एक श्यामश्वेत तस्बिर, जसमा वसन्तपुरको कुमारी घर अगाडि रेलको ट्रयाक देखिन्छ। ट्रयाकको सहायताले मजदुरहरु गाडामा केही सामान ढुवानी गरिरहेका छन्।
शुक्रबार हनुमानढोका दरबार सङ्ग्रहालयस्थित गद्दी बैठकको तल्लो तलामा मरुहिटीकी सविता डंगोल उक्त तस्बिर अचम्मले नियालिरहेकी थिइन्। उनले दुई दशक वसन्तपुरकै परिसरमा बिताइन्।
वसन्तपुरका कुना-कुनाबारे जानकारी राख्ने उनले त्यहाँ रेलको ट्रयाक नै रहेको भन्ने चाहिँ पहिलोपटक तस्बिरमा हेरेर थाहा पाएकी थिइन्।
‘म यही ठाउँमा बस्न थालेको झन्डै २० वर्ष हुन लाग्यो। दैनिक हेरिरहने बसन्तपुर मा पहिले त रेलको ट्रयाक पो रहेछ,’ अचम्मित भावमा उनले भनिन्।
१९९० को भूकम्पले हनुमान ढोका परिसरका संरचनामा क्षति पुर्याएको थियो। खासमा भूकम्पले भत्काएका संरचनाको भग्नावशेषलाई त्यहाँबाट ढुवानी गर्न सजिलो होस भनेर ट्रयाक खोलिएको थियो। मजदुरहरुले गाडामा भग्नावशेष राखेर त्यही ट्रयाकमार्फत बाहिर पठाउँथे।
तत्कालीन दरबारका फोटोग्राफर दीर्घमान चित्रकारले उक्त तस्बिर खिचेका थिए। दीर्घमानका छोरा गणेशमानले पछि ऐतिहासिक तस्बिर संकलनलाई निरन्तरता दिए। उनका छोरा किरणमानले सङ्ग्रहालयको अनुरोधमा बुबा र बाजेले खिचेका ती ऐतिहासिक तस्बिर संकलन गरेर प्रदर्शनीमा राखेका छन्।
पहिले सरकारी कर्मचारीको शपथ खुवाउँदा हनुमान ढोका परिसरकै कालभैरवका अगाडि लगेर सपथ खुवाइन्थ्यो। भष्टाचार गरे कालभैरवले सजाय दिन्छन् भन्ने विश्वास थियो।
सन् १९६० को दशकमा दीर्घमानले कालभैरवको मूर्तिअघि कर्मचारीलाई उभ्याई एकजनाले सपथ खुवाइरहेको अवस्थामा खिचेको ऐतिहासिक तस्बिर पनि प्रदर्शनीमा छ।
यस्तै सन् १९०० मनमोहन चोक, जलाशय नारायण, नौतलेबाट खिचिएका तत्कालीन काठमाडौं नगरभित्रका दृश्यहरु, धरहराबाट देखिएको काठमाडौं दरबार स्क्वायरको, तलेजु मन्दिरको मन्दिर, प्रताप मल्लको प्रस्तर स्तम्भ, त्यसबेलाको वसन्तपुरमा लाग्ने तरकारी बजार, दशैंको समयमा बलिका लागि मूलचोकमा जम्मा पारिएका भेडाबाख्रा लगायत बसन्तपुर क्षेत्रका सय वर्ष पुराना तस्बिरहरु प्रदर्शनीमा राखिएको छ।
सन् १९०० मा नौतले दरबारबाट पूर्वतर्फ मोहडा बनाएर खिचेको मुख्य तस्बिरमा त्यसबेला काठमाडौंको सुन्दर दृश्य देख्न पाइन्छ। शिखर शैलीको लक्ष्मीनारायणको मन्दिर, बालाजु, स्वयम्भू क्षेत्रका एकनासका बस्तीको तस्बिर मनमोहक देखिन्छन्।
यस्तै बसन्तपुरको गद्दी बैठक, जहाँ विदेशी कुटनीतिज्ञहरूलाई राजाले ओहोदाको प्रमाणपत्र दिने चलन थियो। त्यसबेलाको गद्दी बैठक, त्यसभित्रको साजसज्जाका तस्विरसमेत प्रदर्शनीमा राखिएको छ।
‘तत्कालीन समयको आर्थिक, सामाजिक, सांस्कृतिक समाज बुझ्न र अध्ययन गर्न यी तस्बिर एकदमै महत्वपूर्ण छन्,’ हनुमान ढोका संग्रहालयका प्रमुख सन्दीप खनाल भन्छन्, ‘आज र हिजोको परिवर्तन फोटोबाट महसुस गर्न सकिन्छ। अध्येता, विधार्थी, अन्यलाई पनि यी तस्बिर अभिरुचिको खुराक होस् भनेर प्रदर्शनीमा राखिएको हो।’
असार अन्त्यसम्म चल्ने प्रदर्शनी अवलोकनका लागि दैनिक दुई सय बढी अवलोकनकर्ता आउने गरेको खनाल बताउँछन्। पुराना तस्विरको मद्दतमा सम्पदा पुनर्निर्माणका क्रममा पुरानै अवस्थामा स्थापित गर्न समेत मद्दत पुगेको खनालले बताए।
यो पनि: ढुकुटीघरमा छन् रानी राजराजेश्वरीले सती जानुअघि देउतालाई चढाएको गहना (भिडिओ)
‘कुनै पनि सम्पदा पुनर्निर्माण गर्दा जस्तो छ त्यस्तै स्वरुप परिवर्तन नहुने गरि निर्माण गर्नुपर्ने हुन्छ। कतिपय बेला त्यसबेलाका तस्बिर, डकुमेन्ट नहुँदा अप्ठारो पर्छ,’ खनालले भने, ‘यस्ता फोटोग्राफरले पहिले सम्पदाको पुरानो स्वरुप कस्तो थियो भन्ने थाहा पाउन एकदमै धेरै मद्दत गरेका छन्। त्यसले पुनर्निर्माणमा समेत सहयोग पुर्याएको छ।’
तस्बिर संकलन किरणमान चित्रकारले आफूले बहुत मिहिनेतले पुराना स्लाइडहरुलाई जोगाएर नेपालको ऐतिहासिक सम्पत्ति जोगाएको भन्दै आगामी दिनमा यसको संरक्षणमा सम्बन्धित क्षेत्रले जोड दिनुपर्ने बताए।
‘मैले अहिलेसम्म बुबा बाजेले खिचेका सयौं वर्ष अगाडिका तस्बिरहरु संरक्षण गरेर राखेको छु। कति तस्बिरहरु भूकम्पका बेला बिग्रिएर गए,’ किरणमानले भने, ‘अहिले मसँग भएका जति पनि ऐतिहासिक तस्बिर छन् प्रदर्शनीका लागि सरकारले व्यवस्था गरिदिए म उपलब्ध गराउन तयार छु।’
भिडिओ:
भिडियो : विजय सिंह/नेपालखबर
Shares
प्रतिक्रिया