छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने समस्या आएपछि दुई महिनाअघि एकजना ८० वर्षीया वृद्धा उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेकी थिइन्।
त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि मुटुबाट निस्किने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साँघुरिएको देखियो। यस रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ। बेलैमा उपचार नपाएपछि उक्त रोगबाट चाँडै मृत्युको सम्भावना हुन्छ।
हालसम्म नेपालमा यसको उपचार शल्यक्रियामार्फत छाती र मुटु चिरेर भल्भ प्रत्यारोपण नै हो। तर, ८० वर्षीयाको छाती वा मुटु चिर्दा धेरै जोखिम हुने भएकाले चिकित्सकहरुले यस्तो उपचारको सुझाव कमै दिन्छन्।
वृद्धा महिलाको छाती चिर्दा जोखिम बढी हुने भएकाले केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले ‘ट्रान्सक्याथर एरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट प्रत्यारोपण गराउन सुझाव दिएको थियो।
त्यस विधिबाट नेपालमा उपचार गराउने आन्तरिक तयारीमा डा.अधिकारी दुई वर्ष अघिबाटै क्रियाशील थिए।
‘व्यक्तिगत रुपमा दुई वर्षदेखि यस्तो प्रविधि भित्र्याउन प्रयास गरिरहेको थिएँ। पूर्वाधार बनाइरहेका थियौँ। यस्तै प्रकारका अरु उपचार गरे पनि भल्भ नै राख्ने गरेका थिएनौं,’ डा.अधिकारीले भने, ‘सर्जरी गर्नुभन्दा यो विधि ‘टेक्निकल्ली’ सजिलो पनि हो। यसमा छाती र मुटु चिर्नुपर्दैन, मान्छेलाई बेहोस पनि बनाउनु नपर्ने भएकाले जोखिम कम हुन्छ।’
भिडियो
यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ।
यसका लागि सबै कुरा आफन्त र बिरामीलाई सम्झाएपछि राजी भएका थिए। त्यसअघि दुई महिनासम्म अधिकारीको टोलीले वृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्यो।
साँघुरिएको भल्भको सिटी स्क्यान गरी नेदरल्याण्ड्स पठाइयो। जहाँबाट बिरामीको आकारको कृत्रिम भल्भ नेपाल ल्याएर प्रत्यारोपण गरिएको हो। भारत र चीनमा पनि भल्भ बन्छ। तर युएस एफडीको स्वीकृति नभएका कारण नेदरल्याण्ड्सबाट ल्याउनुपरेको हो।
यस्तो जटिल उपचारका क्रममा मृत्यु पनि हुनसक्छ। कसैलाई पेसमेकर राख्नुपर्ने हुनसक्छ। यी सबै कुराहरुमा चिकित्सकीय टोली सचेत थियो। त्यहीअनुसार सम्पूर्ण उपकरण तयार राखिए। चिकित्सकसहितका जनशक्ति अलर्ट थिए।
‘सुरुमा केस छनोट गर्दा भविष्यमा कुनै किसिमको फेलियर नहोस् भन्नेमा सचेत थियौं। बाहिरबाट आएका विज्ञहरुसँग चरण–चरणको छलफलपछि उपचारको दिन तय गरियो,’ डा. अधिकारीले भने।
उक्त टोलीले गत सोमबार नेपालमै पहिलोपल्ट छाती नचिरी मुटुको सफल शल्यक्रिया ग¥यो। तिघ्राबाट छिराइएको तारको मद्दतमा बिरामीको एओर्टिक भल्भको स्थानमा नयाँ कृत्रिम भल्भ राखियो। अप्रेसन सहज रुपमा सकियो। कुनै जटिलता देखिएन।
यस विधिबाट उपचार गरेकालाई साधारणतया ४८ घण्टामा डिस्चार्ज गरेर पठाउन सकिन्छ। तर, पहिलो केश हुनाले चार दिन निगरानीमा राखेर बिरामीलाई घर पठाइएको छ। विरामीको अवस्था सामान्य भएको अधिकारीले बताए।
‘नयाँ प्रविधि प्रयोग भएकाले केही कौतुहल, थोरै नर्भसनेस र उत्साहको सम्मिश्रण थियो। अप्रेसन गर्दा नचाहेको केही हुन्छ कि भन्ने डर पनि थियो,’ डा. अधिकारी भन्छन्, ‘हाम्रो लामो र राम्रो तयारी थियो। सबैले आ–आफ्नो भूमिका सफलतापूर्वक पूरा गरेपछि यो प्रविधिको सुरुवात नेपालमा सम्भव भएको हो।’
चिकित्सा क्षेत्रमा सन् २००२ देखि नै यो प्रविधिको प्रयोग हुन थालेको हो। नेपालमा भने यसको सुरुवात हुन २० लाग्यो। यसको प्रमुख कारण महँगो उपचार भएको डा.अधिकारी बताउँछन्। भारतमा कृत्रिम भल्भ प्रत्यारोपणका लागि न्यूनतम ६० लाखभन्दा बढी लाग्छ। अब नेपालमै सुरु भएपछि आधा कममा उपचार सम्भव हुने उनले बताए।
‘नेपालबाट महँगोमा उपचारका लागि अब भारत जानु नपरोस् भनेर यो सेवाको विकास देशमै गरिनुपर्छ,’ डा. अधिकारीले भने, ‘जसले आर्थिक कारण उपचार गराउन सकिरहनु भएको छैन, गंगालालबाट यो सेवा दिनसक्ने पनि बनाउनुपर्नेछ। त्यसको प्रयासमा छौं। सरोकारवालाको पनि ध्यान पुग्नु जरुरी छ।’
Shares
प्रतिक्रिया