा उनका बुबा बसाइँ सर्दा सामना पोखरामै थिइन्। सामनाले आईए सकेर हर्कपुर आउने बेलासम्म उनका बुबाको मनस्थिति त्यहाँ पनि नबस्ने बनिसकेको थियो। पढ्न र काम गर्न नारायणगढ पुग्नु पर्ने। बाटो लामो र समय धेरै लाग्ने भएपछि छोराछोरीको सुरक्षा नदेखेका सामनाका आमा बुबा हर्कपुरको घरै बेचेर सन्तान पढाउनेगरी भरतपुरमा साहुको जग्गामा कृषि तथा पशुपालन गर्न पुगे। छोराछोरीका लागि सामनाका आमाबुबाले गरेको संघर्षको अर्कै कथा छ। 

भरतपुर झरेपछि झन् कठिन दिन सुरु भए। सामनाले बीए पढ्न पाउने अवसर लगभग सकिइसकेको थियो। उनीमाथि बुबाको ब्यवहारलाई सहज बनाउने जिम्मेवारी थियो।

‘जिम्मेवारीको भारीले थिचिएपछि रहर आफैँ हराउँदै जाने रहेछ। मभित्र भएको पढ्ने भोक पनि दबिएको थियो त्यतिबेला,’ सामनाले सुनाइन्।

त्यसताका उनले चितवनबाट प्रकाशित हुने ‘आदर्श समाज’ पत्रिका वितरकको काम गरिन्। पत्रिका वितरण गरेको मासिक तलब १५ सय थियो। त्यसपछि उनी अंकल र दाइको सिफारसमा कुरिअरमा काम गर्न थालिन। 

यहाँसम्म आइपुग्दा सामनालाई लागेको थियो, ‘अब कोही साथी भए अलि सहज हुँदो हो जिन्दगी।’ त्यही समय भेटिए जीवनसाथी। सामना र उनको आर्थिक, सामाजिक र पारिवारिक अवस्था मिल्थ्यो। पढाइमा पनि समान तहकै र काममा सिनियर थिए उनी। सबैभन्दा ठूलो कुरा एक अर्काको मन र भावना मिल्यो। मन मिले पनि उनीहरुको चिनामा ग्रहदशा मिलेन। चिना हेरेर उनका बुबाले सहयात्राका लागि मञ्जुरी दिएनन्। सामनाले अंकलआन्टी र साथीहरुको सहयोगमा बुबाको अनुमतिबिनै विवाह गरिन्। यसमा आमाको आंशिक सहयोग र सकारात्मक धारणा थियो। छोरीेको सो निर्णयको चोट उनका बुुबाले लामो समय बोकेर हिँडे। छोरीलाई लामो समय माइतीको आँगनमा बोलाएनन्। उनी आफैँ विछिप्त भए। बुबाको अवस्था किन त्यस्तो भयो, त्यो बुझ्न सामना आफैँले सन्तान जन्माउनु पर्यो।​

सामनाको सोच थियो– ‘अब मलाई साथ दिने जीवनसाथी छन्, हामी दुई जना मिलेर दुई परिवारलाई हेर्ने छौँ। एक अर्काका सपना संयुक्त सामर्थ्य र साथले पुरा गर्नेछौँ। अनुकरणीय सहयात्रा गर्नेछौँ।’

तर सोचेको जस्तो भएन। काम गर्ने, सामाजिक र साहित्यिक कार्यमा लाग्ने र पढ्ने कुरामा मत बाझियो। सामनाका सिर्जना र भावना पढेर मन पराएका उनका जीवनसाथीलाई अब कविता लेखेको पनि मन पर्न छाड्यो। यी सबै नमिठा पलहरुमा, बुबा–आमा र भाइबहिनीको सम्झना, आफ्नै जिन्दगीको विसंगति र सपनाको मायाबारे उनले लेखेका कयौँ कविता लामो समय सिरानीमुनि उनकै आँसुका साक्षी भएर बसे। कति सिर्जनाको भ्रुणहत्या भयो। कति सिर्जनशील समय अनाहकमा खर्च भए, जिम्मेवारीले थिच्दै लग्यो।

छोटो समयमै उनको पेटमा बच्चा बस्यो। बच्चा बसेको झण्डै तीन महिनासम्म त उनलाई आमा बन्दै छु भन्ने पनि थाहा भएन। यही समय सामनाले निजी स्कुलमा पढाउन थालिसकेकी थिइन्। गर्भावस्थाको तीन महिनामा बच्चा बसेको थाहा पाउँदा उनी खुसी हुन सकिनन्। योजनाबद्ध रुपमा बच्चाको आमा बन्ने सपना साकार भएन।

उनले त जीवनसाथीलाई भनेकी थिइन्, ‘बच्चा अहिले आवश्यकता होइन। केही सोच्ने हो कि?’

सासूले पनि पहिलो बच्चा हो, गर्भपतन गर्दा पछि गाह्रो हुन्छ भनेर सम्झाइन्। त्यसपछि उनले आफूलाई तयार पार्दै लगिन्।

उनलाई थाहा थियो, पौष्टिक आहार खानु पर्छ। तर, सम्भव थिएन। ‘अरुबेलाभन्दा आफन्तको विशेष ख्याल र माया चाहिन्छ’ यो सोचाइको विकास नै भएको थिएन। बिहान कलेजको पढाइ, दिउँसोको जागिर। सामना साइकल चलाएर दौडिन्थिन्। त्यो समयका अरु सासूभन्दा निकै ज्ञानी थिइन् उनकी सासू। उनले जानेजतिको राम्रो गर्थिन् बुहारीलाई। उनकी आमाले पनि आफनो औकातले भेटेको गर्न प्रयास गरिन्। तर आमालाई पनि आफ्नै जीवनको गाडा धकेल्न कठिन थियो। जीवनसाथीबाट पाउनु पर्ने भावनात्मक साथ भने उनले पाइनन्। भन्छिन्, ‘त्यो समयमा नपाएको भावनात्मक साथको खाडल कहिले नपुरिने खालको हुने रहेछ।’ 

अस्पतालले सम्झाएको आमाबुबाको आँसु
नियमित जाँचको समय भर्खर सुरु भएको थियो। हरेक पटक जचाउँन जानेबेला तर्कवितर्क हुने गर्थ्यो। त्यति मात्रै होइन, सुत्केरी व्याथाले चापेर छट्पटाउँदा पनि ‘यस्तै हुन्छ रे यस्तो बेला सबै महिलालाई’ भनेर उनले जीवनसाथीबाट जवाफ पाइन्। जुन उनले अहिलेसम्म बिर्सिन सकेकी छैनन्।

रातभर र बिहानको समय व्याथाले च्याप्दै लगेपछि सामनालाई लाग्यो, अब मरिन्छ। उनले सासू र ससुरा गुहारिन्। त्यसपछि बल्ल अस्पताल लगियो। भरतपुर अस्पताल पुगेको लामो समयसम्म व्याथा लाग्ने र छाड्ने भइरह्यो। प्रसवको चरम पीडामा उनलाई महसुस भयो, ‘छोरीले छोडेर हिँड्दा बुबाआमा किन रोएथे हिजो।’ लामो प्रसव पीडापछि छोरी जन्मिइन्। 

प्राकृतिक रुपमा सुत्केरी हुँदा उनको पाठेघरको मुखमा चोट लागेको थियो। सिलाइदिनु भन्दा डाक्टरले मानेनन्। जसको असर हिजोआज पनि भोगिरहेकी सामना भन्छिन् ‘टुसुक्क बसेर काम गर्न नमिल्ने, फर्स्ट डिग्री प्रोल्याप्स र अन्य प्रसुतीसम्बन्धी समस्याहरु समेत भोगिरहेकी छु,’ सामना भन्छिन् ‘नियमित डाक्टरको उपचार र परामर्शमा बस्नुपर्ने। मातृत्वको मिठा नमिठा पल हरेक आमाहरुलाई उपहार हुन्, जुन कसैलाई बाँड्न मिल्दैन।’ 

छोरी जन्मिएपछि सामना निक्कै खुसी थिइन्। अस्पतालबाट फर्किएपछि उनले प्रसव पीडा र मातृत्व अनुभवलाई समेटेर अत्यन्तै मार्मिक ‘म र मेरी आमा’ शिर्षकमा कवितानै लेखेकी थिइन्।​

सन्तुलित भूमिका निर्वाह गर्न गाह्रो
सामाजिक तथा सांस्कृतिक परिवेश, आर्थिक अभाव, तुलनात्मक रुपमा परम्परागत धारणाको समाज र परिवार, आफ्नै करिअर र सपना, व्यस्त दैनिकी यी सबै कुराले गर्दा सामनालाई छोरी हुर्काउन पनि निकै संघर्ष गर्नु पर्यो। छोरी, दिदी, आमा, बुहारी, भाउजु, जीवनसाथी, शिक्षिका, साहित्य स्रष्टा, सामाजिक अभियन्ता, विद्यार्थी आदि भूमिका एकै पटक सन्तुलित रुपमा अगाडि बढाउन गाह्रो थियो। तर उनी कुनै पनि भूमिकाबाट पछि हटिनन्। 

छोरी छाडेर पढाउन गएकी सामनाका दूध बहेर चोली भिज्थ्यो। आँसु झरेर मन। घर पुग्दा रोइरहेकी छोरी देखेर मुटु चुँडिन्थ्यो। यही समय उनका जीवनसाथी विदेश गए। सामनाले घरबाट निकै टाढाको स्कुलमा मावि शिक्षकको रुपमा अस्थायी दरबन्दीमा नाम निकालिन्। त्यसपछि आर्थिक पाटो अलि सहज हुँदै गयो।

उनले सोचिन् ‘सासूआमाको परम्परागत रुपको दैनिकीभन्दा सहज भए उहाँको समय बच्यो भने नातिनीलाई अझै बढी समय दिनुहुँदो हो।’ 

त्यसपछि घरमा गोबरग्यास राखियो। राइस कुकर, प्रेसर कुकर ल्याइयो। आधुनिक भान्साको व्यवस्थापनले सामनाकी सासूबुहारीलाई सहज भयो। दाउरा बालेर चुलोमै कुर्नु पर्ने झन्भट सकियो। हुर्केका र हुर्कंदै गरेका नन्द र देवरहरुले पनि जानेको र सकेको साथ दिँदै गए। यसरी बिस्तारै सासू र ससुराको सल्लाह र साथमा पारिवारिक र आर्थिक वातावरण मिलाउन सघाउँदै घर र बाहिरका हरेक जिम्वेवारीहरुमा आफूलाई सन्तुलित रुपमा दौडाइरहिन्।​

छोरीलाई दिन नपाएको समय
गर्भावस्थामा आमाले खान नपाएको पोषणयुक्त खाना र पर्याप्त आराम। हुर्कने क्रममा आफैंले छोरीलाई दिन नसकेको पौष्टिक आहार र समय। एक समय उनकी छोरीमा कुपोषण समेत देखियो। झण्डै अस्पताल नै भर्ना गर्नु पर्ने अवस्था आएको थियो। आफूले बाल्यकालमा नपाएको सुविधाभन्दा आफ्ना सन्तानलाई दिन नसक्नुले कति दुखाउँदो रहेछ आमाको मन, त्यो दुखाइका प्रशस्तै दस्तावेज छन् सामनामो मनमा।

छोरीको हुर्काइमा सामनाले धेरै समय दिन पाइनन्। छोरीले स्कुल पढ्न थालेपछि पनि उनले कपाल बाटिदिने समय जोगाउन कपाल काटिदिइन्। आफ्नो काटिएको कपाल हेरेर छोरी रुन्थिन्। छोरीको आँसु हेरेर आमा। छोरीले स्कुल पढ्ने समयमा माया गर्ने परिवार त थियो। भावनात्क रुपमा तिमी निस्क, तिमीले गरेको राम्रो छ भन्ने चेतना विकास हुँदै त थियो। तर आर्थिक र भावनात्मक आड भरोसको जहिले पनि अभाव खड्कियो। त्यसैले उनले जस्तै उनकी छोरीले पनि थुप्रै रहर खुम्चाएर हुर्कनु पर्यो। छोरीको रोजाइको खानेकुरा, खेलौना र कपडामा धेरैपटक मनै चिमोटिने गरी सम्झौता गरिन्। 

गहभरि आँसु पार्दै पसिना काडेर नानीका सपना पुरा गरेका दिन सम्झनामा छन उनका। सामनालाई याद छ छोरीले साइकल चढ्न रहर गर्दा किनिदिन नसक्नुको पीडा। त्यही पीडा सहन नसेकेर त्यो समय उनले आफ्नो मङ्गलसूत्र बेचेर छोरीलाई साइकल किनिदिएकी थिइन्। त्यसबेला छोरीले कुदाएको गुलाबी कलरको साइकलसँगै बाटैबाटो दौडिएथ्यो उनको मातृत्व खुसी पनि। 

सामनाले यसबीचमा छोरीका लागि थुप्रै स्कुल फेरिन्। ठाउँ फेरिन्। आमासँगै परिवर्तन भइरह्यो छोरीको पढ्ने स्कुल। १२ कक्षा पास गर्दा उनकी छोरीले ९ वटा स्कुल पढिछन्। हिजोआज उनी सोच्छिन्, ‘हरेक वर्ष फेरिने स्कुलमा अत्यास लाग्यो कि लागेन होला छोरीलाई? कति असहज भयो होला? स्कुलैपिच्छे छोडिने साथीको यादले कति सतायो होला? हरेक साल नयाँ साथी बनाएर नयाँ शिक्षकसँग पढ्न कति गाह्रो हुन्थ्यो होला? उसलाई मैले कहिल्यै सोधिनँ, उनले पनि गुनासो गरिनन्। बरु परिवर्तित परिस्थिति अनुकूल भएर मलाई हल्का पारिन्। हरेक स्कुलमा अब्बल विद्यार्थीका रुपमा आफूलाई प्रमाणित गरिन्। दुखाइ लुकाएर खुसी भइरहने बानी बस्यो।’ 

उनकी छोरीले कक्षा १२ मा राम्रो नतिजा ल्याइन्। छोरी उच्च मनोबलका साथ विश्वविद्यालयको ढोका प्रवेश गरेकी छिन्। उनी भन्छिन्, ‘छोरी परिपक्व हुँदैछिन्। अब त जीवनका धेरै घाउहरु ओभाउँदै गएको अनुभुति भएको छ।’

दोस्रो सन्तान
केही समय जीवनसाथीको विदेश बसाइ। करिअरले उकालो बाटो समातेको समय। घरमा हुर्किंदै गरेकी छोरी। सामनाले अर्को बच्चाको बारेमा कल्पना पनि गरेकी थिइनन्। तर परिवार र समाजलाई दोस्रो बच्चा चाहिएको थियो। त्यो पनि छोरो। आफन्तले भन्न थालेका थिए, ‘तँमा बाँझोपन देखियो अर्को बच्चा हुँदैन।’ आफ्नो लागि भन्दा पनि आफ्नाका लागि दोस्रो बच्चा जन्माउनु पर्ने दबाब थियो उनको दिमागमा। त्यसैले करिब सात बर्षको अन्तरमा उनी दोस्रो पटक आमा बन्न तयार भइन्। 

दोस्रो पटक गर्भ बसेपछि लिंग पहिचान गर्ने कुरा निस्कियो। दोस्रो पटक पनि उनको पेटमा छोरी नै थिइन्। जीवनसाथीको चाहना छोराको थियो। परिवार र समाजको अपेक्षा पनि उस्तै। तर, मातृत्वका सवालमा साथ र सल्लाह दिने आमा र सासू थिए। उनकी आमा र सासूले खबरदारी गरे। गर्भको सन्तानले मिल्किनु परेन। जेठी छोरी जन्मिएको तीन चार महिनामै पुनः बसेको गर्भ पतन गराएकी सामनाले त्यही गर्भपतनका कारण छोरा नभएको भन्ने सोचसँग लड्नु पर्यो। साथै गर्भपतनको शारीरिक, मानसिक र भावनात्मक पीडासँग पनि। 

सानी छोरीको पालाको प्रसव व्याथा झन् कहालीलाग्दो थियो। उनले घरबाट ५० देखि ५५ किमिको दुरीको कार्यरत विद्यालयमा आवतआवत गनुैपर्ने बाध्यता थियो। आफैँ मोटरसाइकल हाँकेर विद्यालय पुग्थिन्। दोस्रो बच्चाको व्याथा लाग्दा विद्यालयको काम सकेर आफैँ मोटरसाइकल हाँकेर अस्पताल पुगिन् उनी। डाक्टरले अपरेसन गर्ने कि पनि भने। उनले केही समय पर्खन आग्रह गरिन्। प्रसव व्याथा र पीडा अति लामो भयो। त्यसपछि उनले चाँडो अप्रेशन गरिदिन भनिन्। तर, बिनाअप्रेसन छोरी जन्मिइन्।

सानी छोरीको समय सामनाको आर्थिक अवस्था अलि बलियो भएको थियो। उनले मास्टर्स सकेर कलेज पनि पढाउन थालेकी थिइन्। स्वआर्जनबाट पौष्टिक खाना र सुत्केरी स्याहारका लागि सहयोगी समेत राख्न सक्ने भएकी थिइन् उनी। तर के जन्मियो? छोरा कि छोरी? ए फेरि छोरी नै? लौ फेरि अर्को पटक दुःख गर्न पर्यो! जस्ता प्रश्न र टिप्पणीले उनलाई जीवनभर पुग्ने आघात दिए।

१८ महिनाकी छोरीलाई मन्टेश्वरीमा भर्ना गरिदिइन्। घरमा पनि हप्तामा एक पटक आएर काम सघाउने मान्छे राखिन्। ठूली छोरीले जस्तो खाने कुरामा अभाव महसुस गर्नु परेन सानी छोरीले। तर सानैमा आमाको काखबाट छुटेर मन्टेश्वरीमा बसेकी छोरीलाई दिन नसकेको समयले अहिले पनि दुखाउँछ सामनालाई। दुई छोरी हुर्कंदै गर्दा समाज र परिवार दुवैले छोराको आशा गरिरहेथ्यो। शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा एकदिन पढेलेखेका साथीहरुले नै प्रश्न गरे ‘छोरा पाउन मन छैन?’ सामनालाई उत्तर दिइहाल्नु जरुरी लागेन। 

उनलाई छोरीहरुसँग आशा र भरोसा छ। सामनालाई मन छैन छोरीहरुको भविष्यका लागि भनेर सम्पत्ति जोड्न। भन्छिन्, ‘मेरो सम्पूर्ण जीवन र समयको लगानी उनीहरुलाई आत्मसम्मानयुक्त जीवन र आत्मनिर्भर बनाउने काममा गर्छु। पछि उनीहरु आफैं गर्ने बनून् र गरुन् भन्ने सपना छ।’

छोरीहरु हुर्काउँदै, पढ्दै, पढाउँदै सामनाले निजामती सेवातर्फ अधिकृतमा नाम निकालिन्। त्यसपछि दुई छोरी लिएर काठमाडौँ आएकी सामनाले पछाडि फर्किएर हेर्नु परेको छैन। अहिले उनी पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा पाठ्यक्रम अधिकृत छिन्। ठूली छोरी विश्वविद्यालयको संघारमा पुगिन्। सानी स्कुल पढ्दैछिन्। आफूले आफ्नो जीवनमा पुरा गर्न नपाएका थुप्रै रहर छोरीहरुमा फूलेको हेर्ने रहर छ। त्यसका लागि अब्बल मातृत्व अनि सामाजिक, साहित्यिक र पेसागत जीवनका सपना पुरा गर्न उनी सबै खालका प्रतिकूलताको सामना गरिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .