ad ad

समाज


‘मैले योनिमा मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?’

‘मैले योनिमा मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?’

राधिका अधिकारी
जेठ ६, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

बुधबार साँझदेखि एकाएक बाहिरिएको एउटा दर्दनाक घटनाले अन्ततः सडक आन्दोलनको स्वरुप लिएको छ। एक किशोरीले आफूमाथि यौनहिंसा भएको सामाजिक सञ्जालमार्फत बताएपछि यसले स्वतःस्फूर्त आन्दोलनको स्वरुप लिएको हो।

हिंसामा परेकी किशोरीको समर्थनमा शुक्रबार बालुवाटारमा प्रदर्शन भयो। प्रदर्शनका लागि पनि सामाजिक सञ्जालबाटै आह्वान गरिएको थियो। 

१६ वर्ष पुग्न लागेकी एक नावालिकाले २०७१ सालमा मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा सञ्चालकले आफूलाई बलात्कार गरेको भिडिओ बयानमार्फत खुलासा गरेकी छिन्।

उक्त खुलासापछि सामाजिक सञ्जालमा पीडकलाई कारबाहीको माग भइरहेको छ। बुधबार सार्वजनिक भएको यो घटनालाई लिएर प्रहरीले अनुसन्धान समेत सुरु गरेको छ। 

शुक्रबार बिहान स्वतःस्फूर्तरुपमा प्रधानमन्त्रीनिवास बालुवाटार घेर्न जाने तयारीमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीबाट अगाडि बढ्न दिएन। प्रहरीले रोकेकै स्थानमा भएको प्रदर्शनमा सहभागीहरुले पीडित किशोरीलाई न्याय माग्दै नाराबाजी गरे।

उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरे। बलात्कारको घटनामा एकवर्षे हद म्यादको प्रावधान हटाउन उनीहरुले माग गरे।

प्रदर्शनमा भेटिएकी अधिकारकर्मी एवं सामाजिक अभियन्ता हिरादेवी वाइबा बलात्कारीलाई गरिने कारबाही कमजोर भएर नै समाजमा यौनजन्य हिंसा बढिरहेको तर्क गर्छिन्। 

कार्यक्रममा भाग लिनपुगेकी एक किशोरीले सेतो कागजमा लेखिरहेकी थिइन्– ‘मैले योनिमा मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?’

प्रदर्शनका क्रममा प्रदर्शनकारीले यस्ता नारा लगाए–

‘कानुन मार्ने को रै’छ ? बलात्कारी पो रै’छ!

बलात्कारले पोलेको, खोइ राज्य बोलेको?

महिलाविरोधी होसियार! पीडितलाई न्याय दे!

यौनहिंसा बन्द गर!’

बलात्कार मुद्दा दर्ताका लागि एक वर्षको हद म्याद खारेज गरिनुपर्ने उनीहरुको माग थियो। प्रदर्शनमा सहभागी अन्शु खनाल भन्छिन्–

‘बलात्कार पीडितलाई हाम्रो सामाजिक संरचनाले गर्दा तत्काल बोल्न गाह्रो छ। म पीडामा परेँ भनेर बोल्दा अझै धेरै पीडा सहनुपर्ने अवस्था यथावत् नै छ। नजिकका मान्छेलाई भन्दा पनि साथ दिँदैनन् भन्ने कुरा त यही घटनाबाट पनि पुष्टि भइसक्यो। शिक्षित, चेतनशील भनिएको मानिसले त यौनहिंसामा परेकालाई साथ दिँदैनन् भने सोच्नुहोस्, सामान्य मान्छेले कसरी आफन्तका पीडा लुकाएर राखेका होलान्? यसर्थ  पीडितले जहिले बोल्ने हिम्मत जुटाउन सक्छ, त्यही दिन मुद्दा दर्ता गराउन पाउनुपर्छ। यो वर्षमात्रै होइन, दशक नै किन नबितोस्!’

हदम्यादले पीडकहरुलाई ‘फेवर’ गर्छ : हिरादेवी वाइवा
यो सडक आन्दोलन गर्नुपर्ने विषय होइन। तर यस्ता आन्दोलनहरुले उत्पीडकहरुलाई थ्रेट हुनेछ। यो आन्दोलनमा सरिक हुन आउनुभएका तपाईंहरुलाई आभार भन्नुपर्ने हो। तर, आभार प्रकट नगर्दा पनि हुन्छ। किनभने हाम्रो समाजमा जति पनि हिंसामा परेका महिलाहरु छन्, उत्पीडनमा परेका महिलाहरु छन् दोहोरो–तेहरो उत्पीडनमा परेका महिलाहरु छन् यो देशमा। हिंसामा परेका ती सबै महिलाहरुका लागि यो आन्दोलन हो। हाम्रो यो साथले उनीहरुले आफ्नो पीडाका बारेमा बोल्न सधैं हिम्मत गर्नेछन्।

हाम्रो देशको राज्य संरचना, देशका संयन्त्र, देशका अन्य अवयवहरु कति पितृसत्तात्मक छन् भन्ने कुरा उनीहरुले निर्माण गरेको हदम्यादले हामीलाई देखाइरहेको छ। हदम्यादले कसलाई सहयोग गर्छ? हदम्यादले पीडकहरुलाई ‘फेवर’ गर्छ।

एउटा पीडितलाई आफूले भोगेको हिंसासँग लड्न लामो समय लाग्छ। हाम्रो सामाजिक संरचना, हाम्रो सामाजिक मनोविज्ञान कहिले पनि पीडितको पक्षमा छैन। यहाँका हरेक संयन्त्रले जहिले पनि पीडितले बोल्नेबित्तिकै ‘तैंले यसो गरिस् होला, तैँले यो गरिस् होला’ भनेर हिंसालाई जस्टिफाई गर्छ। यसरी हिंसा र हिंस्रकलाई जस्टिफाई गर्ने, पैरवी गर्ने, पुनर्स्थापना र संरक्षण गर्ने राज्यसत्ता र यसका संरचनाका विरुद्ध हाम्रो आवाज हो यो।

यो आवाज आज मात्रै होइन, जुन दिनसम्म महिला हिंसाका साना–साना घटनाहरु बाहिर आउँछन्, जुन दिनसम्म महिला हिंसाका शृंखलाबद्ध घटना भइरहन्छन्, त्यति बेलासम्म बुलन्द रहनेछ।

हाम्रो आन्दोलनको आयाम कहिले पनि सडक आन्दोलन मात्रै होइन। सडक आन्दोलन महत्त्वपूर्ण हो, यति हुँदा पनि आन्दोलनका विभिन्न आयामहरु हुन्छन् भन्ने हामीले बिर्सिनुहुँदैन। हामीले सामाजिक सञ्जालमा लेखेर हुन्छ, पत्रपत्रिकामा बोलेर हुन्छ, मिडियाका अन्य प्लेटफर्ममा आफ्नो आवाज पुर्याएर हुन्छ अथवा यसैगरी सडकमा उभिएर सामूहिक आवाज दिएर हुन्छ सधैँ हामी हिंसापीडितको पक्षमा उभिनेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .