कामसँगै सेवा पनि हुने। आकर्षक तलब अनि आत्मनिर्भरता। यस्तै कल्पना गरेर धादिङकी अनिता चेपाङले प्रसन्न हुँदै नर्सिङ विषय पढेकी थिइन्।
उनलाई लागेको थियो– पढेपछि सहजै राम्रो जागिर पाइनेछ। २०७५ सालमा उनले अध्ययन पुरा गरिन्। तर, जागिरका लागि भौँतारिनुपर्दा छाँगाबाट खसेजस्तो भइन्।
‘जागिर पाउन आफ्नो मान्छे चाहिने रहेछ,’ उनले भनिन्, ‘नर्सिङ पढ्न सुझाएकाहरु र आफ्नै रोजाइप्रति रिस उठ्छ।’
सुरुमा जागिर खोज्दै उनी क्लिनिकदेखि अस्पतालसम्म धाइन्। धेरैले उनलाई सुझाव दिए, ‘सुरुमा इन्टर्नसीप गर्नुपर्छ। त्यसपछि मात्र जागिर हुन्छ।’
त्यसपछि ३ महिनासम्म स्वयंसेवक भएर काम गरिन्।
‘चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ३ महिनासम्म स्वयंसेवक भएर काम गरेँ,’ उनी भन्छिन्।
रुकुमकी सोनु डिसी झनै तनावमा छिन्। अत्यन्त कमजोर आर्थिक अवस्थाकी उनले ८ लाख ऋण लिएर नर्सिङ पढेकी थिइन्।
पढेर निकै समय जागिरको खोजीमा भौँतारिएकी उनले तुलसीपुरस्थित रौनियार मेडिकलमा काम पाइन्। सहजै कहाँ हो र? सात महिना स्वयंसेवक हुनुपर्ने सर्तमा।
सात महिना उनले सो निजी मेडिकलमा बिनापारिश्रमिक काम गरिन्। त्यसपछि महिनाको ८ हजार पारिश्रमिक आउन थाल्यो। त्यो पैसाले खानबस्न पनि धौधौ हुन्थ्यो।
सेतो पहिरनमा अस्पताल आउजाउ गर्दा साथीहरु उनलाई भन्थे, ‘नर्सिङ पढेर राम्रो प्रगति गरिस्। अब आफ्नै खुट्टामा उभिइस्।’
तर, यथार्थ कसैले बुझ्दैन। न त उनैलाई बुझाउन मन लाग्छ। बरु बारम्बार आफैँलाई धिक्कारिरहन्छिन्। अरुले इज्जतिलो पेसा भन्दा गिज्याएको भान हुन्छ। उनी जवाफ दिन्नन्, खिसिक्क हाँसेर टार्छिन्।
एक वर्षसम्म मेडिकलमा काम गरेपछि दिक्क भएर केही महिनादेखि उनी घरमै बसेकी छन्। तिर्न बाँकी ऋण सम्झने हो भने डिप्रेसन नै हुन्छ उनलाई।
‘सधैँ यसैगरी बेरोजगार भएर बस्न सकिँदैन,’ उनी भन्छिन्, ‘केही त गर्नुपर्ला। मसँगै पढेका साथीहरु युरोपतिर जान थालेका छन्। केहीले भाषा कक्षाहरु लिइरहेका छन्।’
उनी पनि विदेशिने तयारीमा छिन्।
‘ओभरटाइम गर्दा पनि महिनामा १० हजार पुग्दैन्थ्यो। दिक्क लागेर अब विदेश जाने सोचेकी छु,’ उनले भनिन्।
नवलपरासीकी विपना नेपाली कम तलब, बढ्दो बेरोजगारी र दुर्व्यवहारका कारण निराश हुँदै दुबई पुगेकी छन्।
‘पढाइको ऋण तिर्न नसक्दा व्यर्थै पढिएछ जस्तो भएको छ,’ उनी भन्छिन्।
नेपालमा नर्सिङ पढेकाहरु अधिकांश अनिता, कुसुम र विपनाजस्तै पीडाबाट गुज्रिरहेका छन्।
नर्सिङ संघका अनुसार पीसीएल नर्सिङ पढ्न ६ देखि ८ लाख खर्च लाग्छ। बीएस्सी नर्सिङको लागि १४ देखि १७ लाखसम्म खर्च गर्नुपर्छ। पीसीएल नर्सिङ सक्न तीन वर्ष लाग्छ भने बीएस्सी नर्सिङ सक्न चार वर्ष। यो बीचमा गर्नुपर्ने अन्य खर्च त छँदैछ।
पढाइ खर्च ज्यादा, पारिश्रमिक कम र काम धेरै। अधिकांश नर्सको समस्या यिनै हुन्।
नेपाल नर्सिङ काउन्सिलका अनुसार देशभर नर्सिङ पढाउने तीन सय बढी क्याम्पस छन्। जसबाट वर्षेनि सात हजार नर्स उत्पादन हुन्छन्। तर, स्वदेशमा रोजगारीको अवसर नहुँदा धेरै विदेशिन बाध्य छन्।
अनमी नर्सिङ काउन्सिलका हालसम्म नेपालमा ६२ हजार ७५ जना नर्सले लाइसेन्स प्राप्त गरेका छन्। २०७८ फागुनसम्म ३५ हजार ७ सय २७ जना अनमी र ८ सय ४५ जना विदेशी नर्स गरी नर्सिङ जनशक्ति जम्मा ६७ हजार ५०९ जना छन्।
विदेश गएका र नेपालमै बसेर अन्य काम गरेका नर्सहरुको तथ्यांक नेपाल नर्सिङ काउन्सिलसँग छैन। दर्ता भएकामध्ये लगभग २० हजार नर्स विदेश गएको तथा करिब ५ हजार जनाको मृत्यु भएको काउन्सिलको अनुमान छ। र, अनमीसहित २५ हजारले मात्रै नेपालमा काम गरिरहेका छन्। २५ हजार बढी नर्स नेपालभित्रै बेरोजगार छन्।
मुलुकभर १२० वटा जति सरकारी अस्पतालमा करिब १४ हजार नर्स कार्यरत छन्। निजी क्षेत्रमा कति नर्स छन् भन्ने निश्चित तथ्यांक छैन। तर करिब १५ हजार कार्यरत रहेको अनुमान नर्सिङ काउन्सिलको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ। सुत्केरी वार्डको एउटा बेडमा २ जना नर्स आवश्यक पर्छन्। आईसीयू, सीसीयू र पोस्ट अपरेटिभ वार्डमा एक बिरामी बराबर एक नर्स हुनुपर्ने मापदण्ड छ। त्यस्तै अपरेसन थिएटरमा एक टेबलमा ३ जना नर्स हुनुपर्छ।
हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिडवाइफ समेत गरेर २३ जना स्वास्थ्यकर्मी चाहिने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ।
तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी उपलब्ध छन्।
नर्सहरुको समस्या समाधान र वृत्तिविकास हेर्ने मन्त्रालयले यसमा ध्यान नदिएको नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई बताउँछिन्। स्वास्थ्य मन्त्रालयले नर्सिङ क्षेत्रलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ।
‘सरकारी अस्पतालले नै स्वयंसेवक बनाएर नर्सहरु राखेका् पाइन्छ। विभिन्न ठाउँमा कोटा खाली हुदाँ पनि भर्ती गरेको छैन,’ उनी भन्छिन्, ‘नर्सहरुको श्रम शोषण भइरहेको छ। तर, स्वास्थ्य मन्त्रालयले नसुन्दा चाहेर पनि हामीले केही गर्न सकेका छैनौँ।’
Shares
प्रतिक्रिया