समाज


म्यादीको लाइन : जहाँ देखिन्छ बेरोजगारीको अत्यास लाग्दो दृश्य

‘फौजी’मा फेल भएकादेखि उच्च शिक्षा पढेकासम्म
म्यादीको लाइन : जहाँ देखिन्छ बेरोजगारीको अत्यास लाग्दो दृश्य

म्यादीमा भर्ना हुन लाइन लागेका युवतीहरु। तस्बिर : विक्रम राई/नेपालखबर


यज्ञराज जोशी
चैत ७, २०७८ सोमबार १८:२०, काठमाडौँ

दोलखाको चरिकोटकी रमिला श्रेष्ठ परिवारसँग शंखमुल बस्छिन्।  डेरामा बुबा, आमा, भाइ, बहिनी छन्। परिवारको जेठो सन्तानका नाताले आर्थिक जिम्मेवारी उनकै काँधमा छ। 

पुराना कागजहरूको पुनर्प्रयोगसम्बन्धी काम गर्दै उनले जसोतसो काठमाडौं बसेर भाइबहिनीको खर्चको जोहो गर्दै आएकी थिइन्। 

काठमाडौंमा जसोतसो जीविका चलाउँदै आएको उनको ध्यान आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीको सूचनाले तानेको छ। उनी त्यही अवसरबाट वञ्चित नहुन भर्ना हुन चाहन्छिन्

‘अहिलेको कामबाट आम्दानी राम्रो छैन। घरको आर्थिक अवस्था कमजोर भएर भर्ना हुन आएकी हुँ,’ आइतबार जावलाखेल प्रहरी परिसरमा म्यादी प्रहरीको आवेदन फाराम बुझाउने लाइनमा भेटिएकी रमिलाले भनिन्, ‘जेठो सन्तान भएपछि जिम्मेवारी काँधमा हुने रहेछ। आफूले केही गर्न नसके पनि भाइ बहिनीहरूलाई दुःख नहोस भनेर यता आएकी छु।’

स्नातक प्रथम वर्षमा अध्ययनरत रमिला चरिकोटमा केही अवसर नपाएपछि काठमाडौं हानिइन्। काठमाडौंमा गाडी चढ्न, पानी पिउन र शौचालय जान समेत पैसा चाहिन्छ। पाइला पाइलामा पैसा चाहिने भएकाले पढाईसँगसँगै काम गर्नुपर्ने बाध्यता उनमा छ। 

‘आफ्नो ठाउँ छोडेर अन्त बस्न कसैलाई रहर हुँदैन। तर रोजगारी नहुँदा थुप्रै पीडा हुन्छ,’ रमिलाले भनिन्, ‘नाम निस्किनु ननिस्किनु आफ्नो ठाउँमा छ। आफूले केही गर्न सक्दिन भनेर हार मान्ने पनि हुँदैन। सायद नाम पनि निस्केला।’

म्यादीमा भर्ना हुन आएका अनुहारमा गरिबी र आर्थिक अभावको एकै पीडा छ।

प्रायः जवानहरू रहेको टेकुस्थित काठमाडौं प्रहरी परिसरको लाइनमा ३६ वर्षीय सीता ओझा पनि भेटिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनले म्यादी बन्न सुर कसेकी हुन्। 

‘गरिबीका कारण म म्यादी प्रहरीमा भर्ना हुन आएकी हुँ,’ सीताले भनिन्, ‘थोरै कमाई भयो भने छोराछोरीलाई पढाउन र घरखर्च चलाउन सकिने आश छ।’

सीताका श्रीमानको खुट्टाको अपरेसन भएको छ। उनी अहिले हिँडडुल गर्न सक्दैनन्। छोराको आँखामा मोतियाविन्दु भएका कारण धमिलो देख्छन्। परिवारको खर्च उनी आफैँले धान्नुपर्ने अवस्था छ। 

‘म जस्तो गाह्रो साह्रो पनि संघर्ष गरेर हेर्छु भनेर आएकी हुँ। परिवारमा छोराछोरीले पनि हाम्रो आर्थिक स्थिति कमजोर छ, जानुस् भनेर स्वीकृति दिएर आएँ,’ सीताले भनिन्, ‘सरकारले हामीजस्ता गरिबलाई हेर्दैन नि। पहुँच र आफन्त छन् भने जागिर पाइन्छ नत्र त यसैगरी लाइन लागेर केही हुने आश गर्ने हो।’

ललितपुरको लुभुकी सनिता श्रेष्ठको अवस्था पनि सीताको जस्तै छ। एक सन्तानकी आमा उनी पनि आर्थिक अवस्था कमजोर भएकैले घण्टौँ लाइनमा उभिएर म्यादी प्रहरीको फारम भरिन्। 

‘जागिर नभेटेपछि बाध्यताले बेरोजगार भएर आएकी हुँ,’ सनिताले भनिन्, ‘केही भए पनि घरपरिवार चलाउन, छोराछोरी पढाउन हुन्छ। यही फिल्डमा काम गर्दा पनि यही अनुभवले काम गर्ला कि भन्ने लागेर आएकी हुँ।’

ललितपुर परिसरकै लाइनमा बसेकी पुल्चोककी निर्जना महर्जन म्यादी प्रहरीका लागि देखिएको लाइनले देशमा बेरोजगारीको अवस्था चित्रण गरेको बताउँछिन्। 

‘यहाँ हेर्दा धेरैजना बेरोजगार देखियो। सानोदेखि ठूलेसम्म सबै लाइनमा छन्,’ निर्जनाले भनिन्, ‘दुई महिना भए पनि राहात हुन्छ भनेर धेरैजना लाइन लागेको देखियो। यही हेर्दा रोजगारी सिर्जना गर्न सबैको ध्यान पुग्नुपर्ने देखिन्छ। देशमै रोजगारी भए धेरै समस्या समाधान हुने रहेछन्।’

भिडिओ

म्यादीमा आवेदन दिने लाइनमा नेपाली सेना, सशस्त्र र प्रहरी छनोटमा फेल भएकाहरु समेत भेटिए। 

ललितपुरको लेलेका २१ वर्षीय अच्युत कुमार महताले दुई वर्षअघि नै सेनामा जागिरका लागि आवेदन दिएका थिए। तर छनोटमा उनी असफल भए। अझै एकवर्ष सेनामा भर्ना हुन पाउने उमेर छ। तर घरमै बसेका बेला फुर्सदको समय सदुपयोग गर्न आवेदन दिएको बताए। 

‘अनुभव पनि हुन्छ। आर्मी, पुलिस फिल्डमा जान सजिलो पनि हुन्छ। अरुलाई कसरी सम्मान गर्ने र अनुशासनमा बस्ने पनि सिकिन्छ,’ महताले भने, ‘घरमै बेरोजगार बसिरहेको थिएँ। खुलेको बेला दिइहालौँ भनेर आएँ।’

इमाडोलमा बस्दै आएका अन्जन राना मगरले पनि असईमा छनोट नभएपछि म्यादीमै ४० दिने जागिर खाने आँट गरेका छन्। प्रहरीमा जागिर पाउन अझै दुई वर्ष बाँकी रहेकाले यहाँको अनुभव उता काम लाग्ने विश्वास उनको छ। 

चैत ११ गतेसम्म आवेदन दिन पाइने म्यादी प्रहरीका लागि आइतवार पहिलो दिन उपत्यकाका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लाइन थियो। काठमाडौं परिसरले २ हजार ७ सय ६७ जना, ललितपुर परिसरमा १२ सय ५ र भक्तपुरमा साढे ७ सय जनाको भर्ना गर्ने कोटा छ। 

देशभर एक लाख म्यादी भर्ना गर्ने सरकारले निर्णय गरेको छ। आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ। १८ वर्ष पूरा भएका ५४ वर्षसम्मका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन्। 

यसअघिका म्यादी प्रहरी र भूतपूर्व सुरक्षाकर्मीले प्राथमिकता पाउने छन्। छनौट भइसकेकालाई एक साता तालिम दिएर खटाइनेछ। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउने छन्।

चैत १५ गतेबाट छनौट सुरु हुनेछ। अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनौट हुनेलाई चैत २८ गतेबाट प्रशिक्षण दिइने छ।

म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउनेछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .