२०७२ सालको भूकम्पले सरिता पुर्कुटीको दिमागमा निको नहुने घाउ छोड्यो। बस्दै आएको घर ढल्यो। चोट सहँदै ऋण लिएर फेरि घर त उठाइयो। तर, ऋण थपियो। नेपालमै बसेर ऋण तिर्न सक्ने अवस्था भएन।
भाइ र आमालाई हेर्ने जिम्मा उनकै काँधमा थियो।
‘बुबा हुनुहुन्न। भाइ र आमा मात्रै हुनुहुन्छ,’ उनले सुनाइन्, ‘ऋण तिर्नकै लागि विदेशिने निर्णय लिएँ।’
त्यसपछि जापान आउने निधो गरेर ६ महिना भाषा पढिन् र जापानको योकाहामा रहेको एक भाषा स्कुलमा आवेदन दिइन्।
घर बनाउँदाको ऋणमाथि विदेशिँदा फेरि लिनुपर्ने ऋणको चिन्ताले उनी पिरोलिन्थिन्।
अन्ततः दसैँको समयमा झण्डै १६ महिना भाषा स्कुलमा पढ्नेगरी भिसा आयो। कुनै पनि बैंकले ऋण दिन नमानेपछि झण्डै १३ लाख ऋण २० प्रतिशत ब्याजदरमा सहकारीबाट लिइन् र जापान उडिन्।
आफन्त र चिनेका साथी थिए जापानमा। त्यसकारण काम खोज्न केही गाह्रो भएन। आइपुगेको एक हप्तामै काम गर्न थालेकी थिइन् उनले।
रातभर काममा जानुपर्ने। बिहानै कक्षा हुन्थ्यो। ननिदाएका आँखा र थकित शरीर लिएर कक्षामा प्रवेश गर्थिन्।
धेरैलाई यहाँको वातावरणसँग घुलमिल हुन सकस हुन्छ। तर उनलाई यहाँ छिट्टै र सजिलै बानी पर्यो। यसलाई उनी आफ्नो राम्रो पक्ष मान्छिन्।
सुरुवाती दिनमा भाषा त्यति राम्रो थिएन। उनलाई लाग्थ्यो, खान्जी नहुँदो हो त जापानी भाषा पढ्न र लेख्न गाह्रो हुँदैथ्यो। तर, उनले राम्रो मेहनत गरिन्।
सुरुमा त उनलाई लाग्थ्यो, जापानीले बोलेको सुन्छु र त्यस्तै बोल्ने कोसिस गर्छु। केही समय यो प्रयास पनि उनले गरिन्। तर, सहज भएन। किनभने जापानीहरु सबै उस्तै नबोल्ने रहेछन्। विस्तारै कोही चिनेका नेपालीहरुसँग पनि जापानीमै कुरा गर्न थालिन्।
‘अरुले बोलेको राम्रोसँग सुन्ने, बुझ्ने र आफूले पनि राम्रो गर्न कोसिस गर्ने हो भने केही सजिलो हुन्छ,’ उनी भन्छिन्।
उनी प्रत्येक दिन अभ्यास गर्थिन्।
शिक्षक र काममा हुने साथीसँग बढीभन्दा बढी जापानी भाषामा कुरा गरिन्।
‘जापानी भाषामा दैनिकी वा लेखरचना लेख्ने अभ्यास निरन्तर गर्नाले भाषा राम्रो हुन्छ,’ उनी भन्छिन्।
राम्रो भाषा बनाउन मेहनत चाहिने र आत्तिन नहुने उनको अनुभव छ।
‘नेपालबाट आउँदा भाषा राम्रो नबनाई आएँ। सुरुवातमा यहाँको स्कुलमा पढाएको कुरा बुझ्न समेत गाह्रो हुन्थ्यो,’ उनले भनिन्।
तर विस्तारै सहज हुँदै गयो। अहिले उनी जापानको सिजोकामा सेनमोन पढिरहेकी छन्।
उसो त थोरै मेहनत गर्नसके खास गाह्रो नहुने उनको भनाइ छ। किनभने नेपालीको संख्या बाक्लो छ। समूह छ। संगठन छन्। जापानी भाषामा पोख्तहरुले नयाँ आउनेलाई सघाउने पनि गरेका छन्।
भर्खरै सम्पन्न नेपाल फेस्टिबलमा हिमाल, पहाड र तराईका झाँकी, बाजा र संगीतले तरंग ल्यायो। प्रचण्ड गर्मीमा पनि प्रवासी नेपाली यसपटक एकै ठाउँमा उभिएर देश बोले। सरिताले कर्णाली बोलीन्। नेपालमा महिला शिक्षाको महत्त्वबारे विचार राखिन्।
उनी सधैँ नेपालका समाचारहरु ध्यान दिएर पढ्छिन्। महिनावारी हुँदा छाउ गोठमा राखिएका महिलालाई सर्पले डसेको अनि दाइजो नदिएपछि मारिएको जस्ता खबरले उनलाई पोल्छन्। त्यहीकारण उनले महिला शिक्षाको महत्त्वसम्बन्धी विषय छनोट गरिन्।
सबैभन्दा पहिला उनले आफूले बोल्न मन लागेका सबै कुरा अंग्रेजी भाषामा लेखिन्। त्यसपछि जापानी भाषामा अनुवाद गरिन्। शिक्षकहरूले पनि सहयोग गरे।
नेपाली विद्यार्थी समाज जापान (नेसाज ) को आयोजनामा टोकियोको नाकानोमा आयोजित वक्तृत्वकलामा उनले नेपालमा महिला शिक्षाको महत्त्वबारे जापानी भाषामा आफ्ना विचार जोडादार रुपमा राखिन्। प्रतियोगितामा ६० जना सहभागी थिए।
वक्तृत्वकला प्रतियोगिताको शीर्ष १० मा पर्दा नै सरितालाई निर्णायकहरुले भनेका थिए, ‘अरुको भन्दा तिम्रो टपिक राम्रो छ।’
अघिल्ला चरणभन्दा यसपटक उनी बढी हडबडमा थिइन्। यतिधेरै मान्छेका अघि कसरी बोल्ने होला भन्ने लागिरहेको थियो। तर जसरी पनि राम्रो गर्न सक्नुपर्छ भन्ने हिम्मत थियो।
त्यसकारण उनी विजेता बनिन्।
बाल्यकालदेखि नै विभिन्न छात्रवृत्ति पाउँदै आएकी सरिताले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजन एवं जापानी कम्पनी आईएचएनओले प्रायोजन गरेको पुरस्कारस्वरुप तीन वर्षका लागि (करिब १० लाख ८० हजार रुपैयाँ बराबर) छात्रवृत्ति पाउने भएकी छन्।
प्रतिक्रिया