समाज


पाउरोटीकी पारखी अरुणा उप्रेती कसरी भइन् बजारिया खानाकी विरोधी?

पाउरोटीकी पारखी अरुणा उप्रेती कसरी भइन् बजारिया खानाकी विरोधी?

राधिका अधिकारी
चैत १५, २०७८ मंगलबार ८:३९, काठमाडौँ

‘मेरा छोराछोरीले त खाना खानै मान्दैनन्, दुब्लाएर टाट भइसके, के गर्ने? उनीहरुलाई त चकलेट र आइसक्रिम मात्र भए पुग्छ,’ धेरै बाबुआमाका यस्तै गुनासो सुनिरहन्छिन् डा. अरुणा उप्रेती। वास्तवमा यसो भन्ने घरका केटाकेटीमा नभएर बाबुआमामै समस्या देख्छिन् उनी। 

‘जबसम्म बाबुआमाले आफ्नो बानीबेहोरा सुधार गर्दैनन् तबसम्म केटाकेटीको खानासम्बन्धी बानीबेहोरा सुधार गर्न सकिँदैन,’ उनी भन्छिन्, ‘प्रायः बाबुआमाहरु आफ्नाकेटाकेटीले पौष्टिक खानेकुरा खाऊन्, स्वस्थ रहून् भन्ने चाहना राख्छन्। तर चाहनाअनुसार गर्दैनन् र केटाकेटीको खाने बानी क्रमशः बिग्रिँदै जान्छ।’

गाउँघरतिर बच्चालाई भान्सामा जे पाक्छ, त्यही दिने गरिए पनि सहरका बच्चालाई भने मिठा खानेकुराको बहानामा जंकफुड दिने गरेको उनी बताउँछिन्। 

‘आमाबाबुले के थाहा पाउँदैनन् भने प्रायः बट्टाका महंगा खानेकुरा हामीले घरमा प्रयोग गर्ने अन्नबाटै बनेका हुन्छन्। तर बजारिया खानेकुरामा अत्याधिक चिनी मिसाएर गुलियो बनाइएको हुन्छ। गुलियो भएकै कारण बालबालिकाले मन पराउँछन्। तर यी खानेकुरामा पौष्टिक तत्व चाहिँ २० गुणाले कम हुन्छ,’ अरुणा भन्छिन्, ‘बजारका यस्ता खानामा बानी परेका बालबालिकाले घरको खाना खान मान्दैनन्। बाबुआमाले पनि आफ्ना बच्चा खुसी पार्न बजारको खानेकुरा किनेर दिन्छन्।’ 

यसरी नै बालबालिकालाई बाबुआमाले खानाको नाममा पत्रु खाना खुवाएर उनीहरुको स्वास्थ्यसँग खेलेकोमा उनी चिन्ता व्यक्त गर्छिन्। 

यसरी पत्रु खानालाई महत्वका साथ आफ्नो भान्सामा भित्र्याउन थालिएको लामो समय भएको छैन। डा. अरुणा आफ्नो हुर्किंदाको समय सम्झना गर्दै भन्छिन्, ‘हाम्रो समयमा हाम्रो भान्सा नै संसार थियो। भान्सामा जे पाक्थ्यो, त्यसैले पेट भर्ने र खुसी हुने हाम्रो समयका बालबालिका अहिले वृद्धावस्थाको जीवन पनि स्वस्थकर बिताइरहेका छन्।’

बाल्यकाल सम्झिँदा अरुणालाई मन लागेर पनि खान नपाएको पाउरोटीको याद आउँछ। त्यतिबेला अहिले जस्तो बजारका खानेकुराको चलन थिएन। अहिलेको जस्तो थरीथरीका ब्रान्डका खानेकुरा पनि पाइँदैनथ्यो। त्यो बेला पाइने भनेकै पाउरोटी थियो। त्यो पनि उनको घरमा भित्रिँदैनथ्यो। एक त उनको परिवार ठूलो थियो। एक पुरिया पाउरोटी ल्याएर कसलाई भाग लगाउने। अर्कोतिर महंगो पनि। 

अरुणालाई मह दलेर, चियामा चोपेर पाउरोटी खान मन लाग्थ्यो। एकताका अरुणाले चाउचाउ पनि खाइन्। रसियाबाट पढेर फर्किएपछि अस्पतालमै काम गर्दा हो, खाजामा अरुणाले चाउचाउ खाएको। अस्पतालले नै खाजाका रुपमा चाउचाउ दिन्थ्यो। चाउचाउका बारेमा धेरै ज्ञान नभए पनि उनलाई नुन अत्यधिक लाग्थ्यो। त्यही समय कामको सिलसिलामा विभिन्न ठाउँमा पुगिन्। जहाँ पुग्थिन्, केही मात्रामा बच्चामा कुपोषण देख्थिन्। त्यसपछि उनले अध्ययन गरिन्। कुपोषित धेरै बच्चाले घरको खानाको सट्टा बजारका खानेकुरा खाएको थाहा पाइन्। त्यसपछि खानेकुरामाथि उनले अध्ययन सुरु गरिन्। त्यही समय रैथाने खानेकुराको महत्व उनले बुझ्दै गइन्। अध्ययनपछि उनले बजारिया खानालाई पत्रु खानाको संज्ञा दिएर बोल्न थालिन्।

बजारमा सरल रुपमा पाइने, मानिसहरुले दैनिक जीवनमा अत्यधिक प्रयोग गरिरहेका खानेकुरालाई पत्रु खाना भनिरहेकी अरुणासँग विमति राख्ने थुप्रै मानिस छन्। तर उनी यी खानेकुराका विरुद्धमा बोल्न छाडेकी छैनन्। बिस्तारै उनको भनाइसँग सहमति जनाउने मानिस पनि बढ्दै गएका छन्। स्कुलहरुले आफ्ना विद्यार्थीलाई बजारिया खानेकुरा टिफिनमा ल्याउन बन्देज गरेका छन्। सरकारले पनि स्कुलको दिवा खानामा बजारिया खानेकुरा नखुवाउनु भनेर नीति नै बनाएको छ। यसबाट उनी खुसी छिन्। तर यो नियम प्रभावकारी ढंगले लागू नभएको उनको गुनासो छ। 

पत्रु खानाका कारण पछिल्लो समय मानिसहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएकोप्रति अरुणा चिन्तित सुनिन्छिन्। 

‘सन् १९९६ मा जम्मा २ प्रतिशत मानिसमा मोटोपनाको समस्या थियो। सन् २०१६ मा त्यो बढेर २२ पुगिसकेको छ,’ उनी भन्छिन्, ‘मान्छेको स्वास्थ्य राम्रो होस् भन्ने हो भने दैनिक जीवनशैली र स्वस्थ खाना खानु पर्छ भनेर त्यति छलफल भइरहेको पाइँदैन। जसले गर्दा मानिसहरुको पत्रु खानाप्रतिको आकर्षण बढ्दो छ।’

यी खानेकुरा (पत्रुखाना) नेपालीको घरघरमा पुगेकाले पनि यो ठिकै हो भन्ने भ्रम मानिसहरुमा परेको अरुणा बताउँछिन्। बजारिया खानेकुराको अत्यधिक विज्ञापनले पनि मानिसहरुमा भ्रम पैदा गरेको उनको धारणा छ। अब यी विज्ञापन गलत हुन भनेर छलफल र बहस हुनुपर्ने बताउँदै अरुणा भन्छिन्, ‘यो विषयमा आमसञ्चारले पनि बोल्नु पर्ने बेला भइसक्यो।’ 

सरकारले, स्वास्थ्य मन्त्रालयले पनि आफ्ना जनताको स्वास्थ्यका लागि बोल्नु पर्ने उनको धारणा छ। धेरै मानिसहरुले उनलाई प्रश्न गर्ने गरेका छन्, ‘तपाईंले पत्रु भनिरहेका चिज असाध्यै पौष्टिक खाना हुन् भनेर विज्ञापन आइरहेको हुन्छ। ती विज्ञापन गलत भए स्वास्थ्य मन्त्रालयले किन केही बोलिरकेको छैन?’ 

उनीसँग गलितो जवाफ हुँदैन्। हुन त भ्रमपूर्ण विज्ञापन गर्न नपाइने, गरेको खण्डमा दण्ड सजाय हुने नीति पनि छ। अरुणा भन्छिन्, ‘भएका नीति कार्यान्वयन नहुँदा हाम्रा बालबालिकाहरुको स्वास्थ्य खराब भइरहेको छ।’

घरमा बन्ने लिटो, हलुवा, जाउलो, दाल तरकारी खानुपर्ने बच्चालाई बजारका चाउचाउ, बिस्कुट, कुरमुरे खान दिनाले उनीहरुको मिर्गौलामा असर गरिरहेको अरुणा बताउँछिन्। धेरैले घरको खानेकुरा खानै नमानेर पेट भर्नकै लागि पनि बजारको खानेकुरा खान दिएको बताउँछन्। यो सुन्दा अरुणाको मन अमिलो हुन्छ। 

‘आजभन्दा ३०–४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टाका महँगो गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चाहरुलाई लिटो, जाउलो, आदि बनाएर खुवाउने गरिन्थ्यो र उनीहरु स्वस्थ पनि हुन्थे,’ उनी भन्छिन्, ‘त्यसैले बच्चालाई बजारका महँगा खाना चाहिन्न। शिशुलाई विज्ञापनको भरमा नपरेर घरमै बनाएको खानेकुरामा जोड दिनुपर्छ। बजारका खाने कुरामा कुहिएको वस्तु हालेको छ भने पनि थाहा हुन्न र विष शरीरमा जान्छ।’ 

सानैदेखि बच्चाले हरियो तरकारी थुक्ने, दाल देखे नाक खुम्च्याउने गर्दा धेरै आमाबुबा हाँसेको उनले देखेकी छिन्। आमाबाबुको हाँसोमा रमाइलो मानेर बालबालिकाले त्यो बानीलाई निरन्तरता दिने र घरको खाना खाँदै नखाने बानीको विकास गर्ने अरुणाको भनाइ छ। त्यसैले घरमा भएका खानेकुरा थुक्ने, नाक खुम्च्याउने बानीलाई बढावा नदिन सुरुबाटै उनीहरुलाई यो गलत बानी हो भनेर सिकाउनुपर्ने उनको सुझाव छ। 

‘आमाबुबाहरु विचार गर्नुस! चाउचाउ, चिप्स, कुरमुरे खान दिँदा त्यसमा रहेको नुनले हाम्रा बालबालिकाको मिर्गौलामा नराम्रो असर गर्छ। बच्चालाई स्वस्थकर खाना दिएर उनीहरुको भविष्य बलियो बनाउने कि फोस्रो माया देखाएर उनीहरुको मिर्गौला र मुटु बिगार्ने, तपाईंकै हातमा छ।’

अघिल्लो पुस्ताका थोरै मानिसले ६०/६५ वर्षको उमेरमा झेलेका रोग अहिलेका अधिकांश युवाहरुले झेलिरहेका छन्। पहिला थोरै मानिसलाई बुढ्यौलीमा लाग्ने, सुगर, प्रेसर, दमजस्ता रोग अहिले २५/३० वर्षका युवायुवतीमा देखिन थालेको छ। यी सबै समस्या पत्रु खानाले निम्त्याएको अरुणाको बुझाइ छ। 

‘अब हामीले यी खानेकुराको बारेमा बोलेनौँ भने मानिसहरुलाई पछि झन् समस्या पर्छ। खाली अस्पताल, डाक्टर, औषधि मात्रै भएर समस्या समाधान हुन सक्दैन,’ उनी भन्छिन्, ‘अब यी खानाका बारेमा बहस, छलफल र चिन्तन हुनु जरुरी छ। मनिसहरुले आफ्नो जीवनशैली र खानपान सुधार्नु जरुरी छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .