ad ad

समाज


‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै

‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १९:११, काठमाडौँ

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ। 

विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ। यसको अङ्कित मूल्य २५ हजार रुपैयाँ छ। विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ। विशेष संस्करण खरिद गरी सहयोग पुर्याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ। 

डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ। यो बृहत परियोजनालाई सफल पार्न आफूहरुले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ।  

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन्। ‘हृदय’को विशेष सीमित सीमित संस्करणले सीमित संस्करणको संस्कार र पद्धतिमा एउटा मानक खडा गर्ने फाइनप्रिन्टले विश्वास लिएको छ। हृदयको विशेष सिमित संस्करण लिंकमा गई अनलाइन अर्डर गर्न तथा फाइनप्रिन्टको ९८४३५७९०३१ मा सम्पर्क गर्न सकिने फाइनप्रिन्टले जनाएको छ।  

पुस्तकको नियमित संस्करण भने असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ। नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ। नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन्।

निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ।

‘गंगालाल मुटुका लागि भर पर्दो संस्था बने झैं बालबालिकाका लागि किओच हुनेछ भन्ने हाम्रो विश्वास छ,’ फाइनप्रिन्टका नीरज भारीले भने। 

बाल अस्पताल नै किन ? 
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन उनले नै शल्यक्रिया गरेका दुई बालबालिकाले गरे। १३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा शल्यक्रिया भएको थियो। अहिले उनीहरु स्वस्थ छन्। 

यी दुई बालबालिकाले समयमै उपचार पाएर स्वस्थ जीवन बिताइरहेका छन्। तर नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा उपचार नपाएका कारण ज्यान गुमाएका बालबालिकालाई देखेर डा. कोइरालाको मन सधैं दुखिरहन्छ।  

डा. कोइरालाको मनमा जुन अभाव खट्कियो, त्यसैको परिपूर्तिका लागि उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरेका थिए। हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत केन्द्रीय अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ।

त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। विशिष्टीकृत बाल अस्पतालमा बालबालिकाका लागि सबै किसिमका स्वास्थ्य सेवा एकीकृत रुपमा उपलब्ध हुने डा. कोइरालाले बताए।

कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण प्रकाशन गरेको हो। डा. कोइरालाले जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा पुस्तकमा समेटिएको छ। 

पुस्तकमार्फत सहयोग जुटाउने आफूहरूको यो सानो प्रयास मात्र रहेको उनको भनाइ छ। ‘नेपाल र विश्वभर छरिएर रहेका हामीभन्दा सक्षम, सबल र सचेत व्यक्ति एवम् संस्था आआफ्नो ठाउँबाट जुट्यौँ भने डा. कोइरालाले बालबालिकाका लागि बनाउने भनेको विशिष्टीकृत अस्पतालको सपना पूरा हुन पक्कै असम्भव छैन, यो उहाँहरु सबैलाई आह्वान पनि हो,’ भारीले भने। 

कार्यक्रममा योग विज्ञान तथा जीवनशैली प्रशिक्षण र पुस्तक लेखन एवम् वातावरण संरक्षणको क्षेत्रमा परिचित डा. राजु अधिकारीले ‘हृदय’ले धेरै ‘हृदय’ बचाउन सक्ने भएकाले डा. कोइरालाको पहलमा सबैले साथ दिन आग्रह गरे। साथै स्वस्थ मानिसबाट मात्र स्वस्थ सिर्जना एवम् रचनात्मक काम हुन सक्ने उनको भनाइ थियो। 

डा. कोइरालाको पुस्तक ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा पनि गर्छ। यस कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरूबारे प्रस्ट्याउने फाइनप्रिन्टले जनाएको छ।  

कार्यक्रममा अनिल शाहीको विशेष साङ्गीतिक प्रस्तुतिसमेत थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .