म्यागेजिन


मृत्युदण्डबाट उम्केर २४ वर्षपछि स्कुल फर्केका हिरालाल, जो एके–४७ राइफल ल्याउँदा चीनमा समातिए

मृत्युदण्डबाट उम्केर २४ वर्षपछि स्कुल फर्केका हिरालाल, जो एके–४७ राइफल ल्याउँदा चीनमा समातिए

पहिलेका हिरालाल र २४ वर्षपछि स्कुल फर्केका हिरालाल कालिका मावि कक्षा १ का विद्यार्थीहरुसँग (तस्बिर : सरोज बैजु)


सीताराम बराल
असोज २ , काठमाडौँ

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका– ५ गैरीगाउँ, लाकुरीडाँडाका ५३ वर्षीय शिक्षक हिरालाल श्रेष्ठ १५ साउन (२०७९) बिहान साढे ९ बजे सोही गाउँपालिकाको वडा नं ६ टेकनपुरस्थित कालिका मावितर्फ लागे। २०४५ देखि शिक्षण पेसा सुरु गरेका श्रेष्ठलाई जिल्ला शिक्षा समन्वय इकाइकोे निर्णयअनुसार गाउँपालिकाले १३ साउन (२०७९) मा सो विद्यालयमा दरबन्दी तोकेको थियो।  

गैरीगाउँको लाकुरीडाँडास्थित आफ्नो घर (झुप्रो) बाट टेकनपुरस्थित कालिका मावि पुग्न हिरालाललाई २० मिनेट लाग्छ। त्यो दिन घरबाट निस्केपछि स्कुल नपुग्दासम्मको समयमा हिरालालको दिमागमा धेरै कुरा खेले। उनी मोटरसाइकल हाँकिरहेका थिए। तर, ध्यान मोटरसाइकलको ह्यान्डल, क्लज र ब्रेकभन्दा नयाँ स्कुल र विद्यार्थीतर्फ बढी केन्द्रित थियो। 

‘नयाँ स्कुलका विद्यार्थीहरु कस्ता होलान्? उनीहरुलाई कसरी पढाउने होला?’ उनी आफैँसँग प्रश्न गरिरहेका थिए, ‘नयाँ शिक्षण विधि र पाठ्यक्रमअनुसार विद्यार्थीहरु सन्तुष्ट हुने गरी पढाउन सकुँला कि नसकुँला?’   

विसं २०४२ मा एसएलसी उत्तीर्ण गरेका उनको २०४५ देखि गैरीगाउँस्थित बाघभैरव प्रावि (हाल निमावि) बाट शिक्षण यात्रा सुरु भएको थियो। उनले सो विद्यालयमा २०५५ कात्तिकसम्म पढाए। त्यसको ३४ वर्षपछि १५ साउनमा उनी एकै पटक पढाउन कालिका माविमा जाँदै थिए।  

शिक्षण विधि र नयाँ स्कुलबारे सोच्दै गर्दा उनको दिमागमा अर्को दृश्य एकएक गरी घुम्न थाल्यो। हिरालालको दिमागमा फनफनी घुमेको दृश्य यस्तो थियो–

अन्याय​ र अत्याचार विरुद्ध भन्दै देशमा सशस्त्र युद्ध सुरु हुन्छ। विभिन्न तह र तप्काका जनता युद्धबाट प्रभावित हुन थाल्छन्। विद्रोहविरुद्ध राज्यले दमन सुरु गर्छ। दमनविरुद्ध प्रतिरोधका क्रममा शिक्षकहरु पनि सशस्त्र युद्धमा सामेल हुन थाल्छन्। 

सशस्त्र युद्धमा सामेल हुनेमा ‘आनन्द’ नामको शिक्षक पनि हुन्छ।  

जागिर छाडेर युद्धमा सहभागी भएको केही समयपछि आनन्दलाई पार्टीले हातहतियार, गोलीगठ्ठा लगायत सैन्य सामग्रीको व्यवस्था गर्ने चुनौतीपूर्ण जिम्मेवारी दिन्छ। 

जिम्मेवारी पुरा गर्न ऊ छिमेकी मुलुकको सीमाभित्र निकै सतर्कताका साथ गोप्य रुपमा प्रवेश गर्छ। त्यहाँका अवैध व्यापारीहरुसँग सम्बन्ध प्रगाढ बनाउँछ। सम्भव भएसम्म हातहतियार लगायत युद्ध सामग्री खरिद गरेर आफ्नो देशमा आपूर्ति सुरु गर्छ। 

आनन्दले सयौँ किलो विस्फोटक पदार्थ, कैयौँ थान आधुनिक हतियार र हजारौँ थान गोली खरिद गरी मुलुकभित्र पठाउँछ। आफ्नो जिम्मेवारी पुरा गरेर स्वदेश फर्कने तयारी गर्छ।  

दुर्भाग्य! स्वदेश फर्कनै लाग्दा ऊ पक्राउ पर्छ। अवैध हातहतियार कारोबारको आरोपमा उसलाई मृत्युदण्डको सजाय तोकिन्छ। 

विदेशी भूमिमा मृत्युदण्डको प्रतीक्षा गरिरहेका बेला कथाले नाटकीय मोड लिन पुग्छ। 

आनन्दको मुलुकमा अकस्मात राजनीतिक परिवर्तन हुन्छ। ऊ सदस्य रहेको राजनीतिक दल सत्तामा पुग्छ। सत्तारोहणसँगै पार्टीले उसको मृत्युदण्ड खारेजी र जेलमुक्तसमेत गराउने प्रयास सुरु गर्छ।  

यो प्रयास सफलतामा पुगेर टुङ्गिन्छ। मृत्युदण्डको सजाय फिर्ता हुन्छ। आनन्द जेलबाट रिहा हुन्छ, स्वदेश फर्कन्छ। 

तर, मुलुकमा पुरानै राजनीतिक विकृति सुरु हुन्छ। यस्तो राजनीतिमा ऊ फिट हुन सक्दैन। उसले राजनीतिक जीवन परित्याग गर्छ।

उसँगै शिक्षण र राजनीति सुरु गरेका साथीहरु सम्पन्न जीवन बिताइरहेका हुन्छन्। आनन्दको जीवन भने अभाव, विपन्नता र दुखैदुखमा बित्न थाल्छ।  

फेरि कथाले अर्काे नाटकीय मोड लिन पुग्छ। 

विपन्न जीवन बिताइरहेको आनन्द अकस्मात शिक्षण पेसामा पुनर्स्थापित हुन्छ। 
***

हिरालालको दिमागमा सिनेमाको रिलझैँ घुमिरहेको यो दृश्य न कुनै पटकथा थियो, न त आनन्द पात्र नै काल्पनिक थियो।

खासमा ‘आनन्द’ पात्र हिरालाल आफैँ थिए र यो कथा उनको भोगाइ थियो।

बाघभैरव प्राविका स्थायी शिक्षक हिरालाल श्रेष्ठ ९ वर्षको अध्यापनपछि १ माघ २०५५ मा औपचारिक रुपमा माओवादी जनयुद्धमा लागे, पूर्णकालीन बने। त्यसपछि उनी ‘कमरेड आनन्द’ मा रुपान्तरित भए।  

पूर्णकालीन बनेको केही वर्षसम्म उनी पार्टीको राजनीतिक फाँटमा सक्रिय रहे। यसबीचमा उनी सरकारी सुरक्षाकर्मीको घेराबन्दीमा पटक–पटक परे। तर, उम्किन सफल भए।  

२०५९ ताका उनलाई नेकपा (माओवादी) ले जनमुक्ति सेनाका लागि हतियार खरिद र आपूर्तिको जिम्मेवारी सुम्पियो। जिम्मेवारी पुरा गर्न उनी वैकल्पिक बाटो प्रयोग गरी गोप्यरुपमा सिन्धुपाल्चोकको खासा (तिब्बत) बजार पुगे। त्यहाँका अवैध कारोबारीहरुसँग सम्पर्क स्थापित गरे। त्यसपछि जनयुद्धका लागि एके–४७ लगायतका हातहतियार र अन्य युद्ध सामग्री खरिद–आपूर्ति थाले।   

यसैक्रममा १० कात्तिक २०६० का दिन झिसमिसेमै खासा क्षेत्रको बीचमा पर्ने ‘नेपाली बजार’ बाट उनी पक्राउ परे।

पक्राउ परेको १० महिनापछि ११ भदौ (२०६१) मा चिनियाँ जनअदालतले हिरालाल श्रेष्ठ (आनन्द) लाई मृत्युदण्डको सजाय सुनायो। उनी मृत्युदण्ड हुने दिन कुरेर जेल जीवन बिताइरहेका थिए। 

तर, २०६२–०६३ को आन्दोलनपछि नेपालमा राजनीतिक परिवर्तन भयो। पहिलो संविधान सभामा माओवादीको विजय र सत्तारोहणसँगै हिरालालको मृत्युदण्डको सजाय फिर्ता गर्ने प्रयास भयो। त्यो प्रयासले सफलतापनि प्राप्त गर्यो। 

१५ चैत्र २०६५ मा रिहा भई उनी नेपाल फर्के। 

चीनमा मृत्युदण्डको सजाय तोकिएका हिरालालले राजनीतिक परिवर्तनका कारण सोच्दै नसोचेको ‘दोस्रो जुनी’ पाएका थिए। जनयुद्धका क्रममा गुमेको जागिरको हकमा पनि त्यस्तै भयो। जनयुद्धमा सहभागी भएपछि गुमेको स्थायी शिक्षकको जागिरमा २४ वर्षपछि १५ साउन २०७९ मा पुनर्स्थापित भए।

एके–४७ का चार खेप
सिन्धुपाल्चोकको पिस्करमा माघेसंक्रान्तिको मेलाका क्रममा पञ्चायती सत्ताले २०४१ माघमा दुई स्थानीयको हत्या गर्यो। त्यसपछि हिरालाल वामपन्थी राजनीतितर्फ आकर्षित भए। एमालेलाई सक्रिय सहयोग–समर्थन गरेका उनले पार्टी सदस्यता भने लिएनन्। 

तर, २०५३–०५४ मा एकले अर्काेलाई निषेध गर्न कांग्रेस–एमालेले पञ्चायती पात्रहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई एकपछि अर्काे गर्दै प्रधानमन्त्री बनाउन प्रतिस्पर्धा सुरु गरेपछि एमाले र संसदीय व्यवस्थाप्रति नै उनको मोहभंग भयो। उनी जनयुद्ध सञ्चालन गरिरहेको नेकपा (माओवादी) तर्फ आकर्षित भए। 

बाघभैरव प्राविको स्थायी शिक्षक रहेका उनी १ माघ २०५५ देखि माओवादीमा हिँडे। जनयुद्धमा सरिक भएपछि पार्टीको गाउँ कमिटी हुँदै सिन्धुपाल्चोक–दोलखा संयुक्त जिल्ला कमिटीको सचिवालय सदस्य रहेका उनलाई माओवादीले २०५९ ताका भोटेकोशी नदीपारिको १४ गाविसको जिम्मेवारी दियो। पार्टी इञ्चार्जका रुपमा उनको जिम्मेवारीमा रहेको क्षेत्रको सीमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको थियो। 

ती १४ गाविस हेर्ने एरियाको इञ्चार्ज रहेका बेला हिरालालले खासा (तिब्बत) बाट करिब ६ सय किलो विस्फोटक पदार्थ जिलेटिन ल्याउन सफलता प्राप्त गरे।

त्यसअघि माओवादीले विस्फोटक पदार्थ र हातहतियार अवैध स्रोत प्रयोग गरी भारतबाट ल्याउने गर्थ्यो। खासगरी भारतका उत्तरपूर्वी क्षेत्र आसाम–मणिपुरका विद्रोहीहरुलाई आपूर्ति गर्ने स्रोत नै नेपाली माओवादीको हतियार र विस्फोटक पदार्थको स्रोत थियो। 

तर, एकैपटकमा ६ सय किलो विस्फोटक पदार्थ खासाबाट आएपछि माओवादी नेतृत्वको ध्यान खासातर्फ मोडियो। कोसिस गरे अरु हातहतियार पनि खासाबाट ल्याउन सकिने सम्भावना उनीहरुले देखे। 

२०५९–६० मा सरकार–माओवादीबीच दोस्रो युद्धविराम–वार्ता चलिरहेको थियो। वार्ता सफल हुने सम्भावना भने थिएन। दुवै पक्ष युद्धको तयारीमा थिए। 

त्यो बेला काठमाडौँपूर्वको भाग माओवादीको पूर्वी कमान्डले हेर्थ्यो। जसका सैन्य कमान्डर थिए वर्षमान पुन (अनन्त)। पुन हाल माओवादी केन्द्रको उपमहासचिव छन्। 

उमहासचिव पुनको भनाइमा युद्धविराम भंग र युद्ध पक्कापक्की भएकाले चीनबाट हतियार संकलनको सम्भावनाको खोजी गर्न सिन्धुपाल्चोक पार्टीलाई जिम्मा दिइएको थियो। 

सिन्धुपाल्चोक माओवादीले त्यो जिम्मेवारी हिरालाललाई नै सुम्पियो। खासासँग सीमा जोडिएको क्षेत्रको इञ्चार्ज रहेकाले नेता पुन आफैँले हिरालालसँग यस विषयमा कुराकानी गरे।

सीमावर्ती क्षेत्रबारे हिरालाललाई राम्रो जानकारी थियो। पार्टी इञ्चार्ज भएकाले त्यस क्षेत्रका स्थानीयसँग उनले राम्रो सम्पर्क–सम्बन्ध बनाएका थिए।  

नयाँ जिम्मेवारी पुरा गर्न हिरालालले सिन्धुपाल्चोक, मार्मिन गाविस–८ छ्यादीका ग्याल्जेन शेर्पाको साथ लिए। ग्याल्जेन शेर्पा शान्ति प्रक्रियाका बेला माओवादीमा आवद्ध भएका थिए। 

ग्याल्जेनकी श्रीमतीको खासामा चियापसल थियो। त्यहीकारण खासामा व्यापार व्यवसायमा संलग्नहरुसँग ग्याल्जेनको राम्रो सम्पर्क थियो। मितेरी पुल छलेर नेपालमा सामान ल्याइने अवैध रुटहरुबारे पनि उनी जानकार थिए।   

ग्याल्जेन र केही सहयोगीका साथ हिरालाल अनकन्टार हिमाली बाटो हुँदै २०६० को असार–साउन ताका गोप्य रुपमा खासा पुगे।  

‘काइँला’ (अपभ्रंश हुँदा स्थानीय भाषामा ‘कैलो’) भनिने सिन्धुपाल्चोककै एक व्यक्ति खासामा जडिबुटी व्यापारमा संलग्न थिए। कैलोकै सहयोगमा हिरालालले जडिबुटी व्यापारीको रुपमा परिचय पत्र बनाए, उनीसँगै कोठा सेयर गर्ने गरी खासामा डेरा जमाए।  

अवैध व्यापारीहरुसँग निकटता बढाउन तास खेल्नुपर्ने हुन्थ्यो, कहिलेकाहीँ रक्सीसहितको भोजमा सामेल हुनुपर्थ्यो। जनयुद्धका बेला माओवादीले यी दुवैमा प्रतिबन्ध लगाएको थियो। 

यी दुवैमा सहभागिताबिना जिम्मेवारी पुरा गर्न नसकिने भएकाले हिरालालले यी दुवै कामका लागि जिल्ला पार्टीबाट स्वीकृति लिए। 

‘जडिबुटी व्यापारी’ को आवरणमा आधुनिक हातहतियारको खोजीमा रहेका हिरालालले केही दिनमै जानकारी पाए– खासामा छोटाक र छिन्नु नामका दुई तिब्बती युवाहरु व्यापारमा संलग्न छन्, उनीहरुबाट हातहतियार पनि प्राप्त हुने सम्भावना छ।  

हिरालालले ग्याल्जेनलाई छोटाक र छिन्नुबारे जानकारी लिन र सम्पर्क समेत गर्ने जिम्मेवारी दिए।  

ग्याल्जेनको छोटाक र छिन्नुसँग पहिल्यैदेखि चिनजान र सम्पर्क थियो। तर, उनीहरु यस्तो कारोबारमा सहयोगी हुनसक्छन् भन्ने संकेत ग्याल्जेनलाई थिएन। 

‘छोटाक र छिन्नु सौखिन खालका केटा थिए, उनीहरु डिस्को गइरहन्थे, फुर्सदका बेला म पनि डिस्को जाने गर्थेँ,’ ग्याल्जेनले भने, ‘त्यसैक्रममा उनीहरुसँग मेरो चिनजान भएको थियो। तर, उनीहरु हातहतियारका लागि सहयोगी हुनसक्छन् भन्ने अनुमान मैले गरेको थिइनँ।’ 

छोटाक र छिन्नुबारे सुइँको पाएका हिरालालले दिएको जिम्मेवारी अनुसार ग्याल्जेनले ती दुई चिनियाँ युवकसँग कुराकानी गरे। 

उनीहरुसँगको कुराकानीबाट ग्याल्जेन आफैँ छक्क परे। 

‘उनीहरुले एके– ४७ नै ल्याउन सक्ने कुरा पो सुनाए,’ ग्याल्जेनले थपे, ‘तर, दाम (मूल्य) भने निकै महङ्गो तोके, गोप्य रुपमा ल्याउनुपर्ने र निकै जोखिम हुने भएकाले एउटा एके–४७ को १२ लाख पर्ने बताए।’ 

हतियार प्राप्त गर्न सकिने संकेत प्राप्त भएपछि छोटाक र छिन्नुसँग हिरालाल आफैँले कुराकानी सुरु गरे। उनीहरुले हिरालाललाई पनि हतियार ल्याउन सक्ने जवाफ दिए। 

त्यसपछि हतियारको मूल्यबारे सौदाबाजी सुरु भयो। 

हिरालालका भनाइमा, सुरुमा १२ लाख रुपैयाँ पर्ने बताएका उनीहरु सौदाबाजीका क्रममा प्रतिराइफल ४ लाख रुपैयाँ लिनेगरी एके–४७ ल्याउन राजी भए।  

कुराकानी भएको केही दिनमै हतियारको पहिलो खेप आइपुग्यो। पहिलो खेपमा ल्याइएका हतियारमा ६ वटा एके–४७ र २ वटा माउजर थिए।   

‘हतियार आएको जानकारी दिएपछि म आफैँ हेर्न गएँ,’ ग्याल्जेनले भने, ‘ती हतियार पलङभित्र बक्स बनाएर लुकाएर लहरै राखेका थिए। मैले जीवनमा पहिलो पटक एके–४७ राइफल त्यहीँ देखेँ।’ 

यो कुरा ग्याल्जेनले हिरालाललाई सुनाए। हिरालाल भने तत्काल विश्वास गरेर रकम तिरिहाल्ने ‘मुड’ मा थिएनन्। 

त्यसअघि एउटा समूहले हतियार आइसकेको बताएर हिरालाललाई नराम्रोसँग ठगेको थियो। ठगिए पनि हिरालाल प्रहरीकहाँ उजुर गर्नसक्ने स्थितिमा थिएनन्। चिनियाँ कानुन अनुसार हतियारको अवैध कारोबार गर्नेलाई मृत्युदण्डको सजाय हुन्थ्यो।  

हतियार आएको विश्वास दिलाएपछि पहिले पैसा लिएर अघिल्लो गिरोहले जस्तै छोटाक र छिन्नुले ठग्न सक्छन् भन्ने आशंका हिरालाललाई थियो।  

त्यसैले, हतियार आएको सूचना पाएपछि हिरालाल भागी–भागी हिँड्न थाले। सम्पर्कविहीन बने। 

हिरालाल सम्पर्कविहीन बनेपछि छोटाक–छिन्नुले आफूहरुमाथि धोका भएको ठाने। ग्याल्जेनलाई झण्डै बन्दी बनाए। उनीहरुबाट उम्केका ग्याल्जेनले पहिलेको गिरोहले जस्तो छोटाक र छिन्नुबाट धोका नहुने विश्वास हिरालाललाई दिलाए। 

त्यसपछि हिरालालले ग्याल्जेनको साथमा छोटाक र छिन्नुकहाँ पुगेर हतियारको रकम बुझाए। 

हतियार आइसकेपछि हिरालालबाट छोटाक र छिन्नुले ‘धोका’ पाएका थिए। रकम प्राप्त गरेपछि उनीहरुले पनि ‘धोका’ मार्फत् त्यसको बदला लिए। 

अर्थात्, हिरालालबाट रकम लिए, आफूसँग भएका हतियार भने दिएनन्। 

विदेशी भूमि, त्यसमाथि हतियारधारी समूह! यस्तोमा कुनै प्रतिवाद नगरी फर्कनेबाहेक हिरालालसँग अर्काे विकल्प थिएन।   

हिरालाल र ग्याल्जेनले त्यसदिन भोग्नुपरेको तनाव र भुक्तमान कुनै रोचक फिल्मको सनसनीपूर्ण कथा भन्दा फरक छैन।  

खासमा उनीहरु पहिलेको समूहजस्तो धोकेबाज थिएनन्। उनीहरुले हिरालाललाई अत्याउन मात्र खोजेका थिए। 

४–५ घण्टा अत्याएपछि उनीहरुले राइफल र माउजर हिरालाल–ग्याल्जेनलाई हस्तान्तरण गरे। 

अवैध हतियारको कारोबारबाट राम्रो नाफा हुने नै भयो। यस्तो आकर्षक कारोबारका ग्राहक गुमाउने पक्षमा छोटाक र छिन्नु थिएनन्।  

पहिलो खेपको ६ वटा एके–४७ खरिद गर्दा हिरालाल र ग्याल्जेनले तनाव बेहोर्नु परे पनि त्यसपछि छोटाक र छिन्नु मूल्य घटाएर २ लाखका दरले एके–४७ राइफल दिन राजी भए। 

विश्वभर प्रयोग गरिने एके–४७ अत्यन्त प्रभावकारी एसल्ट राइफल मानिन्छ। 

पहिलो लटमा आएका एके–४७ राइफल पुराना भएका कारण पहिले तय भएको ४ लाख रुपैयाँभन्दा आधा मूल्य घटाएर २ लाखमा दिन उनीहरु राजी भएका थिए। नयाँ राइफल आएमा साढे तीन लाख मूल्य दिने सहमति पनि त्यसै दिन भयो।  

हिरालालका अनुसार सुरुमा ल्याइएको राइफलको गुणस्तर परीक्षणका लागि जनमुक्ति सेनाले एकजना सदस्यलाई खासा पठाएको थियो।

‘उहाँले राइफल राम्रो अवस्थाका रहेछन् भन्नुभयो,’ हिरालालले भने, ‘त्यसपछि मात्र थप हतियार लिन थालिएको थियो।’

दोस्रो पटक पनि हतियार आइपुग्यो। तर, यसपटक उनीहरुले एउटा मात्र एके–४७ राइफल प्राप्त गर्न सके।  

अब पेस्तोल–माउजर र एके–४७ राइफल मात्र होइन, गोली पनि आउन थालेको थियो। दोस्रो पटक एक एके–४७ सँगै छोटाक र छिन्नुले एके–४७ मा प्रयोग हुने ६ हजार राउण्ड गोली ल्याइदिएका थिए।

एउटा गोली बराबर ३ सय ५० रुपियाँ तिरेर हिरालालले ती सबै गोली खरिद गरे। 

तेस्रो पटकमा ६ वटा एके–४७ राइफल आए। यो लटमा आएका हतियारमध्ये एउटा माउजर पनि थियो।  

नेपाल भित्र्याइएका हतियार चीनको पश्चिमी राज्य सिन्जियाङबाट तिब्बतको खासासम्म आइपुगेका थिए।  

‘सिन्जियाङमा हतियार बनाउने अवैध कारखाना थिए रे! यस्तो कारोबार गर्ने गिरोहले तिनै कारखानाबाट हतियार खरिद गरेर पठाउँदो रहेछ,’ हिरालालले नेपालखबरसँग थपे, ‘तर, हामीले प्राप्त गरेका हतियार चिनियाँ सेनाले प्रयोग गरेकै हतियार हुन् भन्थे।’ 

यो कुराको जानकारी तिब्बतमा पक्राउ परेपछि सिगात्से र ल्हासा जेलमा रहँदा हिरालालले छोटाक र छिन्नुबाटै पाएका थिए।  

उनले थपे, ‘पुराना हुँदै गएका हतियार चिनियाँ सेनाले गोदाममा थन्क्याउँदो रहेछ, गिरोहका मानिसहरुले आफ्नो सम्पर्कका सैनिकमार्फत् उस्तै प्रकारका ह्यान्डमेड (हातले बनाइएका) राइफल सैनिक गोदाममा राख्न दिँदा रहेछन्। र, ती राइफल लिएर हामीलाई बिक्री गरेका रहेछन्। पुराना भएपनि ओरिजनल भएकाले हामीले प्राप्त गरेका हतियार निकै राम्रा र प्रभावकारी थिए।’ 

एके–४७ का साथ जनमुक्ति सेनाका डिभिजन सहायक कमान्डर सरल सहयात्री पौडेल। हाल उनी माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष छन्। (स्रोत : सरल सहयात्रीको फेसबुक)

हतियार ल्याउने गिरोहले सुरक्षित रुपमा खासासम्म ती हतियार पुर्याउन अनेक उपाय लगाउँथ्यो। खासगरी ट्रकको जगेडा पाङ्ग्राभित्र लुकाएर गोली ल्याइन्थ्यो। जगेडा पाङ्ग्राभित्र गोली होलान् भनेर सुरक्षाकर्मीले शंका गर्ने कुरै भएन।  

राइफल र पेस्तोल–माउजरका लागि अलिक फरक तरिका प्रयोग गरिएको हुन्थ्यो। गाडीको भित्री भागमा बनाइएका ‘फल्स बटम’ मा हतियार राखिन्थ्यो। कहिलेकाहीँ ट्रकभित्र लोड गरिएका ठूला आकारका सामानको मध्यभागमा हालेरपनि हतियार ल्याइन्थ्यो। 

एकपटक ठूलो ट्रकमा लादिएको कपडाको खातभित्रबाट निकालेर ग्याल्जेनलाई हतियार हस्तान्तरण गरिएको थियो।  

यसरी ल्याइएका सामग्री खासा बजार आइपुग्नुअघि नै गाडीबाट निकालेर सुरक्षित गरिन्थे। मूल खासा बजारभन्दा माथि जङ्गलको छेउमा रहेका ‘पाङ’ र ‘रमिते’ नामका बस्तीबाट जंगलको बाटो हुँदै ती हतियार राखिएको झोला भरियाहरुलाई बोकाएर नेपाल छिराइन्थ्यो। 

आफूले बोकेको झोलाभित्र के सामान हुन्थ्यो, भरियाहरुले उति मतलब गर्दैनथे। उनीहरुको सरोकार सिर्फ गन्तव्यसम्म सुरक्षित रुपमा भारी पुर्याइदिए बापत प्राप्त हुने पारिश्रमिकमा हुन्थ्यो। दैनिकजसो अवैध कारोबारीहरुका सामान भरियाहरु यसैगरी ल्याइदिन्थे।  

भारी बोकेर हिँड्नुअघि हिरालाल र ग्याल्जेन भरियाहरुलाई उनीहरु सन्तुष्ट हुने गरी खाजा खुवाउँथे। त्यसैले हिरालाल र ग्याल्जेनसँग भरियाहरु अरु व्यापारीसँग भन्दा बढी खुसी थिए। उनीहरुले सामान पठाउन खोज्दा कुनै नाइनास्ती गर्दैनथे।

यस्तो अबैध ओसारपसारमा सिन्धुपाल्चोकको सीमावर्ती क्षेत्रका दर्जनौँ स्थानीय संलग्न भएकाले चोर बाटो हुँदै हतियार, गोली र विस्फोटक पदार्थ लगायतका सामान नेपालतर्फ सुरक्षित रुपमा पार गरिदिने भरियाहरुको अभाव हिरालाल र ग्याल्जेनलाई खासै भएन। 

तीन खेपमा आएका १३ थान एके–४७ राइफल, केही पेस्तोल र हजारौँ थान गोली निर्वाध रुपमा नेपाल भित्र्याउन हिरालाल–ग्याल्जेन सफल भए।  

यति हुँदासम्म पनि खासाबाट नेपाली माओवादीहरुका लागि हतियार आपूर्ति भइरहेको सुराक चिनियाँ सुरक्षाकर्मीहरुले प्राप्त गरेका थिएनन्। 

सबैभन्दा धेरै हतियार चौथो लटमा आइपुग्यो। यसपटक ८ वटा एके–४७ र ६ वटा माउजर गरी १४ वटा हतियार थिए। 

हिरालालको पालामा खासा आइपुगेको हतियारको यो नै अन्तिम लट थियो। 

हतियार आएपछि हिरालाल र ग्याल्जेनले यी सबै हतियार नेपाल पठाउने प्रबन्ध गरे। पहिलेजस्तै हतियार बोकेका भरियाहरु चोरबाटोबाट नेपाल प्रस्थान गरे। 

तर, यसपटक उनीहरु सुरक्षित रहेनन्। हतियार बोकेर नेपाल प्रस्थान गरेका भरियाहरु चोरबाटोमै हतियारसहित चिनियाँ प्रहरीको फन्दामा परे। 

हतियारसहित भरियाहरु पक्राउ परेपछि हिरालाल र ग्याल्जेन पनि जोगिएनन्।

​हतियार उपलब्ध गराउने तिब्बती युवाहरु छोटाक, छिन्नु र उनीहरुका सहयोगी लोप्साङलाई पनि प्रहरीले पक्राउ गर्यो।   

‘रुम पार्टनर’ को धोका 
हिरालाल खासामा बस्न थालेको चार महिना बितिसकेको थियो। लामो समय खासामा रहँदा उनका गतिविधिबारे चिनियाँ सुरक्षाकर्मीले जानकारी पाउन सक्थे।

अर्काेतिर २०६० को तिहारलगत्तै माओवादीको सिन्धु–दोलखा जिल्ला कमिटीको बैठक पनि बस्दै थियो। 

यिनै दुई कुरा मध्यनजर गर्दै माओवादी सिन्धुपाल्चोकले पुरानै जिम्मेवारी सम्हाल्ने गरी हिरालाललाई सिन्धुपाल्चोक फर्कन निर्देशन दियो। पार्टीको निर्देशनपछि हिरालाल २०६० को तिहार (कात्तिक) अगावै सिन्धुपाल्चोक फर्कने तयारी गर्न थाले।  

तर, त्यही बेला हतियारको अर्काे (चौथो) खेप आइपुग्यो। यसपटक ८ वटा एके–४७ र ६ वटा माउजर गरी १४ थान हतियार आएका थिए। पेस्तोलमा प्रयोग हुने २ सय ७० राउन्ड गोली पनि आएका थिए।  

हतियार आएपछि छोटाक र छिन्नुले ग्याल्जेनलाई सम्पर्क गर्थे, ग्याल्जेनले हिरालाललाई। त्यसपछि हिरालाल रकमको प्रबन्ध गर्नतिर लाग्थे।

हिरालालका अनुसार बिजुली गएका कारण ९ कात्तिक (२०६०) को रात खासा बजार अँध्यारो थियो। त्यही चकमन्न रातमा छोटाक र छिन्नुले ग्याल्जेनलाई फोन गरे, १४ थान हतियार आइसकेको जानकारी दिए। 

ग्याल्जेनले पनि तत्काल फोनमार्फत् हिरालाललाई यसबारे जानकारी गराए। 

यो खेपमा आएका हतियार र गोलीको कुल मूल्य ३२ लाख ८० हजार थियो। छोटाक र छिन्नुले २ लाख रुपियाँ अग्रिम भुक्तानी पाइसकेका थिए। 

बाँकी ३० लाख ८० हजारमध्ये करिब १८ लाख मात्र जोहो गर्नसक्ने स्थितिमा हिरालाल थिए। तर, बाँकी १२ लाख रुपैयाँ तत्काल जुट्ने स्थिति हिरालालले देखेनन्।  

त्यसैले, २–३ दिनपछि सबै रकम उपलब्ध हुने बताउँदै हिरालालले छोटाक र छिन्नुलाई त्यतिन्जेल पर्खन आग्रह गरे।

तर, छोटाक र छिन्नुले तत्काल हतियार लिन जोड गरे। लामो समय हतियार राख्दा जोखिम हुने डर उनीहरुको थियो। हिरालाल र ग्याल्जेनले उनीहरुको विश्वास आर्जन गरिसकेका थिए। त्यसैले, जोखिम मोल्नुभन्दा ‘बाँकी रकम पछि दिए पनि हुन्छ’ भन्दै हतियार तत्काल लैजान उनीहरुले आग्रह गरे।  

‘अघि–अघि उनीहरुको हातमा सबै रकम परेपछि मात्र हामीले हतियार पाउथ्यौँ,’ हिरालालले नेपालखबरसँग भने, ‘यसपटक उनीहरुले जोड गरेपछि बाँकी रकम दुईचार दिनपछि दिने गरी १० कात्तिक (२०६०) बिहान झिसमिसेमै हतियार लियौँ।’ 

हतियार प्राप्त भएपछि दुवैजना भरियाहरुको खोजीमा लागे। तर, नेपालमा तिहारको रमझम सुरु भइसकेको थियो। अधिकांश भरिया नेपाल फर्किसकेका थिए। 

भरियाको अभावमा उनीहरुले तत्काल ती हतियार नेपालतर्फ पठाउन सकेनन्।  

ट्याक्सीबाट ती हतियार हिरालालको कोठामा ल्याई राखियो। सुराकीले पछ्याउन सक्ने विश्लेषणका साथ फेरि उनीहरुले अर्काे ट्याक्सी खोजेर हतियार राखिएका झोला हाले र ग्याल्जेनको कोठामा पुर्याए। 

‘ग्याल्जेनको कोठाबाट नजिकै चोरबाटो थियो। उनको कोठाबाट निकाल्नासाथ जंगलको बाटो हुँदै ती सामान सिन्धुपाल्चोकतर्फ पास गर्न सकिन्थ्यो,’ हिरालालले भने, ‘ग्याल्जेनको कोठामा पुर्याएपछि हतियार सुरक्षित भयो भन्ने ठानी हामी भरिया खोज्न रमितेतिर लाग्यौँ।’  

रमितेमा केही भरिया त भेटिए। तर, उनीहरु तास खेल्न व्यस्त थिए। दिउँसै लैजाँदा जोखिम हुने भएकाले रात परेपछि मात्र सामान लैजान सक्ने जानकारी उनीहरुले दिए। 

साँझपख सामान लैजाने प्रबन्ध गर्न हिरालालले ग्याल्जेनलाई अह्राए। हिरालालको सुझाव अनुसार ग्याल्जेनले भरियाहरुलाई खाजापानी खुवाए। 

झमक्क साँझ परेपछि हतियार र गोली राखिएका झोला बोकेर भरियाहरु जंगलको चोरबाटोबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरे। 

झोलामा के राखिएको छ, उनीहरुलाई जानकारी पनि थिएन, सरोकार पनि थिएन। 

रमितेबाट प्रस्थान गरेका भरियाहरु चोरबाटोबाट लाप्टाङ हुँदै सोल्मागिरि पुग्थे। त्यहाँबाट नेपालको फुलपिङ्गकट्टी गाविसको बोक्यान र नामथान पुगिन्थ्यो। 

चिनियाँ प्रहरीले कहिलेकाहीँ मात्र रमिते हुँदै निस्कने यो चोरबाटोमा निगरानी गर्थ्यो। तर, घरायसी प्रयोजनका सामान्य सामानहरुको तस्करी हुने भएकाले चिनियाँ प्रहरीले खासै कडाइ गर्दैनथ्यो। 

त्यसदिन भने हतियार नेपालतर्फ लगिँदैछ भन्ने सूचना चिनियाँ प्रहरीले प्राप्त गरिसकेको थियो। यस्तो गम्भीर सूचना प्राप्त गरेपछि उनीहरु जंगलको चोरबाटोमा घेरा हाली बसे। 

‘हामीले बिहान हतियार प्राप्त गरेका थियौँ, तर केही समयपछि नै त्यो बाटो हुँदै हतियार सिन्धुपाल्चोकतर्फ जाँदैछ भन्ने सूचना चिनियाँ प्रहरी समक्ष पुगिसकेछ। सुराक पाएपछि उनीहरु दिउँसैदेखि जंगलको बाटो ढुकेर बसेका रहेछन्,’ हिरालालले भने, ‘जब हतियार र गोलीको झोला बोकेका भरियाहरु नजिकै पुगे, चिनियाँ प्रहरीले पाङ भन्ने ठाउँमा उनीहरुलाई घेरा हाल्यो। भरियाहरु ठाउँका ठाउँ पक्राउ परे।’ 

ग्याल्जेनका भनाइमा १४ वटा हतियार र गोली लैजान ५ जना भरिया प्रयोग गरिएका थिए। प्रहरीले घेरा हालेपछि तीनजना भरिया झोला फालेर उम्के। ९ हतियारसहित दुई भरिया पक्राउ परे।  

पक्राउ पर्नेमा सिन्धुपाल्चोककै सोनाम स्याङ्बो शेर्पा र चेङ्गा शेर्पा थिए। 

नेपाल फर्केपछि हिरालालले पाएको सूचना अनुसार, भागेका भरियाहरुको सूचनाको आधारमा जंगलमा फालिएका बाँकी ५ वटा हतियार केही दिनपछि माओवादी कार्यकर्ताहरुले नै खोजेर लगेका थिए।   

हतियारसहित भरियाहरु पक्राउ परेको जानकारी तत्काल ग्याल्जेनले पाए। ग्याल्जेनमार्फत् हिरालाललाई पनि तत्काल जानकारी भयो। 

अब प्रहरीले खासा बजारभरि खानतलासी सुरु गर्यो। उनीहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा प्रहरी गस्ती सुरु भयो।  

खासा बजार र त्यहाँबाट निस्कने मार्गहरुमा चिनियाँ प्रहरी सतर्क भइसकेकाले त्यहाँबाट सुरक्षित उम्केर नेपाल फर्कन सक्ने स्थितिमा हिरालाल र ग्याल्जेन रहेनन्।  

आफू पक्राउ पर्नसक्ने सम्भावनाबारे नेपालमा फोनमार्फत् जानकारी दिएर फर्कंदै गर्दा हिरालाल ‘नेपाली बजार’ भनिने खासा बजारको बीच भागबाट पक्राउ परे। भोकभोकै जंगलमा लुकिबसेका ग्याल्जेन पनि दुईदिनपछि समातिए। 

हतियार उपलब्ध गराउने चिनियाँ युवाहरु छोटाक, छिन्नु र लोप्साङ छोटाक पनि जोगिएनन्। उनीहरु पनि खासा बजारबाटै पक्राउ परे।  

आफ्नै समूहभित्रको धोकाका कारण यो घटना हुन पुगेको थियो। धोका दिने व्यक्ति अरु कोही थिएनन्, हिरालालका ‘रुम पार्टनर’ कैलो (काइँला) थिए। 

ग्याल्जेनका भनाइमा जडिबुटी व्यापारीको परिचय पत्र बनाउन र हातहतियार नेपाल पठाउन सुरुसुरुमा हिरालाललाई सहयोग गरे पनि पछिल्लो समय कैलोको भूमिका शंकास्पद थियो। कैलोको शंकास्पद व्यवहारबारे उनले हिरालाललाई जानकारी पनि गराएका थिए। 

‘कैलोले नै हतियार आएको र जंगलको बाटोबाट नेपाल पठाइँदै गरेको सूचना चिनियाँ प्रहरीलाई दियो,’ ग्याल्जेनले भने, ‘उबाट धोका नपाएको भए हामी पक्राउ पर्ने थिएनौँ।’   

हिरालालका अनुसार सिन्धुपाल्चोकको मामिन–फुलपिङकट्टी क्षेत्रको कैलो अलिक खर्चालु स्वभावका मानिस थिए। उनले हिरालालको साथमा रहेको केही रकम दुरुपयोग पनि गरेका थिए।

पार्टीको रकम भएकाले हिरालाल उनलाई धेरै खर्च नगरिदिन भन्थे। 

‘यही कारण ऊ मसँग असन्तुष्ट भएको रहेछ,’ हिरालालले भने, ‘हतियार आएको सुराक उसैले चिनियाँ प्रहरीलाई दिएछ।’ 

खासमा पछिल्लो समय कैलोको भूमिकाप्रति शंका लागेकैले आफ्नो कोठामा रातारात ल्याएर राखिएका सामान हिरालालले तत्काल ग्याल्जेनको कोठामा पुर्याएका थिए। 

तर, ती सामग्री हतियार नै हो भन्ने शंका कैलोले गरिसकेका थिए। हिरालालको खासा बसाइ हतियारकै लागि हो भन्ने जानकारी पाइसकेका उनले झोलाभित्र राखिएको सामान हतियार हो भन्ने अनुमान गर्न नसक्ने कुरा थिएन। 

‘त्यो दिन उसले मसँग ‘हतियार आएको हो?’ भनेर सोधेको थियो,’ हिरालालले भने, ‘त्यसअघि उसले विश्वासघात गरेको थिएन, त्यसैले मैले ‘हो, तर कोठामा छैन’ भन्ने जवाफ दिएको थिएँ।’

हिरालालसँगको कुराकानीबाट हतियार आएको जानकारी पाएपछि यसबारे यकिन हुन उनले ग्याल्जेनसँग पनि जिज्ञासा राखेका थिए। तर, ग्याल्जेनले हतियार आएको कुरा अस्वीकार गरे। 

यसले गर्दा कैलो अरु बढी सशंकित भए।  

‘कैलोले हतियार आएको छ, म पनि हेर्न जान्छु भनेर जोड गरिरहेको थियो, म भएपछि सुरक्षित रुपमा नेपाल पठाउन सजिलो हुन्छ भनिरहेको थियो,’ ग्याल्जेनले भने, ‘तर, उसको शंकास्पद व्यवहारका कारण मैले ‘हुँदै होइन’ भनिरहेँ।’

हिरालालले स्वीकार गरिसकेको स्थितिमा ग्याल्जेनले ‘होइन’ भने पनि रातारात कोठामा ल्याएर तत्काल निकालिएका झोलाभित्र हतियार नै थिए भन्ने कुरामा कैलो निश्चित थिए।

हिरालाल र ग्याल्जेनका अनुसार, हतियार आएको सूचना कैलोले तत्काल कर्मा नामका व्यक्तिलाई दिए। 

‘हुन त कर्मा पनि सिन्धुपाल्चोककै मानिस थियो, तर ऊ चिनियाँ प्रहरीको गुप्तचर थियो,’ हिरालालले भने, ‘कैलोले हतियार आएको कुरा कर्मालाई भनिदियो। कैलोको सूचनाका आधारमा कर्मामार्फत् चिनियाँ प्रहरीले सम्पूर्ण सूचना प्राप्त गर्यो।’ 

कैलो र कर्माले हतियारबारे मात्र जानकारी दिएनन्, ती कसरी नेपालतर्फ पास गरिन्छ भन्ने जानकारी पनि चिनियाँ प्रहरीलाई दिए। 

हिरालालका भनाइमा हतियार हस्तान्तरण हुनासाथ भरिया फेला परेको भए त्यसदिन दुर्भाग्य आइलाग्ने थिएन। 

‘तिहारका कारण अधिकांश भरियाहरु नेपाल फर्किसकेका थिए,’ हिरालालले भने, ‘बिहान झिसमिसेमा प्राप्त हतियार राति मात्र पठाउने प्रबन्ध भयो, यसले गर्दा चिनियाँ प्रहरीले समयमै यसबारे जानकारी बटुल्न र पक्राउको तयारीका लागि पर्याप्त समय प्राप्त गर्यो।’

खासा बजार

पक्राउ परेपछि हिरालाललाई दुई दिन खासामा राखियो। त्यसबीचमा ग्याल्जेन पनि पक्राउ परिसकेका थिए। सबैजना पक्राउ परेपछि हिरालाल, ग्याल्जेन, च्याङ्गा शेर्पा र सोनाम स्याङ्बो शेर्पा गरी चारै जना नेपालीलाई कुती लगियो।  

कुती हिरासतमा पुगेपछि हिरालालले छोटाक, छिन्नु र लोप्साङ छोटाक गरी तीन चिनियाँ पनि पक्राउ परेका रहेछन् भन्ने जानकारी पाए।  

कुतीमा एक हप्ता राखेर बयान लिएपछि उनीहरुलाई सिगात्से पुर्याइयो। पक्राउ परेको पनि १० महिना बितिसकेको थियो। 

सिगात्सेको हिरासतमा रहेकै बेला चिनियाँ अदालतले उनीहरुविरुद्धको मुद्दाको फैसला गर्यो।   

मृत्युदण्डको फैसला
११ भदौ २०६१ को दिनभरिका एक–एक घटना हिरालालको स्मरणमा अहिले पनि ताजै छन्।

जेलमा दिउँसै मस्त निद्रामा परेको अनुभव हिरालाललाई कहिल्यै थिएन। तर, त्यसदिन उनी अनायसै दिउँसै निदाउन पुगे। यस्तो मस्त निन्द्रामा परेका थिए कि प्रहरीले चर्काे स्वरमा ‘आनन्द बाहिर आऊ’ भनेर बोलाएको पनि उनले सुनेनन्।   

सँगै जेलमा रहेका अन्य कैदीले ‘प्रहरीले तिमीलाई बोलाएको छ’ भन्दै घचघच्याए। हिरालाल त्यसपछि मात्र ब्युँझिए। हतार–हतार उनी ढोकामा पुगे। 

‘हाम्रो गाउँघरतिर दशा लाग्ने बेला दिउँसै निद्रा लाग्छ भन्ने भनाइ प्रचलित छ,’ उनले भने, ‘ब्युँझेपछि मलाई पनि आज के दशा लाग्ने भयो भन्ने लाग्यो।’

बाहिर निस्कँदै गर्दा हिरालालले देखे– ग्याल्जेन, च्याङ्गा र सोनाम स्याङ्बो शेर्पाका अलावा छोटाक, छिन्नु र लोप्साङ छोटाकलाई पनि त्यसैगरी बाहिर निकालिएको रहेछ।

हिरासतनजिकै एउटा सानो घर थियो। चार नेपाली र तीन चिनियाँ गरी सात जनालाई त्यही घरभित्र लगियो। 

त्यो सानो घर सरकारी अधिकारीहरुले भरिभराउ भएको थियो। खासमा उनीहरु जनअदालतका न्यायाधीश र अधिकारीहरु थिए। 

त्यो समूहमा एक अधवैँशे महिला पनि थिइन्। तिनले झोलाबाट केही कागजात निकालिन्। त्यहाँ लेखिएको बेहोरा चिनियाँ भाषामा पढ्न थालिन्। 

उनले पढी सक्दा–नसक्दै छोटाक र छिन्नुको अनुहारको रंग एकाएक बदलियो। उनीहरु अँध्यारिए।

त्यसको कारण भने हिरालालले केही समयपछि मात्र थाहा पाए। 

‘मृत्युदण्डको सजाय पाएका कारण छोटाक र छिन्नुको अनुहार अँध्यारो भएको रहेछ, चिनियाँ भाषामा फैसला सुनाइएकाले हामीले बुझेनौँ,’ हिरालालले सम्झे, ‘एकैछिनपछि त्यो फैसला नेपालीमा अनुवाद गरेर सुनाइयो। ग्याल्जेन र मलाई पनि मृत्युदण्डको सजाय तोकिएको रहेछ।’

फैसला अनुसार ४ जना नेपालीमध्ये हिरालालले र ३ चिनियाँमध्ये छोटाक र छिन्नुले तत्काल मृत्युदण्ड पाउने भएका थिए। लोप्साङ छोटाक र ग्याल्जेन शेर्पालाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो। तर, उनीहरुको सजाय दुई वर्षपछि मात्र कार्यान्वयन हुने फैसलामा उल्लेख थियो।  

बाँकी दुई नेपालीमध्ये चेङ्गा शेर्पाको हकमा ७ वर्ष र सोनाम स्याङ्बो शेर्पाको हकमा चार वर्षको जेल सजाय तोकिएको थियो।  

हिरालाल, ग्याल्जेन, चेङ्गा र सोनाम स्याङ्बो (बायाँबाट क्रमशः)

फैसलाका बेला सातै जना अभियुक्तको पछिल्तिर एक जनाका दरले प्रहरी उभिएका थिए। फैसला सकिनासाथ तिनले हिरालाल, छोटाक र छिन्नुको कठालो समाए।

‘मृत्युदण्डको सजाय सुनाइनासाथ कतिपय कैदी भाग्दा रहेछन्, कतिजना त आत्तिएर बेहोस हुँदा रहेछन्,’ हिरालालले भने, ‘सजाय पाएको व्यक्ति नभागोस् भनेर प्रहरीले कठालो समाती त्यसरी तत्काल नियन्त्रणमा लिँदो रहेछ।’  

फैसलापछि एक चिनियाँ अधिकारीले हिरालाल र ग्याल्जेनसँग सोधे, ‘मृत्युदण्ड सजायको फैसला सुन्दा कस्तो लागेको छ?’  

हिरालालको भनाइमा, ग्याल्जेनको उत्तर आश्चर्यजनक थियो। 

‘दुई वर्षपछि मृत्युदण्ड दिने फैसला उपयुक्त भएन,’ ग्याल्जेनले भनेका थिए, ‘मलाई पनि तत्काल मृत्युदण्डको सजाय तोकिएको भए बेस हुन्थ्यो।’ 

ग्याल्जेनको उत्तर सुनेर प्रहरी अधिकृत छक्क परे। 

उनले सोधे, ‘किन?’

‘आनन्द (हिरालाल) सरलाई जस्तै मलाई पनि तत्काल मृत्युदण्ड दिने गरी फैसला सुनाइएको भए थप दुई वर्ष खोर (जेल) मा बस्नुपर्ने थिएन,’ ग्याल्जेनको भनाइ थियो, ‘मृत्युदण्डको सजाय कुर्दै दुई–दुई वर्ष जेलमा बस्नुपर्ने भएपछि परिवारको धेरै सम्झना आउने भयो, तनाव पनि बढ्ने भयो।’ 

‘उहाँ (हिरालाल) लाई तत्काल मृत्युदण्ड दिने भनेपछि मलाई पनि बाँच्न मन थिएन,’ ग्याल्जेनले सम्झे, ‘आखिर दुई वर्षपछि मर्नु परिहाल्थ्यो। मर्नैपर्छ भने आनन्द सरसँगै मर्न पाए हुन्थ्यो भन्ने लागेको थियो।’

मृत्युदण्डको सजाय तोकिएका पाँचै जनालाई पुनरावेदनको अधिकार रहेको जानकारी पनि त्यहीँ गराइयो। पुनरावेदनका लागि जनअदालतका अधिकारीहरुले  १० दिनको समयसीमा दिए।    

पुनरावेदनबाट फैसला उल्टियो भने तत्काल कार्यान्वयन हुनेगरी मृत्युदण्डको सजाय पाएका हिरालालको हकमा दुई वर्षपछि मृत्युदण्ड हुन सक्थ्यो। दुई वर्षपछि मृत्युदण्ड पाउने भनिएका ग्याल्जेनको हकमा त्यो सजाय जन्मकैदमा रुपान्तरण हुन सक्थ्यो।   

हिरालालका अनुसार, मुद्दा लड्न झण्डै दुई लाख रुपियाँ आवश्यक पर्थ्यो। दशौँ लाखको हतियार नेपाल भित्र्याएपनि आफ्नै मुद्दा लड्न दुई लाख रुपियाँ उनीहरुसँग थिएन।    

त्यसैले हिरालालले आफूले कुनै पुनरावेदन नगर्ने निर्णय सुनाए। आफूलाई मृत्युदण्डको सजाय स्वीकार्य भएको जवाफ दिए। ग्याल्जेनले पनि यही कुरा बताए।

‘मरे मरिन्छ भनेरै जनयुद्धमा लागिएको थियो,’ हिरालालले भने, ‘चीनको जनअदालतका अधिकारीहरुलाई ‘मलाई मृत्युदण्ड दिए हुन्छ’ भन्ने जवाफ दिएँ।’  

हिरालालको निर्णयबाट छोटाक र छिन्नु चिन्तित देखिए। उनीहरुले हिरालाललाई पनि आफूहरुसँगै पुनरावेदन गर्न आग्रह गरे। 

‘वकिल र पैसाको चिन्ता तिमीले लिनुपर्दैन, सबै व्यवस्था हामी गर्छाैं,’ उनीहरुले भनेको कुरा हिरालाल सम्झन्छन्, ‘हाम्रो मुद्दा लडिदिने वकिलले तिम्रो पनि मुद्दा लडिदिन्छ। तिमीहरुको मुद्दाका लागि लाग्ने थप रकमको व्यवस्था पनि हामी गरिदिन्छौँ। त्यसैले, पुनरावेदन गर्दिनँ भन्ने निर्णय नगर।’   

पक्राउअघि हिरालाल–ग्याल्जेन र छोटाक–छिन्नुबीच ‘क्रेता–बिक्रेता’ को सम्बन्ध थियो। तर, ०६१ कात्तिक (२०६०) मा पक्राउ परेयताका ११ महिना लामो कैदी जीवन, त्यसक्रममा भोग्नुपरेका समान तनाव, जेलभित्रै भएको मन माझामाझ र समान नियतिका कारण उनीहरुबीचको सम्बन्ध ‘असल मित्र’मा उक्लिसकेको थियो। मृत्युदण्डको सजाय सुनाइने पक्का थियो, त्यसैले भावनात्मक रुपमा उनीहरु थप नजिकिएका थिए। 

चिनियाँ हिरासतमा रहेका हिरालाल र ग्याल्जेनलाई त्यहाँ सघाउने कोही थिएन। मुद्दा लड्न आवश्यक रकम उपलब्ध गराउने भरोसा छोटाक र छिन्नुले दिलाउनुमा त्यही भावनात्मक सम्बन्धको भूमिका थियो। अर्कोतिर, हिरालाल–ग्याल्जेनको निर्णयले छोटाक–छिन्नुको मुद्दामा नकरात्मक असर पार्नसक्ने भएकाले पनि उनीहरुले पुनरावेदनका लागि आग्रह गरेका थिए। एउटै मुद्दाका हिरालाल–ग्याल्जेनले मृत्युदण्डको सजाय स्वीकार गरिदिँदा छोटाक–छिन्नुको पुनरावेदन निष्प्रभावी हुनसक्थ्यो। पुनरावेदनपछि पनि जनअदालतले पुरानै फैसलालाई सदर गरिदिन सक्थ्यो।

छोटाक र छिन्नुले पुनरावेदनका लागि आफूसँग अनुरोध गरेपछि हिरालालको स्मृतिमा छोटाक र छिन्नुसँग भेट भएदेखि पक्राउ पर्दासम्मका घटनाहरु ताजा बनेर आए। 

छोटाक र छिन्नु नभएको भए हिरालालले खासाबाट हतियार खरिद गरी नेपाल पठाउन सक्दैनथे। खासमा उनीहरु हतियार बिक्रेता मात्र थिएनन्, हतियार खोजीकर्ता पनि थिए। 

हतियार बिक्री गर्ने समूह खोज्ने, प्राप्त भएका हतियार खासासम्म सुरक्षित रुपमा ल्याएर उनीहरुलाई हस्तान्तरण गर्ने काम कम जोखिमपूर्ण थिएन। यस्तो काम गर्नेलाई मृत्युदण्ड हुन्थ्यो। तर, हिरालालको आग्रहपछि ज्यानकै जोखिम मोलेर उनीहरु सहयोग गर्न तयार भएका थिए।   

‘हामी त युद्धमा लागेका थियौँ, जस्तोसुकै जोखिम हाम्रा लागि स्वीकार्य थियो, तर उनीहरु हाम्रा लागि जोखिम मोल्न तयार भएका थिए,’ हिरालालले सम्झे, ‘हामीले पुनरावेदन नगर्दा उनीहरुले समेत मृत्युदण्ड पाउने देखियो। त्यसैले, मैले पनि पुनरावेदन गर्ने निर्णय गरेँ।’

तर, हिरालालले वकिलको सहयोग लिएनन्। स्वीकृति पाएपछि उनी आफैँले पुनरावेदनपत्र लेखे, १० दिनको समयसीमाभित्र अदालतमा बुझाए। 

‘पक्राउ नपरेका हतियारको अभियोग पनि ममाथि लगाइएको थियो, पुनरावेदनमा मैले त्यो कुरा अस्वीकार गरेको थिएँ,’ उनले भने, ‘राजनीतिक उदेश्य प्राप्तिका लागि सशस्त्र संघर्षमा लागेको थिएँ। त्यसैले, आपराधिक व्यक्तिलाई जसरी मृत्युदण्डको सजाय तोकिनु गलत भएको पनि मैले पुनरावेदन पत्रमा उल्लेख गरेको थिएँ।’ 

पुनरावेदन पत्र भएपनि खासमा त्यो राजनीतिक भाषामा लेखिएको पत्र थियो। त्यसमा उनले चीनको उच्च राजनीतिक नेतृत्वलाई सम्बोधन गरेका थिए। यसप्रति भने तिब्बती अधिकारीहरुले आपत्ति जनाए। 

‘तिब्बत चीनको स्वशासित क्षेत्र हो, यहाँ तिब्बतकै नियम–कानुन लागू हुन्छ भन्ने उनीहरुको भनाइ थियो,’ हिरालालले सम्झे, ‘मैले यस्तो कुरा मलाई थाहा छैन, तपाईंहरुको नियम अनुसार जे गर्नुहुन्छ, गर्नुस् भन्ने जवाफ दिएँ।’ 

जब नयाँ फैसला आयो
पुनरावेदन गरेपनि मृत्युदण्डको सजायबाट मुक्ति पाइएला भन्ने विश्वास हिरालाललाई थिएन। हदै भए ‘तत्काल दिइने’ भनिएको मृत्युदण्ड दुई वर्षपछि मात्र सर्ने थियो।  

पुनरावेदनको झण्डै साढे दुई वर्षपछि मात्रै चिनियाँ अदालतले हिरालाल र ग्याल्जेनका सम्बन्धमा थप फैसला गर्यो।   

हिरालालको हकमा तत्काल मृत्युदण्डको साटो दुई वर्षपछि मृत्युदण्ड पाउने फैसला भयो। दुई वर्षपछि मृत्युदण्ड पाउने भनिएका ग्याल्जेनको सजाय जन्मकैदमा बदलियो। 

हिरालाल र ग्याल्जेन, २०७२ मा (तस्बिर : सीताराम बराल) 

यो पछिल्लो फैसला हुँदा नेपालमा राजनीतिक परिवर्तन भइसकेको थियो। यो परिवर्तनको प्रभाव उनीहरुको मुद्दामा पनि देखिन थालेको थियो। 

सशस्त्र युद्ध त्यागेर माओवादीहरु शान्ति प्रक्रियामा सामेल भइसकेका थिए।  

चिनियाँ अदालतले अन्तिम फैसला (१५ चैत २०६५) पछि रिहा हुने दिन सो फैसला पत्र हिरालाललाई उपलब्ध गराएको थियो। त्यो फैसला पत्र हेर्दा हिरालालको सजाय घटाउने फैसला २८ पुस २०६३ मा भएको देखिन्छ।  

यो फैसलाभन्दा १३ दिनअघि हिरालालहरुलाई सिगात्सेबाट ल्हासा जेलमा स्थानान्तरण गरिएको थियो। ल्हासा पुगेपछि जनअदालतले उनीहरुको पुनरावेदन अनुसार नयाँ फैसला सुनाएको थियो। 

त्यो फैसलाको दुई दिनपछि अर्थात् १ माघ (२०६३) मा नेपालमा अन्तरिम संविधानको घोषणा भएको थियो। त्यसैदिन विद्रोही माओवादी सहितको ‘अन्तरिम संसद्’ को निर्माण भयो। 

अन्तरिम संविधानको घोषणासँगै अन्तरिम संसदको निर्माण भएपछि विद्रोही माओवादी सरकारमा जाने तयारी गर्दै थियो।  

यताको राजनीतिक घटनाक्रम र चिनियाँ अदालतको निर्णय हेर्दा उनीहरुको सजाय घट्नुमा नेपालमा भएको राजनीतिक परिवर्तनको पक्कै भूमिका थियो भन्ने सहज अनुमान गर्न सकिन्छ। 

नत्र पक्राउ परेको ११ महिनाभित्रै मृत्युदण्डको सजाय सुनाउने चिनियाँ अदालतले पुनरावेदन अनुसार सजाय घटाउन साढे दुई वर्ष पर्खने थिएन। 

हिरालालका भनाइमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावास कार्यालयले पत्र लेखी उनीहरुको सजाय घटाउन आग्रह समेत गरेको थियो।

‘दोस्रो फैसलाका बेला ल्हासास्थित महावाणिज्यदूतावासका अधिकारीहरु पनि जेलमा आउनु भएको थियो,’ उनले सम्झे, ‘सजाय घटाइएको फैसला र महावाणिज्य दूतावासका अधिकारीहरुलाई देख्दा म निकै भावुक भएको थिएँ। उहाँहरुको उपस्थितिप्रति आभार प्रकट गर्दै मैले धन्यवाद पनि दिएको थिएँ।’ 

जेलभित्र बेला–बेला यस्ता घटना र व्यवहार भइरहन्थे, जसका कारण पुनरावेदनको निवेदन दिए पनि हिरालाललाई आफ्नो जीवनको अन्तिम समय आइसकेको आभाष पटक–पटक भइरहेको हुन्थ्यो। 

उनी सिगात्से जेलमै रहेका बेलाको कुरा हो। एक दिन प्रहरीले उनीहरुलाई झिसमिसेमै उठायो। चारैजनालाई हठात् जेलबाट निकालियो र गाडीमा हालियो।  

सिगात्से जेल पुगेको ३–४ महिनापछि उनीहरु हतकडी र नेलकडीबाट मुक्त भएका थिए। तर, जेलबाट निकालेपछि फेरि खुट्टामा नेलकडी लगाइयो, हातमा हतकडी बाँधियो। ग्याल्जेन, च्याङ्गा र सोनाम स्याङ्बोको हात चाहिँ तारले बाँधिएको थियो। 

उनीहरुलाई राखिएको गाडी झिसमिसेमै अज्ञात स्थलतर्फ लाग्यो। 

हातखुट्टा हतकडी र नेलकडीले बाँधिएको र सैनिक पहरामा रहेको कैदीले के नै पो गर्न सक्थ्यो र! तर, चिनियाँ सैनिकहरुको दृष्टिमा हिरालाल खतरानाक कैदी थिए। त्यही कारण उनी थप चल्मलाउन नसकुन् भनेर सैनिकहरुले हिरालालको पैताला आफ्नो पैतालाले थिचे।  

झिसमिसेमै जेलबाट निकालेर हतकडी–नेलकडीका साथ अज्ञातस्थलतर्फ लगिएपछि उनीहरुको मनमा चिसो पस्यो, उनीहरु आपसमा बोल्न सकेनन्।

नेपालमा जेलसारीको नाममा निकालिएका बन्दीहरुलाई पञ्चायती सरकारले जंगलमा लगी हत्या गरेको थियो। जनयुद्धका बेला सेना–प्रहरीको नियन्त्रणमा रहेका कतिपय माओवादी बन्दी यसैगरी मारिएका थिए।  

हिरालालले यस्ता घटना सम्झे। आफूहरुलाई पनि हत्या गर्न लागिएको हो कि भन्ने लख काटे।

‘त्यो बेला मलाई हाम्रो अन्तिम दिन आइसकेछ भन्ने लागेको थियो,’ हिरालालले सम्झे, ‘साथीहरुले पनि यस्तै सोचेछन् क्यारे, हामी आपसमा केही बोल्न सकेनौँ।’ 

तर, त्यसैदिन साँझ उनीहरुको आशंका गलत ठहरियो। उनीहरुलाई ल्हासा जेल स्थानान्तरण गरिएको रहेछ। निकै लामो, सकसपूर्ण र तनावपूर्ण यात्राका बीच उनीहरु ल्हासा जेल पुगेका थिए।   

सिगात्सेबाट ल्हासा साढे दुई सय किमीभन्दा टाढा छ। त्यहीकारण उनीहरुलाई झिसमिसेमै उठाइएको थियो। 

जेलसारीका क्रममा कैदीहरु भाग्ने सम्भावना भएकाले आफूहरुमाथि त्यतिसाह्रो कडाइ गरिएको पनि ल्हासा पुगेपछि उनले थाहा पाए।   

ल्हासा पुगेपछि मृत्युदण्डको भय तत्कालका लागि हट्यो। तर, सिगात्से जेलमा रहँदा देखिन थालेको निराशा ल्हासा पुगेपछि अरु बढ्यो।  

कारण थियो, ल्हासा जेलमा पुगेपछि बाहिरी दुनियाँबारे कुनै जानकारी प्राप्त नहुनु। सिगात्से हिरासतमा हुँदा तिब्बती कैदीहरुको सहयोगमा एउटा रेडियो हात परेको थियो। साँझको समय गोप्य रुपमा उनी त्यो रेडियोबाट बीबीसी सुन्थे, नेपालमा के भइरहेको छ, त्यसबारे जानकारी प्राप्त गर्थे।   

त्यो रेडियो सिगात्सेमै छुट्यो। अब नेपालमा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्ने कुनै उपाय उनीसँग थिएन।   

अर्काेतर्फ उनी मृत्युदण्डको प्रतीक्षा गरिरहेका कैदी थिए। दुई वर्षपछि हुने भनिएको मृत्युदण्डको सजाय घटेर ‘आजीवन कारावास’ मा परिवर्तन भएछ नै भने पनि, जेलमै सडेर मर्ने पक्का थियो। 

यसरी जेलमै सडेर मर्नुभन्दा बरु छिट्टै मृत्युदण्ड भए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। 

एकातिर मृत्यु कुर्दै लामो समय जेलमा बस्नुपर्ने विवशता थियो। अर्काेतर्फ पार्टीबाट भएको बेवास्ता। यिनै कारण निराशा बढ्दै गएको थियो।

हिरालालले त्यो बेला घर पठाएका पत्रहरुमा पार्टीप्रति आक्रोश, निराशा र गुनासा देख्न सकिन्छ।   

ल्हासा जेलबाट हिरालालले परिवारलाई १४ फागुन २०६१ (२५ फेब्रुअरी २००५) मा लेखेको पत्र

हुन त, नेपालमा शाही शासन रहेकै बेला ८ अक्टुबर २००५ (२२ असोज २०६२) मा भाइ यान्द्रलाल श्रेष्ठ (विजय) पार्टीकै गोप्य प्रबन्धमा हिरालालसँग भेट गर्न ल्हासा पुगेका थिए। त्यसको डेढ वर्षपछि सिन्धुपाल्चोक माओवादीका नेता भीम पराजुली पनि ल्हासा पुगी ६ जुलाई २००७ (२२ असार २०६४) मा​ हिरालालसँग भेट गरेका थिए। 

पार्टी र परिवारको तर्फबाट भएका यी भेटहरुले हिरालालमा केही आशा जगाए। यी भेटहरुमार्फत् उनले नेपालमा भएको राजनीतिक परिवर्तन र आफ्नो रिहाइको पहलबारे जानकारी पाए। 

तर, पराजुली फर्केपछि लामो समय पार्टीसँग सम्पर्क हुन सकेन। पार्टीले रिहाइको पहल भइरहेको जानकारी दिएर पराजुली फर्के पनि सोही अनुसारको परिणाम प्राप्त भइरहेको थिएन। 

त्यसैले, हिरालाल थप निराश बन्न थालेका थिए। उनमा पार्टीप्रति आक्रोश पनि बढिरहेको थियो। 

ल्हासा जेलमा ली थाउ नामका एक चिनियाँ कैदी थिए। उनको एउटा प्रश्नले हिरालाललाई थप निराश बनायो। 

एकदिन ली थाउले हिरालालसँग सोधे, ‘तिमीहरु नेपालको माओवादी पार्टीका सदस्य होइनौ?’

हिरालालले आफूहरु माओवादी पार्टीको सदस्य रहेको बताए। त्यसबाहेक जनमुक्ति सेनाका लागि हतियार खरिद–आपूर्तिको जिम्मेवारी समेत निर्वाह गरेको र त्यही कारण मृत्युदण्डको सजाय पाएको जानकारी दिए। 

श्रमकैद अन्तर्गत ली थाउलाई जेलभित्रका कैदीहरुलाई पढाउने जिम्मेवारी थियो। उनी छिट्टै रिहा हुन लागेका थिए। त्यसैले, उनलाई कोठाभित्र रेडियो, टेलिभिजन राख्न र पत्रपत्रिकामा पनि पहुँच दिइएको थियो। 

हिरालालले आफू माओवादी पार्टीको सदस्य रहेको बताएपछि ली थाउले भने, ‘नेपालमा त्यही माओवादी पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसके, उनी ल्हासा हुँदै बेइजिङ पुगेका छन्। तिमी पनि माओवादी पार्टीका सदस्य हौ भने प्रचण्डले तिमीलाई भेट्नु पर्ने होइन?’ 

बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड ७ भदौ (२०६५) साँझ बेइजिङ पुगेका थिए। ल्हासा हुँदै बेइजिङ जाने क्रममा उनले ल्हासा विमानस्थलमा एक घण्टा बिताएका थिए।  

त्यो एक घण्टाको बसाइमा ल्हासा विमानस्थलमा उनलाई तिब्बत जनसरकारका अध्यक्ष चम्पा फुटसोक, उपाध्यक्ष हाओ पेङ लगायत उच्च अधिकारीले भेट गरेका थिए।

ली थाउको यो प्रश्नपछि मात्र हिरालालले थाहा पाए, ‘माओवादी पार्टी सत्तारुढ भइसकेछ, प्रचण्ड प्रधानमन्त्री भइसकेछन्।’ 

पार्टीले सत्ताको नेतृत्व सम्हालिसकेको, आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्रीका रुपमा ल्हासा आउँदा आफूहरुसँग भेट नगरेको कुराले उनको निराशा र आक्रोश थपिनु स्वाभाविक थियो। 

आफ्नो जिज्ञासाले थप निराश बनेको बुझेपछि लीले हिरालाललाई सम्झाए, ‘तिमी यो जेलमा छौ भन्ने कुरा तिम्रो पार्टी अध्यक्षलाई जानकारी नहुनसक्छ वा उनलाई हतार भएको पनि हुनसक्छ। त्यसैले पो नभेटेका हुन् कि!’ 

ली थाउ माओवादी नेतृत्वलाई चिठी लेख्न हिरालाललाई झक्झक्याइरहन्थे, ताकि नेतृत्वबाटै हिरालालहरुको रिहाइको पहल होस्। चिठी लेख्दा कस्तो भाषा प्रयोग गर्दा उपयुक्त हुन्छ, त्यो पनि सिकाउँथे। 

नियमित प्रक्रियामार्फत् पठाइएको चिठी पुग्न ढिलो हुन्थ्यो। जेलका प्रहरीसँग मिल्ने हो भने कसरी हाते चिठी सहजै नेपाल पठाउन सकिन्छ भन्ने उपाय पनि सिकाउँथे उनी।

ली थाउको सुझावपछि २० पुस २०६५ (४ जनवरी २००९) मा हिरालालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा एक चिठी लेखे, जसमा लामो जेल बसाइ र रिहाईको पहल नहुँदा आफूहरुमा नैराश्य, शंकाउपशंका उठ्नुका साथै धैर्यको बाँध समेत टुट्दै गएको उल्लेख छ। 

हिरालाल, ग्याल्जेन र चेङ्गा शेर्पाले प्रचण्डलाई पठाएको पत्र 

‘श्रद्धेय कमरेड! हाम्रो बारेमा केन्द्रीय समितिको धारणा कस्तो बनेको छ जानकारी पाउन सकिन्छ कि भन्ने जिज्ञासा लागेको हुनाले यो निवेदन पत्र पेस गरेका छौँ,’ उनले चिठीमा लेखेका छन्, ‘आशा गर्छाैं, हाम्रो जिज्ञासाको समाधान हुनेछ।’ 

‘पक्राउ परेका चार जनामध्ये एक जना सोनाम स्याङ्बो शेर्पा रिहा भइसकेका थिए, त्यसैले जेलमा रहेका हामी तीन जनाको तर्फबाट त्यो चिठी लेखेको थिएँ,’ उनले भने, ‘चिठी पठाएको चार महिना पुग्दानपुग्दै हामी रिहा भयौँ।’ 

त्यो पत्र प्राप्त भएपछि हिरालालका बुबा रामबहादुर श्रेष्ठले माओवादी नेता अग्निप्रसाद सापकोटासँग भेट गरे। सापकोटाले पत्रसहित श्रेष्ठलाई प्रचण्डसँग भेट गराइदिए।

यो त अलिक पछिको कुरा भयो। मृत्युदण्डको सजाय सुनाइएलगत्तै भने उनलाई परिवारको चिन्ताले सताउन थाल्यो। मृत्युदण्डपछि श्रीमतीलाई पर्नसक्ने अप्ठेरो र अपमानको कल्पना गर्न थाले। 

त्यसैक्रममा आफूले अर्काे बिहे गर्न सुझाव दिँदै पत्नी मसलीमायालाई चिठी समेत पठाएको हिरालाल बताउँछन्। 

तर, हिरालालको त्यो चिठी मसलीमायाले पाइनन्।   

मसलीमायासँग हिरालाल (स्रोत : हिरालालको फेसबुक)

कैदीहरुले लेख्ने चिठी हुलाकबाट पोस्ट हुनुअघि ल्हासाको जेल प्रशासनले हेर्ने गर्थ्यो। उपयुक्त ठहरिए मात्र जेल प्रशासनले त्यो चिठी हुलाकबाट पोस्ट गरिदिन्थ्यो। अर्थात् कैदीले लेखेका सबै चिठी पोस्ट नहुन सक्थे।   

पोस्ट भएकै भए पनि हुलाक सेवा त्यति भरपर्दाे थिएन। सबै पत्र नेपाल आइनपुग्न सक्थे।  

हिरालाल चिठी पठाउँदा बुबा रामबहादुर वा भाइ विजय (यान्द्रलाल) को नाममा पठाउँथे। हिरालालले मसलीमायालाई लेखेका पत्र बुबा रामबहादुर, भाइ विजय वा अरु कसैले पढेर सुनाइदिन्थे।  

‘अर्कै बिहे गर्नू’ भन्ने आग्रहसहितको त्यो चिठीको बेहोरा मसलीमायाले सुन्न पाइनन्। सम्भवतः तीन कारणले त्यो चिठी मसलीमायाको हात परेन।  

एक, जेलका अधिकारीहरुले त्यस्तो बेहोराको चिठी पोस्ट गर्नु अनुपयुक्त ठाने। दुई, पोस्ट गरिदिएकै भए पनि कमजोर हुलाक प्रणालीका कारण त्यो चिठी परिवारको हातमै परेन। तीन, घरमा चिठी आइपुगे पनि ‘अर्कै बिहे गर्नु’ भन्ने बेहोराको पत्र बुहारीलाई सुनाउनु बुबा रामबहादुरले उपयुक्त सम्झेनन्। 

नेपाल पठाउन जेल प्रशासनलाई बुझाएको चिठी यता आउँदै आएन वा आएर पनि मसलीमायालाई सुनाइएन, त्यो बुझ्न सक्ने स्थिति रहेन। किनभने, भाइ विजयको अल्पायुमै २०६८ मा निधन भयो। बुढेसकालको सहारा कान्छो छोराको अल्पायुमै निधन भएपछि शोकले थलिएका रामबहादुरको पनि १७ वैशाख (२०७२) मा असामयिक निधन भयो।   

‘पक्राउ परेपछि रिहा नहुँदासम्म १५–१६ वटा चिठी लेखेको थिएँ,’ हिरालालले भने, ‘तीमध्ये घरमा जम्मा ४–५ वटामात्र आइपुगेका रहेछन्। सम्भवतः त्यो चिठी जेलका अधिकारीहरुले पोस्ट गर्नु उपयुक्त सम्झेनन् कि! वा बुबा–भाइले त्यस्तो पत्र सुनाउनु उपयुक्त ठानेनन् कि!’

कारण जे होस्, मसलीमायाले त्यो चिठी प्राप्त नगर्नुको परिणाम राम्रै भयो। ढिलै किन नहोस्, मृत्युदण्ड कुरिरहेका हिरालालको जीवनले अकस्मात सुखद् मोड लिन पुग्यो।  

नाफाको जीन्दगी 
चिनियाँ कानुन अनुसार कैदीले जेलभित्र अनिवार्य श्रम गर्नुपर्थ्यो। ‘द्राप्ची जेल’ को नामले चिनिने ल्हासाको १ नं जेलमा राखिएका हिरालाल श्रमकैदका रुपमा जेलभित्र खेतिपातीको काम गर्थे। 

श्रमकैदमा गरेको मेहनत र बानी–व्यवहारमा सुधार अनुसार कैदीहरुको सजायको अवधि कटौती हुँदै जान्थ्यो। बानी–व्यवहारमा सुधार नभए जेल सजाय थपिन पनि सक्थ्यो। 

हिरालाल लगायत नेपालीहरुको जेलश्रम र बानी–व्यवहार सन्तोषजनक थियो। यहीकारण उनीहरुको कैद अवधि कटौती हुँदै गएको थियो। 

कैद सजाय कटौती भएकैले ४ वर्षको जेल सजाय तोकिएका सोनाम स्याङ्बो शेर्पा ११ असार २०६४ मा रिहा भइसकेका थिए। निर्धारित कैद अवधिभन्दा ४ महिनाअघि नै उनलाई रिहा गरिएको थियो।  

हिरालालको व्यवहार पनि राम्रो थियो। यहीकारण दुई वर्षपछि हुने भनिएको मृत्युदण्डको सजाय पनि परिवर्तन भई जन्मकैदमा परिवर्तन हुनसक्थ्यो।

तर, त्यसभन्दा पहिले नै रिहा हुनसक्ने सम्भावना रहेको ली थाउले हिरालालसँगका पछिल्ला कुराकानीमा व्यक्त गर्न थालेका थिए।   

‘तिम्रो पार्टीका नेता प्रधानमन्त्री भइसकेका छन्,’ उनी हिरालाल र ग्याल्जेनलाई ढाडस दिँदै भन्थे, ‘चिन्ता नलिनू, पक्कै उनीहरुले तिमीहरुको रिहाइको प्रक्रिया सुरु गरिसकेका होलान्।’

निराशा र चिन्ताका बाबजुद ल्हासा जेलमा दिनहरु सामान्य रुपमा बितिरहेका थिए। 

एकदिन जेल प्रशासनले तीनै जना नेपालीलाई आफ्नो कार्यालयमा बोलायो। उनीहरुको पारिवारिक र व्यक्तिगत विवरण मागियो। उनीहरुको शरीर र खुट्टाको नापसमेत लिइयो, फोटो पनि खिचाइयो।  

यो २०६५ चैत पहिलो हप्ताअन्तको कुरा थियो। 

एक हप्तापछि जेल प्रशासनले फेरि तीनै जनालाई नुहाउन अह्रायो। खेतिपाती गर्न बनाइएका टनेलभित्र तातोपानीका धारा थिए। तीनै जनाले टनेलभित्रका धारामा नुहाए।

मुद्दाको फैसला पत्रसँगै हिरालाल (तस्बिर : विशाल कार्की)

नुहाएर फर्केपछि उनीहरुलाई आ–आफ्ना सामान निकालेर तयारी हालतमा रहन भनियो। हिरालाललाई लाग्यो, जेलसारी गर्न लागिएकाले यी सब तयारी गर्न लगाइएको होला। 

निस्केपछि उनीहरुलाई जेलभित्रको अर्काे हलमा पुर्याइयो। सिगात्सेबाट ल्हासा पुर्याएपछि सुरुका ३ महिना उनीहरुले त्यही हलमा बिताएका थिए। 

खासमा त्यो जेलको तालिम केन्द्र थियो। जेलमा जानुअघि कैदीहरुलाई त्यहाँ तालिम गराइन्थ्यो। तालिमपछि विभिन्न चरणमा परीक्षा लिइन्थ्यो। तालिममा उत्तीर्ण भएपछि मात्र उनीहरु जेलमा जान पाउँथे। 

जेल पुगेपछि अलिक सहज हुन्थ्यो। तर, तालिममा उत्तीर्ण हुन अक्सर कैदीहरुलाई हम्मे पर्थ्यो।   

फेरि तालिम केन्द्र लगिएपछि हिरालाल निराश बने। उनको मनमा अनेक आशंका उठ्न थाले।

उनलाई लाग्यो– कतै फेरि शून्यबाटै कैद सुरु गर्न लागेका त होइनन्? नत्र किन फेरि तालिम केन्द्रमा ल्याइयो? 

उनी चिन्तामा डुबिरहेका थिए। त्यसैबेला अकस्मात ठूलो स्वरमा ‘ढ्वाङ्ग’ आवाज आयो। तीनैजना नराम्रोसँग तर्सिए। हलको ढोका प्रहरीले असावधानीवस जोडले खोल्दा यस्तो भएको थियो। 

बेढङ्गको त्यो प्रहरीले तीनैजना नेपालीलाई आफूसँगै पछि–पछि आउन आदेश दियो। उनीहरु अर्काे कोठामा लगिए।   

कोठाको पल्लो कुनामा हिरालालले एकजना अग्लो, गहुँगोरो मानिस देखे। ती मानिस कतै देखे–देखेजस्तो, चिने–चिनेजस्तो उनलाई लाग्यो। 

हिरालाल ती व्यक्तिको नजिकै पुगे। नजिक पुगेपछि उनले ती व्यक्ति को हुन्, चिनिहाले। 

उनले आफूलाई थाम्न सकेनन्। उनको भक्कानो छुट्यो। उनी ती व्यक्तिलाई एक्कासि अँगालो हाल्न पुगे।  

‘मैले उहाँलाई २–३ मिनेट अँगालो हालिरहेँ,’ त्यो क्षण उनले सम्झे, ‘म हिक्क–हिक्क भइरहेँ। केही बोल्नै सकिनँ।’ 

हिरालालले अँगालो हालिरहेका ती व्यक्ति अग्निप्रसाद सापकोटा थिए, जो यतिबेला प्रतिनिधि सभाको सभामुख छन्। उनी त्यो बेला एमाओवादीको स्थायी समिति सदस्य थिए।

‘शक्तिशाली चुम्बकजसरी उहाँ मलाई अँगालो हाल्न आइपुग्नु भएको थियो,’ सभामुख सापकोटाले सम्झे, ‘उहाँ निकै भक्कानिनु भएको थियो। मेरो पनि बोल्न सक्ने अवस्था थिएन।’

प्रधानमन्त्री प्रचण्डले आफ्नोे प्रतिनिधिका रुपमा नेता सापकोटालाई हिरालाल लगायत माओवादी सम्बद्ध तीन कैदीलाई भेट्न ल्हासा पठाएका थिए। सापकोटालाई उनीहरुको रिहाइको पहल गर्ने जिम्मेवारी दिइएको थियो।

गोप्य रुपमा गरिएको एक हप्ता लामो ल्हासा बसाइपछि ल्हासा जेल पुगेर उनले हिरालाल लगायत तीन माओवादी कार्यकर्ताहरुसँग भेट गरे।

त्यो भेट निकै छोटो थियो। हिरालाललाई उनले पार्टीको तर्फबाट उनीहरुको अवस्था बुझ्न ल्हासा आइपुगेको जानकारी गराए।

हतार–हतार भेटघाट टुङ्ग्याएका सापकोटा ‘हाम्रो भेट छिट्टै हुनेछ’ भन्दै विदा भए।

हिरालालले सापकोटासँग धित मर्ने गरी कुरै गर्न पाएनन्। रिहाइको प्रक्रिया कहाँ पुगेको छ, त्यो पनि बुझ्न पाएनन्।  

‘तालिम केन्द्र फर्काइएकाले हामीमा आशंका थपिएकै थियो, खुलस्त कुरा नगरी उहाँ हतार–हतार फर्कनु भयो। त्यसपछि हामीमा झन् धेरै निराशा र आशंका बढ्यो,’ हिरालालले सम्झे, ‘त्यति साह्रो निराश त्यसअघि हामी कहिल्यै भएका थिएनौँ।’   

जेल जीवन लम्बिने भएकाले पो सापकोटा आएका हुन् कि भन्ने उनलाई लाग्यो।

त्यसैदिन साँझ जेलकै अर्का एक कर्मचारीको व्यवहारले उनीहरुको मनमा थप आशंका बढाइदियो।  

जेलभित्र एकदम कडा स्वभावको एउटा बुढो उमेरका कर्मचारी थिए। उनी यति कडा र उदण्ड स्वभावका थिए कि उनलाई देखेपछि हिरालाललाई लाग्थ्यो, ‘कसैलाई मृत्युदण्ड दिनुपर्यो भने झुण्ड्याउने जिम्मेवारी सायद यही निर्दयी बुढोलाई दिइन्छ होला।’  

मृत्युदण्ड दिनुअघि कैदीको अन्तिम इच्छा सोध्ने चलन थियो। जीवनको अन्तिम क्षणमा रहेको कैदीको अन्तिम इच्छा पुरा गरिदिने प्रयास जेल प्रशासनले गर्थ्यो।

ती बुढा कर्मचारीले हिरालाल, ग्याल्जेन र चेङ्गालाई भने, ‘चाउचाउ खान्छौ कि मःम खान्छौ, त्यो भन। यहाँ तिमीहरुले चाहेको कुरा खान पाउने अन्तिम दिन आजै हो।’ 

तीनैजनाले मःम खान चाहे। तर, उसले मःम मात्र ल्याएन, चाउचाउ पनि ल्याइदियो। उनीहरुले चाउचाउको माग गरेकै थिएनन्। 

त्यसअघि जेलभित्र तातोपानीको माग गर्दा पाउन हम्मे पर्थ्यो। तर, त्यो बुढोले चार वटा थर्मसमा तातोपानी ल्याइदियो। 

धेरै कुराकानी नगरी सापकोटा हतार–हतार फर्कनु र बुढोको त्यसप्रकारको व्यवहारका कारण फेरि के हुन लाग्यो भन्ने आशंकाले तीनै जना निदाउन सकेनन्।  

‘त्यो रात हामीले ‘अब के होला’ भन्ने अनेक अनुमान गरेर बितायौँ, एक झिमिक्क नगरी बिहानको ३ बजिसकेको रहेछ,’ हिरालालले थपे, ‘यसो बाहिर हेर्छाैं त, त्यति सबेरै हलबाहिर त्यही बुढो उभिइरहेको देखियो।’

ती वृद्ध व्यक्तिले उनीहरुलाई कपडा लगाएर छिटो बाहिर निस्कन अह्राए। हिरालाल, ग्याल्जेन र चेङ्गाले कपडा लगाए, हलबाट बाहिर निस्के। बुढोलाई पछ्याउँदै उनीहरु तालिम केन्द्रको गेटमा पुगे। 

त्यति सबेरै तालिम केन्द्रको गेटको दृश्य जस्तो थियो, त्यसको अनुमान उनीहरुले गरेकै थिएनन्। 

गेटमा दर्जनौँ मानिस उभिएका थिए। कतिपयको हातमा क्यामरा थियो, कसैले भिडिओ क्यामरा बोकेका थिए। सबैजना उनीहरुप्रति जिज्ञासु देखिन्थे। 

क्यामरामेनहरुले तालिम केन्द्रको गेटतर्फ आउँदै गरेका हिरालालहरुको दर्जनौँ पटक फोटो खिच्न थाले।  

त्यत्तिले मात्र क्यामरामेनहरुको धित मरेको देखिएन। उनीहरुले तीनै जना नेपालीलाई जेलतिर गइदिन अनुरोध गरे। 

उनीहरुले भने बमोजिम हिरालालहरु अघिल्लो दिनसम्म आफूलाई राखिएको जेलको कोठासम्म पुगे। त्यहाँ उनीहरु कसरी बसेका थिए, त्यसको वर्णनसहितको फोटो–भिडिओ पनि खिचियो। 

फोटो–भिडियो खिच्ने काम सकिएपछि तीनै जनालाई जेलभित्रको अर्काे एउटा हलमा पुर्याइयो। 

त्यो कोठामा अदालतका अधिकारीहरु उपस्थित थिए। तीनै जनालाई एक–एकगरी अदालतका अधिकारीसामु उपस्थित गराइयो।

सबैभन्दा पहिले ७ वर्ष कैद सजाय तोकिएका चेङ्गा शेर्पा लगिए। चेङ्गापछि ग्याल्जेन गए। 

यतिन्जेलसम्म तीनै जना टाटेपाङ्ग्रे रंगको जेलको औपचारिक पोशाकमा थिए। फर्कंदा भने चेङ्गा र ग्याल्जेनको पहिरन फरक थियो। उनीहरु सुटप्यान्ट र टाइमा ठाँटिएका थिए। हातमा कालो ब्यागसमेत बोकेर उनीहरु कार्यालय जान ठिक्क परेको कर्मचारीजस्तो चिटिक्क भएर फर्केका थिए। 

हिरालाल अचम्मित बने। सपना हो कि विपना हो, ठम्याउन उनलाई हम्मे पर्यो। के भइरहेको हो, उनी रनभुल्लमा थिए। 

हिरालालको पनि पालो आयो। उनी जेलका अधिकारीसमक्ष पुगे। बल्ल उनले थाहा पाए, आममाफीको फैसला सुनाउन यसरी पालैपालो ल्याइएको रहेछ। उनलाई आममाफीको निर्णयसहितको फैसलापत्र थमाइयो। 

सुटप्यान्ट र टाइमा सजिएका हिरालाल पनि ग्याल्जेन र चेङ्गासँग मिसिन पुगे। 

सिन्धुपाल्चोक माओवादीले ३१ वैशाख २०६६ मा गरेको अभिनन्दनमा जेल प्रशासनले उपलब्ध गराएको पोसाकका साथ हिरालाल श्रेष्ठ, ग्याल्जेन शेर्पा र चेङ्गा शेर्पा (तस्बिर : सीताराम बराल) 

फैसला पत्र बुझेपछि हिरालाल लगायत तीनै जनालाई ल्हासाको गोंगर विमानस्थल लगियो, जहाज चढाइयो। सापकोटा पनि त्यही जहाजमा थिए। जहाजबाट एकैछिनमा उनीहरु काठमाडौँ आइपुगे। 

काठमाडौँ उत्रेपछि सापकोटा निवासमा खाना खाए। त्यसैदिन दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छोटो भेटघाट पनि गरे। 

‘उही दिन आममाफी, रिहा, पुनर्जीवनसहित स्वदेशको भूमिमा टेक्ने र प्रधानमन्त्रीसँग भेट्ने अवसरसमेत प्राप्त गर्यौँ,’ हिरालालले भने, ‘जीवनमा एकै दिन यति महत्वपूर्ण अवसरहरु एकपछि अर्काे गर्दै प्राप्त भए।’  

त्यो दिन थियो, १५ चैत २०६५ (२८ मार्च २००९)। 

हिरालाल, ग्याल्जेन र च्याङ्गाका लागि मात्र होइन, त्यो दिन तिब्बतका लागि पनि महत्वपूर्ण थियो। सन् १९५९ मा त्यसैदिन तिब्बतमा दासता उन्मूलनको घोषणा गरिएको थियो। हिरालाल जेलमुक्त भएको दिन तिब्बतले दासता उन्मूलनको ५० औँ वार्षिकोत्सव दिवस मनाउँदै थियो।

त्यसै दिवसको अवसर पारेर हिरालाल, ग्याल्जेन र चेङ्गालाई आममाफी सहित जेलमुक्त गर्ने निर्णय तिब्बत सरकारले गरेको थियो। आममाफी अनुकूल हुने गरी उनीहरुको मुद्दा टुङ्ग्याइएको थियो।  

‘शान्ति प्रक्रियामा आएदेखि नै पार्टीले ल्हासा जेलमा रहेका साथीहरुको रिहाइका लागि प्रयास गरिरहेको थियो,’ माओवादी नेता वर्षमान पुन (अनन्त) ले भने, ‘अध्यक्ष प्रचण्डले यस विषयमा चीनको शीर्ष नेतृत्वसँग पनि कुराकानी गर्नु भएको थियो। त्यसै अनुसार उहाँहरुको रिहाइ भएको थियो।’  

त्यो बेला ल्हासास्थित नेपाली महावाणिज्यदूतको जिम्मेवारीमा ङइन्द्रप्रसाद उपाध्याय थिए। ल्हासा पुगेका सापकोटाको चिनियाँ अधिकारीहरुसँग कुराकानीको प्रबन्ध महावाणिज्यदूत उपाध्याय र उपमहावाणिज्यदूत तेजबहादुर क्षेत्रीले मिलाएका थिए।   

‘मलाई लाग्छ, प्रधानमन्त्री प्रचण्डले बेइजिङमा उच्च नेतृत्वसँग रिहाइका लागि पहल गरिरहनु भएको थियो, सापकोटा ल्हासा आइपुग्नु भएपछि उहाँ र हामी मिलेर ल्हासाबाट थप पहल गर्यौँ,’ नेपाल सरकारका पूर्वसचिव समेत रहेका उपाध्यायले भने, ‘मृत्युदण्डकै सजाय पाएका व्यक्तिहरु आममाफीसहित रिहा हुन कठिन थियो। तर, हामीले सफलता प्राप्त गर्यौँ।’  

तत्कालीन उपमहावाणिज्यदूत एवं हाल परराष्ट्र मन्त्रालयका सहसचिव क्षेत्रीका भनाइमा उनीहरुलाई रिहा गराउने प्रयास यति गोप्य रुपमा सम्पन्न भएको थियो कि सापकोटा प्रधानमन्त्रीको पत्र लिएर ल्हासा गएको कुरा परराष्ट्रमन्त्री उपेन्द्र यादव र सचिव ज्ञानचन्द्र आचार्यलाई समेत जानकारी थिएन। 

उनीहरु रिहा भइसकेपछि मात्र महावाणिज्यदूतावासले यस विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। 

ल्हासा पुगेका सापकोटाले नेपाली महावाणिज्यदूतावासको सहयोगमा तिब्बती अधिकारीहरुसँग थप कुराकानी गरे। उनीहरुको रिहाइको प्रक्रिया सुरु भएपछि हिरालाल, ग्याल्जेन र च्याङ्गाको शरीर र खुट्टाको नापदेखि लिएर अन्य विवरण लिन सुरु गरिएको थियो। 

उनीहरुको रिहाइ पक्का भएपछि सापकोटाले जेल पुगी तीनै जनासँग भेट गर्न चाहे। तर, चिनियाँ अधिकारीहरु सापकोटालाई भेट गर्न दिने पक्षमा थिएनन्।  

‘सापकोटाले भेट्न मन गरेपछि हामीले चिनियाँ अधिकारीहरुलाई निकै जोड गर्यौँ, त्यसपछि मन नलागी–नलागी जेलमा रहेको व्यक्तिहरुसँग भेट गर्ने स्वीकृति दिइयो,’ उपाध्यायले सम्झे, ‘असम्भवजस्तै थियो त्यो भेट, तर सम्भव भयो।’  

‘चिनियाँ अधिकारीहरुले छोटो कुराकानी गर्ने सर्तमा हामीसँग भेट गराउन उहाँ (सापकोटा) लाई जेलमा ल्याएका रहेछन्,’ हिरालालले भने, ‘त्यहीकारण अघिल्लो दिन कुराकानी नगरी ‘छिट्टै हाम्रो भेट हुनेछ’ भनेर हतार–हतार गरी हिँड्नु भएको रहेछ।’ 

सभामुख सापकोटाका भनाइमा चिनियाँ अधिकारीहरुले रिहा हुन लागेका व्यक्तिहरुसँग भेटमात्र गर्न, कुनै कुराकानी नगरिदिन अनुरोध गरेका थिए। 

‘तर, हिरालाल भक्कानिएपछि म पनि चुप बसिरहन सकिनँ,’ सभामुख सापकोटाले भने, ‘रिहाइको पहल भइरहेको र ‘छिट्टै भेट हुने’ बचनसहित म हतारमा विदा भएँ।’  

आममाफीको फैसलापछि उनीहरुलाई गोंगर विमानस्थल (ल्हासा) पुर्याइयो। विमानस्थलमा सापकोटा र तिब्बती अधिकारीहरु उपस्थित थिए। त्यहीँ तिब्बती अधिकारीहरुले तीन जनालाई सापकोटासमक्ष औपचारिक रुपमा हस्तान्तरण गरे। 

काठमाडौँ उत्रेको भोलिपल्ट (१६ चैत २०६५) उनी सिन्धुपाल्चोकस्थित आफ्नो गाउँ टौथली पुगे। परिवार, आफन्त, गाउँले र पार्टीका साथीहरुसँग भेटघाट गरे। जिल्ला पार्टीले तीनै जनालाई सदरमुकाम चौतारामा ३१ वैशाख २०६६ मा अभिनन्दन गर्यो।

प्रिय शिक्षक, अकल्पनीय पुनर्बहाली
नेपाल फर्केपछि उनको जीवन सुखमय रहेन। 

संसदीय राजनीतिको विकृतरुप देखेर माओवादी जनयुद्धमा सहभागी भएका थिए उनी। नेपाल फर्केको समयपछि उनले संसदीय राजनीतिको पुरानै विकृतरुप देख्नुपर्यो। 

‘जुन दर्शन–सिद्धान्तका लागि भनेर पार्टीमा लागेको थिएँ, समयक्रममा त्यसमा फरक देखियो,’ हिरालालले भने, ‘यो व्यवस्थामा म फिट हुन सकिनँ। नेपाल फर्केको केही समयपछि मैले राजनीतिक जीवन परित्याग गरेँ।’ 

जनयुद्धमा सहभागी हुनुअघि उनको पारिवारिक जीवन खुसी थियो। स्थायी जागिर थियो, गाउँमा आकर्षक घर बनाएका थिए। त्यही घरमा श्रीमती मसलीमायाले पसल चलाउँथिन्। जागिर, पसल र खेतीकिसानीको आम्दानी जोड्दा मनग्गे हुन्थ्यो। गाउँमा खर्च कम हुन्थ्यो, आम्दानीको रकम जोगिन्थ्यो।

दुई छोराछोरीलाई गाउँकै निजी स्कुलमा पढाएका थिए। 

तर, हिरालाल जागिर छाडेर जनयुद्धमा सामेल भएसँगै घरको आर्थिक स्थिति धर्मराउन थालिहाल्यो।   

जनयुद्धमा लाग्नुुअघि र अहिलेको हिरालालको घर (फोटो : सीताराम बराल)  

हिरालाल भूमिगत भएपछि मसलीमायाले दुखजेलो गरेर घर धानिन्। तर, आम्दानीको स्रोत पहिलेजस्तो थिएन। आर्थिक अभाव बढ्दै गयो, निजी स्कुलमा अध्ययनरत छोराछोरीको शुल्क तिर्न नसकिने भयो। उनीहरुले निजी स्कुल छाडे र सरकारी स्कुलमा भर्ना भए। 

निराशाका बीच उनीहरुले स्कुल जीवनलाई निरन्तरता दिन सकेनन्।   

‘पूर्णकालीन बन्नुअघि हिरालाल सर आर्थिक रुपमा सम्पन्न हुनुहुन्थ्यो, घरमा कुनै दुःख थिएन,’ कालिका मावि टेकनपुरका प्रधानाध्यापक ऋषि पौडेलले भने, ‘तर, पछि यस्तो स्थिति सिर्जना हुँदै गयो कि उहाँको म्याडम अरुको घरमा गएर काम गर्नुपर्ने स्थिति बन्यो।’

प्रधानाध्यापक पौडेलले भनेजस्तै हिरालालको पछिल्लो आर्थिक स्थिति निकै नाजुक बन्दै गएको थियो। त्यसैले, राजनीतिक जीवन परित्यागपछि हिरालाल यातायात व्यवसायमा लागे।

मनमिल्ने साथीहरुसँग मिलेर स्थापना गरेको कम्पनीले खासा आइपुगेका नेपाली व्यापारीका सामान छुटाएर काठमाडौँसम्म ल्याइदिने गर्थ्यो। ऋण लिएर उनले यो व्यवसायमा लगानी गरेका थिए। 

तर, २०७२ को महाभूकम्पले खासा–तातोपानी क्षेत्रमा ठूलो असर पुर्यायो। कोदारी राजमार्ग पहिलेजस्तो चल्न सकेन। त्यसको असर हिरालाल संलग्न व्यवसायलाई पर्यो। ऋण खोजेर सुरु गरेको व्यवसाय उक्सिन नसक्ने गरी डुब्यो।  

यो असफलतापछि उनी कृषिकर्ममा लागे। ललितपुरको सानागाउँमा जमिन भाडामा लिए, तरकारी खेती सुरु गरे। त्यसमा पनि उनले सफलता पाएनन्। त्यहाँ भएको लगानी पनि डुब्यो।

त्यसपछि उनले फलाम (ग्रिल) व्यवसायमा हात हाले। परिणाम फेरि पनि उस्तै असफलता मात्रै हात लाग्यो। ऋणमाथि ऋण थपिँदै गयो। 

राजनीतिमा जस्तै व्यापार व्यवसायमा सफलता हासिल गर्न पनि निर्मम बन्नसक्नु पर्छ। उदार र निश्चल प्रकृतिका हिरालालको पैसा कमाउनकै लागि निर्मम बन्नसक्ने स्वभाव थिएन। 

ऋण बढ्दै जाँदा मसलीमायासँग रहेका सुनका गहनासमेत सिद्धिए।

हिरालाल पछिल्लो समय जीवन–गुजाराका लागि हिसाब–किताब (लेखा) काम गर्थे। तर, यो जागिरबाट पनि जीवन धान्न सम्भव थिएन।

धन्न, मसलीमायाले एउटा निजी स्कुलमा सहयोगीको जागिर पाएकी थिइन्। उनी अहिले पनि त्यही जागिरमा छिन्। मसलीमायाकै जागिरबाट जसोतसो जीवन–गुजारा भइरहेको थियो। 

जताततै असफलता र ऋणका कारण कुनै दिन सुखद जीवन बिताउन पाइएला भन्ने कुरा हिरालालको कल्पनामै थिएन। २४ वर्षअघि समाप्त भइसकेको शिक्षण पेसामा पुनर्बहाली होला भन्ने त झन् परको कुरा भयो।

तर, १५ फागुन (२०७८) को मन्त्रिपरिषदले एउटा यस्तो निर्णय गर्यो, जुन निर्णय हिरालालका लागि मृत्युदण्डबाट ‘आममाफी’ पाएजत्तिकै महत्वपूर्ण रह्यो।

त्यसदिनको मन्त्रिपरिषद्ले द्वन्द्वकालमा विभिन्न कारणले जागिर गुमाएका शिक्षकहरुको पुनर्बहालीको निर्णय गरेको थियो।

राजनीतिक द्वन्द्वका कारण माओवादी र इतर दुवै पक्षका सयौँ शिक्षक र कर्मचारीले जागिर गुमाएका थिए। राजनीतिक परिवर्तनपछि उनीहरुको समस्या समाधान गर्न ‘राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका विषयमा गठित जाँचबुझ समिति (२०७३)’ ले पुनर्बहाली गर्नुपर्ने शिक्षकको सूचीमा हिरालालको नाम पनि समावेश गरेको रहेछ।

त्यही प्रतिवेदनका आधारमा १५ फागुन (२०७८) मा मन्त्रिपरिषदले २ सय २३ शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गर्यो। यो निर्णय अनुसार हिरालालको जागिर पनि पुनर्स्थापित हुने भयो।

आवश्यक प्रक्रिया पुरा गरेपछि शिक्षा विकास तथा समन्वय इकाइ (सिन्धुपाल्चोक) बाट हिरालालले ११ साउन (२०७९) मा ‘पुनर्बहाली पत्र’ प्राप्त गरे। कुनै विलम्ब नगरी १३ साउनमा त्रिपुरासुन्दरी गाउँपालिकाले हिरालाललाई टेकनपुरस्थित कालिका माविमा पदस्थापन गर्ने निर्णय गर्यो।

‘उहाँसँग मेरो १२ साउनमा भेट भएको थियो, पुनर्बहाली भए पनि जागिर छाडेको २४ वर्ष भइसकेकाले गाउँपालिकाले पदस्थापन गर्न अप्ठेरो मान्ला कि भन्ने आशंका उहाँमा रहेछ,’ त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले भने, ‘तर, उहाँले पुनर्बहाली पत्र पेश गर्नासाथ १३ साउनकै दिन शिक्षा समितिको बैठकबाट एकमतले उहाँलाई कालिका माविमा तत्काल पदस्थापन गर्ने निर्णय गर्यौँ।’  

कालिका माविमा हिरालाल श्रेष्ठ (तस्बिर : सरोज बैजु) 

‘उहाँले जीवनमा जे–जे बेहोर्नुभयो, त्यो तत्कालीन राजनीतिक परिस्थितिको उपज थियो,’ नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष बोहोराले भने, ‘उहाँ पहिल्यैदेखि कसैको आँखामा नबिझाउने प्रिय र भलाद्मी व्यक्तित्व हो, उहाँले कहिल्यै कसैको केही बिगार्नु भएको छैन। त्यसैले, उहाँलाई हाम्रै पालिकाभित्रको विद्यालयमा पदस्थापन गर्ने निर्णय गर्न पाउँदा हामी सबै खुसी भयौँ।’  

कालिका माविका प्रधानाध्यापक ऋषि पौडेल पनि शिक्षा समितिको त्यसदिनको बैठकमा उपस्थित थिए। हिरालालको पुनर्बहाली भएको र पदस्थापनका लागि उनी गाउँपालिकामा पुगेको कुरा उनले त्यसैदिन जानकारी पाएका थिए।

‘हाम्रो विद्यालयमा एउटा शिक्षकको दरबन्दी खालि थियो, पदपूर्तिका लागि विज्ञापन गर्ने तयारीमा थियौँ,’ प्रधानाध्यापक पौडेलले भने, ‘हिरालाल सरको पुनर्बहाली भएको रहेछ, पालिकाभित्रकै कुनै विद्यालयमा पदस्थापन गर्नुपर्ने कुरा बैठकमा उठ्यो। उहाँलाई कालिका माविमै ल्याऔँ भन्ने प्रस्ताव मैले नै त्यो बैठकमा गरेँ।’

फरक वैचारिक आस्थाका भएपनि गाउँपालिका अध्यक्ष बोहोरा र प्रधानाध्यापक पौडेलले कालिका माविमा पदस्थापन गर्न चाहनुको एउटा कारण जनयुद्धका बेलासमेत हिरालालले प्रदर्शन गरेको नम्र र सरल व्यवहार थियो। 

‘सशस्त्र द्वन्द्वका बेला गाउँमा माओवादीको हालीमुहाली थियो। तर, कोही भेट भए उहाँ ‘बा’ र ‘बाजे’ का रुपमा सम्बोधन गर्दै शिर झुकाएर ढोग र नमस्कार गर्नुहुन्थ्यो, माया गर्नुपर्नेलाई माया गर्नुहुन्थ्यो,’ प्रधानाध्यापक पौडेलले सम्झे, ‘युद्धमा लाग्दासमेत उहाँको व्यवहार यस्तो अद्भुत थियो। हिरालाल सरजस्ता विनम्र र सरल माओवादी द्वन्द्वका बेला देख्न पाइन्थ्यो।’

हिरालालले जीवनमा भोगेका तीता–मीठा अनुभवहरु आफ्नो विद्यालयका शिक्षक–विद्यार्थीका लागि उपयोगी हुने भएकाले पनि आफ्नो रोजाइमा उनी परेको प्रधानाध्यापक पौडेलले बताए। 

‘स्कुलका पाठ्यक्रम मात्र शिक्षक–विद्यार्थीका लागि पर्याप्त हुँदैनन्, हिरालाल सरले जीवनमा निकै ठूला उकाली–ओरालीहरु बेहोर्नु भएको छ,’ उनले भने, ‘उहाँका ती अनुभवहरु हामी शिक्षक र विद्यार्थीका लागि उपयोगी हुनसक्ने भएकाले पनि मैले उहाँलाई रोजेको हुँ।’  

गाउँपालिका अध्यक्ष हिरालालप्रति सकारात्मक छँदै थिए। कालिका माविका प्रधानाध्यापकले नै आफ्नो स्कुलमा पदस्थापन गर्न अनुरोध गरेपछि हिरालाललाई सोही विद्यालयमा पदस्थापनको निर्णय गर्न अरु सहज भयो। 

तर, कालिका माविको व्यवस्थापन समितिले उनलाई शिक्षकका रुपमा स्वीकार गर्न आनाकानी गरिदिन सक्थ्यो। यस्तो सम्भावना किन थियो भने व्यवस्थापन समितिका अध्यक्ष वसन्त बोहोरा भर्खर नेपाली सेनाबाट अवकाशप्राप्त गरी गाउँ फर्केका पूर्वसैनिक हुन्।

२०६० मा नेपाली सेनामा प्रवेश गरेका बोहोरा द्वन्द्वका क्रममा माओवादी आक्रमणमा परी घाइते समेत भएका थिए। ८ माघ २०६२ मा मकवानपुरको झुरझुरे (फापरबारी) मा माओवादी आक्रमणमा परेको सैनिक गस्तीमा उनी पनि थिए।  

शाही शासनविरुद्ध आन्दोलन चलिरहेका बेला ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ कार्यनीति अन्तर्गत माओवादीले गस्तीमा हिँडेको नेपाली सेनामाथि झुरझुरेमा आक्रमण गरेको थियो। मध्यमाञ्चल क्षेत्रमा भएका सेना–माओवादीबीचका भीडन्तमध्ये झुरझुरेको झडप प्रमुख थियो।

‘त्यो आक्रमणमा म बच्न सफल भएँ,’ बोहोराले नेपालखबरसँग भने, ‘तर ललितपुरको आश्रङ्गमा भएको भीडन्तमा जोगिन सकिनँ, घाइते भएँ। हातमा चोट लाग्यो, त्यसको दाग अहिले पनि छँदैछ।’ 

हिरालालको कालिका माविमा पदस्थापनको निर्णयलाई व्यवस्थापन समितिका अध्यक्ष बोहोराले पनि सहर्ष स्वीकार गरे। 

राजनीतिमा लाग्नुअघि हिरालालले बनाएको असल र सबैको प्रिय शिक्षकको छविका कारण गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा र प्रधानाध्यापक पौडेलको निर्णयलाई व्यवस्थापन समितिका अध्यक्ष वसन्तले पनि खुसीसाथ स्वीकार गरेका थिए।   

बोहोराका भनाइमा उनले हाइस्कुल शिक्षा टौथलीस्थित त्रिपुरासुन्दरी माविबाट प्राप्त गरेका थिए। टेकनपुरबाट टौथली पुग्दा लाँकुरीडाँडास्थित हिरालालकै घर अगाडिको बाटो भएर जानुपर्र्थ्यो। स्कुल जाने बाटोमा घर भएकाले केटाकेटी उमेरदेखि उनी हिरालाललाई भेटिरहन्थे। हिरालाल उनलाई ‘राम्रोसँग पढ्नुपर्छ है, आवश्यक परे सहयोग माग्नू’ भनेर उत्प्रेरित गरिरहन्थे। 

‘उहाँको बानी–व्यवहारबाट प्रभावित थिएँ नै। उहाँ राम्रो पढाउने शिक्षक हो भन्ने पनि थाहा थियो। मलाई धेरै माया गर्ने भएकाले बाघभैरव प्राविमा गएर उहाँले पढाएको केही कक्षा पनि लिएको थिएँ,’ बोहोराले भने, ‘कालिका माविलाई विद्यार्थीलाई माया गर्दै पढाउने उहाँजस्तै शिक्षक चाहिएको थियो, हाम्रो सौभाग्य नै भन्नुपर्छ, उहाँको पदस्थापन यही स्कुलमा हुने वातावरण जुर्यो।’   

गाउँपालिकाको निर्णयपछि हिरालाल १५ साउनमा टेकनपुरस्थित कालिका माविमा हाजिर भए। शिक्षण पेसा परित्याग गरेको २४ वर्षपछि पुरानै शिक्षण पेसामा उनको विधिवत पुनःप्रवेश भयो।   

मृत्युको मुखमा पुगेर फर्केका हिरालालले ‘नाफाको जीन्दगी’ मात्र प्राप्त गरेनन्, स्थायी शिक्षकका रुपमा उनको पुनर्बहाली ‘नाफाको जागिर’ जस्तै भयो। 

कालिका मावि

‘समाज बदल्न भनेर हिँडेको थिएँ, त्यसमा असफल भएँ,’ उनले भने, ‘मजस्तै समाज बदल्न हिँडेका थुप्रै साथीहरु थिए, कतिपयको जनयुद्धमा बलिदान भयो, समाज बदल्न हिँडेका कतिपय साथीहरु चाहिँ गाडी र बंगला जोडेर आफैँ बदलिए। म त्यसरी बदलिन चाहिनँ,’ उनले भने, ‘अब पुरानै पेसामा फर्केको छु। अब  शिक्षण पेसाबाटै समाजका लागि सकेको योगदान गर्छु।’

उहिले र अहिलेका हिरालाल
जीवनमा यति ठूलो उतारचढाव बेहोरेका हिरालाल पढाउन फेरि स्कुल जाँदै गर्दा मनमा उतारचढाव हुनु स्वाभाविक थियो। तर, उनको दिमागमा बितेको २४ वर्ष मात्र घुमिरहेको थिएन। ७ वर्षपछि उमेर हदका कारण अवकाश नहोउन्जेल शिक्षण पेसामा कसरी प्रभावकारी हुने, शिक्षक–विद्यार्थी–अविभावकहरुलाई कसरी सन्तुष्ट पार्ने भन्ने चिन्ता पनि उत्तिकै थियो।

उनको यो चिन्ता विद्यालय पुगेपछि प्रधानाध्यापक पौडेलले पनि महसुस गरे। पौडेलका भनाइमा, पहिलो दिन हो, हाजिर धस्काएपछि लटरपटर गरेर हिँडौँ भन्ने मानसिकता हिरालालमा थिएन। 

परिचयका क्रममा हिरालाल विद्यालयका पुराना शिक्षकहरुसँग खुलस्त रुपमा प्रस्तुत भए। आफ्नो जीवनका उतारचढाव छोटकरीमा बताए।

‘मैले जागिर छाडेको २४–२५ वर्ष भयो, केही जान्दिनँ होला, म तपाईंहरुबाट सिक्न चाहन्छु,’ प्रधानाध्यापक पौडेलका भनाइमा हिरालालले विद्यालयमा कार्यरत शिक्षकहरुसँग अनुरोध गरेका थिए, ‘तपाईंहरु अनुभवी हुनुहुन्छ, तपाईंहरुले मलाई सहयोग गरिदिनु पर्यो।’ 

हिरालाल प्राविस्तरका शिक्षक हुन्। प्राविस्तरका शिक्षकले आवश्यकता अनुसारको विषय पढाउनु पर्ने हुन्छ, विषय छुट्याइएको हुँदैन।

लामो समय अध्यापन छुटेकाले कालिका माविले हिरालाललाई सहज होस् भनेर पढाउने विषय आफैँ छनोट गर्ने सुविधा प्रदान गर्यो।   

कालिका माविका विद्यार्थीहरुसँग हिरालाल (फोटो : सरोज बैजु)

‘मैले सामाजिक शिक्षा पढाउन सक्छु कि भनेँ। आजकल त्यो विषयको नाम फेरिएर ‘हाम्रो सेरोफेरो’ भएको रहेछ,’ उनले भने, ‘सुरुको दिन अलिक गाह्रो भयो। तर, यो विषय हाम्रै समाजसँग सम्बन्धित भएकाले अहिले पढाउँदा खासै गाह्रो लाग्ने गरेको छैन।’   

प्रधानाध्यापक पौडेलका भनाइमा पदस्थापनपछिको डेढ महिनाको अवधिमा हिरालालले यति धेरै मेहनत गरेका छन् कि उनी पनि अध्यापनमा अब्बल बनिसकेका छन्।  

‘हाजिरी भएकै दिन सहयोग गरिदिनुस् भनेपछि शिक्षण निर्देशिका, सम्बन्धित पाठ्यक्रम र पुस्तकहरु दिएको थिएँ,’ पौडेलले भने ‘उहाँ यति मेहनती कि अध्ययन सामग्री सधैँ झोलामा बोकेर हिँड्ने गर्नुहुन्छ, फुर्सद पायो कि पढ्न थालिहाल्नुहुन्छ। मेहनतले नै हो शिक्षकलाई अब्बल बनाउने, अन्य शिक्षक साथीहरुले जस्तै उहाँपनि प्रभावकारी देखिन थाल्नुभएको छ।’  

‘विद्यार्थीहरुसँग घुलमिल हुने सवालमा उहाँ अब्बल हुनुहुन्छ,’ सो विद्यालयका गणित शिक्षक सन्तोष आचार्य (भलाम, कास्की) ले भने, ‘विद्यार्थीसँग शिक्षक जति बढी घुलमिल हुनसक्यो, ऊ त्यति बढी प्रभावकारी हुनसक्छ। विद्यार्थीहरुसँग घुलमिलको महत्व हामीले उहाँबाट सिकेका छौँ।’  

‘विद्यार्थीहरुसँग लगातार नजिक रहेर कुराकानी गरिरहने उहाँको स्वभाव छ, शैक्षिक सामग्रीहरु विद्यार्थीका अगाडि प्रयोग गरिरहनु हुन्छ,’ प्रधानाध्यापक पौडेलले थपे, ‘कुनै विद्यार्थीको बारेमा गुनासो छ वा कुनै विद्यार्थीमा विशेष क्षमता छ भने त्यसबारे मसँग आएर छलफल गरिहाल्नु हुन्छ। एउटा असल शिक्षकमा हुनुपर्ने गुणहरु उहाँमा भरपुर छन्।’  

यो डेढ महिनाको अनुभवबाट हिरालालले थुप्रै अनुभव हासिल गरिसकेका छन्। २४ वर्षअघि र अहिलेको शिक्षण शैलीको भेद छुट्याइसकेका छन्। त्यसै आधारमा आफ्नो कमजोरीको पहिचान पनि आफैँले गरिसकेका छन्।  

‘सूचना प्रविधिको विकास नभैसकेका कारण पहिलेका विद्यार्थी अहिलेका जस्तो तीक्ष्ण हुन्नथे, त्यसैले उतिबेला शिक्षकले अलिक कम मेहनत गरे पुग्थ्यो। शिक्षण सामग्रीको अभाव पहिले महसुस हुँदैनथ्यो,’ हिरालालले आफ्नो अनुभव सुनाए, ‘अहिले फरक स्थिति रहेछ। विद्यार्थीले भन्दा शिक्षकले बढी मेहनत गर्नुपर्ने रहेछ। मेरो मेहनत अझै पुगेको छैन कि जस्तो लाग्छ, सकेको प्रयास गर्दैछु।’  

हिरालालका भनाइमा २४ वर्षअघि उनले शिक्षण पेसा छाडेताका विद्यार्थीलाई माया–स्नेह र फकाइफुलाइभन्दा बढी हप्कीदप्की लगाएर पढाउने प्रचलन थियो।

‘अहिले फकाइफुल्याई गरेर पढाइँदो रहेछ, माया र स्नेहले प्राथमिकता पाउन थालेको रहेछ,’ उनले भने, ‘विद्यार्थीहरुसँग जति बढी घुलमिल हुनसक्यो, त्यति प्रभावकारी ढंगले पढाउन सकिँदो रहेछ, डेढ महिनाको अवधिमा अन्य शिक्षक साथीहरुबाट मैले यही महत्वपूर्ण शिक्षा सिकेँ।’ 

पुराना शिक्षकहरु विद्यार्थीहरुसँग विनम्रतापूर्वक घुलमिल हुने स्वभाव हिरालालबाट अनुकरण गर्नुपर्ने महसुस गरिरहेका थिए। हिरालाल चाहिँ यो गुण आफूले कालिका माविका शिक्षकहरुबाट सिकेको बताइरहेका थिए। 

अन्य शिक्षकहरुजस्तै हिरालाल १० बजे नै विद्यालय पुगिसकेका हुन्छन्। १८ वर्ष नेपाली सेनामा सेवा गरेपछि जमदार पदबाट अवकाश प्राप्त गरेका व्यवस्थापन समितिका अध्यक्ष वसन्तपनि १० बजे नै स्कुल पुग्छन् र स्कुल छुट्टी हुनेबेला ४ बजे मात्र घर फर्कन्छन्। 

जेठ (०७९) मा विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हालेयता वसन्तले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हैसियतमा हरेक शिक्षकको सवल र दुर्बल पक्षको मिहिन पाराले मूल्याङ्कन गरिरहेका छन्।

हिरालालका लागि वसन्तले मूल्याङ्कनको फरक आधार तय गरेका छन्। उनी पहिलेका र अहिलेका हिरालालबीच बीचको फरक मिहिन पाराले जाँचिरहेका छन्। 

माओवादी बन्नुअघिका शिक्षक हिरालाल र चिनियाँ जेलमा मृत्युदण्डको सजायसहित साढे पाँच वर्ष बिताएर फर्केको लामो समयपछि पुनर्बहाली पाएका शिक्षक हिरालालबारे उनले निकै ठूलो फरक पाएका छन्। 

‘२४ वर्षअघि पनि उहाँको पढाउने शैली प्रभावकारी थियो, अहिले अझ बढी सशक्त हुनुभएको अनुभव मलाई भयो, मृत्युदण्डको सजाय र लामो हिरासत जीवनका कारण होला, उहाँमा अझ बढी सहनशीलताको विकास भएछ,’ हिरालालको डेढ महिने अध्यापन अवधिको मूल्याङ्कन गर्दै वसन्तले भने, ‘माओवादीमा लागेपछि अझ आकर्षक रुपमा बोल्ने शैली पनि विकसित भएछ, विद्यार्थीलाई ‘कन्भिन्स’ गर्ने क्षमता वृद्धि भएछ।’   
***

(नोट : यो सामग्री तयार गर्दैगर्दा हिरालालको कालिका माविबाट त्रिपुरासुन्दरी गाउँपालिका–५ चक्छमास्थित सेतीदेवी आधारभूत विद्यालय सरुवा भयो। २६ भदौदेखि उनले त्यो विद्यालयमा पढाउन सुरु गरेका छन्।)

(नेपालखबरका रिपोर्ट साभार गरेको वा अडिओ/भिडिओ बनाएर प्रशारण गरेको पाइएमा कानुनी कारबाही अगाडि बढाइने छ- सम्पादक)

  

भदौ ३१, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad