समाज


जापानमा निःशुल्क नेपाली भाषा पढाइरहेका रेसम

जापानमा निःशुल्क नेपाली भाषा पढाइरहेका रेसम

मीना खड्का
असार २८ , नागोया

एक दशकअघि जापान आइपुग्दा धादिङका रेसम उप्रेतीले भाषा नबुझेर अनेक हण्डर खानुपर्यो। उनी आफूले भन्न खोजेको कुरा भन्न सक्दैनथे। जापानीहरुले बोलेको बुझ्दैनथे। भनेको बेला काम फेला पार्न सकेनन्। त्यतिबेला उनलाई लाग्यो, भाषा भनेको बाँच्ने आधार रहेछ।

जापानको बसाइ लम्बिँदै जाँदा उनले देखे– जापानमै जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा आउँदो रहेनछ। यो देखेर उनलाई खल्लो लाग्यो। त्यसैलाई बदल्न उनले जापानमा जन्मेको नेपाली पुस्तालाई नेपाली भाषा सिकाउने प्रयास सुरु गरेका छन्।

रेसमले नागोयामा भाषा स्कुल सञ्चालन गर्न थालेका छन्। जुन स्कुलमा नेपालबाट गएकाहरुलाई जापानी भाषा र संस्कृति त सिकाइन्छ नै, जापानमा जन्मेका बच्चाहरुलाई पनि नेपाली भाषा, संस्कृति र संस्कार सिकाइँदैछ।

कक्षा तीनमा पढ्दाताका बुबा गुमाएका रेसमले दाइको सहारामा पढाइलाई निरन्तरता दिए। उनले कुनै कमी महसुस गर्नुपरेन। धादिङबेसीको नीलकण्ठ उच्च माध्यामिक विद्यालयबाट प्लस २ पुरा गरेपछि उनले काठमाडौँको बर्नहाट कलेजबाट स्नातक उत्तीर्ण गरे। शंकरदेवमा फाइनान्स विषयमा स्नातकोत्तर पास भएपछि उनी जापान आए।

सन् २०११ मा उच्च शिक्षाको लागि जापान प्रवेश गरेका उनको लागि सुरुवाती समय निकै कष्टदायक बन्यो। खासगरी खानामा उनको स्वाद मिलेन। आलु, फर्सी र गाजर मिसाइएको तरकारी। एकदमै गुलियो, खानै नसकिने। 

पहिलो दिन उनी भान्जाको कोठामा बसेका थिए। भोलिपल्टै कलेज जानुपर्ने भयो। बिजुली टुटेको हुनाले राइसकुकरको भात चिसो थियो। चिसो भात र दूध खानुपर्ने भयो। चिसै दूधभात खान बानी भइसकेका उनका भान्जाले सजिलोसँग खाए तर उनले पटक्कै खान सकेनन्। उनले बाहिर गएर भातको डल्ला, जुस र पाउरोटी किनेर खाए।

‘पाउरोटी त कसोकसो खाएँ। तर ओनिगिरी (भातको डल्ला) खान सकिनँ,’ उनी भन्छन्, ‘जापान आउने खबरले खुसी भएर अघिल्ला दुई दिनदेखि राम्रोसँग खाना रुचेको थिएन। पाँच दिनदेखिको भोकले सताएको थियो।’ 

होस्टेल बस्न थालेपछि भने केही सहज भयो।

‘अहिले यहाँ आएका नेपालीलाई केही सहज छ। पहिला नै आइसकेका नेपाली छन्। एक्लै हुँदा पनि   मोबाइलमा नबुझेका कुरा अनुवाद गरेर पनि अरुलाई बुझाउन सकिन्छ। आफूले बुझ्न सकिन्छ,’ उनी भन्छन्, ‘तर त्यतिबेला अवस्था गाह्रो थियो।’

आएको केही हप्तासम्म उनीसँग फोन थिएन। घरमा सम्पर्क गर्न नसकेपछि उनी आत्तिएका थिए। सबै कुरा नयाँ थियो। भिन्न भाषा र संस्कार। जापान आएर गल्ती पो गरेछु भन्ने लाग्न थाल्यो उनलाई।

तर, उनले हरेस खाएनन्। काम खोजे। एउटा रेस्टुराँमा चाउचाउ बनाउने पिठो मुछ्ने र भाँडा माझ्ने काम पाए। 

सुरुवातमा पढाइमा पनि त्यत्तिकै कठिनाइ थियो। तर, विस्तारै चिनजान बढ्दै गयो, भाषा जान्दै गए, कमाइ हुन थाल्यो। त्यसपछि उनलाई जापान राम्रो लाग्न थाल्यो। 

मेहनतकै कारण स्नातकोत्तर र विद्यावारिधि पनि छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाए। अध्ययन पुरा भएपछि उनी नागोयाका विभिन्न भाषा विद्यालयमा स्वयंसेवक शिक्षकका रुपमा पढाउन थाले। उनी अहिले जुनियर सेकेन्डरी स्कुलको शिक्षकका रुपमा काम गरिरहेका छन्। त्यसकारण जापानको शिक्षा पद्धतिलाई नजिकैबाट नियाल्ने मौका उनले पाए।

जापानमा एक शिक्षकले एउटा विद्यालयमा बढीमा आठ वर्षसम्म मात्र अध्यापन गर्न पाउँछ। शिक्षाको गुणस्तरमा जोड दिइन्छ। 
        
नेपालमा शिक्षाको गुणस्तर बढाउने हो भने आफ्नै भाषामा वैज्ञानिक शिक्षाविधि अपनाउनुपर्ने उनको भनाइ छ।

आफ्नो भाषा स्कुल जापानमा समस्यामा परेका बच्चाहरुले नेपालीमा बोल्ने साथी भेट्ने चौतारी बनेकोमा रेसम निकै खुसी छन्।

सयौँ जापानी स्वयंसेवकहरुको साथ लिएर उनले यो भाषा स्कुल स्थापना गरेका हुन्। जहाँबाट उनी निशुल्क सेवा दिन चाहन्छन्। 

‘जहाँ पैसाको कुरा आउँदैन, त्यहाँ सबैले खुसी पाउने रहेछन्,’ उनले भने।

यो कक्षामा पढ्न कुनै शुल्क नलाग्ने र सम्पूर्ण पाठ्यसामग्री मेजी कम्युनिटी सेन्टरले व्यवस्था गर्ने उनले बताए।

कक्षा लिन आउनेलाई स्वयंसेवक शिक्षकले पढाउँछन्। रेसमसहित उनीहरुले पारिश्रमिक लिँदैनन्।

यसमा नागोया नगरपालिका आवास, आइची अन्तर्राष्ट्रिय प्रहरी सेन्टर, नागोया सिटी स्पोट्र्स सेन्टर, नागोया कल्चर सेन्टरलगायतको पनि साझेदारी छ।

‘जापान प्रवेशपछि भाषा नजानेकै कारण मैले जस्तो समस्या भोगेँ, त्यो अरुले भोग्न नपरोस् भनेर हामीले उच्च माध्यमिक र विश्वविद्यालय अध्ययनको लागि परामर्श कक्षा समेत सञ्चालन गरेका छौँ,’ उनले भने।

नेपाली भाषा नजान्दा जापानमा हुर्केका नेपालीले आफूलाई नेपाली हुँ भनेर स्वीकार गर्न नसक्ने अनि नेपाली समाजले समेत उसलाई स्वीकार नगर्ने अवस्था देखिन थालेको उनको भनाइ छ। 

‘आफ्नो परिवार र समाजसँग बोल्न पनि दोभासेको प्रयोग गर्नु निकै दुखद् अवस्था हो,’ उनी भन्छन्, ‘नेपाली भाषा, संस्कृति र संस्कारमा रमाउन सक्नुपर्छ। उनीहरुले परिवारसँग नेपाली भाषामा कुरा गर्नसक्ने बनाउन सके त्यो हाम्रो कक्षाको सफलता हुनेछ।’

यद्यपि भाषा कक्षा सुरुवात गर्ने प्रेरणा जापानमा रहेका नेपाली र विदेशी विद्यार्थी तथा अभिभावकबाट प्राप्त भएको उनको भनाइ छ।

अहिले सो भाषा स्कुलमा अहिले ३० जना विद्यार्थी र २० जना स्वयंसेवक शिक्षक छन्। प्रत्येक हप्ता शिक्षकहरु परिवर्तन हुने र विद्यार्थीको संख्या बढ्दै जाने उनले बताए।

शिक्षणको लामो अनुभवले यसलाई सहज बनाउने उनको भनाइ छ।
 

असार २८, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad