ad ad

समाज


भन्सारको मेसिनले नदेखाउँदा झापा पुग्यो पहेंलो लौरो

लौरोमा फण्डा दुर्गा प्रसाईंको, गाली भन्सारलाई
भन्सारको मेसिनले नदेखाउँदा झापा पुग्यो पहेंलो लौरो

उजिर कार्की
असार ८, २०७९ बुधबार ९:४४, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दुबईका अधिराजकुमारले दिएको पहेंलो लौरो विमानस्थलबाट कसरी पास भयो भनेर सर्वत्र प्रश्न उठ्यो। विदेशमा श्रम गरेर फर्किने नेपालीले ल्याएका २/४ ग्राम सुनपनि नछाड्ने भन्सारले त्यत्रो सुनको लौरो निस्फिक्री पास गरेको भन्दै आलोचना भयो।

लौरौ उपहारमा पाएपछि प्रसाईंले भनेका थिए, ‘उपहार मूल्यवान चिज हो। मलाई उहाँले गिफ्ट दिनुभयो म राज्यलाई दिन तयार छु, देशभन्दा ठूलो केही होइन, म राज्यको मान्छे हुँ।’ उनको यो भनाइपछि सुन भएको आशंकामा थप बल पुग्यो।

प्रसाईंले भने त्यतिबेला पनि त्यो सुन छकि अरु धातु छ मैले हेरेको पनि छैन भनेका थिए। ‘सुनको हो कि केको हो पहेंलो छ। तपाईले के दिनुभयो भनेर दिने मान्छेलाई सोध्ने कुरा पनि भएन’, प्रसाईंले थप आशंका उब्जाउने तर्क गरे, ‘यसबारेमा गृहमन्त्रीसँग कुरा भएको थियो। मैले राज्यलाई दिन्छु भनेको छु। तर गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लान्छु भन्नु भएको छ।’

भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भन्छन्, ‘शनिबारदेखि नै हामीमाथि शंका गर्दै सोधखोज भयो। आजसम्म पनि जवाफ दिँदा हैरान छौं।’

तर, दुर्गा प्रसाईंले सुनको लौरो दिएको भन्दै फण्डा गरेका थिए। प्रसाईंको फण्डा नबुझ्दा सामाजिक सञ्जालमा आलोचना त भयो नै मातहतकै कार्यालयले समेत भन्सार कार्यालयलाई सोधखोज गरेका छन्। तर, प्रसाईंलाई दिएको लौरो सामान्य मेटलको मात्रै भएको भन्सार कार्यालयले जनाएको छ।

युएईका अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमले प्रसाईंलाई भद्रपुर विमानस्थलमा लौरो दिएका थिए। यदि सुनको लौरो त्यसरी लगिएको भए सरकारले त्यहीँ पनि पक्राउ गर्न सक्थ्यो। यसअघि पनि विमानस्थलबाट पास भएको सुन अन्यत्र पुगिसकेपछि पनि प्रहरीले पक्राउ गर्ने गरेको छ।

‘त्यो सुन होइन। हामीले चेकजाँच गरेर पठाएको चिज हो। त्यो सामान्य मेटलको लौरो मात्रै हो। एक्सरे गरेर हेर्दा सुन–चाँदी भए के हो भनेर थाहा पाउने प्रविधि छ’, भट्टराईले नेपालखबरसँग भने, ‘मान्छेहरु कागले कान लग्यो भनेर त्यतै दौडिए तर कान छामेनन्।’

विमानस्थल भन्सारमा चेकजाँचको क्रममा खाएर पेटभित्र ल्याएको सुन समेत निकालेको छ। यस्तै अन्य विभिन्न तरिका अपनाएर ल्याउँदा पनि विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

बितेका ७ महिनामा मात्रै भन्सार छलेर ल्याइएको ४ क्वीन्टल सुन बरामद भएको भन्सार प्रमुख भट्टराईले बताए। उनका अनुसार यसबाट मात्रै झण्डै ४० करोड रुपैयाँ राजश्व संकलन भएको छ।

‘बाहिर पूरै चाँदीले लेपन लगाएर भित्र सुन राखेको पनि पत्ता लगाएको हो। त्यो पत्ता लगाउने क्षमता र प्रविधि भएको कार्यालयले त्यत्रो लौरो के हो भनेर पत्ता लगाउन सक्दैन र?’, भट्टराई प्रश्न गर्छन्।

यसअघि भन्सार छलीको आरोपमा अध्यागमनका अधिकृत, बहालवाला सुरक्षाकर्मीलाई पनि पक्राउ गरिएको थियो। ‘छाड्ने भए उनीहरुलाई पनि छाड्थ्यौँ नि त। त्यो लौरोका कारण अस्तिबाट आजसम्म पनि हैरान छु। हामी ढुक्क र प्रष्ट भएर छाडेको कुरा हो’, भट्टराई भन्छन्।

माक्तुमले विमानस्थलमा भीआईपीको विशेष सुविधा पनि नलिएको भन्सार कार्यालयले जनाएको छ। ‘ती व्यक्तिले सामान्य भीआईपी कक्ष मात्रै प्रयोग गरेका हुन्। कुटनीतिक सुविधामा आएका व्यक्ति पनि होइनन्। कूटनीतिक सुविधामा आएको भए यी यी सुविधा उपलब्ध गराउनु भनेर हामीलाई अर्थ मन्त्रालयले उपलब्ध गराउँथ्यो। दूतावासले परराष्ट्रलाई र परराष्ट्रले अर्थमार्फत हामीलाई निर्देशन आउँथ्यो। तर त्यस्तो निर्देशन आएन’, भट्टराईले भने।

आम पब्लिकलाई जसरी चेकजाँच गरिन्छ उनीहरुलाई पनि त्यही प्रक्रिया पूरा गरेर छाडिएको उनको दाबी छ।

माक्तुम सोमबार चार्टड उडानमार्फत पोखरा गएका छन्। श्री एयरलाइन्सको विमान चार्टड गरेर मध्यान्ह पोखरा गएको सुरक्षा स्रोतले जानकारी दिएको छ। राजकुमार र पहेंलो लौरो एकसाथ चर्चामा आउँदा दुर्गा प्रसाईं पनि मार्सी चामलपछि लौरोसँगै पुनः चर्चामा आएका छन्। माक्तुमले काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .