ad ad

समाज


ताराको जहाज दुर्घटना : रोजिना र रविनासँगै मुक्तिनाथ दर्शन गर्न नपाई अस्ताए गणेश र रश्मी

ताराको जहाज दुर्घटना : रोजिना र रविनासँगै मुक्तिनाथ दर्शन गर्न नपाई अस्ताए गणेश र रश्मी

सागर न्यौपाने
जेठ १६, २०७९ सोमबार १४:८, काठमाडौँ

छोरीहरू अमेरिकाबाट आएपछि गणेशनारायण श्रेष्ठले पोखरा घुम्न जाने योजना बनाए।

यसपटक दुई छोरीहरू नै भएकोले श्रीमतीलाई पनि सँगै लग्ने उनको योजना थियो।

कम्तीमा एक हप्ता घुमेर फर्किने योजनासहित ५२ वर्षे गणेश, ४८ वर्षे श्रीमती रश्मिसहित छोरीहरू २५ वर्षे रोजिना र २२ वर्षे रविना केही दिनअघि पोखरा लाग्यो।

आइतबार बिहानै मुक्तिनाथ दर्शन गर्न जोमसोम जाने उनीहरुको कार्यक्रम थियो।

तर, मौसमका कारण ढिलाइ भयो। 

तारा एयरको विमान ९ : ५५ मा पोखरा एयरपोर्टबाट जोमसोमका लागि उड्यो।

त्यही विमानमा थिए–श्रेष्ठ परिवार।

विमान उडेको १२ मिनेटमै मुस्ताङको थासाङ गाउँपालिका पुगेपछि बाक्लो कुहिरोमा परी विमान टावरसँग सम्पर्कविच्छेद भएर बेपत्ता भयो। आइतबार नभेटिएको विमान सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो। जसमा यात्रा गरिरहेका श्रेष्ठ परिवारसहित सबै २२ जना यात्रु मृत भेटिए। 

शहीद लखन गाउँपालिका वडा नम्बर ५ तीनमाने स्थायी घर भएका गणेशनारायण श्रेष्ठ उनकी श्रीमती र दुई छोरी दुर्घटनाग्रस्त तारा एयरको विमानमा परेको पालिका अध्यक्ष रमेश बाबु थापा मगरले पुष्टि गरे। 

श्रेष्ठ पेशाले कम्प्युटर इन्जिनियर हुन्। दुइटै छोरीहरू अमेरिकाबाट नेपाल आएका बेला पारेर उनी श्रीमतीसहित पोखरा हुँदै जोमसोम घुम्न निस्किएका हुन्।

‘पोखरा घुम्न निस्कनुभएको रहेछ, अमेरिकाबाट छोरीहरू आएकाले मुस्ताङको जोमसोम पनि घुमेर फर्कौँ भनेर आज उता लाग्नुभएको रहेछ, दुर्घटना भएको खबर सुन्नुपर्यो,’ पालिका अध्यक्ष थापा मगरले नेपालखबरसँग भने, ‘म अहिले पोखरा छु।’  

गोरखा स्थायी घर भए पनि श्रेष्ठ परिवार काठमाडौंबाट सिधै पोखरा गएको बुझिएको उनले जानकारी दिए।

साताअघि छोरीहरू रोजिता र रविना अमेरिकाबाट नेपाल आएका हुन्।

जेनेटिक इन्जिनियरिङ अध्ययन गरिरहेकी जेठी छोरी रोजिना बिदा मनाउन नेपाल आएकी थिइन्।

अर्की छोरी रविना काठमाडौंको बूढानीलकण्ठबाट ए लेभल सकाएर अघिल्लो वर्ष (२०७८) मा मात्र अमेरिका गएकी हुन्।

इन्जिनियर थिए गणेश

गणेश कम्प्युटर इन्जिनियर थिए।

उनी २०४८ देखि पुतली सडकमा रहेको मर्कन्टाइलमा इन्जिनियरको काम गर्थे। पछिल्लो दिन उनले कम्युटर सम्बन्धि आफ्नै कम्पनी खोलेर काम गरिरहेको स्थानीयले बताएका छन्।

गणेशका छोरा भने अमेरिकामै इन्जिनियरिङ गरिरहेका छन्।

‘सन्तानमा सबैभन्दा ठूलो छोरा हुन्। त्यसपछिका दुई छोरी हुन्,’ पालिका अध्यक्ष थापामगरले स्थानीयको भनाई उधृत गर्दै भने, ‘ छोरी दुईवटै अमेरिकाबाट विदा मनाउन आउनुभएको रहेछ।’

दुर्घटनाको खबर सुन्ने वित्तिकै शहीद लखन गाउँपालिकामा सन्नाटा छाएको छ।

खबर सुन्नेबित्तिकै चिनजानका व्यक्ति पोखरा पुगिसकेका छन्।

तर उनीहरु जीवित हुने आसले पोखरा पुगेका आफन्त पनि निराश हुनुपरेको छ। दुर्घटनामा परेको जहाजका सबै यात्रु मृत भेटिएका छन्। 

श्रेष्ठका आफन्त भने गहिरो शोकमा डुबेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .