ad ad

समाज


बञ्चरेडाँडामा सत्ताधारी दलकै अवरोध, सधैँलाई फोहोर फ्याँक्न नदिने घोषणा

बञ्चरेडाँडामा सत्ताधारी दलकै अवरोध, सधैँलाई फोहोर फ्याँक्न नदिने घोषणा

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७९ आइतबार १८:४०, काठमाडौँ

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन झन् झन् जटिल गएको छ।

फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर फेरि नयाँ समस्या देखिएको छ।

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा आइतवार तीन सत्तारुढ दलले सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिकास्थित संगठनहरुले बञ्चरेडाँडा अब सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन्। 

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्। 

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयबासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्। 

'अहिलेसम्म १७४ वटा सहमति भइसके। तर सरकारले ती सहमति कार्यन्वयन गर्न चाहेन। राज्यको आफ्नै निकायका सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडितहरुमाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरे। स्थानीय पीडितहरुलाई विभिन्न झुटो अभियोग लगाई दु:ख दिन खोजे', उनीहरुले भनेका छन्, 'अब महानगर वा राज्यसँग सम्पूर्ण रुपमा विश्वास गुमेकोले फोहोर मैला दीर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व दलले गरिदिनुपर्ने माग जोडतोडका साथ उठेको छ। सत्ता गठबन्धनको तर्फबाट यो समस्याको समाधान गर्न हामी तयार भएको जानकारीसहित तीनै पार्टीको नगर कार्यसमितिले तत्कालै एमालेसहित सबै दलको सर्वदलीय बैठक बोलाई फोहोरको समस्या समाधानको लागि अग्रसरता लिन माग गर्दछौँ।'

कांग्रेसका वडा सभापति पूर्णसिंह तामाङ, माओवादीका वडा कार्यसमिति अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले यदि यो कुरालाई गम्भीरताको साथ नलिएर जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहे अबको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन्। स्थानीयबासीले चुनाव बहिष्कारसम्मको चेतावनी दिएकाले आफूहरु यो कदम चाल्ने बिन्दुमा पुगेको उनीहरुको तर्क छ। 

तीन दलले स्थानीय पीडितहरु अहिले पनि आन्दोलनमा रहेकाले अब आफूहरु पनि सहभागी भएर फोहोर व्यवस्थापन रोक्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .