गत माघ २६ गते नेपालगञ्जको रुपैडिया नाकानजिकै भारततर्फको रामबिला चोकमा भीषण आगलागी भयो। प्लास्टिक पाइपको स्टोरमा लागेको आगोले भीषण रुप लिँदा तीनतले घर दनदनी जल्यो।
बिजुलीको तार सर्ट भएर भएको सुरु भएको उक्त आगलागी निभाउन भारतीय पक्षले सीमामा भएका नेपाली प्रहरीलाई गुहार मागे।
सीमा चौकीले जिल्ला प्रहरी कार्यालय हुँदै प्रशासनमा खबर पुर्यायो। प्रशासनले तत्काल नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर दमकल पठाउन निर्देशन दियो।
उपमहानगरको वारुणयन्त्र शाखाका प्रमुख झयनबहादुर खड्कासम्म उक्त खबर पुग्दा राति पौने ८ भइसकेको थियो। खड्काले खबर पाउनेबित्तिकै सम्पूर्ण अग्नि नियन्त्रक टोली तयार पारे।
उपहानगरपालिकाका तीन दमकल र ११ जना कर्मचारी भारतीय क्षेत्रमा लागेको आगो निभाउन खटिए। रातभर नेपाली दमकल र कर्मचारी भारतीय बजारमा लागेको आगो निभाउन खटिए।
‘एकदमै ठूलो आगलागी थियो। प्लास्टिकका सामानले भरिएको तीनतले घर दनदनी बलिरहेको थियो। केमिकल बल्दा आगोका ठूल्ठूला झिल्का निस्कन्थे। साँघुरो ठाउँ भएकाले आगो नियन्त्रणमा लिन चुनौतीपूर्ण थियो,’ खड्काले नेपालखबरसँग भने, ‘आगो निभाउन झण्डै ८–९ घण्टा लाग्यो। बिहान ६ बजे मात्रै नियन्त्रणमा लिन सफल भयौं।’
बिहान नियन्त्रणमा लिएर छाडेको आगो फेरि फैलिएपछि नेपाली दमकल फर्किएर जानु पर्यो।
अघिल्लो हप्ता पनि रुपैडिया भन्सार नजिक एक फुटपाथ गोदाममा आगलागी भयो। त्यसको खबर नेपाली टोलीलाई राति पौने ३ बजे आयो। नेपाली टोली तत्कालै भारतीय क्षेत्रको क्षति रोक्न पुग्यो।
यस वर्ष मात्रै यो खड्काको टोलीले भारतीय भूभागमा लागेको आगो नियन्त्रणमा लिएको यो चौथो पटक हो।
यसअघि गत असार र मंसिरमा पनि नेपाली टोलीले नै भारतीय क्षेत्रको आगो निभाएको थियो। अघिल्लो वर्ष पनि ५–६ पटक नेपाली दमकलहरूले भारतीय भूमीमा लागेको आगो निभाए।
‘सीमानजिक र छिटो पुग्ने भएकाले भारतीय पक्षले हामीलाई गुहार माग्छन्। यस्ता घटना वर्षेनि दोहोरिन्छन्,’ खड्काले भने, ‘सीमा वारपार रोटीबेटीको सम्बन्ध पनि छ। नेपाली दमकलले आगो निभाइदिँदा नागरिकस्तरको सम्बन्ध सुमधुर बनाउन अझै सहयोग पुगेको छ।’
सुनसरीको इनरुवा नगरपालिकाकाले पनि सीमास्थित भारतीय बजार र गाउँमा आगो नियन्त्रणका लागि दमकल पठाउँछन्। नगरपालिकाका दमकल शाखा प्रमुख विनोद भण्डारीले यसवर्ष भारतीय पक्षबाट दमकल माग नभए पनि अघिल्लो वर्षसम्म आफूहरु सीमापारि गएको बताए।
उनका अनुसार फरविसगञ्ज, भीमनगर र जोगवनीमा लागेको आगो नियन्त्रणका लागि नेपाली पक्षसँग अनुरोध आउने गरेको छ। दैवी प्रकोपका बेला सहयोगी बन्न पाउँदा सन्तुष्टि मिल्ने उनी बताउँछन्।
‘यो परस्पर सहयोगको कुरा हो। एक छिमेकीलाई गाह्रो पर्दा अर्को छिमेकीले सहयोग गर्नुपर्छ,’ भण्डारी भन्छन्, ‘धेरै जनजनको क्षति हुनबाट रोक्न सक्दा सन्तुष्टि मिल्छ। त्यहाँका नागरिकले पनि धन्यवाद दिए पठाउँछन्।’
सानो सहयोग भए पनि दुई देशको सम्बन्ध बलियो बनाउन यसले भूमिका खेलेको उनको विश्वास छ।
‘हामी नेपालकै कतिपय भूभागमा पुग्न भारतीय भूमिको प्रयोग गर्छौँ। यस्तै साना कुराले सम्बन्ध सुधार्न मद्दत गर्छ। धेरै नेपालीलाई सहयोग पनि गरेको छ,’ उनले भने।
जनकपुर उपमहानगरपालिकाले पनि भारतमा लागेको आगो नियन्त्रणमा दमकल पठाउँदै आएको छ। अघिल्लो सातामात्रै सीमासँगै जोडिएको मटिहानी बजारमा आगलागी हुँदा जनकपुर उपमहानगरसँग दमकल सहयोग मागिएको थियो।
उपमहानगरका दमकल शाखा प्रमुख नरबहादुर मगरसहितको टोली आधा बाटो पुगेपछि आगो नियन्त्रणमा आइसकेको जानकारी पाएर फर्किएको थियो।
आगलागीजस्ता दैवी प्रकोपमा सीमासँग जोडिएका भारतीय शहरहरूबाट नेपाललाई पनि सहयोग हुँदै आएको छ।
पूर्वी नाका काँकडभिट्टाको जुत्ता उद्योगमा केही समयअघि लागेको आगो नियन्त्रणमा सिलिगुडीबाट भारतीय दमकल आएको मेचीनगर नगरपालिकाका विपद् व्यवस्थापन समितिका सचिव दीपेन्द्र कार्कीले बताए।
Shares
प्रतिक्रिया