ad ad

समाज


अनुसन्धानमा खुलेन बलात्कार गर्ने दोस्रो व्यक्ति : किशोरीले चिनिनन्, मनोज पाण्डेले भनेनन्

अनुसन्धानमा खुलेन बलात्कार गर्ने दोस्रो व्यक्ति : किशोरीले चिनिनन्, मनोज पाण्डेले भनेनन्

उजिर कार्की
असार १, २०७९ बुधबार २०:३३, काठमाडौँ

किशोरी बलात्कार गर्ने दोस्रो व्यक्ति पत्ता लगाउन प्रहरीले नसेकेको देखिएको छ। मनोज पाण्डेले अरुलाई पनि बलात्कार गर्न लगाएको बताए पनि त्यो व्यक्ति को थियो भन्ने अनुसन्धानबाट पनि खुल्न नसकेको हो। 

मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता भएपनि अरु व्यक्तिको भने पहिचान उल्लेख छैन। मनोज पाण्डेले उक्त घटना इन्कार गर्दै बयान दिएका छन्। 

किशोरीले आफूमाथि अनामनगरको एक होटलमा अर्को व्यक्तिले पनि बलात्कार गरेको बताएकी छन्। तर ती व्यक्ति को थिए भन्ने आफूले नचिनेको उनको बयान छ। 

पाण्डेले द्वारीका होटल तथा होटल रेजेन्सी, एभरेष्ट होटल र अनामनगरको एक होटलमा बलात्कार गरेको अभियोजनमा उल्लेख छ।

मनोज पाण्डेले आफूलाई अनामनगरको होटलमा बोलाएको र त्यहाँ पुग्दा पहिले नै एक जना अपरिचित पुरुष बसिरहेको किशोरीले बताएकी छन्। 

‘मनोज पाण्डेले ती व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर हेर्छु भनि त्रासपूर्ण तरिकाले भने’, ती किशोरीको बयान छ। 

पाण्डेविरुद्ध त्यो अपरिचित व्यक्तिसँग पनि जबरजस्ती करणी गराई बेस्यावृत्ति गर्न बाध्य पारेको अभियोग छ। तर ती व्यक्ति को थिए भन्ने आफूले नचिनेको उनले बताएकी छन्। 

पाण्डेले सौन्दर्य प्रतियोगिता भएको केही समयपछि ती किशोरी आफ्नो अफिसमा आएर मलाई शोषण भयो भनेको बयानमा बताएका छन्। तर ती किशोरी माथि आफू र अन्य कसैले पनि यौन शोषण नगरेको दाबी पाण्डेले गरेका छन्। 

२०७१ सालमा भएको यो घटना गत महिना सार्वजनिक भएको थियो। घटना निक्कै पहिलेको हुँदा प्रहरीले अन्य प्रमाण जुटाउन नसकेको हो। प्रमाणका रुपमा किशोरीले टिकटकमार्फत सार्वजनिक गरेका भिडियो संलग्न सिडी पेश गरिएको छ।

मनोजको कार्यालयमा फेला पारेको ल्यापटप परीक्षणका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा पठाइएको उल्लेख छ। परीक्षण भइ आएपछि पेश गरिने अभियोजनपत्रमा उल्लेख छ। 

यस्तै, घटनामा जोडिएका केही व्यक्तिसँग पनि प्रहरीले बयान लिएको थियो। अन्य व्यक्तिको बयानबाट पनि त्यतिबेला घटना भएको पुष्टि भएको छ। 

किशोरीले यसबारे तीनजना व्यक्तिलाई पहिल्यै जानकारी गराएको बताएकी छन्। प्रहरीले उनीहरुसँग पनि बयान लिएको छ। 

पूर्व मिस नेपाल माल्भिका सुब्बाले सौन्दर्य प्रतियोगिता भएको ३ महिनापछि किशोरीले आफूलाई फोन गरेर मनोजको बारेमा कुरा गर्नुछ भनेको बताएकी छन्।

बयानमा उनले भनेकी छन्, ‘तत्काल म पारिवारिक अवस्था तथा मानसिक तनावमा रहेकाले अहिले म तपाँईसँग कुरा गर्न असक्षम भएकाले पछि कुरा गरौंला भनेको थिएँ। त्यसपछि कुनै कुरा भएको थिएन। घटना सार्वजनिक भइसकेपछि मैले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा बताइसकेको छु।’

यस्तै, सौन्दर्य प्रतियोगिताका फोटोग्राफर श्रीधर पौडेलको बयानले पनि त्यतिबेला घटना भएको पुष्टि गरेको छ। 

प्रतियोगिता भएको केही महिनाछि आफूलाई मोडल ग्लोबल भिषा कन्सल्टेन्सीबाट फोन गरी कन्सल्टेन्सीमा लफडा भएको छ भनि जानकारी गराएपछि आफू पुग्दा किशोरी रुँदै, कराउँदै बसिरहेको देखेको पौडेलले बयानमा बताएका छन्। 

‘मैले ती किशोरीलाई किन रोएको? भनि सोध्दा किशोरीले  मनोज पाण्डेले संवेदनशील अंगमा छुने, समाउने गरेको र यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन्’, बयानमा उनले भनेका छन्, ‘मनोज पाण्डेलाई किन हातपात गरेको भनि सोधपुछ गर्दा कुनै प्रतिक्रिया नदिएछि म रिस आबेगमा आई टेबलमा रहेको क्यालेन्डरले प्रहार गरेको हो।’

यी दुई जनाको बयानले पनि घटना भएको पुष्टि गर्ने अभियोगमा उल्लेख छ। 

किशोरीका अभिभावकले दिएको जाहेरीमा मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दिइएको छ भने अन्य व्यक्ति को थिए भन्ने खुलाई ती व्यक्तिलाई पनि सजाय माग गरिएको छ। तर, प्रहरीले ती व्यक्ति खुलाउन नसकेको पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .